–नरेन्द्रबहादुर थापा
यसै वर्षको गत भदौ २३ गते शान्तिपूर्ण जेन्जी आन्दोलनको नाममा भएको जनविद्रोहलाई तत्कालीन ओली सरकारले हिंसात्मक नरसंहारमा परिणत गर्दै ७६ जना होनहार युवाहरूको निर्मम हत्या गरेको थियो । सयकडौँ सङ्ख्यामा घाइते तथा अपाङ्ग बनेका छन् । परिवर्तनको लागि जीवन उत्सर्ग गर्ने सबै शहीदहरु प्रति श्रद्धा सुमन । घाइते तथा अपांगहरु प्रति पूर्ण स्वास्थ्य लाभको कामना ।
मअर्कोदिन २४ गते भएको आगजनी र तोडफोडबाट अरबौंको राष्ट्रिय संरचना सहितको सम्पत्ति ध्वस्त भएको छ। देशभक्त जेन्जी युवाहरूले यस्तो विध्वंस गर्न सक्दैनन् । विदेशी साम्राज्यवाद र विस्तारवादका एन्जिओ र आइएन्जीओमा लागेका देशद्रोही दलालहरुले नै यो विध्वंस गरेको हुनुपर्छ । यस्तो प्रकारको हत्या ,हिंसा ,आगजनी र तोडफोडपछि एकाएक सरकार सत्ता च्युत , संसद विघटन र अन्तरिम सरकार गठन भयो ।
यस जेन्जी विद्रोहले नेपालको राजनीतिक इतिहासमा एउटा अत्यन्त गहिरो र ऐतिहासिक प्रभाव पारेको छ। यसले केवल सामाजिक सञ्जाल र सडकमा उपस्थित युवाको असन्तुष्टिको आवाज प्रकट गरेको मात्र होइन, नेपालको विद्यमान ब्यवस्था लगायत परम्परागत राजनीतिक संरचनाप्रतिको तमाम नेपाली जनताद्वारा गरिएको अविश्वासको उद्घोष पनि प्रकट गरेको हो। अहिले विद्रोहको केही महिना बितिसकेको अवस्थामा देशको राजनीतिक स्थिति कतातिर उन्मुख छ भन्ने प्रश्न उठ्नु स्वभाविक छ। त्यसैले ती सम्भावित प्रश्नहरूको जवाफको रूपमा वर्तमान राजनीतिक परिस्थितिको यथार्थ परक ढंगले विश्लेषण गर्ने प्रयत्न गरिएको छ ।
१.विद्रोहको पृष्ठभूमि के हो?
जेन्जी– विद्रोह आकस्मिक र अप्रत्यासित रूपमा उदाएको जस्तो देखिए तापनि नेपालको संसदीय गणतान्त्रिक संविधान २०७२ कार्यान्वयनमा आएको करिब १० वर्षपछि मात्र यो विद्रोह भएको छ। यो अवधिमा संविधान अनुसारका ९ वटा सरकारहरूको कार्यकालमा भएगरेको अनुभव र अध्ययनपछि तिनीहरुबाट हुँदै आएको भ्रष्टाचार , कुशासन लगायत तत्काल सामाजिक संजालमाथि लगाइएको प्रतिवन्ध जस्ता सरकारका गलत काम कारबाहीबाट असन्तुष्टि आर्जित भएर मात्र त्यसका विरुद्धमा यो विद्रोह भएको हो। यस्तो भ्रष्टाचार र कुशासन विरुद्धको अभियान क्राकपा नेपालले गत असार ५ गते देखि नै वर्ष भरीका लागि सुरु गरिसकेको थियो । यही नै थियोे जेन्जी विद्रोहको पृष्ठभुमि ।
२.आजको अवस्थाको मूल कारण के थियो ?
यो विद्रोह रहरले कुनै एउटा दल वा नेताको नेतृत्वमा मात्र भएको होइन । यो विद्रोह अहिलेको डिजिटल युगका युवाहरूको स्वतस्स्फुर्त चेतनाबाट जन्मिएको थियो ,जुन अनिवार्य र वाद्यता पनि थियो । उनीहरुको माग केवल डिजिटल युगमा सामाजिक सञ्जाल माथि लगाइएको प्रतिबन्धको फुकुवा, भ्रष्टाचारको अन्त्य वा नयाँ नेतृत्वको खोजीमा सीमित थिएन। प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री लगायत सुशासन सहितको अग्रगामी ब्यवस्था परिवर्तनको माग थियोे ।यद्यपि मागहरू भने प्रष्ट रूपमा उल्लेख गरिएको थिएन ।
सरकारका तीनै अंग कार्यपालिका ,न्यायपालिका र व्यवस्थापिकाका कमजोरीका कारणले गर्दा पनि यो विद्रोह भएको छ। ठूलो मूल्य चुकाएर जेन्(जी विद्रोह सफल भएको थियोे । यद्यपि देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रबाट जेन्जी– विद्रोहलाई अपहरण गरी गलत दिशामा मोडियो । आज यो विद्रोहलाई असफल तुल्याएर देशलाई अनिर्णयको बन्दी बनाइएको छ। यही नै आजको अवस्थाको मूल कारण हो ।
३.जेन्जी विद्रोहको सन्देश के छ ?
जेन्जी विद्रोहको रूपमा समाजिक सञ्जालमा देखिएको उनीहरूको विद्यमान भ्रष्ट, दलाल संसदीय व्यवस्थाप्रतिको विरोध र पुराना संसदवादी राजनीतिक दलहरूप्रतिको असन्तुष्टिको यो विद्रोहलाई व्यापक रुपमा देशव्यापी समर्थन प्राप्त भएको छ। तर देशद्रोही शक्ति र देशीविदेशी प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रले गर्दा प्रतिगमनतिर मोडिएको जनविद्रोहलाई अग्रगामी दिशातर्फ मोड्दै सही ठाउँमा ल्याउन बृहत् जन आन्दोलनको तयारी गर्नुपर्ने अनिवार्य आवस्यकता भएको छ र ‘कसैले हाम्रो भविष्य कब्जा गर्न पाउँदैनू भन्ने जेन्जी विद्रोहको सन्देश हो’।
४. विद्रोहपछि दलहरूको प्रतिक्रिया के छ ?
नेपालका राजनीतिक दलहरु आजको अवस्थामा अग्रगामी , यथास्थितिवादी र प्रतिगामी गरी ३ धारमा विभाजित छन् । पहिलो धार गैर संसदवादी देशभक्त, जनतन्त्रिक ,वामपन्थी र क्रान्तिकारी शक्तिहरुको हो ।यो धारले नयाँ जनवादी क्रान्तिको खुड्किलो पारगरी नयाँ जनवादी गणतन्त्रको बाटो हुँदै वैज्ञानिक समाजवादमा जान चाहन्छ ।तवसम्मको लागि देशभक्त,जनतान्त्रिक, वामपन्थी र क्रान्तिकारी शक्तिहरूकोबीचमा राष्ट्रिय राजनीतिक सम्मेलनद्वारा संयुक्त मोर्चा निर्माण र स्वाधीन संयुक्त सरकार गठन गर्न चाहन्छ ।यही सरकारले मात्र राष्ट्र ,राष्ट्रियता जनतन्त्र र जनजीविकाको रक्षा गर्दछ ।
दोश्रो धार संसदवादी धारको एउटा पक्ष हो ,जसले लोकतान्त्रिक गणतन्त्र भनिने यही विद्यमान भ्रष्ट ,दलाल नोकरशाही संसदीय व्यवस्था कायम राख्न चाहन्छ। तेस्रो धार संसदवादी धारको अर्को पक्ष हो, जसले राजतन्त्र फिर्ता गर्न चाहन्छ।जेन्जी विद्रोहको माग प्रष्ट छैनन् तापनि अग्रगामी धारको विचारसँग मेल खान्छ। किनकि यथास्थितिवादी र प्रतिगामी राजनीतिक ब्यवस्था नेपालमा प्रयोग भएर असफल सिद्ध भइसकेका छन् ।
विद्रोहपछि परम्परागत दलहरूले पहिलोपटक गम्भीर रूपले युवाहरूको असन्तुष्टिलाई महसुस गरेको कुरा बुझिन्छ। तर उनीहरुको प्रतिक्रियाको स्वरूप भने फरकफरक रहेको पाइन्छ । जस्तैः (सत्तारुढ दलहरूले आन्दोलनलाई भावनात्मक ,तर अपरिपक्व भनेर व्याख्या गरेका छन् ।
(सत्तारुढ लगायतका केही दलहरुले विघटित संसद पुनस्स्थापनाको माग गर्दै सर्वोच्चमा दायर गरेको रिट विचाराधीन रहेको छ । जसको सुनुवाइ हुँदैछ ।
( केही प्रतिपक्षी दलहरूले यो जेन्जी विद्रोहलाई राजनीतिक अस्थिरता सिर्जना गर्ने षड्यन्त्रको रुपमा आएको प्रतिक्रिया दिएका छन्।
तर वास्तविकता के हो भने, यी दुवै दृष्टिकोण आन्दोलनको सार बुझ्न असफल भएको परिणामस्वरूप आएका छन् । युवा पुस्ताले दलहरुको असन्तुलित शक्ति ,भ्रष्टाचार र अवसरवादी गठबन्धनको खेलप्रति आक्रोश प्रकट गरेका थिए।तर त्यस विषयमा दलहरुले आत्ममूल्यांकन गर्न सकेनन्।
५. वर्तमान सत्ता समीकरण प्रति जनविश्वास केकस्तो रहेको छ ?
आजको राजनीतिक परिदृश्य अझै अहिलेसम्म पनि दलगत स्वार्थ र अस्थिर सत्तागठबन्धनबाट मुक्त हुन सकेको छैन। सरकार बने पनि लामो समयसम्म टिकिराख्न सक्दैन । टिके पनि जनताका प्राथमिकता भन्दा सत्ता सन्तुलनको एजेन्डा प्रमुख बन्ने गरेको छ।
जेन्जी विद्रोहको बलमा बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम कठपुतली सरकारले जेएनजीको मागअनुसार काम गर्नुको सट्टा विदेशी इशारामा काम गर्ने गरेको छ । अब पनि सोही अनुसार गर्ने प्रबल सम्भावना देखिएको छ। किनकि यिनीहरू पनि एनजिओ ,आइएनजिओका विदेशीका दलाल प्रतिनिधि नै भएको कुरा स्पष्ट भइसकेको छ।यो कठपुतली सरकारद्वारा देश चलाउने अमेरिकी साम्राज्यवाद र भारतीय विस्तारवाद नै हुन् ।त्यसैले आन्दोलनप्रति ठूलो धोका भएको छ।यो सरकारले आन्दोलनका माग पूरा गर्ने त संभावना नै देखिदैन ।शान्तिपूर्ण प्रदर्शनमा नरसंहारका हत्यारालाई कारबाही गर्न सक्दैन । सरकारमा बसेर देशलाई हरिकंगाल बनाउने भ्रष्ट तस्करहरुलाई पनि कर्वाही गर्दैन ।यस्ता मागहरु पनि पूरा गर्न नसक्ने कठपुतली सरकारको राजीनामाको माग पनि गर्न थालिएको छ ।
जेन्जी पुस्ताले चुनावलाई असहयोग र अवरोध गर्ने संभावनालाई इन्कार गर्न पनि सकिंदैन । चुनावबाट जेन्जी बिद्रोहले चाहेको परिवर्तन आउन पनि सक्दैन । परिवर्तन आन्दोलनबाट मात्र संभव छ।त्यसैले अर्को निर्णायक आन्दोलनको अनिवार्य आवस्यकता भएको छ ।
जेन्जी विद्रोहपछिका केही महिनामा युवाहरू पुनः मौन रहेको जस्तो देखिएको छ। तर यो मौनता निराशाको होइन, नयाँ विकल्प खोज्ने तयारीको मौनता हो। जसको परिणाम स्वरूप एकपटक निकट भविष्यमा अर्को विद्रोह विस्फोट हुने कुरा निश्चित छ।
अर्कोतर्फ संसद नीतिनिर्माण र सार्वजनिक सेवा क्षेत्र अझै पनि पुरानै सोच र ढर्रामा अडिएका छन्। यसले गर्दा वर्तमान सत्ता प्रति पुनस् जनताको विश्वास पूर्णरूपमा घटेको छ।
६. नयाँ पुस्ताको राजनीतिक चेत र सम्भावना के छ ?
यो स्पष्ट भइसकेको कुरा हो कि नयाँ पुस्ता अब दर्शक होइन, निर्णायक शक्ति नै हो। शीक्षित, डिजिटल साक्षर र विश्व सचेत युवापुस्ता अब यथास्थितिवादी र प्रतिगमनकारी शक्तिहरूको भ्रमपूर्ण भाषणमा विस्वाँस गर्दैन । अब जेन्जी पुस्ताले एकलै गरेर केही हुँदैन ।उनिहरुले व्यवहारिक जवाफदेहितामा रुचि देखाउँदै अग्रगामी शक्तिहरूको साथ र सहयोग खोज्नुपर्छ । यदि पुराना संसदवादी दलहरूले सच्चिन सकेनन् भने, नयाँ पुस्ताले अग्रगामी शक्तिहरूसँग सहकार्य गरेर वैकल्पिक अग्रगामी राजनीतिक संरचना निर्माण गर्नुपर्दछ । यो सम्भावित सपना साकार पार्न जरुरी पनि भएको छ। स्वतन्त्र नागरिक लगायत पूर्व सांसद , स्वतन्त्र उम्मेदवारसँगको पहल र डिजिटल आन्दोलनले त्यसको प्रारम्भिक संकेत दिइसकेका छन् ।अब युवा शक्ति अग्रगामी शक्तिहरुसँग सहकार्य गरेर अगाडि बढ्नु पर्दछ।
७. निश्कर्ष नयाँ युगको प्रारम्भ वा असफल सङ्क्रमण?
जेन्जी– विद्रोहले नेपालमा नयाँ राजनीतिक चेतना जागृत त गराएको छ । तर त्यस चेतनालाई संस्थागत रूप दिन राजनीतिक संस्कार र सक्रियता अझै पर्याप्त छैन। वर्तमान राजनीतिक अवस्था न नयाँ युगको पूर्ण प्रारम्भ हो, न त पुरानो युगको अन्त्य नै ।यो सङ्क्रमणकालीन असामञ्जस्यताको अवस्था हो ।यद्यपि यसलाई नयाँ युगतिर मोड्नुपर्ने आवश्यकता छ।
यदि राज्यले युवाको ऊर्जा, विचार र अपेक्षालाई समेट्न सकेन भने अर्को विद्रोह अझ गहिरो र निर्णायक हुने कुरा त निश्चित नै छ। । तर यदि यसपटक शासन प्रणालीले जनअपेक्षालाई सम्बोधन गर्ने हिम्मत जुटायो भने विषम परिस्थितिको निकास आउन पनि सक्ने झिनो सम्भावनालाई इन्कार गर्नअझै पनि सकिंदैन ।
अन्ततः जेन्जी विद्रोहदेखि हालसम्मको राजनीतिक यात्रा हाम्रो विद्यमान दलाल संसदीय गणतन्त्रको ऐनामा प्रतिबिम्बित युवाहरुको चेत र दलहरुको जडता बीचको द्वन्द हो।
अब प्रश्न यो हो कि केहिनकेही धेरै थोरै परिवर्तन अवस्यम्भावी छ। त्यो परिवर्तन कस्तो हुन्छ रुत्योसँग को घुलमिल र समायोजन हुन्छ रु र को परिवर्तनको छायामा हराउँछरु वा यो भन्दा भीषण संयुक्त जनआन्दोलनको तयारी हुन्छ जे होस्, परिवर्तन अग्रगामी नै हुनुपर्छ । हेर्न बाँकी छ। धैर्य रहौं , हेर्दै जाउँ । धन्यवाद।
मिति ः२०८२–०७–१३

