-हिमलाल वाग्ले
हाँक साप्ताहिक पुनःसंचालनमा आउनु भन्दा पहिले सन् १९९१ तिर नयाँ हाँक साप्ताहिक प्रकाशित हुन्थ्यो । मैले त्यतिबेला न्यू बम्बै (अहिलेको नई मुम्बई) मा एउटा कम्पनीमा काम गर्दथे । हामीले त्यहाँ नेपालीहरुका बीचमा हाँक ग्राहक बनाएका थियौं । हुलाकबाट नयाँ हाँक जान्थ्यो । मैले त्यहाँ त्यो पत्रिकालाई ग्राहक साथीहरुकोमा वितरण गर्दथे । हुलाकबाट पठाइने पत्रिका महंगो पर्दथ्यो । तैपनि हामी त्यसका ग्राहक बनेर पत्रिका पढ्दथ्यौं ।
नेपाल आएपछि–२०६६ सालदेखि लगातार “हाँक साप्ताहिक” को काममा जोडिएको छु । समाचार लेखेर हाँकमा पठाउने, हाँक वितरण गर्ने, विज्ञापन उठाउने, त्यसरी मैले हाँकको प्रतिनिधि र वितरक भएर काम गर्दै आएको छु । यस्तो लाग्छ, हाँक मेरो जीवनको एउटा अभिन्न अंग नै भइसकेको छ । जब म हाँक बोकेर जनताको बीचमा जान्छु, मलाई असाध्य गौरवको महशुस हुन्छ । अत्यन्त खुशी लाग्दछ । एउटा बच्चाले आफूलाई मन परेको खेलौना प्राप्त ग¥यो भने कति खुशी हुन्छ ? हो, मलाई हाँक प्राप्त गर्दाको क्षण त्यस्तै खुशी लाग्छ ।
२०६६ सालदेखि २०६८ सम्म रुपन्देही र कपिलवस्तुका रामापुरदेखि सालझण्डी, बाँसगढी, मोतिपुर, बाणगंगा, गजेहडा, कोपवा, तौलिहवा महेन्द्रकोट, गोरुसिंगे, इमिलियासम्म साइकलमै मैले हाँक वितरण गरेको थिएँ । ५६० प्रतिसम्म पत्रिका ग्राहक बनाइएको थियो ।
हाँकसित जोडिएका थुप्रै सुख, दुःखका कथाहरु छन् । एकपटक थरुहट बन्द भएको बेला तराईमा गाडी बन्द थियो । पहाडी मार्गहरु खुला थिए । काठमाडौंबाट पत्रिका पाल्पाको तानसेन आएछ । म कपिलवस्तुबाट तानसेनबाट साइकलमै पत्रिका बोकेर ल्याएको र हाँक वितरण गरेकोसम्म अनुभव छ ।
कोरोनाकालमा पत्रिका वितरण गर्न पाइएन । पार्टी एकता पछि म पार्टीको जिल्ला सेक्रेटरीको जिम्मेवारीमा आएपछि समय धेरै पार्टी संगठनको कामलाई दिनुपर्ने भएकाले हाँकलाई पर्याप्त समय दिन सकेको छैन । जनताका मुद्दाहरु पार्टीमा आउँछन् । ती मुद्दाहरुलाई हामीले हेर्नुपर्दछ । उदाहरणको निम्ति दलालले जग्गाको लालपुर्जा लिएर बसेको छ । एकातिर किसानको पक्षबाट कानुनी लडाई गर्नु परेको छ भने अर्कोतर्फ किसानलाई हामीले भौतिक रुपमा उपस्थित भएर किसानलाई सहयोग पनि गर्नु परेको छ ।यस्ता जनसरोकारका काममा पनि लागिरहनु परेकाले हाँकलाई पर्याप्त समय दिन सकिएको छैन । तैपनि मैले सकेजति हाँक प्रतिनिधि र वितरकको काम गरिरहेकै छु ।
हाँकको ग्राहक विस्तार, विज्ञापन संकलन गर्न सकिन्छ । जनताको हाँक प्रतिको दृष्टिकोण राम्रो छ । यसले राष्ट्रिय स्वाधीनता, जनताको न्यायपूर्ण आन्दोलन, किसान, मजदुर, उत्पीडित, उपेक्षित जनताको आवाज उठाइरहेको छ । देश र जनतामा नयाँ नयाँ समस्यालाई हाँकले उठाउनुपर्छ र हाँक ग्राहक विस्तार गर्नुपर्छ भन्ने मेरो सल्लाह छ । नियमित हाँक पढेमा पाठकले देश, दुनियाँका बारेमा नियमित प्रशिक्षित हुने मौका पाउँछ । हाँकले ४३ औं वर्ष प्रवेश गरेको सन्दर्भमा बधाई छ । हाँकको प्रगतिको धेरै धेरै शुभकामना ।

