क्रान्तिकारीहरु संगठित हुनुको विकल्प छैन

 

– हेमन्तप्रकाश ओली “सुदर्शन”
प्रवक्ता, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल

० गत फागुन ४ गते सम्पन्न क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको स्थायी समितिको बैठकले यहाँलाई पार्टीको प्रवक्ता चयन गरेको जानकारी भयो । सर्वप्रथम त पार्टीको प्रवक्ता चयन हुनुभएकोमा यहाँलाई हाँक परिवारको तर्फबाट हार्दिक बधाई छ ।
– धन्यवाद ! क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालले मलाई प्रवक्ताको जिम्मेवारी दिएको छ । यो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता हाँक साप्ताहिक मार्फत आदरणीय जनसमुदाय र पार्टी पंक्ति समक्ष राख्न चाहन्छु ।

० क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल लगायतका पार्टीहरूले फागुन २१ गते गर्ने भनिएको संसदीय निर्वाचनलाई रोक्नुपर्छ र सर्वपक्षीय सम्मेलन गरेर देशको संकटको निकास खोजिनु पर्छ भन्ने मत राखेका थिए । तर फागुन २१ गते जसरी पनि निर्वाचन गर्ने गरी सरकार अगाडि बढ्यो नि !
–२०८२ फागुन २१ गते गर्ने भनिएको संसदीय निर्वाचनलाई हाम्रो पार्टी क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (बहुमत), ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालबीच बनेको केन्द्रीय संयुक्त संघर्ष समितिले बहिस्कार गर्ने निर्णय गरेको कुरा सत्य हो । सक्रिय बहिस्कार भनेको चुनावमा भाग नलिने र यो संसदीय व्यवस्थाको भण्डाफोर र यसको विकल्प प्रस्तुत गर्ने हो । संसदीय व्यवस्थाको बहिस्कार र उपयोग कुनै सिद्धान्तको विषय होइन, बरु कुन परिस्थतिमा के गर्दा शोषित–उत्पीडित र श्रमजीवी सर्वहारावर्गको उद्देश्य प्राप्तिका लागि फाइदा हुन्छ भन्ने कुरा मुख्य हो । त्यही परिस्थितिलाई ख्याल गरेर यो चार दलीय केन्द्रीय संयुक्त संघर्ष समितिले बहिस्कार गर्ने निर्णय गरेको हो ।

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालको एकता राष्ट्रिय महाधिवेशनपछि मंसीर १६ र १७ गते सम्पन्न केन्द्रीय समितिको चौथो पूर्ण बैठकले संसदीय निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । त्यस्तो परिस्थतिको विश्लेषण गर्दै चार विशेषताहरुको संश्लेषण गरेको छ ।

प्रथमतः नेपालमा संसदीय व्यवस्था जनतासामू नाङ्गिएको छ । यो साम्राज्यवादको दलाल, भ्रष्ट्राचारको पर्याय, कुशासनको नमूना सावित भएको छ । अब यस संसदमा गएर भण्डाफोर गर्नुपर्ने आवश्यकता देखिदैन । त्यसकारण यस व्यवस्थाको चुनावमा भाग लिनु या उपयोग गर्नु भनेको यसको आयु लम्ब्याउनु हो ।

दोश्रो, यो २०१५ को पहिलो संसद, २०३७ को जनमत संग्रह, २०४८ को ३० वर्षपछि पुनस्थापित संसदीय व्यवस्था, २०६४ को संविधानसभा वा २०७० को दोश्रो संविधानसभा जस्तो चुनाव होइन । यो त नेपालमा एमसीसी लगायतका साम्राज्यवादी परियोजना विद्यमान दलका दलाल पूँजीवादीहरुद्वारा लागू गराउन ढिलो भएपछि उनीहरुकै परिभाषामा परेका जेन्जी तथा युवाहरुलाई चाँडै छुने मुद्दा सामाजिक सञ्जाल सत्ताधारी पार्टीभित्र घुसेका साम्राज्यवादका दलालहरुद्वारा मन्त्रीपरिषदमा प्रतिबन्ध लगाउने निर्णय गराई “विद्रोह” मा उतारेर नियमित चुनाव अगावै ल्याइएको चुनाव हो । त्यसकारण यसमा यसमा भाग लिनु भनेको साम्राज्यवादलाई सहयोग गर्नु हुन जाने भएकोले हामीले बहिस्कार गर्ने निर्णय गरेका हौं ।

तेश्रो कुरा ः यो साम्राज्यवादद्वारा प्रायोजित छ । अमेरिकी तथा बेलायती साम्राज्यवादीहरुले नेपालबाट पहिलो कुरा प्राकृतिक संसाधनहरु दोहन गर्न चाहन्छन्, दोश्रो, नवऔपनिवशिक तरीकाले नेपाल कब्जा गरी आफ्नो प्रमुख प्रतिस्पर्धी चीनमाथि अमेरिकाले हस्तक्षेप गर्न चाहन्छ । भारतमा करीब ३०० वर्ष राज गरेको बेलायतले नेपाल बुझेको हुँदा अमेरिकाले उसको साथ लिइरहेको छ । अर्को कुरा बेलायतको साथले भारतलाई तह लगाउन पनि सजिलो छ । त्यसकारण हामीले यो चुनावमा सशक्त बहिस्कार गर्नुपर्दछ । चौथो कुरा, यदि हामीले यो चुनावमा भाग लियौं भने जनताले हामीलाई पनि दलाल संसदीय दलहरू र संशोधनवादीहरुलाई जस्तै एउटै डालामा हालेर हेर्नेछन् र एउटै चरित्रमा राख्नेछन् । अर्को विकल्प नै बाँकी रहने छैन । भिन्न पहिचान र चरित्र नै गुम्नेछ । त्यसकारण हामीले साम्राज्यवादद्वारा प्रायोजित र जनताद्वारा घृणित संसदीय चुनावको बहिस्कार गर्ने निर्णय गरेको हो ।

यसको विकल्पमा चारदलीय संयुक्त मोर्चाले र हाम्रो पार्टीले देशभक्त, क्रान्तिकारी–जनवादी र वामपंथी पार्टी, समूह र व्यक्तिहरूको राष्ट्रिय राजनीतिक सम्मेलन गर्ने, त्यो सम्मेलनबाट संयुक्त मोर्चा निर्माण गरी संघर्षको घोषणा गर्ने, संघर्षकै रापतापमा स्वाधीन संयुक्त जनसरकार निर्माण गरी जनसंविधान बनाएर देश बनाउन अघि बढ्ने निर्णय गरेका छन् । जहाँसम्म तपाईने सोध्नु भएको छ ः तपाईहरुले त संसदीय निवाचन रोकेर यो संकटको निकास दिन सर्वपक्षीय सम्मेलन गर्ने भन्नुभएको थियो । सरकारले त २१ गते जसरी पनि निर्वाचन गर्नुपर्छ भनेर अघि बढिसक्यो ।

पहिलो कुरा हाँक साप्ताहिक मार्फत हामी के स्पष्ट गर्न चाहन्छौँ भने चुनाव बहिस्कार माथि विश्लेषण गरिएको परिस्थिति अनुसारको कार्यनीति हो । चुनाव रोक्ने र राज्यसत्ता नै कब्जा गर्ने रणनीति होइन । कहिलेकाँही कार्यनीतिक कार्यक्रम अघि बढ्दै जाँदा राज्यसत्ता नै कब्जा हुने स्तरको आन्दोलन विकास हुन पनि सक्दछ । त्यो संभावनालाई नकार्न सकिदैन । युद्धको घोषणा भएको स्थितिमा जनयुद्धले पनि समग्र चुनाव रोक्न नसकेको इतिहास साँक्षी नै छ । हामीले चुनावै हुन नसक्ने गरी बहिस्कार कार्यक्रम अघि बढाउनु र उनीहरूले जसरी पनि चुनाव सम्पन्न गर्ने गरी चुनावका कार्यक्रम अघि बढाउनु द्वन्द्ववादको नियम हो ।

० वर्तमान सुशीला कार्की नेतृत्वको चुनावी सरकारलाई तपाईहरुले साम्राज्यवाद र विस्तारवादको एजेन्टहरूको सरकार भनिरहनुभएको छ तर सुशीला कार्कीले नेपालका संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरू, आन्दोलनकारी जेन्जीहरू सबैको आग्रहले अप्ठ्यारो परिस्थितिमा देश सम्हाल्नुपर्ने बाध्यता परेकोले नेतृत्वमा आएको , रहरले हैन भन्दै छिन् ?
–हामी स्पष्ट रूपमा के भन्दछौ भने यो सुशीला कार्कीको सरकार आफ्नो एमसीसी र एसपीपी परियोजना लागू गर्न साम्राज्यवादी अमेरिका र विस्तारवादी भारतले आफ्नो अस्तित्व पनि कायम राख्न बनाएको सरकार हो । यो देशमा रहेका पुराना संसदीय दलहरुमध्ये एमाले र केही राजावादीको पूर्ण समर्थन देखिदैन । यो सरकार बनाउन प्रचण्ड नेतृत्वको नेकपा र रास्वपाको घोषित समर्थन देखिन्छ । अरू धेरे दलहरू यो सरकारको विपक्षमा देखिन्छन् । सुशीला आफै जेन्जीहरुलाई भड्काउनेमध्ये एक हुन् । जेन्जीहरुको रगत र पसिनामा उनले राज गरिरहेकी छन् । उनले अप्ठ्यारो परिस्थितिमा देश सम्हालेकी होइनन्, बरु अमेरिका र भारतको सम्झौताको मौकामा चौका हानेकी हुन् । वास्तविक जेन्जीहरुको प्रतिनिधि नै होइनन् उनी । उनी रवि, बालेन र साम्राज्यवादको प्रतिनिधि हुन ।

० भर्खरै चुनावी सरकारका प्रधानमन्त्री सुशीला कार्कीले बहिष्कार आन्दोलनमा लागेका पार्टीहरूलाई चुनावमा हैसियत नभएकाहरु , उम्मेदवार उठाउन नसक्ने , जित्न नसक्ने र चुनावको मौका पारेर आर्थिक संकलनमा लागेका भनेर बोलेको सुन्नुभयो ?
– हो सही हो । उनले सुरक्षा अधिकारीहरुको बैठकमा बहिस्कार गर्नेहरुको कुनै प्रभावकारी भूमिका नरहेको, दुई चार जनाको समूहमा रहेको, जीवन धान्न जवर्दस्त पैसा असुल्नेहरु, चुनावमा उठ्न नसक्नेहरु जस्ता आरोप लगाएको कुरा राम्रोसँग सुनेको छु । यो कुरा उनले प्रधानमन्त्री भएर के बोल्न हुन्छ, के बोल्न हुँदैन भनेर विश्वस्त नभई ‘मैले यो कुरा भन्न हुन्छ कि हुँदैन’ भन्दै बोलेकी छन् । एकातिर उनले यसप्रकारको तूच्छता प्रकट गरिरहेकी छिन् भने अर्कोतिर प्रभावहीन पार्टीका नेता तथा कार्यकर्ताहरुलाई दर्जनौँ संख्यामा गिरफ्तार गर्न लगाइरहेकी छन् । यो तथ्यले मात्र के प्रमाणित हुन्छ भने बहिस्कारकर्ता पार्टीहरु नै सुशीला सरकारका लागि जो चुनौती रहेका छन ती साम्राज्यवादका लागि पनि चुनौती रहेका छन् । प्रभावकारी त विचार र उद्देश्यले हुने हो, विचारविहिन पट्टुहरु प्रभावकारी हुने कुरै हुँदैन ।

० निर्वाचन बहिष्कार गर्नुको सट्टा देशभक्त शक्तिहरूको बलियो मोर्चा बनाएर चुनावी मैदानबाट नै साम्राज्यवाद र विस्तारवादका एजेन्टहरुलाई परास्त गर्ने गरी चुनाव उपयोग गरेको भए हुन्थ्यो भनेर सल्लाह सुझाव दिने जनसमूह पनि रहेका छन्। त्यस प्रति यहाँको प्रतिक्रिया के छ ?
–साम्राज्यवाद तथा विस्तारवादद्वारा प्रायोजित कठपुतली सरकारको संसदीय चुनाव शोषित–उत्पीडित सर्वहारावर्गका प्रतिनिधिले देश भक्तहरुसँग गठबन्धन गरेर जित्न सक्छन् भने कुरा अहिले आधारहीन छ । पहिलो कुरा, साम्राज्यवादीद्वारा प्रायोजित चुनावमा चुनाव देखाउने दाँत मात्र हो भने साम–दाम–दण्ड–भेदद्वारा उम्मेद्वार छनौट (सेलेक्सन गर्ने) चपाउने दाँत हो । एकजना अन्तर्रास्ट्रिय राजनीतिका विज्ञ प्राध्यापक उद्धव सिग्देलले हिमालय टेलिभिजनमा दिएको अन्तरवार्ता अनुसार एकसय ६५ जना नै छानिइसकेका छन् । यो चुनाव त देखाउने दाँत मात्र  हो । उनका अनुसार यो इलेक्सन होइन, बरु सेलेक्सन हो । अझ यो म्यानिपुलेशन (हेरफेर) हो । उनी कुनै क्रान्तिकारी प्राध्यापक होइनन् । उनी अभिजातवर्गीय प्राध्यापक भएर यस्तो वास्तविकता बोलेका छन् । दोश्रो कुरा, दलाल पूँजीवादी वा पुँजीवादी संसदीय चुनावमा जित्न पैसा चाहिन्छ । जनताको मत प्राप्त गर्नु गुण्डा, प्रहरी, सेना, कर्मचारी, साथीभाइ र उस्तै परे जनतालाई समेत पैसा चाहिन्छ । पैसा पनि प्रतिस्पर्धीभन्दा बढी भएको उम्मेद्वार हुनुप¥यो ।

त्यसकारण साम्राज्यवाद र तिनका दलालहरुसँग टक्कर लिन र तिनलाई पराजित गर्न चुनाव होइन, विद्यमान प्रतिक्रियावादी संसदीय व्यवस्थाका विरुद्ध बलियो कम्युनिष्ट पार्टी, त्यस क्रान्तिकारी पार्टीको नेतृत्वमा संयुक्त मोर्चा र साम्राज्यवादसँग लड्ने क्रान्तिकारी सेना हुनु आवश्यक हुन्छ । रुसी जनताले चुनावबाट सत्ता प्राप्त गर्न सकेनन् । अक्टोवर क्रान्तिपछि लेनिनको नेतृत्वमा भएको संविधानसभामा बोल्शेविक पार्टीले हा¥यो र लेनिनले त्यसको विघटन गर्नुप¥यो । चीनमा जापानी साम्राज्यवाद र उसको दलाल च्याङकाईसेकका विरुद्ध माओ नेतृत्वको चीन कम्युनिस्ट पार्टीले २५ वर्ष लडेर मात्र चीनले मुक्ति प्राप्त ग¥यो । त्यसपछि मात्र आजको शक्तिशाली चीन बन्यो । चिलीमा एलेन्डेले चुनावमा अत्याधिक बहुमत ल्याएर सरकार बनाए । अमेरिकी साम्राज्यवाद लागेर सरकारको नेतृत्व गरेका एलेण्डेलाई मारिदियो । नेपालमा प्रचण्ड नेतृत्वको तत्कालीन नेकपा (माओवादी) ले जनयुद्धको बलमा दुईतिहाई बहुमत ल्याउन नसके पनि संविधानसभाको चुनावबाट ठूलो पार्टी बन्यो । तर एउटा सह–सचिव सरह सेनाको प्रधानसेनापति हटाउने प्रक्रियामा स्वयं प्रधानमन्त्री प्रचण्ड पदच्यूत हुनुप¥यो । त्यसकारण कार्ल माक्र्सले १८७१ को पेरिस कम्युनको पराजयपछि कम्युनिष्ट पार्टीको घोषणापत्रलाई बहुलायर परिमार्जन गरेका होइनन् ः ‘मजदूर बर्गले पुरानो राज्यसत्ता चक्कनाचूर नपारीकन आफ्नो उद्देश्य पूरा गर्न सक्तैन ।’ प्रतिक्रियावादी र साम्राज्यवादी बलका विरुद्ध क्रान्तिकारी बल संगठित गर्नुको विकल्प छैन । तर यसमा विज्ञान र प्रविधि पनि जोड्नुपर्दछ ।

० यहाँहरूले सर्वपक्षीय राजनीतिक सम्मेलन, त्यस सम्मेलनबाट संयुक्त मोर्चा, स्वाधीन संयुक्त सरकारको गठन हुँदै जन संविधानको दिशामा अगाडि बढ्नुपर्छ भन्ने जुन कार्यनीति अपनाउनुभएको छ, त्यसलाई राजावादी र संसदवादी पार्टीहरूले स्वीकार गर्ने देखिँदैन । त्यस स्थितिमा उपर्युक्त कार्यनीतिक नारालाई स्थापित गर्न र कार्यान्वयनमा ल्याउन के कस्ता उपाय अपनाउने सोच्नुभएको छ ?
– पहिलो कुरा राजावादी र संसदवादी पार्टीहरू सोलोडोलो देशभक्त नहुन सक्छन् । तर त्यहाँभित्र रहेका देशभक्त, क्रान्तिकारी–लोकतन्त्रवादी (रेडिकल डेमोक्रयाट्) र वामपंथीहरू हुनसक्छन् । त्यहाँ त्यस्ता मानिसहरु छन् भन्ने हाम्रो विश्लेषण छ । अहिले संयुक्त मोर्चामा रहेका दलहरुको साझा नारा नै ‘स्वाधीन संयुक्त जनसरकार’ बनेको छ । आखिर नेपाल राष्ट्रको स्वाधीनता र सार्वभौमिकता चाहने नेपाली जनता छन् । जनता विना त कसले के गर्न सक्छ र ? नेपालीहरु कुरा ढिलो बुझ्दछन् । उनीहरु भीमसेन थापाको देशभक्तिको जमानाबाट धेरै अघि बढिसकेका छन् । हाम्रो स्वाधीन संयुक्त सरकार बन्ने आधारहरू प्रबल बनेर गएका छन् । हामीले पनि व्यापक रुपमा बुझाउन सकेका छैनौँ । यसबारे बुझाउनुपर्दछ ।
० अलि फरक प्रसङ्गमा कुरा गरौं , जतिबेला तपाईँ विद्यार्थी संगठनमा काम गर्नुहुन्थ्यो त्यतिखेर क्रान्तिकारी आन्दोलनप्रति विद्यार्थीहरूमा आकर्षण देखिन्थ्यो। तर अहिलेका नयाँ पुस्ताहरूमा क्रान्तिकारी आन्दोलनप्रति आकर्षण न्यून छ बरु नयाँ पुस्ता फरक प्रकारका राजनीतिक धारप्रति मोडिएको जस्तो देखिन्छ। यस स्थितिमा नयाँ पुस्तालाई क्रान्तिकारी आन्दोलनप्रति विश्वास दिलाउन क्रान्तिकारी शक्तिहरूले के गर्नुपर्ने ठान्नुहुन्छ ?
–२०३६ सालको विद्यार्थी र शिक्षक आन्दोलनले मेरो जीवनमा राजनीतिक चेतना जन्म्यो र म विद्यार्थी संगठनमा आबद्ध भएको थिएँ । विद्यार्थी संगठन पनि अर्ध–भूमिगत हुँदाहुँदै पनि विद्यार्थी संगठनहरू सक्रिय थिए । पंचायती व्यवस्था रहुञ्जेल नेताहरुलाई कुन पार्टीको हो भनेर जनताले चिन्दैन्थे । चौम धारका नेताहरू अनेरास्ववियु (छैठौं) र एमाले धारलाई पाँचौ भनेर चिन्दथे । हाम्रो जमानामा विद्यार्थी नेताहरूलाई विद्यालय र विश्वविद्यालयको पढाईमा प्रवीण हुन्थे । माक्र्सवादी दर्शन, राजनीतिक अर्थशास्त्र र वैज्ञानिक समाजवादका पुस्तकहरु खोजी–खोजी अध्ययन गर्दथे । त्यसरी अध्ययन मात्र गर्दैनथे, बरु विद्यालय र विश्वविद्यालयका प्रतिपक्षी विद्यार्थी नेताहरुसँग व्यापक बहस पनि हुन्थ्यो । विरोधीहरुलाई जित्न सकिएन भने भोलिपल्ट फेरि अध्ययन गरेर जान्थे । विरोधीहरुलाई तर्क र बहसमा जितेर मात्र उनीहरू विद्यार्थी नेतामा स्थापित हुन्थे । एकसे एक भाषण गर्न सिपालु विद्यार्थी नेता हुन्थे । अखिल भनेको पढ्नमा जेहेनदार, संगठनमा कुशल, कार्यशैलीमा इमानदार, विद्यार्थीका समस्या बुझ्न निर्पुण हुनुपर्दछ भन्ने मान्यता स्थापित थियो । म २०३८ सालदेखि २०४८ सम्म विद्यार्थी राजनीतिमा पूर्णकालीन बने । पार्टीको निर्देशनमा अनेरास्ववियुको एघार्रौँ राष्ट्रिय सम्मेलन तयारी समितिले वि.सं २०४४ देखि २०४८ सम्म काठमाडौँबाट कहिले नेपालगञ्ज पठायो, त्यही गएर काम गरें, पोखरा पठायो त्यही भर्ना भएर काम गरें । हामी विद्यार्थी केन्द्रीय समितिमा पुगेपछि जनताहरुका बीचमा पुगेर पार्टी संगठन बनायौँ । अन्ततः मैले विश्वविद्यालयको पढाई छोडेर ग्रामीण वर्गसंर्घषमा काम गर्न थालें । अरु कमरेडहरु पनि जानुभयो । अन्ततः जनयुद्धको पहल गरेर दश वर्ष यसलाई अघि बढायौँ ।

क्रान्तिकारी विद्यार्थी आन्दोलनप्रति युवा पिढीको आकर्षण घट्नुका केही कारणहरु छन् (क) त्रिभुवन विश्वविद्यालयवाट दलाल पूँजीवादी सरकारले प्रवीणता प्रमाणपत्र तह हटाउनु र उच्च माध्यमिकको ११ र १२ कक्षा बनाउनु, ख) सरकारले नै सरकारी विद्यालय र विश्वविद्यालयलाई पछि धकेल्दै निजीकरण, उदारीकरण र माफियाकरणको साम्राज्यवादी विचार तथा सहयोगको आधारमा निजी विद्यालय र विश्वविद्यालय खोल्ने खुला छोडी दिनु, (ग) सरकारी विद्यालय तथा विश्वविद्यालय पढाईको गुणस्तर खस्कदै जानु र निजीमा गुणस्तर बढ्दै जानुले गर्दा निजीमा पढाउने अभिभावकको आकर्षण बढ्नु, (घ) शैक्षिक संस्थाहरूभित्र राजनीति गर्नुहुँदैन भन्ने पुरानो पंचायती संस्कारलाई निजी शैक्षिक संस्थाहरुले फैलाउनु र खासगरी निजी विद्यालय तथा महाविद्यालयमाहरुमा विद्यार्थी संगठनमा रोक लगाउनु ती निजी विद्यालय र महाविद्यालय संगठनमा रोक लगाउनु,(ङ) केही विद्यार्थी संगठनले निजी विद्यालय र महाविद्यालयमा संगठन बनाउन खोज्दा संगठनको नेतालाई किनेर संगठन प्रक्रिया रोक्नु, (च) अन्तर्राष्ट्रिय रुपमा वैज्ञानिक समाजवादी देशहरूमा पूँजीवादको पुनस्र्थापना हुनु र साम्राज्यवादको एकलौटी दबदबा बढ्नु ।

यी कारणहरुलाई उन्मूलन गर्न पूँजीवादी जनवादी वा नयाँ जनवादी क्रान्तिको खुडकिलो पार गर्दै वैज्ञानिक समाजवादी राज्य व्यवस्था कायम गर्नुपर्दछ । तब मात्र वैज्ञानिक शिक्षा प्रणाली स्थापना सकिन्छ । यतातिर विद्यार्थीलाई आकर्षण गर्न विद्यार्थी नेताहरूले वर्तमान नेपाल र विश्वको राजनीतिक व्यवस्था तथा त्यस अन्तर्गतका शैक्षिक प्रणालीको अध्ययन गर्नुका साथै द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादको अध्ययन गरेर समृद्ध चेतनाको निर्माण गर्नुपर्दछ भन्ने यो दर्शनको विपरित दर्शन अधिभौतिक तथा यान्त्रिक भौतिकवादको अध्ययन गर्नुपथ्र्यो । आजका विद्यार्थीहरूलाई सबै प्रकारका पाठ्य सामग्रीहरु पुस्तकालयमा मात्र होइन, हात हातमै आइपुगेका छन् । हामीले उनीहरुलाई विज्ञान र प्रविधिको नयाँ विकासको प्रयोग गरेर पाठ्यसामाग्रीलाई उनीहरुको जीवन अनुकूल बनाउनु पर्दछ । उदाहरणको लागि भौतिक वैज्ञानिक स्टेफन हकिङले आफ्नी छोरीसँग सहकार्य गरेर ‘जेम्सको ब्रह्माण्ड यात्रा’ शिर्षकको वैज्ञानिक उपन्यास लेखेका छन् ।

० यहाँले राजनीतिक जीवनमा थुप्रै कष्टपूर्ण दिनहरू ,उत्साहपूर्ण क्षणहरू र आश्चर्यजनक घटनाहरूको थुप्रै प्रत्यक्ष अनुभवहरू बटुल्नु भएको छ। जसमध्ये २०५८ सालमा बाजुरा कारागारबाट फरार भएको घटनालाई त्यो कसरी सम्भव भएको थियो भन्ने बारेमा पाठकहरुलाई जानकारी गराइदिनु न।
–हामी जीवनको परिपक्वतामा आईपुग्यौँ । अब हामीले आफ्नो जीवन र आफूले भोगेको जगतबारे संंस्लेषण गर्ने बेला आएको छ । यी अन्र्तवार्तामा सन्दर्भमा जीवनको एउटा घटनाबारे सोधेर ठिकै गर्नुभयो । २०५५ को माघ २९ गते बाजुरा जिल्लाको डोगडीबाट मलाई पक्राऊ गरिएको थियो । एक महिना चार दिनसम्म प्रहरीले मलाई कठोर र निर्मम यातना दिएर चैत्र ४ गतेतिर नै मलाई पु¥याइएको थियो । पटकपटकको पेशीपछि पछिल्लो पेशी राखिएको रहेछ–२०५८ असार २१ गते । हामीलाई पूर्व जानकारी त परै जाओस, संकेत पनि थिएन । प्रहरी हवल्दारले पेशी छ सर भन्यो र हत्कडी लगाएर कारागारबाट अदालत पु¥यायो । हामीलाई इजलाशमा बोलाइयो । न्यायधिशले कठघरामा उभ्याएर वादी र प्रतिवादीबीच बहस गरायो । हाम्रो पक्षको वकील कर्ण थापाले बहस गर्नुभयो । सरकारी वकीलले औपचारिकता पु¥यायो । हाम्रो मुद्दा राज्य विप्लव थियो । अढाई वर्ष कैद भुक्तान गर्नुपर्नेमा हामी म र मनबहादुर वमले तीन वर्ष भुक्तान गरिसकेका थियौँ । हामीलाई अदालतले मुक्त गरिदियो । बाजुरामा काठमाडौँ पढ्दा चिनजानी भएका दुई भित्र कर्ण थापा र प्रकाश शाह कारगारमा मलाई भेटन गइरहनुहुन्थ्यो । हाम्रा साथीहरू भेट्न आउने स्थिति थिएन र घरपरिवार टाढा थियो । उहाँहरुले हामीलाई राम्रो सहयोग गर्नुभयो । कर्ण थापाले त हाम्रो वकालत गरिदिनुभयो, त्यतिबेला यो साहसी काम थियो । एमाले फुटेर एमाले र माले भएको थियो । थापाजी एमाले र शाहजी माले हुनुहुन्थ्यो ।

त्यसदिन अदालतको फैसलापछि कर्ण थापा र म पिसाब फेर्न सौचालय गयौँ । मलाई अर्को मुद्दा लगाएर पक्राउ गर्ने तयारी गरिएको रहेछ । अदालत लिएर आएका प्रहरी असई र हवल्दार कारागार बस्दा घुलमिल भएका साथीहरु थिए । वकिल र मैले उनीहरूसँग हामी छुट्ने भयो । अदालतले कारागारलाई पठाउने कागज तयार पार्दैछ । हामी प्रमुख जिल्ला अधिकारीकहाँ भेटेर आउने भनेर अदालतबाट निस्क्यौँ । प्रकाश शाहले त्यहाँ चोकमा रहेका मानिसहरुलाई अल्मल्याउने कोसिस गर्नुभयो भने कर्ण थापाले मलाई सैनिक ब्यारेक भित्रबाट बाहुलीगाडतिर निस्कने बाटो रहेछ, काँडेतारबारभित्र घुसाइदिनुभयो । हामी बाहुलीगाड निस्केपछि कर्णजीले भन्नुभयो–‘अब पक्राऊ नपर्नुहोला, त्यो जंगल भएर जानूस । म बाहुली तरेर मालिका उक्लने अंगलमा पसें । यो जिल्लाको कुनै पनि गाउँ ठाउँ मेरो लागि अपरिचित थियो । असार महिनाको त्यो दिन, करीव ४ बजेको हुँदो हो । मैले जेलबाट देखेको सानो गाउँ ढम्कने बाहेक अरु थाहा थिएन । म त्यतै ताकेर रातभरी हिंडिराखे । तर बिहान् ४/५ बजेको उज्यालो भएपछि उकालोबाट ढम्कनेतिर झरें भनेको त कारागारको ठ्याक्कै वारितिर आएछु । म तुरुन्तै झाडीभित्र लुकें र २२ गते दिनभरी त्यही उत्तीसको घारीमित्र बसें । साँझ चार बजेतिर उकालो लागें र माथि खर्कमा पुगें । त्यहाँ गाउँका मानिस भैसी लिएर गएका रहेछन् । एकजना भैसी गोठालालाई अलग बोलाएर म यसरी आएको माओवादी हुँ, मलाई ढम्कने जाने बाटोमा पु¥याइदिनुस् न भनेपछि पु¥याइदिए । तर मूल बाटोबाट जानु भएन । घनघोर पानी प¥यो । त्यतीबेला हामीले लगाउने खैरा सैनिक जुत्ताले साघुरिएर खुट्टा कटक्क बाँधे । अर्कोतिर जुकाहरू खुट्टाभरी झुण्डीएर दशै मनाउन थाले । राती एकातिर ऐरीको झ्याङमा फँसे भने अर्कोतिर खहरेखोला उर्लेर आयो । बिहानीपख त्यो खोला तरेको १०  मिनेटपछि ढम्कने भेटियो । त्यहाँ मेरा कारागारमा परिचित साथीहरु लाल रोका र देवी धामीलाई खोजे । २३ गते बल्ल मैले त्यहाँ कोदोको रोटी र आलु खाना पाएँ।

त्यही दिनको राती हो ती दुई साथीहरुले मलाई गोत्री गाउँको नजिक लिएर छाडीदिए । उनीहरुले मलाई रोटी पनि दिएर गएका थिए । ती साथीहरुको आत्मीयता सम्झेर अहिलेका हाम्रा कमरेडहरुको स्तर कति तल गिरेको हो भन्ने अनुभूति हुन्छ । मलाई कालीकोट पुगेपछि जनमुक्ति सेनाले सलामी दियो । स्क्वायड स्तरमा देखेको जनमुक्ति सेना कम्पनीमा विकास भएछ । मलाई स्वागत गरको सेनाले बाजुराको पाण्डुसेनमा हार्वाही ग¥यो र त्यो कार्वाहीको सफलतामा कालीकोटको एक गाउँमा सभा ग¥यो । अन्ततः ४ महिनापछि मात्र म घरमा आइपुगेको थिए । घटनाको रिल खोल्ने हो भने यसले पत्रिका ढाक्छ ।

म छुटेको दिनमा बाजुराको मार्तडीमा के हल्ला थियो भने माथि जंगलमा माओवादी छापामारहरु सुदर्शन याने हेमन्तप्रकाश ओलीलाई कारागार कब्जा गरेर निकाल्न आएका छन् । र अर्कोतिर, मत त्यहाँबाट उम्किहाले । जुन प्रहरी मलाई अदालत ल्याएर आएका थिए र हामीलाई प्रमुख जिल्ला अधिकारी कार्यालय जान दिएका थिए उनीहरूलाई जिल्ला प्रहरी अधिकृतहरुबाट यातना खाएको कुरा पछि थाहा पाएँ । साथी कर्ण थापा र प्रकाश शाहलाई पनि धम्की आएपछि केही दिन फरार हुने स्थिति बनेको रहेछ । यो पनि महान जनयुद्धका लागि योगदान भएको छ ।

० ‘प्रचण्ड पथ ः एक्काइसौँ शताब्दीको विचारधारात्मक छलाङ’ भन्ने यहाँले लेख्नुभएको पुस्तक २०६५ सालमा प्रकाशित भएको थियो। तत्कालीन नेकपा माओवादीले २०६५ सालमा नारायणकाजी श्रेष्ठले नेतृत्व गरेको नेकपा एकता केन्द्र मशालसँग एकता गर्दा बखतमै प्रचण्ड पथलाई परित्याग गरिसकेको थियो र २०७४ सालमा एमालेसँग एकता गर्दा पहिलोपटक र दोस्रो पटक २०८२ सालमा एकीकृत समाजवादी लगायतसित एकता गर्दा दुईपटक पथप्रदर्शक सिद्धान्तबाट प्रचण्डहरूले माओवादलाई पनि परित्याग गरे । यी सबै घटनाको पृष्ठभूमिमा आफैले लेखेको उक्त पुस्तकबारे अहिले तपाईंको कस्तो धारणा छ ?
– राम्रो प्रश्न उठाउनुभयो र मलाई स्पष्टीकरण दिने मौका मिल्यो । २०६५ मा ‘प्रचण्डपथः एक्काइसौं शताब्दीको विचारधारात्मक छलाङ्’ शीर्षकको किताब लेखेको थिऐं । यसको प्रारम्भिक खाका मैले बाजुरा जेलमा नै तयार पारेको थिएं । त्यो खाका मेरो अर्को जेल डायरी र काराबासभित्रका दिनचर्याहरुमा छापिएको छ ।

यसमा मैले केही कुरा स्पष्ट गर्न चाहन्छु । पहिलो कुरा त तत्कालीन नेकपा (माओवादी) को २०५७ मा सम्पन्न दोश्रो राष्ट्रिय सम्मेलनबाट ‘महान् अग्रगामी छलाङ इतिहासको अपरिहार्य आवश्यकता’ छापियो । जसबेला म बाजुरा कारागारमा थिऐं । त्यसमा नै प्रचण्डपथ पारित गरिएको थियो । यसमा म खुशी भएको थिएँ किनभने हामीले विचारको विकास हुनुपर्छ भन्ने अर्मुत बहस गरिरहेको बेला मूर्त कुरा आयो । विचारको विकास आखिर कार्ययोजना, कार्यक्रम र कार्यनीतिबाट हुने हो । एकैचोटी मालेमावादको पनि विकास भएको होइन । प्रचण्डको नेतृत्वमा बनेका कार्ययोजना, कार्यक्रम र कार्यनीति लागू भएकै छन् । यसमा थप विकासको त आवश्यकता पर्दछ र गर्नुपर्दछ । कारागारमा प्राप्त सीमित सामग्री, जनयुद्धको पृष्ठभूमि र जनयुद्ध सञ्चालनको प्रक्रिया तथा जेल नपर्दासम्मको अनुभूतिका आधारमा मैले यो निस्कर्ष निकालें ।

दोश्रो कारागार मुक्त भएपछि त नेता र कार्यकताहरूसँगको वृहद भेटघाट र स्वयम राष्ट्रिय सम्मेलनबाट परित दस्तावेजको अध्यनबाट विचार विकास भएकोमा प्रफुल्लित भएर मेरो पर्खालभित्रको रूपरेखालाई थप परिमार्जन र विकास गरें । जेलमा राखेको शिर्षक ‘प्रचन्डपथ एक्काइसौ शताव्दीको विचारधारात्मक जग’ थियो । बाहिर आएर त्यो शिर्षकमा जगको सट्टा ‘छलाङ’ थपें ।

२०६५ मा नेकपा (माओवादी) र नेकपा (एकता केन्द्र–मसाल) को एकतापछि प्रचण्डपथका प्रवर्तक स्वयं प्रचण्डले अघोषित रुपमा प्रकाश सँगको गुप्त सम्झौतामा प्रचण्डपथ छोडेको कुरा थाहा भयो । मसँग प्रचण्डले ‘कहाँ छोडनु छोडेको होइन’ भन्नुभयो । त्यतिबेला मेरो किताब भर्खर प्रकाशित भएको थियो । खरीपाटी बैठकमा यसलाई खूब वितरण गरियो जसबेला क. किरण र प्रचण्डबीच दुईलाइन् संघर्ष शुरु भएको थियो । क. किरणले संघर्षको दर्शनमा ‘प्रचण्डपथको दर्शनिक मान्यता’ शिर्षकको आलेखमा विशद व्याख्या गरिसक्नुभएको थियो । यसले पनि मैले लेखेर ठीकै गरेको रहेछु, भन्ने महसुस गरायो ।

अहिले आएर हेर्दा र बुझ्दा त प्रचण्डले क. किरणजी र मेरो स्तरबाट सोचेर विचारको विकास गर्ने हिसाबले होइन, बरु आफ्नो व्यक्तिवादको विकास गर्ने कोणबाट प्रचण्डपथ स्थापित गर्न खाजेका रहेछन् । तपाईले भन्नुभए जस्तै आज आएर उनले एमाले र अन्य संशोधनवादीहरुले जस्तै माओवादलाई बहुदलीय जनवादसँग साटिसकेका छन् । यस अवस्थामा उक्त पुस्तक मेरो तत्कालिन बुझाईको ऐतिहासिक साक्षी त भइहाल्यो । प्रचण्डपथलाई खारेज गरी मालेमावादको थप विकास गर्ने संघर्ष जारी छ र जारी राख्नेछु । हाम्रा पार्टीको राष्ट्रिय एकता महाधिवेशनद्वारा पारित मार्गदर्शक सिद्धान्त मालेमावाद, राजनीतिक कार्यदिशा नयाँ जनवादी क्रान्तिको खुड्किलो पार गर्दै वैज्ञानिक समाजवादतर्फ अघि बढने, सामरिक कार्यदिशा सशस्त्र जनविद्रोह र तात्कालिक कार्यनीति स्वाधीन संयुक्त सरकारको व्याख्या, परिमार्जन र विकास गरी कार्यान्वयन गर्नु नै मालेमावादको विशिष्टबाट सामान्यतिर विकासको प्रक्रिया हो ।

० यहाँले लेख्नुभएको पछिल्लो पुस्तक ‘दर्शनको इतिहास (२०८१ ) ’ का बारेमा एउटा लेखकले आफ्नै पुस्तकको विशेषताहरुबारे संक्षिप्तमा बताउनु पर्दा के भन्नुु हुन्छ ?
–सर्वप्रथम त ‘दर्शनशास्त्रको इतिहास’ करीब तीन दशकदेखिको अध्ययन र प्रशिक्षण टिप्पणीहरू (नोट्स) को परिणाम हो । पाठकहरुले यस माथि लागेको परिश्रम बुझेनन् भन्ने गुनासो हाँक मार्फत राख्न चाहन्छु । मेरो पार्टीका कमरेडहरुले नै पढेनन्, यदि पढेको भए त कुनै आलोचना या टिप्पणी आउँथ्यो होला । माथिदेखि तलसम्मका कमरेडहरु कसैबाट आलोचना र टिप्पणी आएको छैन । हाँक साप्ताहिकले यो प्रश्न सोधेर ठूलो गुण लगाएको छ । एकजना विद्धान मित्र इच्छुक प्रतिष्ठानका सदस्य– सचिव मोदनाथ मरहट्ठा र पार्टी बाहिरका केही विद्धानहरुले कहाँ कहाँ के नपुगेको हो, त्यो बताउनु भएको छ । त्यस अनुरुप दोश्रो संस्करणमा परिमार्जन गरिरहेको छु ।

दोस्रो, दर्शनशास्त्रका चार विभाग हुन्छन् । पहिलो हो तत्वमिमांसा । यसलाई अर्को शव्दमा सत्तामिमांसा पनि भनिन्छ । यसले पदार्थ, चेतना, आत्मा जस्ता विषयहरुको अध्ययन गर्दछ । अर्को हो, ज्ञानमिमांसा । यसले चेतनामा पर्ने वस्तुगत जगतको प्रतिबिम्बन, ज्ञानको श्रोत, ज्ञानको कसी, ज्ञानको सीमा र ज्ञानको प्रमाण सम्बन्धी अध्ययन गर्दछ ।

तेश्रो हो, आचारमिमांसा । यसले मानिसको आचारण, जीवनमूल्य, मानिसको काम, कर्तब्य र जिम्मेवारी आदि विषयको अध्ययन गर्दछ । चौथो हो दर्शनको इतिहास जसले दर्शनको उत्पत्ति, विकास, दर्शनका विभिन्न धारा, दर्शनको पक्षधरता, दर्शनको विकासमा ऐतिहासिक विकासको दिशा जस्ता विषयहरुको अध्ययन् गर्दछ । यी चार विभागहरुमध्ये चौथो विभागबारे मैले लेखको छु । क. किरणजी ले यस ‘दर्शनशास्त्रको इतिहास’को भूमिकामा लेख्दा ‘दर्शनशास्त्रको इतिहासका विषयमा नेपाली भाषामा लिखित पहिलो पुस्तक हो’ भन्नुभएको छ । यसमा दर्शनशास्त्रको इतिहासबारे विस्तृत विवेचना गरिएको छैन । यसमा समग्र दर्शनशास्त्रको इतिहासलाई तीन युग प्राचीन, मध्यकालीन र आधुनिकमा बाँडेर ती युगका प्रवृत्ति र पात्रहरुको विवेचना गरिएको छ ।

चौथो, पूर्वीय र पश्चिमी दर्शनमा भौतिकवाद र आदर्शवादबीच संघर्षहरु खोज्दै भौतिकवादलाई विश्व दर्शनका रुपमा स्थापित गर्न खोजिएको छ ।

पाँचौँ, आज मानिसहरु ग्रन्थका ग्रन्थ मालेमावादी रचनाहरू पढ्दैनन् भनेर ‘दर्शनशास्त्रको इतिहासमा महान् कायापलट’, खण्डमा माक्र्सवादका तीन संघटक अङ्गहरुको विशद प्रस्तूति गर्न कोसिस गरिएको छ । यसको साथै तीनवटै संघटक अंगमा माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओलाई आफै बोल्न दिइएको छ र मैले संयोजनकारी भूमिका मात्र खेलेको छु ।
छैटौँ, यदि पाठकहरूले पढ्ने जाँगर चलाए भने सन्दर्भ सामग्री पनि जहाँको हो त्यहीं उल्लेख गरिएको छ । उद्धृत अंशको अन्तमा अंक राखेर खोज्नलाई फेरी पल्लो छेउ जानुपर्ने बनाइएको छैन ।

सातौ, नेपालमा दर्शनशास्त्रको विकासको इतिहास पनि संक्षिप्तमा लेखिएको छ ।

आठौँ, पाँच जना गुरुहरू र हिमाली दार्शनिक किरणको संक्षिप्त जीवनी पेश गरिएको छ– परिशिष्टमा । मूल विषताहरू यीनै हुन् ।

० कम्युनिस्ट आन्दोलनका अनेकौं टुटफुट– विभाजन र एकता बारे यहाँले अध्ययन गर्दै आउनुभएको छ र विभाजन र एकताका सम्बन्धमा आफैले पनि अनुभव बटुल्नुभएको छ। क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल तीनवटा पार्टीबीचको एकताबाट निर्माण भएको पार्टी हो। यो एकतालाई बचाउँदै क्रान्तिकारी धारलाई सुदृढ गर्दै अगाडि लैजानका लागि के के गर्नुपर्ने आवश्यकता ठान्नुहुन्छ ?
– हो, विस २००८ सालमा पोलिट ब्यूरो बैठकबाट संस्थापक सहासचिवलाई हटाएर मनमोहन अधिकारीलाई महासचिव बनाएपछि फूटको बीऊँ रोपियो । नेपाल कम्युनिष्ट पार्टीमा मनमोहन, केशरजङ रायमाझी र तुलसीलाल अमात्य जस्ता हस्तीहरू राजावादी तथा रुसपंथी हुदै गएका थिए । २०१० सालमा स्टालिनको मृत्यु भएपछि उनीहरू झन् खु्रश्चोभपंथी भए । २०१३ मा खु्रश्चोभपंथी रास्ट्रिय प्रजातन्त्र र शान्तिपूर्ण संक्रमणको कार्यदिशा ल्याएपछि त उनीहरु त्यसको पछि दगुर्न थाले । त्यसपछि चिनियाँ कम्युनिस्ट पार्टी र सोभियत संघ कम्युनिष्ट पार्टी (बोल्शेविक) बीच महान् बहस शुरु भयो । पुस्पलाल र अरु क्रान्तिकारी नेताहरूले कमरेड माओको क्रान्तिकारी कार्यदिशा पकडे ।२०१९ सालको तेस्रो महासधिवेशनपछि टुुटफुट नराम्रोसँग अघि बढ्यो । तिसको दशकमा पुग्दा रायमाझीको संशोधनवादी धारा, पुष्पलालको इमान्दार क्रान्तिकारी धारा (पछि आएर विसर्जन भए ), झापा विद्रोहको धारा (अहिले आएर संशोधनवादी भए ) र चौथो महाधिवेशनको क्रान्तिकारी धारा (अहिलेको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल त्यसबाट आएको हो) मा विभाजन भयो । ती सबै धारा मध्ये चौमको धारा चालीसको दशकमा आएर तीन टुक्रा –चौम, मसाल र मशाल) भयांै । २०४७ मा तीन टुक्रामा चौम, मशाल, पातलो मसालबाट हरिबोलको विद्रोही समूह, पुष्पलालको धाराबाट टुक्रिएर बनेको सवहारावादी श्रमिक संगठन मिलेर नेकपा (एकता केन्द्र) हुदै नेकपा (माओवादी) बनेपछि २०५२ सालमा जनयुद्धको पहल कदमी अधि बढ्यो । एकता हुँदा जनयुद्ध भयो । अर्कोतिर करीब जनयुद्धकै अवधिमा मोहनविक्रम नेतृत्वको मसाल र नारायणकाजी नेतृत्वको नेकपा एकताकेन्द्रबीच एकता भयो र नेकपा (एकताकेन्द्र–मसाल) बन्यो । तर तीन वर्ष पनि टिकेन ।

शान्ति प्रक्रियामा आएपछि नेकपा (माओवादी) भित्रको फुट ‘लेफ्ट उईङ’(रविन्द्र श्रेष्ठ र मणि थापा) बाट शुरु भयो । फेरि नारायणकाजीको एकताकेन्द्र–मसालसँग एकता भयो २०६५ मा । यो एकताबाट भड्किएर मातृका यादवहरुले अलगै पार्टी बनाए । २०६९ मा आएर किरणजीको नेतृत्वमा एकिकृत नेपाल कम्युनिष्ट पार्टी (माओवादी) बाट विद्रोह भयो र नेकपा–माओवादी बन्यो । यसबाट पनि विप्लवको अलग्गै पार्टी बन्यो । किरण नेतृत्व बाटै फेरी बादलहरु छुट्टिएर गए । २०७२ मा माओवादी र नेकपा (एकीकृत) बीच एकता भयो । यस्ता कैयौ उतारचढावका बीचबाट तथा संघटन र विघटनको प्रक्रियाबाट अघि बढ्दै जाँदा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) बीच एकता भई क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल बनेको छ ।

यो क्रान्तिकारीहरुको एकतालाई बलियो बनाउन ः

(क) एकता राष्ट्रिय महाधिवेशनबाट बनेको कार्यदिशा र कार्यक्रमको बुझाईमा माथिदेखि तलसम्म एकरुपता ल्याउनुपर्छ । यो कार्यदिशाको बुझाईमा एकरुपता ल्याउनुका साथै कार्यान्वयनमा पनि लैजानुपर्दछ ;

(ख) पार्टीभित्र नयाँ र पुरानोको भावना बुझ्ने नेतृत्वको विकास गर्नुपर्दछ र नेतृत्व गतिशील हुनुपर्छ, केन्द्रीय नेतृत्व जस्तो हुन्छ त्यसै अनुसार स्थानीय नेता तथा कार्यकर्ताहरु अनुकरण गर्दछन;

(ग) पार्टीको ईकई समितिदेखि केन्द्रीय समितिसम्म पार्टी पद्धति जनवादी केन्द्रीयताका नियमहरू पालना गर्नुपर्दछ;

घ) आ–आफ्ना पूर्व पार्टीमा भएको स्कूलिङ र अभ्यासले तदनुरुपको आनीबानी, संस्कार र जीवनपद्धति बनाएको हुन्छ, पार्टी एकता गरेपछिको कार्यदिशा र कार्यक्रम, स्कुलिङ अनुसार रूपान्तरण गरेर जानुपर्दछ;

(ङ) पूर्व पार्टीबाट आएका कमरेडहरुसँग मात्र साथ गर्ने बानी हटाएर अरुहरूसँग पनि सहकार्य गर्ने बानी बसाल्नुपर्दछ;

(च) आलोचना तथा आत्मआलोचनाको पद्धतिलाई लागू गर्नुपर्दछ;

छ) क्रान्तिकारी पार्टी, समूह र व्यक्तिहरुको निरन्तर एकता र ध्रुवीकरणमा लाग्नुपर्दछ र

(ज) पुरानो राज्यसत्ता विरुद्धको संघर्षलाई तीव्र बनाउनुपर्छ किनभने वर्गसंघर्ष र जनसंघर्षले शत्रुसँगको संघर्ष तीव्र बनाउँछ, अनि मित्रहरुसँगको एकता स्वतः बलियो हुन्छ ।

० अन्त्यमा, हाँक साप्ताहिक मार्फत थप भन्नु केही छ कि ?
–हाँक मार्फत यति धेरै कुरा भनिसकेपछि थप कुरा छैन । धन्यवाद !

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित