कम्युनिस्ट आन्दोलनको रक्षा र विकासको लागि विचारधारात्मक संघर्ष आजको प्राथमिक काम हो

– निनु चापागाई

माक्र्सवादी सौन्दर्यशास्त्री तथा समालोचक

निनु चापागाई माक्र्सवादी सौन्दर्यशास्त्री तथा समालोचकका रुपमा परिचित हुनुहुन्छ । “यथार्थवादी रचना दृष्टि र विवेचना (२०५१) ”, “माक्र्सवादी चिन्तनमा सौन्दर्य (२०५४) ”, “सन्दर्भः संस्कृति र सांस्कृतिक रुपान्तरण (२०५९)”, “उत्तर आधुनिकतावाद भ्रम र वास्तविकता (२०६१)”, “सांस्कृतिक रुपान्तरण (२०६७), “दलित सौन्दर्यशास्त्र र साहित्य (२०६८), “पूर्ववाद र सइदेली विचार (२०७३)” सर्वाथा योगवाणी र प्रगतिशील कवि योगमाया २०७५” उहाँका मौलिक कृति प्रकाशित भएका छन् ।
“गोर्कीका छानिएको वैचारिक रचना” (२०६५), “माक्र्सवादी समालोचना पद्धति” (२०६७), “माक्र्सवाद र संगीत २०६७”, ब्रेख्त र ब्रेख्त (२०७४) लगायत झण्डै एक दर्जन पुस्तक अनुवाद गर्नुभएको छ ।
निर्मल लामा लेखहरुको संकलन लगायत उहाँले संकलन र सम्पादनको काममा पनि उल्लेखनीय योगदान पु¥याउनुभएको छ । राल्फा आन्दोलनका बेला निनु राल्फाका नामबाट कलम चलाउने उहाँको पारिवारिक नाम निरन्जन चापागाई हो । २०४२ सालदेखि उहाँले निनु चापागाईको नामबाट लेख्न थाल्नु भएको थियो । तर पार्टीमा उहाँलाई पहिलेदेखि नै आम रुपमा निनु भनेर चिनिन्थ्यो । ३ महिना भोजपुरमा र पछि २०३७ सालमा काठमाडौं भद्रगोल जेलमा ९ महिना जेल जीवन पनि बिताउनुभएको थियो । उहाँ प्रतिशील लेखक संघको २०५६–२०५९ र २०६३–२०६६ गरी दुई पटक केन्द्रीय अध्यक्षको जिम्मेवारी पूरा गर्नु भएको थियो । उहाँ इन्द्रेणी सांस्कृतिक समाजको पनि दुई पटक अध्यक्ष बन्नु भएको थियो । दाहाल यज्ञनीधि पुरस्कार ,ताराकान्त पुरस्कार लगायतबाट वहाँ पुरस्कृत हुनु भएको छ । यसपटक हाँक साप्ताहिकले निनु चापागाईसित कुराकानी गरेको छ ।
० आजभोलि समय कसरी बितिरहेको छ ?
–म अहिले कुनै राजनीतिक पार्टीको जिम्मेवारीमा छैन । मेरो मुख्य रुचीको विषय लेख्ने, पढ्ने हो । अध्ययन–लेखनमा नै मेरो समय बितिरहेको छ । स्वास्थ्यका लागि दिनमा एक दुई घण्टा हिंड्छु ।
० राल्फा आन्दोलनको अभियन्ता मध्ये तपाई एक हुनुहुन्छ, यसको प्रारम्भ कसरी भयो ?
–२०२३ सालतिर पारिजात, म, नारायण भक्त श्रेष्ठ (रायन), रामेश्वर श्रेष्ठ (रामेश), मेघराज नेपाल (मञ्जुल), कीर्तिरमण चापागाई (विमल चापागाई) लगायतले राल्फा आन्दोलन प्रारम्भ गरेका हौं । २०२२ सालमा शिरिषको फुल उपन्यासमा मदन पुरस्कार प्राप्त गरेकाले पारिजात नेपालमा चर्चित हुनुहुन्थ्यो । रामेश र रायनले रेडियो नेपालमा गीत गाउनु हुन्थ्यो । पारिजातलाई रामेश र रायनको गीत मनपर्दो रहेछ । पारिजातले उहाँहरु दुवै जनालाई बोलाएर कुरा गर्नु भएको रहेछ । एकदिन मेरो काका पर्ने विमल चापागाईले मलाई पारिजातलाई भेट्न जाउँ भनेर लैजानुभयो । त्यसरी हाम्रो समूह बन्दै गयो ।
कलकत्तातिर हङग्री जेनेरेशन (भोको पिंढी), दक्षिण भारतमा डिसम्बर जेनेरेशन , अमेरिकामा विक्निक, ब्रिटिशमा विटल्स (गायकहरुको मण्डली) बनेका थिए । गीत, संगीत, साहित्यमा तिनीहरुले एक प्रकारले तहल्का मच्चाइरहेका थिए । गिन्स् वर्ग भन्ने अमेरिकाका एक जना प्रख्यात कवि थिए । यिनीहरुकै प्रभावबाट नेपालमा राल्फा जन्मिएको थियो । राल्फाका खास कुनै अर्थ छैन । राल्फा आन्दोलन भनेपछि, परम्परा नमान्ने, अन्धराष्ट्रवाद नमान्ने, शोषणको विरोध गर्ने अन्याय अत्याचारको विरोध गर्ने लेखक, कवि, साहित्यकार, गायकहरुको समूह बन्न पुग्यो । जस्तो नारायणघाट, हेटौंडा, गौर, मकवानपुर, बुटवल, भैरहवा, पाल्पा लगायत देशका विभिन्न भागहरुमा गएर हामीले साहित्यिक सांस्कृतिक कार्यक्रम ग¥यौं । ती विभिन्न ठाउँमा म आफै पनि गएको थिएँ ।
० राल्फा आन्दोलनमा कसरी विभाजन आयो ?
–जब हामीले राल्फा आन्दोलनलाई अगाडि बढाउँदै गयौं । हामीमाथि विभिन्न प्रश्न आए । राल्फा भनेको के हो ? राल्फाको दर्शन के हो ? सिद्धान्त के हो ? एकातिर हामीले अन्तर्राष्ट्रिय विषयहरुको अध्ययन गर्न थाल्यौं । चेग्वेभारा, क्यास्टोलाई हामीले पढ्यौं । रिमेनेन्सेस इन द क्यूवियन रिभोल्युसनरी वार भन्ने रेजिस डिब्रेले लेखेको पुस्तकले बढी प्रभाव पा¥यो । हामी त्यसै पनि परम्परा विरोधी थियौं । पंचायत र कांग्रेसलाई समर्थन गर्ने कुरा भएन । अर्कोतिर हामीले नेपाली कम्युनिस्टहरुको दस्तावेज अध्ययन गर्न थाल्यौं ।
२०२८ मा भर्खर न्यूक्लियसको गठन भएको थियो र न्यूक्लियसको राजनीतिक दस्तावेज पनि आइसकेको थियो । हामी राल्फालीहरु केहीले न्यूक्लियसको दस्तावेज पढ्यौं । उतातिर झापा विद्रोह भइरहेको थियो । झापा विद्रोहका बारेमा पनि हामीले अध्ययन गरिरहेका थियौं । राल्फा आन्दोलन दर्शन, दृष्टिकोण, सिद्धान्त विना यत्तिकै रहन सक्ने सम्भावना थिएन । पारिजात, म (निनु चापागाई), रायन लगायत न्यूक्लियस–चौ.म. धारतिर लाग्यौं । मेघराज नेपाल (मञ्जुल) का भाइ प्रदिप नेपाल हुन् । प्रदिप नेपाल झापाली समूहबाट प्रभावित थिए । मञ्जुल भाइबाट प्रभावित भएर झापाली गु्रपमा लागे । मञ्जुल र रामेशको गहिरो सम्बन्ध थियो । उनीहरु झापाली समूह–माले समूहतिर लागे । त्यसरी राल्फा आन्दोलन चौ.म. धार र मा.ले. धारतिर गए । राल्फा आन्दोलन विघटन भए पनि राल्फा आन्दोलनबाटै गएकाले चौ.म. धार र मा.ले धारको साहित्यिक, सांस्कृतिक आन्दोलनको नेतृत्व गरे । मा.ले. धारको संकल्प परिवार र चौ.म. धारको वेदना परिवार साहित्यिक सांस्कृतिक संगठनहरु बने ।
० “वेदना” साहित्यिक पत्रिकाको लामो इतिहास छ । त्यसबारे केही बताइदिनुस् ।
–वेदना साहित्यिक पत्रिकामा सुरुमा काभ्रेको धुलीखेलका दुई जना साथीहरु दिल सुन्दर श्रेष्ठ (दिल वरदान) र सुभाष श्रेष्ठले प्रकाशन गर्नु हुन्थ्यो । नेपालको प्रगतिशील साहित्यिक आन्दोलनमा यसले राम्रै भूमिका खेल्यो ।
० तपाई अनेरास्ववियुको पाँचौं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय अध्यक्ष बन्नुभयो । त्यसको कहानी पनि सुनौ न
–यसको पनि रोचक कहानी नै छ । म अनेरास्ववियुको केन्द्रीय अध्यक्ष हुँदा खेरी म विद्यार्थी थिएन । मैले २०२६ मै नेपाली साहित्यमा एम.ए. उत्तीर्ण गरिसकेको थिएँ । त्यतिबेला मलाई वामपन्थी राजनीतिको प्रभाव परिसकेको थियो । म गाउँतिर जान्छु भनेको थिएँ । मेरो बुबा डण्डपाणि चापागाई भोजपुरमा सानो तिनो जमिन्दार हुनुहुन्थ्यो । उहाँको जिल्ला प्रशासनसँग राम्रो संगत थियो । मेरो बुबाले मलाई जानकारी नदिइकन भोजपुरको मेरै गाउँमा षडानन्द संस्कृत प्रधान पाठशालामा हेडमास्टरको नियुक्ति ल्याइदिएर आउनु भएछ । म गुरुहरुको चेलो महेडमास्टर भए । मैले अंग्रेजी, नेपाली, पंचायत, संस्कृत पढाउँथे । मैले त्यहाँ पंचायत पढाउँदा विद्यार्थीहरुलाई परीक्षामा लेख्दा एक थोक लेख्ने र बुझ्दा अर्को ढंगले बुझ्नु पर्दछ भन्ने गर्थें । पंचायती व्यवस्थाकै विरोध गरेर पठाइन्थ्यो । नजिकै अर्को अरुण र्इंङ्गलिश स्कूल थियो । त्यहाँ एस.एल.सी.को केन्द्र परेको थियो । केन्द्र अध्यक्षले “वर्तमान व्यवस्थामा आर्थिक विकासको सम्भावना” यस्तै शीर्षकमा गोष्ठी राखेका थिए । गोष्ठीमा म, र मुकुन्दबहादुर बस्नेतले पंचायती व्यवस्थामा पनि आर्थिक उन्नति हुन सक्छ र भनी प्रश्न उठायौं । मलाई शान्ति सुरक्षाको मुद्दा लगाइदिए । विजयकुमार चापागाई र मुकुन्दबहादुर बस्नेतलाई राजकाजको मुद्दा लगाइदिए । म तीन महिना थुनियौं । एम.ए. पढेको मान्छे यहाँ नबस् । गाउँमा बसेर राजनीति गर्छस् । तँ काठमाडौं जा । सरकारी जागिर खा भनेर परिवारका मान्छेहरुले भनेका भनै थिए । काठमाडौं आए ।
पारिजात, निर्मल लामाजीको संगत भयो । म लामाजी सित सँगै बसें । २०३० सालमा पार्टीको काठमाडौं सेक्रेटरी भएँ । २०३१ सालको बनारसको चौथो महाधिवेशनमा पर्यवेक्षक भएर भाग लिएको थिएँ । २०३३ सालमा अनेरास्ववियुको पाँचौं राष्ट्रिय सम्मेलन भयो । त्यो सम्मेलनमा अर्को व्यक्तिलाई नै अध्यक्ष बनाउने निर्णय पार्टीले गरेको रहेछ । तर उहाँ विमार भएर उपस्थित हुन सक्नु भएन । अनि निर्णय फेरेर मलाई अध्यक्ष बनाइयो । त्यो सम्मेलन सम्पन्न भएको केही दिन पछि बनारसमै मेरो इन्दिरा दलीसित अन्तरजातीय प्रगतिशील विवाह भयो । मोहन विक्रम, निर्मल लामा समेतको अभिभावकत्वमा मेरो विवाह भयो । घरबाट जागिर खान, हाकिम हुन भनेर काठमाडौं पठाइएको मान्छे म फेरि पार्टी राजनीति अनि विद्यार्थीको राजनीति समेत गर्दै हिंड्न थाले ।
० राल्फा आन्दोलनका बेला चीनमा सांस्कृतिक क्रान्ति पनि सुरु भएको थियो । नेपालमा के प्रभाव प¥यो त्यसको ?
–त्यतिबेला नेपालमा स्ववियुका प्रकाशनहरु धेरै भए । कही न कहीं ती प्रकाशनहरु हुनुका पछाडि सांस्कृतिक क्रान्तिको पनि प्रभाव छ भन्ने लाग्छ । त्यतिखेर २ सय भन्दा बढी विद्यार्थीहरुले बुर्जुवा शिक्षा बहिष्कार गर्ने भनेर कलेज छाडेर हिंडेका थिए । माक्र्स, लेनिनले पनि सांस्कृतिक क्रान्तिको कुरा उठाउनु भएको थियो । तर पुँजीवादी पुनस्र्थापनाबाट जोगिने उपाय भनेकै सांस्कृतिक क्रान्ति हो भनेर त्यसलाई सैद्धान्तिकीकरण गर्ने काम माओले नै गर्नु भएको हो ।
० पार्टी केन्द्रमा यहाँको प्रवेश ? पार्टी जीवनमा पार्टीको जिम्मेवारी के के रहे ?
–२०३४ सालमा राम सिंह श्रीस र म सँगसँगै पार्टीको वैकल्पिक केन्द्रीय ससदस्य भएका हौं । २०४० मा मलाई मोहनजीहरुले पार्टीबाट निस्काशन गर्नुभयो । २०४० मा पार्टी विभाजित भएपछि म नेकपा (चौ.म) को पोलिटव्यूरो सदस्य भएँ । २०४८ सालमा नेकपा (एकताकेन्द्र) बनेपछि पनि पि.वि.एम. बने । २०५१ मा एकताकेन्द्र विभाजित भएपछि पार्टीको कार्यकारी भूमिकामा रहन्न भने । साथीहरुसित सल्लाह नै गरेर अध्ययन, लेखनमा म लागें । २०५९ मा मसालसित एकता गर्दा फेरि पि.वि.एम. बन्नु पर्दछ भनेर साथीहरुले भने पछि पुनः कार्यकारी भूमिकामा रहें । २०६३ मा एकताकेन्द्र–मसाल विभाजित भएपछि २०६५ मा नेकपा (माओवादी) सित एकता भयो । एकीकृत नेकपा (माओवादी) बन्यो । एनेकपा (माओवादी) को पनि म पि.वि.एम. बनें । तर माओवादी केन्द्रले कम्युनिस्ट आन्दोलनको मूल मर्मलाई छाड्यो भन्ने लागेपछि त्यहाँ म छैन ।
० माओवादी केन्द्रमा तपाईले राखेको असहमति के हो ?
–२०६५ सालमा पार्टी एकता गर्दा यो पार्टी क्रान्तिकारी नै हो भन्ने लागेको थियो । एकता हुनुपर्दछ भन्ने बारेमा जोड गर्ने व्यक्ति मध्ये म पनि हुँ । २ वर्ष काम गरेपछि यो पार्टीप्रतिको विश्वास घट्दै गयो । पार्टी नेतृत्वले जारी गर्ने वक्तव्य, नेतृत्वको क्रियाकलाप, कार्यशैली सबै हेर्दै जाँदा दक्षिणपन्थी दिशातिर हिंडेको आभास भयो । मैले पूर्व ए.के.का साथीहरुसित अब फरक ढंगले सोच्नु पर्दछ कि भनिरहे तर उहाँहरुले पर्खनुस् पर्खनुस्, अझै त्यस्तो बेला भएको छैन भनिरहनु भयो । निस्किनु परे सबै सँगै निस्कौला भन्नु हुन्थ्यो । विराटनगर सम्मेलन हुनुभन्दा पहिले बसेको केन्द्रीय कमिटीमा म पुगें । कि त पार्टीबाट राजीनामा दिनु प¥यो । कि त बैठकमा आउनुपर्दछ भनेर चेतावनी स्वरुप फोन गरे पछि  २०७०माघ ९ गते (सन् २०१४ जनवरी २३ को ) बैठकमा गएँ । पार्टीमा नेतृत्वबाट पटकपटक पार्टीमा वर्गीय दृष्टिकोण कमजोर भयो भनेर प्रतिवेदन आउँथ्यो मैले यो कसको कारणले हो त भनेर प्रश्न उठाएँ । “सर्वहारावर्गको अग्रदस्ता पार्टी नेतृत्वमा जस्तो हुनु पर्दथ्यो । हाम्रो पार्टी र नेतृत्व एकदमै विपरीत छ, उल्टो छ ।” “पार्टीलाई अहिलेको वर्गीय दृष्टिकोणबाट विचलनको स्थितिमा पु¥याउनुमा मूल नेतृत्व नै जिम्मेवार छ ।” “नेतृत्वको वर्ग उत्थान” भएको छ, “संसदवाद, साम्राज्यवादी चिन्तन, साम्राज्यवादी शक्तिको प्रभाव” पार्टीमा छ, लिखित असहमति राखें ।
० नेपालको कम्युनिस्ट आन्दोलनमा अब गर्नुपर्ने काम के हो ?
–मेरो विचारमा तीनवटा मुख्य काम गर्नुपर्दछ , पहिलो कामः वैचारिक काम नै गर्नुपर्दछ । यतिबेला माक्र्सवादमाथि पुँजीवादी तथा साम्राज्यवादीहरुले ठूलो आक्रमण गरेका छन् । मूलधारका भनिएका संसदीय भाषमा फसेका कम्युनिस्ट पार्टीहरुले वर्गीय विचारमाथि गम्भीर क्षति पु¥याइरहेका छन् । त्यसकारण ती सबैका विरुद्ध विचारधारात्मक संघर्ष प्राथमिक काम हो । सच्चा कम्युनिस्ट आन्दोलनका लागि प्रकाशन, प्रशिक्षण, विचार आदान प्रदान लगायतका कामहरुलाई अगाडि बढाउनु पर्दछ ।
दोस्रो कामः
सांस्कृतिक आन्दोलनलाई व्यापक रुपमा संचालन गर्नुपर्दछ । प्रगतिशील गीत, संगीतको सिर्जना, प्रकाशनलाई जोड दिनुका साथै सामन्ती, पुँजीवादी संस्कृतिको विरुद्ध प्रगतिशील संस्कृति निर्माणमा ध्यान दिनु पर्दछ । लेनिनले भन्नुभएको थियो, “आफ्ना पत्रिकाहरुमा बढीभन्दा बढी निरिश्वरवादी वा धर्म निरपेक्ष सामग्रीहरु प्रचार–प्रसार गर्नुपर्दछ । यदि हामीसित ती सामग्री छैनन् भने पुनर्जागरणकालको लेखकहरुका त्यस्ता सामग्रीहरु साभार गरेर भए पनि छाप्नु पर्दछ ।” तर यहाँ धर्मको शोषण, अन्धविश्वास, दलित विभेद, महिला विभेद, दहेज प्रथा यी सबैका विरुद्धको आन्दोलन कमजोर भएको छ । ती कुराहरुमा ध्यान दिनुपर्दछ ।
तेस्रो काम, सकेसम्म गर्न सकिने सामूहिक काम गर्ने योजना बनाउनु पर्दछ । कम्युनिस्ट पार्टी र तिनका नेताहरुबाट पनि व्यक्तिलाई बलियो बनाउने तिर मात्र बढी ध्यान भयो । समूहलाई बलियो बनाउने काम भएन ।
० नेपाली क्रान्तिको कार्यदिशाबारे भन्नु पर्ने केही छ कि ?
– ठोस परिस्थितिको ठोस विश्लेषण गरेर कार्यदिशा तय गर्नुपर्दछ । नेपालमा अहिले अर्धसामन्ती अर्धऔपनिवेशिक अवस्थामा छैन । नवऔपनिवेशिक शब्द पनि उपयुक्त हैन कि भन्ने लाग्छ । यसबारे व्यापक छलफलको आवश्यकता छ ।
० तपाईले पढेका महत्वपूर्ण पुस्तकहरु ?
–सुरुको अवस्थामा सबैभन्दा प्रभाव राहुल सांकृत्यायनका “भागो नही दुनियाँको बदलो” , यसपालको “गान्धीवादको शव परीक्षा” जस्ता पुस्तकहरुले मलाई प्रभाव पारेका थिए ।
देवि प्रसाद चट्टोपाध्यायको “भारतीय दर्शनमा के जीवित छ र के अजीवित छ ?” भन्ने पुस्तकलाई मैले उल्था गरेको छु । प्रकाशित भइसकेको छ ।
दर्शनको क्षेत्रमा दरिलो दार्शनिक आधार नभएकाले पनि नेपाली कम्युनिस्ट आन्दोलन कमजोर भएको हो कि भन्ने लाग्छ । यहाँ पूर्वीय दर्शनमा भौतिकवाद छ । त्यसलाई खोज्ने, अध्ययन गर्ने, प्रयोगमा ल्याउने काम गर्नुपर्दछ ।
० अहिलेको राजनीतिक परिस्थिति बारे यहाँको विचार ?
–अहिलेको राजनीतिक परिस्थिति जटिल र नकारात्मक दिशातिर गइरहेको छ । शासकहरुले त्यसतर्फ ध्यान दिएका छैनन् । मुुख्य काम जनताको जीवनस्तर उठाउने हुनुपर्ने हो । चरम व्यक्तिवाद, उपभोक्तावादको विकास भइरहेको छ । यी का विरुद्धमा लाग्नु पर्नेमा साम्राज्यवादका नीति लागु गरेर बसेका छन् । लोक कल्याणकारी राज्यको अवधारणा अपनाउने पुँजीवादी देशले पनि शिक्षा, स्वास्थ्य र रोजगारीको समस्या समाधान गरेको हुन्छ । तर नेपालमा त्यो पनि भएन ।
० राजसंस्था पुनस्र्थापनाको नारा लगाउने गरेको सुनिन्छ ?
–अहिले तत्काल राजतन्त्र फर्किएला जस्तो लाग्दैन ।
० अन्त्यमा थप केही छ कि ?
–हाँकको निरन्तरताको लागि शुभकामना छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित