टेकहरि न्यौपाने
आज विश्वमा कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहेको छ । कम्युनिस्ट कै नामबाट सत्ता संचालन भएका देशहरु पनि मालेमावादको सिद्धान्तबाट परिचालित भएका छैनन् । यसो भनौं कि कम्युनिस्ट नामका सत्ताहरुले पनि संशोधनवादको बाटो पकडेका छन् । तिनले साम्राज्यवादको मिशन अनुसार नव उदारवादको अर्थतन्त्र लागु गरेका छन् । देशमा वर्गीय खाडल बढाइरहेका छन् । गरिबी र बेरोजगारी झन झन बढाइरहेका छन् । फलस्वरुप वर्गीय अन्तर्विरोध भूसको आगो झैं सल्किरहेको छ । कम्युनिस्ट आन्दोलन रक्षात्मक अवस्थामा रहनु परे पनि पुँजीवाद र साम्राज्यवाद पनि संकटग्रस्त अवस्थाबाटै गुज्रिरहेको छ । साम्राज्यवादी मुलुकहरुमा अर्थतन्त्र तीब्र गिरावटको अवस्थामा रहनुले सरकार स्थायी र स्थिर हुन सकिरहेका छैनन् । ती देशहरुमा घोर दक्षिणपन्थी हावा फैलिएको छ । कथित लोकतन्त्र असफलतातिर दौडिरहेका छ । यसै कडीलाई समाएर सच्चा देशभक्त मालेमावादीहरुले यिनीहरुका क्रियाकलापको बारेमा भण्डाफोर गर्दै जनतालाई सजग र सचेत बनाउन पर्ने आजको आवश्यकता देखिन्छ । नवउदारवादीहरुले सिंगो राष्ट्रलाई नै गुमराहमा राखेका हुन्छन् । नेपालको हकमा भन्नुपर्दा प्रचण्ड, बाबुराम, मोहनविक्रम लगायत विभिन्न कम्युनिस्ट पार्टीका नाम राखेर थुप्रै व्यक्तिहरुले आज त्यसको प्रतिनिधित्व गरिरहेका छन् । कम्युनिस्ट पार्टीको नाम राखेर जो कम्युनिस्टहरुले गर्न पर्ने सिद्धान्तनिष्ट व्यवहार हो । त्यसमा उनीहरुले जो मुलुकले पाउन पर्ने जनताले पाउन पर्ने परिवर्तन हो । त्यो पाउने कुनै सम्भावना नै रहँदैन ।
कसैले काठमाडौं–बेनी–पोखरा–बागलुङ रेल गुडाउने, घर घरमै ग्याँस पाइप ल्याउने पानी जहाज ल्याउने, दश वर्षमा सिंगापुर बनाउने चुनावबाटै जनताका सबै समस्या समाधान गर्ने, चुनाव जितिसकेपछि सबै बेरोजगारहरुलाई रोजगारीको व्यवस्था गर्ने समृद्ध नेपाल सुखी नेपाली भन्ने यस्तै यस्तै नौटंकी नाराहरु भाषणहरु झुटा अभिव्यक्तिहरु व्यक्त गरेर हिंड्नेहरु कसरी मालेमावादीहरु हुन सक्छन् कदापि हुन सक्दैन । मुलुक र जनतालाई गुमराहमा राखेर आफ्नो र आफ्ना आसेपासेको फाइदाको लागि काम गर्नेहरु नै मुलुक र सिंगो कम्युनिस्ट पार्टीको बदनाम गराउने कम्युनिस्ट पार्टीलाई रक्षात्मक अवस्थामा पु¥याउने यस्तै तत्वहरु हुन् । जिम्मेवार स्वयं यिनीहरु नै छन् । त्यसैले यस्ता खाले प्रवृत्तिहरु रोक्न र यिनीहरुको भण्डाफोर गर्दै जनतालाई सजग बनाउन पर्ने आजको आवश्यकता देखिन्छ ।
सम्पूर्ण वामपन्थी, देशभक्त, जनतान्त्रिक शक्तिहरुलाई गोलबन्द गर्दै मुलुक र जनता सामु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गलत क्रियाकलापको भण्डाफोर गर्दै सही दिशाको मार्ग प्रशस्त गर्ने काम गर्दै देशैभरी विभिन्न कार्यक्रमहरु गरिरहेको छ । यस्ता कार्यहरु गर्दै जाने पनि छ । सही र गलत मुलुक र जनताबीच राख्दै आएको छ र राख्दै पनि जानेछ । भारतमा जहवारलाल नेहरु प्रधानमन्त्री रहेको बेला भियतनामका राष्ट्रपति होचि मिन्ह भारत भ्रमण गर्न आउँदा नेहरु लगायत त्यहाँका उच्च पदस्त व्यक्तिहरुलाई एक प्रश्न गरेका थिए । त्यो प्रश्न थियो तपाईहरुको पेशा के हो ? सबैको उत्तर थियो राजनीति उनले फेरि प्रश्न दोहो¥याउँदै सोधे मैले तपाईहरुको पेशा सोधेको छु । तपाईहरुले राजनीति भन्नुभयो भन्दै होची मिन्ह हाँसे । जवाफमा उनीहरुले फेरि पनि राजनीति नै भनेपछि होची मिन्हले भनेका थिए– म राष्ट्रपति त भियतनामको हुँ। मैले जनताको सेवा गर्छु । बचेको समयमा खेती गर्छु किनकि म एक किसान हुँ, किसानले किसानी गर्नु पर्छ भने पछि सबै जिल्ल परेका थिए । भनिन्छ कि त्यसैले राजनीतिलाई पेशा बनाउनेहरुले झुट, लुट, हत्या, हिंसा, गुण्डागर्दी, साम,दाम,दण्डभेद सबै तिकडमहरु गरेर चुनावलाई जित्नुपर्छ । चुनावपछि नवधनाढ्य हुनुपर्छ भन्ने मात्र सोंचले विकास गरेको हुन्छ । उनीहरुले मुलुक र जनताको काम गर्न सक्दैनन् । त्यो हामी सबै यतिका वर्षको भोगाईबाट प्रष्ट भइसकेका छौं । त्यसैले राजनीतिलाई जनताको सेवा सम्झनु पर्ने हुन्छ । राजनीतिलाई पेशा सम्झने हो भने गन्तव्यमा प्रवेश गर्न सकिंदैन ।
राजनीति र पेशा
Comments

