नरेन्द्रबहादुर थापा
आदरणीय न्यायप्रेमी ,देशभक्त ,जनतान्त्रिक, वामपन्थी जनसमुदायहरू लगायत जनवादी क्रान्तिकारी साथीहरू,
आज एउटा अत्यन्त महत्वपूर्ण विषय “नयाँ दल दर्ताको लहर“ बारे केही कुरा राख्न चाहन्छु।
जेन्जी विद्रोहले दलाल संसदीय व्यवस्थालाई इतिहासको कचौरामा फालिदियो । जनता उठे, व्यवस्था थर्कियो र पुरानो शक्ति र संरचनाले आफ्नो धरातल गुमायो। तर आज यथास्थितिवादी र पुनस्त्र्थानवादीहरुबाट अमेरिकी साम्राज्यवाद तथा भारतीय बिस्तारवादको निर्देशनमा त्यही फालिएको व्यवस्थालाई पुनः जिउँदो देखाउने खेल फेरि सुरु भएको छ । कसरी ? असफल भएर रछ्यानमा फालिएको दलाल संसदीय ब्यवस्थाको संसदीय चुनाव गराउने नाममा नयाँ दल दर्ताको कृत्रिम बाढी मार्फत यो षड्यन्त्र भएको छ । केही यथास्थितिवादी दलहरूले ब्यवस्थामा अग्रगामी परिवर्तन हुने डरले त्यसबाट रोक्न पार्टी एकताको नाटक मन्चन गरी नयाँ दल “नेपाली कम्युनिस्ट पार्टी “नाम राखेका छन् ।
साथीहरू, यो दलसँगै आजको अवस्थामा नयाँ दल दर्ताको लहर कुनै जनआवश्यकता होइन, कुनै वैचारिक उत्साह होइन, न त नयाँ राजनीतिक भविष्यको संकेत हो । यो त– फालिएको पुरानो संसदीय ढाँचालाई पुनर्जीवित गर्ने षड्यन्त्र हो । जनविद्रोहले उठाएका मुद्दालाई भ्रममा पार्ने रणनीति हो र जनआन्दोलनलाई साना–साना टुक्रामा विभाजित गर्ने राजनीतिक जाल हो। दलदर्ता सङ्ख्या बढ्नु सकारात्मक होइन ।
प्रश्न दल ’सङ्ख्या झ– होइन, दलहरूको वर्गीय चरित्र हो। किनकि – नाम नयाँ हुन सक्छ, लोगो नयाँ हुन सक्छ, तर मालिकाना (पाँचौ – दशौ शताब्दीसम्मको प्राकृत भाषा )पुरानै प्रतिगामी शक्तिहरूको छ भने नेपाल फेरि पुरानै दलदलमा फर्किन जान्छ ।
आज उदाएका धेरै दलहरूको उद्देश्य स्पष्ट छ– जनता फेरि पुरानो चुनावको जालोमा फसुन्, संसदीय असफलता फेरि विकल्पको रुपमा विकुन् र विद्रोहले उठाएको प्रश्न – सामाजिक न्याय ,भ्रष्टाचार उन्मुलन, आर्थिक रूपान्तरण, उत्पादन र श्रमको सम्मान– यी सबै मुद्दा पुन छायामा परुन् भन्ने प्रतिगामी तथा यथास्थितिवादीहरुको चाहना हो ।
साथीहरू, हामीले सम्झनैपर्छ– वैकल्पिक राजनीतिक परियोजना दलको संख्याले होइन, दलको नीतिले, वर्गीय दिशाले र जनताप्रतिको उसको प्रतिबद्धताले निर्धारण गर्दछ ।
त्यसैले– यो दल दर्ताको लहरलाई उत्सव होइन, चेतावनीको रूपमा लिनुपर्छ । हामीले भन्नैपर्छ–
जनताको रगतले बनेको विद्रोहलाई दल दर्ताको चिल्लो पोताइले लेप लगाउन सकिँदैन। जनआन्दोलनको ऊर्जा , युवाको बलिदान र जनताले देखेको नयाँ भविष्य– यसलाई पुरानै संसदीय मुखुण्डोले ढाक्न दिइने छैन।
अन्त्यमा, साथीहरू, यो लहर होइन – यो जालो हो । यो बहुलवाद होइन – यो भ्रम हो, र यो विकल्प होइन– पुरानै दलाल व्यवस्थाको “रिमोट कन्ट्रोल“ मात्र हो ।
त्यसैले – सजग बनौँ ,संगठित बनौँ, जनविद्रोहले देखाएको सही आग्रगामी तथा सच्चा क्रान्तिकारी राजनीतिक दिशामा अडिग रहँदै अहिलेको अवस्थामा देशभक्त जेन्जीहरु लगायत न्यायप्रेमी , देशभक्त , जनतान्त्रिक , वामपन्थी र जनवादी क्रान्तिकारीहरुको बीचमा राष्ट्रिय राजनीतिक सम्मेलनद्वारा संयुक्त मोर्चा गठन गरी त्यसबाट स्वाधीन संयुक्त सरकार निर्माण गर्दै जनसंघर्ष, प्रतिरोध संघर्ष, जनविद्रोह र सशस्त्र बिद्रोहद्वारा जनवादी क्रान्ति सम्पन्न गरी जनसंविधान निर्माणको बाटो अघि बढौं। यही नै आजको सही बाटो हो ।
नयाँ दल दर्ताको लहरः एक राजनीतिक जाल
Comments

