सिन्धुपाल्चोकका जनतामाथि सरकारी ताण्डव नृत्यः आतंक सर्वत्र व्याप्त

अभिलेखबाट

सिन्धुपाल्चोकको पिस्करमा भएको गोली काण्डले सरकारलाई जनताबीच नंग्याएको मात्र होइन, यसले पूर्वमेची देखि पश्चिम महाकालीसम्म भय, त्रास र आतंकको वातावरणको सिर्जना समेत गरेको छ । निहत्था, निरिह जनताले सरकारको कुन त्यसप्रकारको नियम कानुनको उल्लंघन गरेका थिए । जसको विनिमयमा उनीहरुले गोलीको बौछारसम्म सहनु प¥यो, मृत्युलाई समेत अंगिकार गर्नु प¥यो जस्ता प्रश्नहरु हरेक नेपालीको मन मस्तिष्कमा रिंगीरहेका छन् । भोलि एउटा नेपालीलाई कहाँ, के आरोपमा उसलाई गोलीको पर्राको सामना गर्नु पर्ने हो । त्यो अनिश्चयता अन्यौलताको छायाले प्रत्येक नेपालीलाई भयभित बनाएको छ ।

हिमाली भेगमा, नांगो पर्वत एवं कठिनाईप्रद जीवन भएको सिन्धुपाल्चोकको पिस्कर गाउँमा महादेव यात्रा मनाउन जम्मा भएका हजारौं जनताहरुमाथि एकाएक सशस्त्र प्रहरीले गोलीका पर्रा बर्साउलान भन्ने कसले सोचेको थियो र गरिब, मेहनतकश शोषण प्रताडित थामी जनजातिको बसोबास भएको यो पिस्कर गाउँमा एकाध जना सामन्त र पंच फटाहा बाहेक अरुको जीवन वर्णनातित दुःख, कष्टले पूर्णतः झेलिएको छ । यस क्षेत्रका ९७ प्रतिशत भन्दा बढी जनतालाई वर्षमा ३ महिनासम्म पनि दुई छाक नजुट्ने अवस्था, अरुको शोषण, अन्याय, अत्याचारमा समर्पित बनाउनु पर्ने बाध्यता बाहेक अन्य कुनै विकल्प यहाँका जनतालाई छैन । यस खालको दुरुह जीवनको सेरोफेरोमा बाँच्न बाध्य भएका यहाँका शोषित पीडित जनतामाथि स्थानीय सामन्त देवीजंग पाण्डे, प्रधानपंच तथा प्रशासनको कुदृष्टि धेरै पहिले देखिएको र समय समयमा शोषित जनता र सामन्तहरुको अन्तर्विरोधको चर्को स्वरुप ग्रहण गर्दै आएको कुरा पनि स्थानीय सुत्रबाट थाहा लागेको छ ।

सरकारी सुत्रले गोलीको प्रहारले २ जनाको मृत्यु र अन्य केही जना उक्त दिनको गोली काण्डमा घाइते भएको स्वीकार गरे तापनि जथाभावी चलाइएको सयौं राउण्ड गोलीद्वारा सयौं जना घाइते भएको र ५,७ जनाको मृत्यु भएको कुरा पनि स्थानीय सुत्रबाट थाहा लागेको छ । अहिले पिस्कर, धुस्कुन आदि क्षेत्रमा कफ्र्यु छ । सयौं शस्त्रास्त्र प्रहरीले त्यहाँ पहरा दिएका छन् । त्यहाँ जान, आउन समेत प्रतिबन्धित छ । घाइतेहरुको उपचारको सट्टा कोर्रा लगाइँदैछ, र यतिसम्म कि उनीहरुलाई नेल समेत लगाएर केही जनालाई काठमाडौं ल्याइएको छ । यसरी सरकार यस्तो देखा पर्दछ मानौं हिटलरले संसद भवनमा आगो लगाएको आरोपमा जर्मनीका निर्दोष जनताहरुमाथि कार्वाही लगाए जस्तै कार्वाही चलाउन अन्धाधुन्द सफाय गर्न चाहन्छ । सरकारको यसप्रकारको अतिरञ्जित दानवी क्रियाकलापबाट सम्पूर्ण बौद्धिक, राजनैतिक जनमानस क्षुब्दछ । जनविरोधी सरकारी कार्यहरुको भत्र्सना भइरहेको छ ।

हाल वर्तमान सरकारको प्रशंसा नगर्ने मध्ये करिब २८ पत्रिकाका सम्पादकहरुलाई प्रशासनले वारेण्ट जारी गरेको कुरा चर्चामा आएको छ । प्रवक्ता र छलफलका सम्पादकलाई गिरफ्तार गरिएको छ । वारेण्ट र पक्राउमा पर्ने मध्ये अधिकांश सम्पादकहरु पिस्कर काण्डमा सरकारले गरेको अमानवीय कार्यलाई प्रकाशनमा ल्याएको र त्यहाँको वस्तुस्थितिलाई बुझ्न प्रयास गरेको हो भन्ने पर्यवेक्षकहरुले अनुमान गरेका छन् ।

(नोट ः हाँक साप्ताहिक वर्ष १ अंक १४ , २०४० माघ ११ मा प्रकाशित समाचार)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित