–अम्बिका चन्द ‘सुदृष्टि’
नेपाली महिलाहरूले महान् पर्व भनेर मनाउने हरितालिका तीज यो वर्ष भदौ १० मा भोटेकोसीमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएकाले ठूला कार्यक्रम आयोजना गरिएको देखिँदैन । बितेका वर्षहरूमा पार्टी प्यालेस, बजार र गल्लीहरूमा रातो वस्त्रमा सजिएका नारीहरूको लस्कर देखिन्थ्यो । तीजमा नारीहरूले लगाउने थरीथरीका गहना र मोबाइलहरूको प्रदर्शन गज्जबको हुन्छ । यो देखेर लाग्छ तीज मौलिक उत्सव नभई आर्थिक हैसियत नाप्ने तराजु बनिरहेको छ । के यो पुरानो संस्कृतिको निरन्तरताका नाममा साम्राज्यवादी उत्पादनको नयाँ व्यापारिक उपभोगको उत्सव हो रु
हुनेखाने र हुदाखानेबीचको खाडल गहिरो हुँदै गएको नेपाली समाजमा एकातिर ब्राण्डेट कपडा र गहनाले तिजमा आर्थिक हैसियत निर्धारण गरिरहेको बेला अर्कोथरी मानिसहरु खराव आर्थिक अवस्थाका कारण आत्मदाह गर्ने सम्मको अवस्थामा पुग्ने गरेका छन् । मकै पोलेर जीवन निर्वाह गर्ने काठमाडौँका सडक छेउछाउमा बसेका श्रमिक नारीहरूको हातमा सुनका चुरा होइन, पसिना, थकान र श्रमका डोबहरू देखिन्छन् । उनीहरुका अनुहारमा आर्थिक दबाब र अभावले कोरिएका जीवनका रेखाहरू हुन्छन् । उनीहरूको अनुहारमा कुनै भव्य सौन्दर्य–शृङ्गार होइन, साँझ–बिहानको चिन्ता र सङ्घर्षका अनगिन्ती कथाहरू हुन्छन् । सहरमा देखिने यी दुई दृश्यहरूलाई एकसाथ हेर्दा एकातिर सुनको सजावट र अर्कोतिर नुनको अभावका दुई जीवनशैली स्पष्ट देखिन्छन् ।
सहरका दुई दृश्यहरू नियाल्दै गर्दा वर्तमानको भीडबाट म बिस्तारै स्मृतिको पुरानो आँगनतिर पुगेँ । बाल्यकाल एवम् किशोरावस्थाको सम्झना गरेर एकछिन ‘नोस्टाल्जिक’ बनेँ । त्यो बेला आमा, दिदी र भाउजूहरूको लहैलहैमा लागेर देखासिकी गर्दै व्रत बसिन्थ्यो । संस्कारको अर्थ बुझेर भन्दा पनि परम्पराको छायामा उभिएर त्यसैको देखासिकी गरिन्थ्यो । तर दिउँसो भएपछि भोक लाग्थ्यो र केही न केही खानेकुरा लुकीलुकी खाइन्थ्यो । आज सम्झिँदा पनि त्यो समय आफैँमा एउटा मीठो बालस्मृति जस्तो लाग्छ । सायद मेरो मावली परिवारको पूरै र गाउँ–घरमा पनि कम्युनिस्ट आन्दोलनको प्रभावले होला दिमागमा कम्युनिस्ट चेतनाको बीजारोपण हुँदै गयो । त्यो बेलादेखि आजसम्म आउँदा ब्रत बस्ने कष्ट गरिएन । निराआहार व्रत बसेर खुट्टाको पानी खाएर श्रीमान्को आयु लामो हुने भए हरेक श्रीमतीहरू एक दिन होइन धेरै दिनसम्म पनि कठोर उपवास बस्न तयार हुन्थे । श्रीमानको लागि व्रत वस्ने अन्धविश्वासबाट माथि उठेर बरु एकअर्काप्रति गरिने प्रेम, सम्मान, विश्वास, सहकार्य र आत्मीयताको बलमा पैदा हुने भावनात्मक बलले श्रीमान्–श्रीमती दुवैको आयु लामो हुने होला ।
पहिले पहिले तिजमा घरभित्र दबिएका आँसु, हाँसो, पीडा, प्रेम र असन्तुष्टि सामाजिक अनुभवहरू, विगतका भाकाबाट व्यक्त हुने महिलाहरूको मनभित्र दबिएका भावनाहरू एक दिनका लागि भए पनि प्रस्फुटन हुने दिनमा छोरीचेलीहरू जम्मा भएर मीठो–मसिनो खाने, सुख–दुःखका गीत गाउने रमाइलो गर्ने चलन थियो । तर आजभोलि तीज विकृत बन्दै गयो । निकै भड्किलो र उत्ताउलोसमेत बन्दै गएको गयो । यसले मौलिकता गुमायो । अस्वस्थ खालको प्रतिस्पर्धा बढ्यो । गहना प्रदर्शनको प्रतिस्पर्धाले सीमा नाघ्यो । दलाल पुँजीवादी अर्थव्यवस्थाको बजारले सौन्दर्यका सामान, गरगहना र लत्ताकपडामा ठुलो लगानी गराउँदै अरबौँँ रकम पलायन गराएको छ । तीजको अघिल्लो दिन दर खाने चलन थियो । अहिले एक महिनाअघि बाटै दर खाने नाममा भद्दा तडकभडक मच्चाइनु थरी थरीका गहना सौन्दर्यसाधनको प्रदर्शनको अस्वस्थ प्रतिस्पर्धा बढेर गयो । नेपाली समाजको यो मनोविज्ञानलाई बुझेर बजारले पनि त्यस्तै उत्पादन भित्र्याउने गरेको छ । यसले कुनै उत्पादन र उपलब्धिमूलक काममा भन्दा पनि कृत्रिम सौन्दर्यका फजुल साधनहरूमा बेहिसाब रकम विदेश गईरहेको छ । आवश्यक नभएको वस्तुलाई पनि विज्ञापन, सामाजिक मनोविज्ञान, देखासिकीमार्फत आवश्यक बनाइदिन्छ । जसको कारण नुन खोज्ने र सुन खोज्नेका बीचमा गहिरो खाडल बन्दै गएको हो । गहना मार्फत आफ्नो आर्थिक हैसियत प्रदर्शन गर्ने विषय दलाल पुँजीवादले भित्र्याएको विकृति हो । त्यसैले एउटा सारी र सुनको मूल्यले मानिसको जीवन र अस्तिवको मूल्य निर्धारण गर्न सम्भव हुँदैन र कपडा–गहनाको ब्रान्डले मानिसको चेतना नाप्ने हैसियत राख्दैन ।
अर्को कुरा मौलिक संस्कृति जोगाउन घरमा पकाएको खानेकुरा, दही, केरा, खिर, रोटी खान छोडेर होटेल र रेस्टुरेन्टमा पुगेर तारेका, भुटेका मसलायुक्त, डढेको तेलमा पकाएका अवस्थ खानेकुरा, त्यो पनि नसालु पदार्थ रक्सी र बियरसँग खानु भनेको साम्राज्यवादी संस्कृतिको प्रभावलाई प्रोत्साहन दिनु, आफ्नो सभ्यता–संस्कृति सङ्कटमा पार्नु मात्र होइन, आफ्नो स्वास्थ्यमाथि गम्भीर खेलबाड गर्नु पनि हो । आज तीजको मौलिकता र मर्ममाथि जबर्जस्ती प्रहार गरिएको छ, आफ्नोपन हराएको छ । आयातित संस्कृति लादिएको छ । तीजमा बनपाखा र मेलापातका गीत कम सुनिन्छन् । हिन्दी र अङ्ग्रेजी ¥याप–पप गीतहरूको रजगज छ । त्यसैले तीज मौलिक पर्व नभई आफ्नो औकात प्रदर्शन गर्ने, भ्रष्ट बनाउने, देखासिकी गर्ने कृत्रिम र ऐँजेरु पर्व बनाउन लागिएकाले आधुनिक मानव समाजको मनोविज्ञान विचलित हुँदै गएको छ । यसमा सचेत बन्न, समयमै खबरदारी गर्न र मौलिकता जोगाउनेतिर लाग्न जरुरी छ ।
धर्मशास्त्रमा तीजसम्बन्धी एउटा पूराकथा वा मिथक छ–सत्ययुगमा हिमालयपुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छाविपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि उनले साथीहरूलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरूले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरूले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई प्राप्त गरिन् । यसरी पार्वती साथीहरूद्वारा हरण भएको दिन भाद्रशुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका ९तीज० को व्रत लिने प्रचलन सुरु भएको मानिन्छ ।
यसरी धर्मशास्त्रमा देखाइएका महादेवलाई पतिका रूपमा बरदान पाउने पार्वतीको प्रेमकहानीको प्रसङ्ग पनि काल्पनिक हो र ती दुवै पात्र काल्पनिक हुन् । के बुझ्न आवश्यक छ भने वास्तविक जीवनमा यिनीहरू थिएनन् । मातृसत्ताको विघटन पनि महिलामा भएको विद्रोही चेतनालाई रोक्नका लागि शासक वर्गबाट रचिएको सुझबुझपूर्ण कदम थियो । महिलाहरू शक्तिशाली भएको समयमा तत्कालीन शासकहरूले महिलामाथि दमन गर्न प्रयोग गरिएको काल्पनिकता र हथकण्डा मात्र थियो यो । यस्ता विभिन्न खालका विभ्रमहरू पैदा गरेर हिन्दुधर्मले महिलाहरूलाई बच्चा जन्माउने, घरेलु दासको काम गर्ने, यौनचाहना मेटाउने साधनका रूपमा लिएको छ र महिलालाई दोस्रो दर्जाको उपमा प्रदान गरेको छ ।
विज्ञानले प्रमाण खोज्छ, परीक्षण गर्दछ र विज्ञानले जितिरहेको यो समयमा अध्यात्मवाद र रुढिवादी संस्कार संस्कृतिको पराजय अवश्यंभावी छ । हामी परम्परालाई जोगाउने नाममा उत्ताउला, उच्छृङ्खल, भड्किला गतिविधि नगराँै । दासताको साङ्लो र बन्धनबाट मुक्त हुन हाम्रो दिमागबाट आफैँ मुक्त हुने प्रयास गरौँ । सामन्ती सत्ताले थोपरेका कुसंस्कारहरूलाई बदलाँै र वैज्ञानिक बनाआँै । समाजको बन्धनबाट मुक्त हुन पहिला आफ्नो परम्परागत चेतनाबाट मुक्त होऊँ । मौलिक संस्कार र संस्कृतिहरू निर्माण र विकास गरौँ । पुराना सामन्ती रुढीवादी दास मानसिकताबाट मुक्त हुने कोसीस गरौँ ।

