काठमाडौं । हर्ट अट्याक भएर अन्तिम अवस्थामा पुगेका एक बिरामीलाई नेपाल मेडिकल कलेजका चिकित्सकले बचाएका छन् । मुटु रोगको उपचारका लागि नेपालकै प्रख्यात शहीद गंगालाल ह्दय केन्द्रमा समेत पुगेका काभ्रेपलाञ्चोक घर भएका विजय तामाङको नेपाल मेडिकल कलेजका मुटु रोग विशेषज्ञ डाक्टर अर्जुन बुढाथोकी नेतृत्वको टीमले ज्यान बचाएको हो ।
लामो समयदेखि रक्सी तथा चुरोट सेवन गर्दै आइरहेका तामाङलाई साउन २६ गते अगाडी देखि नै गाउँमा स्वासप्रस्वासमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । स्वासप्रस्वास र मुटुमा समस्या देखिएपछि सुरुमा उनलाई पाटन अस्पताल लगिएको र त्यहाँ विद्युतीय झड्का दिएर अनियमित मुटुको धडकनलाई सामान्य बनाउने कोशिष गरिएको थियो । तर, पाटनमा भेन्टिलेटर र आइसियू खाली नहुँदा तत्कालै गंगालाल ह्दय रोग केन्द्रमा रेफर गरिएपनि त्यहाँ समेत भेन्टिलेटर र आइसियू नपाउँदा उनका आफन्तले थापाथली स्थित एक निजी अस्पताल पुर्याएका थिए । यद्यपि, गाउँको सामान्य खेती किसानी गरेर जिविकोपार्जन गरेर बसेका तामाङ परिवारले निजी अस्पतालको खर्च धान्न सक्ने अवस्था भएन । त्यसपछि उनलाई तत्कालै नेपाल मेडिकल कलेज ल्याइएको थियो ।
उहाँ साउन २७ गते नेपाल मेडिकल कलेजमा आउनु भएको हो । यहाँ आउँदा उहाँको बाच्ने सम्भावना २० प्रतिशत मात्रै रहेछ, मैले २८ गते बिहान हेर्दा उहाँको स्वास्थ्यवस्था अत्यन्त जटिल बनिसकेको थियो । तथापि, हामीले मुटुको औषधीहरु सूचारु गरेका थियौं, मिर्गौलामा पनि समस्या थियो, हामी हारेका थिएनौं, बचाउन सकिन्छ कि भनेर उपचार थाल्यौं । बिरामीका आफन्तलाई पनि सोही अनुसार परामर्श गरेर क्रमसः केही दिन आइसियूमै राखेर उपचार गरेपछि क्रमिकरुपमा उहाँको स्वास्थ्यमा सुधार हुँदैगयो ।’ मुटु रोग विशेषज्ञ डाक्टर बुढाथोकीले भन्नुभयो । डा. बुढाथोकीका अनुसार बिरामीलाई यसविच २ पटक डायलाइसिस समेत गर्नुपरेको थियो । लगातार १० दिनसम्मको उपचारपछि अस्पतालले तामाङलाई डिस्चार्ज गरिसकेको छ ।
सघन उपचारपछि ज्यान बचेकोमा बिरामी बिजय तामाङले आइन्दा रक्सी सेवन नगर्ने प्रतिबद्धता मात्र जनाएनन् मृत्युको मुखबाट आफुलाई बचाएर ल्याएकोमा नेपाल मेडिकल कलेजका चिकित्सक, नर्सहरुलाई समेत धन्यवाद दिए । ‘बाँच्छु भन्ने लागेकै थिएन, यहाँहरुले मृत्युको मुखबाट मलाई निकाल्नु भयो । अब रक्सी खाँदिन ।’ अस्पतालबाट डिस्चार्ज हुँदैगर्दा बिजयले भने ।
यसअघि वीर अस्पताल, गंगालाल ह्दय केन्द्रमा मुटु रोग शिवेषज्ञका रुपमा काम गरिसक्नु भएका डा। अर्जुन बुढाथोकीले ब्लड प्रेसर, सुगर भएका मद्यपान, धुम्रपान गर्ने, शारीरिक ब्यायामहरु नगर्ने, चिल्लो बढी खानेहरुलाई मुटुको रोग लाग्ने संभावना अत्याधिक हुने बताउनु भयो । त्यसो त मुटु रोग जन्मजातै र वयस्क भएपछि आर्जन गरेर हुन्छ । ‘मुटुरोग २ प्रकारका हुन्छन्, एउटा जन्मजातै र अर्को वयस्क भएपछि । यी दुबैको उपचार हुन्छ । वयस्क अवस्थामा धुम्रपान तथा मद्यपान नगर्ने, अत्याधिक चिल्लोयुक्त खानपान नगर्ने, नियमित रुपमा शारीरिक ब्यायाम गर्ने हो भने मुटु रोगबाट बच्न सकिन्छ ।’ डा. बुढाथोकी भन्नुहुन्छ ।
नेपाल मेडिकल कलेजले केही समयभित्रै मुटुरोगको उपचारका लागि अत्याधुनिक क्याथल्याब स्थापना गर्दैछ । कलेजको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउँदै चिकित्सा विज्ञानमा भित्रिएका नविनतम उपचार विधि र उपकरणहरु भित्र्याउने लक्ष्य लिइएको कलेज प्रशासनले जनाएको छ ।

