दलाल संसदीय व्यवस्था रहेसम्म देश र जनताको मुक्ति सम्भव छैन

 

–धनेश्वर पोख्रेल, महासचिव, क्रान्तिकारी किसान महासंघ नेपाल

० पोख्रेलजी , तपाई प्यूठानको खैरा गाउँको एउटा शिक्षित र राजनैतिक चेतनायुक्त परिवारमा जन्मनु भयो । पक्कै पनि तपाईको जीवनमा त्यसको प्रभाव प¥यो होला । त्यतिबेलाको स्मरण सुनाउनु हुन्छ कि ?
–हो, तपाईले भने जस्तै म प्यूठान जिल्लाको  गाविस वडा नं. ८ खैरामा एउटा निम्न मध्यम वर्गीय किसान परिवारमा जन्मेको हुँ । मेरो बुबा , आमा कृषि पेशा गर्नु हुन्थ्यो । किसान भए तापनि उहाँ शिक्षित किसान हुनुहुन्थ्यो । उहाँले जनताका मुद्दा मामिला हेर्ने, लेखापढी गर्ने, अन्यायमा परेका जनतालाई सहयोग गर्ने गर्नुहुन्थ्यो । राजनैतिक रुपमा उहाँ कम्युनिस्ट विचारमा आस्थावान हुनुहुन्थ्यो । तत्कालीन अवस्थामा उहाँ कम्युनिस्ट पार्टीको सदस्य समेत भएर गाउँका शोषक फटाहाहरुको विरुद्ध लड्नु भएको थियो । त्यसको साथै उहाँ परम्परागत रुढीवादी संस्कार, संस्कृतिका विरुद्ध आफ्ना सहपाठीसँग मिलेर स्थानीय तहमा संघर्ष गर्नुहुन्थ्यो । ‘बाहुनका छोराले हलो जोत्नु हुँदैन, जात जान्छ’ भन्ने ब्राम्हणवादी चिन्तन र प्रवृत्तिका विरुद्ध उहाँहरुले सार्वजनिक स्थानमा गोरु नारेर उहाँ लगायतको टीमले हलो जोत्नु भएको थियो । यो घटनाले प्यूठान जिल्लामा ठूलै तहल्का ल्यायो । उहाँले हामीलाई हलो जोत्न सिकाउनु भयो । “ कसैलाई अन्याय पनि नगर्नु, अन्याय पनि नसहनु, गरिब दुखीलाई माया गर्नु, अर्काको पसिना लुटेर धनी भएकाहरु फटाहा शोषक हुन्, तिमीहरु कहिल्यै उनीहरुको पछि नलाग्नु ।” आदि भनेर हामीलाई सम्झाउनु हुन्थ्यो र पढ्नमा प्रेरित गर्नुहुन्थ्यो । हामी स्कूल नगएको दिन सजाय खानु पर्दथ्यो ।
बुबाको वैचारिक र व्यवहारिक प्रभाव दाजु लिलामणिमा प¥यो । उहाँले विद्यार्थी अवस्थादेखि नै राजनीति गर्न थाल्नुभयो । बुबा र दाजुको प्रभाव हामी सबैमा प¥यो र हामी पनि उहाँको पछि पछि राजनीतिबारे चासो दिंदै उहाँहरुले संकलन गरेका पुस्तक पढ्दै जाँदा हामी पनि कम्युनिस्ट विचारप्रति आकर्षित भएका हौं ।

० तपाई विद्यार्थी संगठनमा सबै भन्दा पहिले सदस्यता कहाँबाट कहिले प्राप्त गर्नुभयो र विद्यार्थी संगठनमा गरेका कामहरु के कस्ता छन् ?
–हामीले २७–२८ सालतिर ७–८ कक्षामा पढ्दाखेरी विद्यार्थी राजनीतिबारे चासो दिन थालेका थियौं । त्यतिबेला अनेरास्ववियु, नेविसंघ र फेडरेसन नामका विद्यार्थी संगठनको नाम सुनेका थियौं । नेविसंघ भनेको कांग्रेसको विद्यार्थी संगठन हो, अनेरास्ववियु भनेको कम्युनिस्ट संगठन हो, फेडरेसन संशोधनवादी कम्युनिस्टको संगठन हो र मण्डले भनेको पंचेहरुको संगठन हो भन्ने सुनेका थियौं । हामीलाई क्रान्तिकारी कम्युनिस्टको संगठन मन प¥यो र त्यसकै कार्यक्रममा सहभागी हुँदै आएका थियौं । २०३० सालमा ९ कक्षामा रातामाटा मुक्ति हाइस्कूलमा पढ्ने बेला म लगायत केही साथीहरुले अनेरास्ववियुको सदस्यता लिएका थियौं । हामीलाई उक्त सदस्यता हुकुमबहादुर सिंहज्यूले दिनु भएको हो, उहाँ त्यसबेला अनेरास्ववियुको केन्द्रीय सदस्य हुनुहुन्थ्यो ।

त्यसपछि हामीले आफ्नो विद्यालयमा संगठन बनायौं । त्यतिबेला प्यूठान रातामाटाको मुक्ति माध्यमिक विद्यालय राजनीतिक थलो बनेको थियो । त्यहाँका शिक्षक विद्यार्थी प्रायः सबै आ–आफ्नो कित्तामा थियौं । त्यहाँ पहिलेदेखि नै आन्दोलन हुने गर्थे । हामीले १० कक्षामा पढ्दा अखिल र अरु विद्यार्थीहरुबीच झडप भैरहन्थे । त्यहाँका कांग्रेस, मण्डले कित्ताका शिक्षकहरु प्रशासनिक पहुँचमा भएकाले कम्युनिस्ट शिक्षक र विद्यार्थीहरुमाथि प्रशासन लाद्ने, परिक्षामा विद्यार्थीहरुप्रति पक्षपात गर्ने, अखिल पक्षकालाई फेल गराउने र अरुलाई जस्तो भए पनि पास गराउने गर्थे । त्यसको शिकार टेष्ट परिक्षामा हामी पनि करिब २५–३० जना साथीहरु प¥यौं । हामीले त्यो रिजल्टलाई खारेज गरेर प्रतिरोधमा उत्रियौं । विद्यालयको बागडोर समातेका त्यस्ता खाले शिक्षकलाई कालोमोसो दल्ने र जस्तो सुकै कार्वाही गर्ने घोषणा सहित हामी सडकमा उत्रेपछि प्यूठान जिल्लाको शिक्षा समिति बसेर फेल गरिएका जति सबैलाई एकमुष्ट पास गर्ने र एसएलसीको निम्ति बाटो खुल्ला गर्ने निर्णय गर्न बाध्य भयो । हामीले शिक्षा क्षेत्रमा देखिएका विकृति र विसंगतिका विरुद्ध र कतिपय शिक्षकहरुले राजनैतिक प्रतिशोधपूर्ण गरिएको पक्षपाती व्यवहारका विरुद्ध थुप्रै संघर्ष ग¥यौं ।

० तपाईले जीवनको दुई दशक भन्दा बढी समय शिक्षण पेशामा बिताउनु भयो । प्यूठान र रोल्पामा शिक्षण पेशामा रहँदा शिक्षक संगठन र आन्दोलनमा पनि सहभागी हुनुभयो कि ?
–२०३२ सालमा पहिलो पटक एसएलसी दिएपछि म प्यूठान जिल्ला प्रशासन कार्यालयमा अस्थायी मुखिया बनेर काम गरें । त्यस वर्ष पंचायत विषयमा १ नं. नपुगेर फेल भएँ । दोस्रो पटक २०३३ मा एसएलसी दिएँ र पास भएपछि अस्थायी खरिदार केही समय भएँ । २०३४ मा नेकपा चौथो महाधिवेशन पार्टीले पंचायतका विरुद्ध देशव्यापी पर्चा छर्ने काम भयो । त्यसमा हामी पनि संलग्न प्रशासनको निगरानीमा परेपछि भागेर काठमाडौं आयौं । काठमाडौंबाट एक हप्तापछि फर्केर सिधै रोल्पा गएर शिक्षक भएँ । २०३४ सालदेखि ०३८ सालसम्म अध्यापन गरियो । यो बीचमा २०३५ सालमा हामीले पहिलो पटक शिक्षकहरुको भेला गरी नेत्रबहादुर डाँगीको संयोजकत्वमा हामी समेतको शिक्षक संगठन बनाऔं । २०३५ मा अर्को भेला गरी मानबहादुर बाठा तत्कालीन (माले पक्षका) अध्यक्ष, उपाध्यक्षमा धनेश्वर पोख्रेल र सचिवमा कृष्णबहादुर महरा , सहसचिव सूर्य बहादुर रोका सहितको पदाधिकारी भएको करिव २०–२५ जनाको नेपाल राष्ट्रिय शिक्षक संगठन बनाउने, संगठन र संघर्षका गतिविधिलाई अगाडि बढायौं ।

२०३६–३७ मा केन्द्रको आह्वानमा शिक्षक, कर्मचारीका मागहरु सुत्रबद्धगरी हामीले अनिश्चितकालीन देशव्यापी शिक्षक हड्ताल ग¥यौं । त्यसबेला रोल्पा, गोरखा, सिन्धुली र रामेछापमा लगातार चार महिनासम्म विद्यालयहरु ठप्प रहे । हड्ताल सुरु हुन अगावै संगठनका अध्यक्ष बाहिरिए । हड्तालको १ महिनामा सचिव महरालाई प्रशासनले गिरफ्तार ग¥यो । म लगायत केही साथीहरुलाई वारेन्ट जारी ग¥यो । हामीले प्रहरी प्रशासनसँग लुकामारी गर्दै आन्दोलन निरन्तर अघि बढायौं । हड्तालको अन्तमा ०३८ असारमा म लगायत केही साथीहरुलाई अवकास ग¥यो । संगठनकै दवावमा अरु साथीहरु पुनः बहाली हुनुभो तर हामीलाई गरेन । वारेन्ट जारी थियो त्यत्तिकैमा २०३८ को रा.पं.स.को चुनाव बहिष्कार गरेको आरोपमा रोल्पा प्रशासनले ०३८ कार्तिक ८ गते थवाङमा सैन्य अप्रेसन ग¥यो । त्यसैमा कृष्णसेन इच्छुक, डिल्ली अधिकारी र मलाई मुछेर गिरफ्तार गरेर राजकाज मुद्दा लगायो । ३ महिनाको हिरासत पश्चात् तारिखमा छोडियो । तारिखकै क्रममा वैशाख ९ गते सेनजीलाई दाङमा र १२ गते रोल्पामा गिरफ्तार गरी कडा यातना सहित ३ महिना हिरासतमा राखेर सेनजीलाई घोराही कारागार , मलाई रोल्पा कारागारमा पठायो । ४ वर्षको कारागार जीवन पश्चात् म प्यूठानमा आएर पुनः शिक्षक भएँ । २०५२ असारमा पुनर्वहाली रोल्पा नै फर्किए । २०५२ फागुन १ देखि जनयुद्ध शुरु भएपछि त्यसैमा लागियो ।

० कम्युनिस्ट पार्टीमा कहिले कसरी प्रवेश गर्नुभयो ?
–माथि नै भनियो कि हाम्रो बुबा तात्कालिन मोहन विक्रमको पार्टीमा आबद्ध भैसकेकोले त्यसको प्रभाव दाजु लिलामणि र ममा पनि प¥यो । स्कूले विद्यार्थी छँदा हामीले पार्टीका चिठी ओसार पोसार गथ्र्यो । मोहन वैद्य लगायत कतिपय भूमिगत नेताहरुलाई रातमा एक ठाउँबाट अर्को ठाउँमा पु¥याउने गथ्र्यो । त्यो बेला विद्यार्थी लगायत अन्य जनवर्गीय संगठनमा रहेर काम गर्दै जाँदा २०३२ साल भदौमा पार्टी सदस्यताको आवेदन फारम भ¥यौं । त्यसको ठिक एक वर्षपछि २०३३ साल भदौ मै मोहन वैद्यले मलाई पूर्ण पार्टी सदस्य भएको जानकारी दिनुभएको थियो । त्यसपछि सेल, एरिया, जिल्ला सदस्य हुँदै काम गरियो । २०४२ मा जेलबाट छुटेपछि प्यूठानको सेक्रेटरी भएर ६ वर्ष २०४८ सम्म काम गरें । त्यसपछि विष्णुहरी सेक्रेटरी भएपछि म जिल्ला सचिवालय सदस्य भएँ ।

० जेलजीवनको अनुभव पनि छन् कि ?
–पहिले नै भनियो,  शिक्षक आन्दोलनको नेतृत्व गरेको कारण रोल्पा जिल्ला प्रशासनले हित लिष्टमा राखेर २ वर्ष पहिलेदेखि वारेन्ट जारी गरेको थियो । रोल्पामा हड्ताल गरेर शैक्षिक वातावरण खलबलाएको र कम्युनिस्ट राजनीतिमा लागेको आरोपमा २०३९ वैशाख १२ गते मलाई रोल्पा गिरफ्तार गरी चरम यातना सहित ३ महिना हिरासतमा राखेर ३ महिना पछि रोल्पा कारागारमा पठायो । १४ महिनासम्म रोल्पा जेलमा राखेर दाङ तुलसीपुरमा सरुवा गरेको थियो । मलाई दाङ सुरुवा गर्नुको मुख्य कारण मैले जेलमा छँदा कैदी बन्दीहरुले पाउने सुविधाको विषयलाई लिएर १० दिनसम्म आमरण अनसन बसेको थिएँ । त्यतिबेलासम्म जेल प्रशासनले लत्ताकपडा, औषधि उपचार, खेलकुँद, पठनपाठन, कैदी बन्दीको व्यवस्थापन लगायत कुनै कुराको कानुनी सुविधा पनि दिएको थिएन । यो कुराको अध्ययनपछि उक्त विषयहरुलाई उठाएर अल्टीमेटम सहित म दश दिनसम्म आमरण अनसन बसेपछि ठूलो हलचल भयो । १० दिनपछि प्रशासनले सबै माग पूरा गरेको थियो । पछि यसले थप समस्या पार्न सक्छ भनेर त्यहाँबाट सरुवा गरेको थियो ।

तुलसीपुर जेलमा थवाङ काण्डका साथीहरु थिए । हामीले त्यहाँ पनि त्यस्तै हलचल मच्चायौं । हामीलाई ६ महिनापछि फेरि घोराही सरुवा गरियो । घोराही जेलमा कृष्णसेनसँग भेट भयो । एउटै कोठामा हामी बस्थ्यौं । त्यहाँ पनि हामीले विभिन्न मुद्दा उठाएर आन्दोलन ग¥यौं । नेकाका खुमबहादुर त्यही थिए । उनी र अर्को एकजनाले नेकाकै बन्दी ज्यान केसमा साथै बस्थे । उनले एक दिन महिलाबन्दीसँग अनैतिक कार्य गरेका कारण जेलभित्रै कार्वाही गर्दा खुमबहादुर हामीमाथि जाई लाग्न खोज्दा उनी आफै भागेर लुक्ने स्थिति बनेको थियो ।
यसरी हामी विद्रोही चेतले जेलभित्र पनि हलचल मच्चाएको थियो । पंचायती निरंकुशता भित्र जेलभित्र पनि हामीले निर्भिकतापूर्वक प्रतिक्रियावादी सत्तालाई चुनौती दिएका थियौं ।

० नेकपा (मशाल), नेकपा (एकताकेन्द्र) र नेकपा (माओवादी) मा सांगठनिक जिम्मेवारी के थिए ?
–२०३२–३३ सालमा पार्टी सदस्यता प्राप्त गरिसकेपछि मैले सेल, एरिया र जिल्ला समितिमा रहेर काम गरेको थिए । त्यतिबेला म सानो जागिरमा भएकोले एउटा त पेशागत जिम्मेवारी थियो भने अर्कातिर पार्टी संगठनको जिम्मेवारी पनि थियो । त्यो जिम्मेवारी प्रायः विदाको दिनमा गरिन्थ्यो । २०४२ को अन्त्यतिरबाट सेक्रेटरी भएपछि भूमिका अलि बढ्यो । त्यतिबेला म शिक्षक भएकोले शिक्षक संगठनमा पनि आबद्ध थिएँ । संयुक्त शिक्षक संगठन हुँदा केन्द्रीय प्रतिनिधि पनि भएको थिएँ । २०५१ मा माओवादी भए पछि कहिले रोल्पा, प्यूठान, कहिले दाङ, प्यूठान हुँदा जिल्ला सचिवालय सदय हुँदै युद्धकालमा व्यूरो सदस्य भएर लामो समय काम गरियो । युद्धकालमा २०५७ देखि क्षेत्रीय उद्योग विभागको इन्चार्ज भएर आधार इलाकामा ७–८ वटा उद्योग संचालन गरेर केही युद्ध सामाग्री (लजिस्टीक आदि) उत्पादन गरेर मुद्दालाई टेवा पु¥याउने काम भयो । आधार इलाकामा जनसत्ता निर्माण गर्दा म उद्योगमन्त्री बन्ने अवसर पनि मिलेको थियो । हामीले आधार इलाकामा थुप्रै साना घरेलु उद्योग संचालन गरेका थियौं। यसको प्रचार यूरोपसम्म पुगेको थियो । भाइचाराहरु थुप्रैले हाम्रा उत्पादनहरु उपहारको रुपमा लैजान्थे ।

० प्यूठानमा जनयुद्धको प्रारम्भिक कालमा नेकपा (माओवादी) को संगठन कमजोरै थियो । तर जनयुद्धकै क्रममा संगठन पनि द्रुत गतिमा विकास भयो । त्यसको मुख्य कारण के थियो ?
–हो, तपाईले भने जस्तै जनयुद्धको थालनी ताका प्यूठानमा पार्टी संगठन तुलनात्मक रुपमा कमजोरै थियो । हामी सीमित नेता कार्यकर्ताले जनयुद्धको थालनी गरेका थियौं । युद्धको सुरुसुरुमा दीपक केसी, म, विष्णुहरी शर्मा, शंकर दर्लामी लगायतका व्यक्तिहरुले प्रचारात्मक कार्य अघि बढायौं । झोलामा माइक, पर्चा, पोष्टर बोकेर ठाउँठाउँमा पोष्टर टास्ने, पर्चा छर्ने र माइकिङ गर्ने काम गरियो, सारमा भन्नुपर्दा प्यूठानका उत्पीडित जनता र सुदखोर फटाहा बीचको अन्तर्विरोधको पहिचान र तार्जेट ठिक भएकोले र सोही अनुरुपको जनकार्वाही पार्टीले अगाडि बढाएकोले सांगठनिक विकासमा तीब्रता आएको हो । त्यसबेला पार्टीले ठोस परिस्थितिको ठोस विश्लेषण गरेर ठोस योजना बनाएकोले जनताको मन जित्न सफल भएको हो ।

० तपाई अहिले क्रान्तिकारी किसान महासंघको महासचिव हुनुहुन्छ । किसानका के कस्ता समस्याहरु देख्नु भएको छ र तिनको समाधानका उपायहरु के हुन् ?
– म २०६५ चैत्रदेखि किसान महासंघमा आबद्ध छु । आबद्ध भएदेखि मेरो प्रमुख भूमिका किसान मोर्चा मै रही आएको छ । म यो मोर्चामा आएदेखि नेपाली किसानहरुको अवस्था, किसानले भोग्नु परेका तमाम समस्याहरु, किसानले आफ्नो मुक्तिका लागि गरेका विगतदेखि वर्तमानसम्मका विभिन्न चरणका आन्दोलन वा संघर्षहरु अहिलेसम्मका सरकारले किसान र कृषि क्षेत्र प्रति अपनाएको रवैया र दृष्टिकोण, नेपालको कृषि क्षेत्रको अवस्था र यसले मुलुकको अर्थतन्त्रमा पारेको प्रभाव आदिबारे मोटामोटी अध्ययन गर्ने अवसर मिल्यो । नेपालमा विभिन्न प्रकृतिका किसानहरु कृषि पेशामा संलग्न रहँदै आएका छन् ।

सरकारी तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको ६५ प्रतिशत जनता कृषिमा आधारित छन् । त्यसैले नेपाललाई कृषि प्रधान देश भनिएको हो । कृषि क्षेत्र राज्यको अर्थतन्त्रको मेरुदण्डको रुपमा लिइन्छ । आर्थिक उपार्जन र जिविकोउपार्जनका लागि हावा र पानीको जति महत्व छ त्यत्तिकै महत्व कृषिको छ । मानिसदेखि लिएर हरेक जीवजन्तु कृषिकै आधारमा बाँचेका हुन्छन् । कृषि उत्पादनबाटै हरेकको पेट भरिएको हुन्छ । चाहे माछा मासु खाएर होस्, चाहे फलफूल आदि खाएर होस् चाहे अन्नपात खाएर होस् जुनसुकै वस्तु खाएर जीवनयापन गरे तापनि कृषिबाटै उत्पादित वस्तुका उपज हुन् । राजादेखि रैतीसँग मन्त्रीदेखि जनतासम्म, हाकिमदेखि पियनसम्म जतिलाई नभै नहुने चिज भनेको खाना हो । यस्तो महत्वपूर्ण वस्तु उत्पादन गर्ने उत्पादक शक्ति सबैभन्दा उपल्लो दर्जामा व्यवस्थित र सम्मानित हुनुपर्नेमा किन आज सबैको उपेक्षाको वस्तु बन्न गएको छ ? यो एउटा गम्भीर र सोचनीय विषय हो । यो समस्या विसुद्ध किसानको समस्या नभएर राज्यसत्ताको समस्या हो, वर्गीय समस्या हो । अहिलेसम्मका कुनै पनि सरकारको कृषि नीति र किसानलाई हेर्ने दृष्टिकोण ठिक छैन । नेपालको कृषि नीति आन्तरिक आत्मनिर्भर अर्थतन्त्र मुखि नभएर दलाल प्रवृत्तिको परनिर्भरमुखी रहँदै आएको छ । यसले आन्तरिक उत्पादन गरेर बाहिर निकासी गर्नु भन्दा बाह्य उत्पादन, कमिसन, पैठारी र कमिसनलाई प्रश्रय दिंदै आएको छ ।

आज उखु किसानको समस्या जस्ताको त्यस्तै छ । त्यस्तै मिटर व्याज पीडित सहकारी पीडित, दुग्ध संस्था पीडित, किसानहरु लामो समयदेखि सडक आन्दोलनमा छन् । आन्दोलनमा नउत्रेका समस्याले विक्षिप्त भएका कुखुरापालक किसान, माछापालक किसान, तरकारी उत्पादक किसान, अन्नबाली उत्पादक किसान बाख्रा तथा बंगुरपालक लगायत तमाम किसानहरुको अवस्था झनपछि झन दयनीय बन्दैछ । मुलुकको उत्पादक शक्ति  विदेश पलायन भइरहेकोछ । फलस्वरुप एकातिर कृषि क्षेत्र उपेक्षित छ र दिनप्रतिदिन ओरालो लाग्दैछ, अर्कोतिर उत्पादित भूमि एकातर्फ भूमाफियाहरुको कब्जामा परेर प्लटिङमा परिणत भएको छ भने अर्कोतर्फ प्रति बाँझो रुपमा परिणत भएको छ । आज यसले मुलुकको सिंगो अर्थतन्त्रमा ठूलो संकट ल्याएको छ ।

यिनै तमाम समस्याहरुलाई सुत्रबद्ध गरी किसानहरुले विगतदेखि लगातार संघर्ष गर्दै आएको जगजाहेर छ । २००८ सालमा भिमदत्त पन्तदेखि लिएर २०२८ सालको झापाकाण्ड र त्यसपछिको २०३६–०४६–०४७ का जनआन्दोलन मात्र नभएर २०५२–०६२ को महान जनयुद्ध, २०६२–६३ को दोस्रो जनआन्दोलन यी सबै किसान आन्दोलनका विकसित रुप हुन् । त्यसको साथै कतिपय एकल र कतिपय अवस्थामा चार दलीय वा छ दलीय किसान मोर्चाको पहलमा किसानका ६५ सुत्रीय माग राखेर विगतका सरकारको ध्यानाकर्षण पनि गरियो तर कतैबाट र कसैबाट त्यसको सुनुवाई भएको छैन । यो विडम्बनाको कुरा हो र लात खान पल्केकालाई पातले नछोएको हो ।
अतः किसानका समस्या साझा समस्या भएको र यो वर्गीय समस्या भएकोले वर्गसंघर्ष कै माध्यमबाट यसको हल खोज्नुपर्छ । वर्गसंघर्ष शान्तिपूर्ण तरिकाले मात्र सम्भव छैन । त्यसको लागि सम्पूर्ण उत्पीडित किसानहरु प्रतिरोध संघर्षमा उत्रनुको विकल्प छैन । वर्तमान प्रतिक्रियावादी दलाल संसदीय व्यवस्थाभित्र जुन रुपको सरकार बने पनि वा जुन पात्र वा चित्र फेरिए पनि चरित्र एउटै हो । तसर्थ यो सत्ता र व्यवस्थाभित्रबाट होइन, निर्णायक प्रतिरोध संघर्ष र  आमूल परिवर्तन गरी समस्याको समाधान खोज्नु आजको अपरिहार्य आवश्यकता हो ।

० तपाईले लेखेका २०६३ सालमा प्रकाशित कविता संग्रह ‘विद्रोहको युग‘, २०६७ मा प्रकाशित ‘बेनी मोर्चाको शब्दचित्र” संस्मरण र २०८१ मा प्रकाशित ‘बन्दुकले विश्राम लिएपछि” कविता संग्रह यी रचनाहरुबारे लेखक आफैले बोल्नुपर्दा के भन्नुहुन्छ ?
–अहिलेसम्म मैले तीनवटा कृति प्रकाशित गरेको छु । मेरो पहिलो कृति ‘विद्रोहको युग’ दशवर्षे महान जनयुद्ध सन्दर्भमा भएका घटनाक्रमहरुलाई आधार बनाएर लेखिएको कृति हो, त्यसबेला त्यो राम्रै चर्चामा आएको थियो । भीषणयुद्धको बेलामा लेखिएकोले त्यसका विम्व र प्रतिकहरुपनि त्यस्तै प्रकारका छन् ।
त्यस कृतिमा वर्गदुश्मन प्रतिको तीव्र घृणा र आक्रोश अनि प्रतिरोधका शब्दवाणहरु बन्दुकका गोली जस्तै निस्किएका छन् । युद्धलाई निस्तेज गर्न सत्ताले संचालन गरेका नरसंहारकारी अभियान बेला जनताले भोगेका दुःख पीडा, माओवादीको नाममा भएका हत्याहिंसा, बलात्कारको निन्दनीय घटनाको पर्दाफास गरिनुका साथै शब्दहरु मार्फत् वर्गदुश्मन प्रतिको चुनौती पनि हो । अर्को शब्दमा भन्दा त्यो कृति मेरो जीवनको भोगाई पनि हो ।

मेरो दोस्रो कृति ‘वेनी मोर्चाको शब्दचित्र’ हो । यो कृति प्रतिक्रियावादीको सैन्यशक्ति शाही नेपाली सेनासँगको प्रत्यक्ष भीडन्तको एक नमुना हो । बेनी मोर्चामा म आफै स्वयंसेवकको भूमिकामा प्रत्यक्ष सहभागी थिए । त्यतिबेला मलाई राजनैतिक कमिसारको रुपमा कारागारमा मोर्चामा खटाइएको थियो । त्यसलाई सफलतापूर्वक हामीले सम्पन्न गरेका थियौं ।
बेनी कब्जाको प्रक्रियामा प्रत्यक्ष सहभागी भएको नाताले डेली डायरीको रुपमा संस्मरण तयार भएको हो । त्यहाँ मैले जे देखें, जे भोगें, जे अनुभूत गरें मैले त्यही लेखें । त्यो मनोगत नभएर यथार्थ शब्द चित्र हो ।

तेस्रो कृति ‘बन्दुकले विश्राम लिएपछि’ – यो कृति शान्ति प्रक्रिया सकेपछि मुलुकमा जे जस्ता घटना भए तिनलाई समेट्न खोजिएको हो । जनयुद्धको बेलामा माओवादी बन्दुकको डरले आत्म समर्पण गरेका, गाउँ ठाउँबाट भागेर शहर पसेका, शोषक, सामन्त, जाली फटाहा, सिआइडि, सुराकीहरु लगायतका जनताका दुश्मनहरु हिजो कसरी रुझेको मुसो बनेर माओवादीले जे भन्यो त्यै मान्ने गरेकाहरु माओवादी सेना विघटन भएको भोलिपल्टदेखि  माओवादीको प्रतिशोधमा जसरी आक्रमक भएर उत्रेका छन्, त्यसैलाई विम्व बनाएर मैले दुलोभित्र लुकेका गोमनहरु फडा फैलाउँदै गाउँघर डस्न थालेको, तिनलाई बन्दुकले नै तह लगाउने अर्को भिषण क्रान्तिको आवश्यकता महशुस गरेर लेखिएको कृति हो ।

हरेक लेखक, कवि र रचनाकारका आ–आफ्ना शैली, स्वभाव र दृष्टिकोण हुन्छन् । मेरो अलि फरक विद्रोही प्रकारको भएकोले मेरा रचनाहरु अरुको भन्दा अलि भिन्दै प्रकृतिका छन्, यसलाई त्यही रुपमा बुझ्नु हुन अनुरोध गर्दछु ।

० आगामी प्रकाशनको योजना के छ ?
–मसँग अरु पनि कृतिहरु छन् । तिनलाई समृद्ध गर्दै प्रकाशन गर्ने सोंचमा छु । अहिले मसंग यात्रा संस्मरण संकलित निबन्ध संग्रह, लघु काव्य, हाइकु संग्रह लगायतका कृतिहरु छन्, तिनलाई साधन स्रोतले भएसम्म समृद्ध गर्दै प्रकाशन गर्ने सोंचमा छु ।

० नेपाली क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउने बारे चुनौती र सम्भावनाहरु के छन् ?
– नेपालको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन मात्र होइन, अहिले विश्वको क्रान्तिकारी कम्युनिस्ट आन्दोलन रक्षाको चरणबाट गुज्रिराखेको स्थिति हो । नव उदारवाद जव विश्वमा हावी भयो । यसले कम्युनिस्ट आन्दोलनलाई निकै प्रभाव पा¥यो । नव उदारवादी चिन्तन भनेको उपभोक्तावादी चिन्तन र प्रवृत्ति हो । यसको चरित्र भनेको क्षणिक र तत्कालिक फाइदा हेर्छ । यसले रणनैतिक महत्व सहितको दीर्घकालीन लक्ष्य उद्देश्य र दुरगामी महत्वका सफलतालाई नजरअन्दाज गर्दै असम्भव ठान्दछ । नव उदारवाद कम्युनिस्ट आन्दोलनभित्र दक्षिणपन्थी संशोधनको रुपमा व्याप्त भएको छ र यो विभिन्न रुप रंग, चिन्तन, प्रवृत्ति र व्यवहारबाट अभिव्यक्त हुँदै आएको छ । यो हिजो माक्र्सको पालामा बाकुनिन र प्रुधो भएर देखा प¥यो । लेनिन, स्टालिनको पालामा खु्रश्चोभ र एल्तसिन भएर देखा प¥यो । माओको पालामा ल्यू शाओ चि र देङ स्याओ  भएर देखा प¥यो । नेपालको सन्दर्भमा एमाले, नवगठित नेकपा लगायतका गुटउपगुट भएर सतहमा देखा पर्न थालेका छन् । यिनीहरु भनेका कम्युनिस्ट आन्दोलनका वाइ प्रोडक्ट हुन् ।

माक्र्सवाद–लेनिनवादको सारतत्वका विरुद्ध एमाले लागि प¥यो, माओवादको सारतत्वलाई समाप्त गर्न अर्कोशक्ति माओवादको ढोल पिटेर कम्युनिस्ट आन्दोलन विभ्रमित पार्न कथित समाजवादको राग अलापीरहेको छ र उसको गन्तव्य संसदीय आहालमा पौडिंदै सत्तारोहणको दिवा सपना हो ।

यसरी हेर्दा के देखिन्छ भने यिनीहरु क्रान्तिकारी कम्युनिस्ट आन्दोलनलाई घेराबन्दी गर्ने र जतिसक्दो पर धकेल्ने र प्रतिक्रियावादी संसदीय व्यवस्थालाई सुदृढ गर्ने अनि माक्र्सवाद असफल भयो भनेर ढोल पिट्ने देखिन्छ । यो भनेको उनीहरुको वैचारिक विचलन मात्र नभएर कायरता र आत्मसमर्पणको पराकाष्ट हो । यो कम्युनिस्ट आन्दोलन भित्रको चुनौती हो ।

अर्को कोणबाट हेर्दा क्रान्तिकारी कम्युनिस्ट आन्दोलन आमूल परिवर्तनको निम्ति अनिवार्य सर्त हो । क्रान्तिकारी कम्युनिस्ट पार्टीको नेतृत्व विना न त आमूल परिवर्तन सम्भव छ, न त समाज रुपान्तरण, नत देशको उन्नति र प्रगति, नत देशको विकृति, विसंगति, भ्रष्टाचार, बेरोजगार आदिको अन्त्य, न त वर्गीय जातीय तथा राष्ट्रको मुक्ति सम्भव छ । यो कुरा गत भाद्र २३–२४ को जेन्जी आन्दोलनले राम्रोसँग पुष्टि गरेको छ । जेनजी आन्दोलन राजनैतिक लक्ष्य उद्देश्य प्राप्तिको आन्दोलन नभएर देशको विकृति र विसंगतिका विरुद्धको आन्दोलन हो । यसले केही कुराहरु उजागर गरेको छ । जेनजी आन्दोलनले भ्रष्टाचार, बेरोजगार लगायत जुन कुरा अन्त्य गर्न खोज्यो, ठूलै उथलपुथल ग¥यो । तर सफलता हात पार्न सकेन ।

सत्तामा बस्ने पात्र फेरियो । तर प्रवृत्ति फेरिएन । जेनजी आन्दोलन राज्यसत्तामाथि हमला थिएन । पुरानै राज्यसत्तालाई यथावत राखेर पात्रको मात्र फेरबदल देखियो । जनताको लागि र स्वयं जेनजीहरुको लागि आन्दोलन हात्ती आयो फुस्सा भयो । यसले राजनैतिक पार्टीभित्रको पुरानो नेतृत्वका विरुद्ध धावा बोल्यो । अतः अबको राष्ट्र र जनताको मुक्ति भनेको बल प्रयोगको माध्यमबाट क्रान्तिकारी कम्युनिस्टहरुको नेतृत्वमा हुने सशस्त्र विद्रोहद्वारा जनसंविधान निर्माण गरी क्रान्तिकारी संयुक्त सरकार गठन गर्दै नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गरेर वैज्ञानिक समाजवाद स्थापना गर्नु आजको अपरिहार्य आवश्यकता हो । यो सम्भव छ मात्र होइन अपरिहार्य छ । त्यसको लागि सच्चा क्रान्तिकारी कम्युनिस्टहरु एकताबद्ध हुन र ध्रुवीकृत हुन जरुरी छ ।

० अन्त्यमा थप केही छ कि ?
– वर्तमान दलाल संसदीय व्यवस्था रहेसम्म राष्ट्र र जनताको मुक्ति सम्भव छैन । त्यसको अन्त्यको लागि जन विद्रोह एक मात्र विकल्प हो । अहिले हुन गैरहेको कथित संसदीय निर्वाचनमा जेजति पात्रहरु देखिए तापनि सारमा प्रवृत्ति उही हो । यसर्थ त्यसको भ्रममा नपरी क्रान्तिकारी दिशामा अघि बढ्न आवश्यक छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित