देश दुख्दैछ साथी

–टंकराज ढकाल “तितेपाती”-

(गण म भ न य य य यति ४ ७ मा)

 

आलोपालो प्रहर दमनको लात मार्दै चकारी

भ्रष्टाचारी कलुष अभरले हात पार्दै भकारी

आलाकाँचा असुर खलकको राज चल्दैछ चौथी

दायाँवायाँ कसर अजय भै देश दुख्दैछ साथी ।१

 

डाँडापाखा समतल छ थली दुष्ट कब्जा बहाली

राघेपाटे दलबल रमिता हुन्छ हालीमुहाली

ढाडे ब्वाँसा अगणित छलका रूप फेर्दै छ गुथ्थी

कस्तो पारा नियम असल खै देश दुख्दैछ साथी ।२

 

दानापानी छ परमुलुकको भोज खान्छन् दलाली

मुर्दाजस्ता रहनसहनमा चोर आक्रान्त जाली

सत्ताधारी विपुल कलहमा बन्न थाले गुलामी

चोचोमोचो तरह तरहको देश पारे बिरामी ।३

 

जानाजानी छलफल छ हुँदै धुन्धकारी कुरामा

आनाकानी वरपर धमिलो लाग्छ हावा छुरामा

तानातानी मद छल गहिरो मस्त बन्छन् सुरामा

राँको बाले सुललित सपना देश डुब्दै हिलोमा ।४

 

गाए चर्को भजन शकुनिले रात पारे दिवामा

बेचे धर्ती परहित छलमा हात झारे दुलोमा

दम्भी घाती कुकुर सरहका लड्न थाले कलोमा

बाझे उफ्रे घरघर ननिको देश पार्दै थलामा ।५

 

टोले झोले गणक छनकका दास पाले हजारौं

हाम्रो आफ्नो हक छ सडकमा भ्रष्ट नारा बजारौं

गायो नाच्यो नजिक शहरमा गर्तमा जोश ल्याऔं

आमा धर्ती विरह दिनदिनै देश बाँडेर खाऔं ।६

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित