काठमाडौं । नेपाली कांग्रेस २०८२ पौष ३० को मिति देखि औपचारिकरुपमा विभाजन भएको छ । नेपाली कांग्रेस देउवा कांग्रेस र थापा कांग्रेसका रुपमा विभक्त भएको छ ।
कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्व प्रकाश शर्माको अगुवाईमा पौष २७ गते देखि विशेष महाधिवेशन चलिरहेको छ । विशेष महाधिवेशन चलिरहेको बेला नेपाली कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमितिको बैठकले पौष ३० गते दिउसो तीन बजे तिर तीन जना पदाधिकारीलाई अनुशासनको कारबाही गरेको थियो । विशेष महाधिवेशन आह्वान गरी पार्टीको नीति विपरीत कार्य गरेको भन्दै महामन्त्रीद्वय गगनकुमार थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्री फर्मुल्लाह मन्सुरलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गरिएको थियो । कांगे्रस संस्थापले अन्य पदाधिकारीलाई पार्टीको जिम्मेवारी सम्झेर पार्टीमा फर्किन आह्वान गरेको छ।
देउवाको हठ,बुढेसकालमा पदीय लाभको लोभ र गगन थापाको चरम महत्वाकांक्षी चरित्रले कांगेस विभाजित भयो भन्ने विश्लेशण हुने गरेको छ । २००९ सालमा नेपाली कांग्रेसलाई भारतले विभाजित गरेको थियो – बीपी र मात्रिकाको विवादमा पसेर । २०५९ मा नेपाली कांग्रेसलाई शक्ति केन्द्रहरुले विभाजन गराए – गिरिजा र देउवाको विवादमा । २०६४ तिर नेपाली कांग्रेस र नेपाली कांग्रेस (प्रजातान्त्रिक ) एकता भएको थियो । २०८२ को फुटमा पनि विदेशी शक्तिकेन्द्रको हात छ कि ? अड्कलबाजी चलिरहेको छ । नेपाली कांग्रेस त्यसै पनि इतिहासदेखि नै विदेशीको गोटीभन्ने आरोप खेप्दै आएको पार्टी हो । अवश्य पनि यो फुटलाई विदेशी शक्ति केन्द्रहरुले आफ्नो स्वार्थमा प्रयोग गर्न कोशिश गर्ने छन् ।
विशेश महाधिवेशन पक्षले २७ पुसमा सुरु दोस्रो विशेष महाधिवेशन भइरहेको जानकारी निर्वाचन आयोगलाई गराएको थियो । महाधिवेशन सम्पन्न भएपछि निर्णयहरू अद्यावधिकका लागि पठाइने पूर्वजानकारी विशेष महाधिवेशन पक्षधरले आयोगलाई दिएका छन् । उता देउवा पक्षले भने बुधबार पत्र लेखेर कांग्रेसले विशेष महाधिवेशन आयोजना नगरेको जानकारी आयोगलाई दिएको छ । पार्टीको नाम र रुख चिन्ह कसको हुने भन्ने कुराको फैसला निर्वाचन आयोग वा अदालतले गरिदिनु पर्ने छ ।

