अभिलेख
गत फागुन २५ गते अन्तर्राष्ट्रिय महिला दिवस आयोजक समितिका तत्वाधानमा सुश्री शुशीला थापाको अध्यक्षतामा त्रिचन्द्र क्याम्पसमा अन्तर्राष्ट्रिय महिला दिवस धुमधामसाथ मनाइयो ।
उक्त समारोहमा सयौं सहभागीहरु र हजारौं दर्शकहरुको उपस्थिति थियो । यस समारोहमा बोल्दै सुशीला भट्टले अहिलेपनि जताततैबाट नारीहरुको शोषण भएको छ र २००७ सालपछि केही नारीहरुले उच्च शिक्षा हासिल गर्न अवसर पाए पनि ती सबै सम्पन्न वर्गका भएकाले अन्य ६७ प्रतिशत भन्दा बढी नारीहरुको जीवन दयनीय अवस्थामा यापन भइरहेको छ भन्नुभयो ।
अर्का वक्ता श्रीमती नारायणी तिवारीले –मुलुकी ऐन लगायत सम्पूर्ण व्यवस्था चाहे त्यो कानुनी होस् वा आर्थिक सामाजिक राजनैतिक कदममा नारीहरु प्रति शोषण अन्याय भएको छ भन्नुभयो ।
अर्को एक अमेरिकी नागरिक सुश्री मिण्डीले अमेरिका जस्तो धनाढ्य कहलिएको देशमा पनि नारीहरुले उच्च पद प्राप्त गर्न सकेका छैनन् र अहिलेसम्म नेपाल, बंगलादेशमा र अन्य देशमा गरी ३ जना महिला मात्र राजदुत पदमा पुगेकोले पनि स्पष्ट गर्दछ भन्नुभयो । सो समारोहमा गोविन्द लोहनीले सारगर्भित वक्तव्य दिंदै परिवर्तनको लागि माक्र्सवादी दृष्टिकोणले उपयुक्त हुने कुरा जोड दिनुभयो ।
भारतमा लामो अवधिसम्म अध्ययनरत रहनु भएका श्री कृष्ण पहाडीले भारतमा नेपाली महिलाहरुको दुर्दशाको चित्रण गर्नु भएको थियो ।
अर्का वक्ता हरिभक्त कंडेलले नारी आन्दोलनलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने प्रकाश पार्नु भएको थियो । यस अतिरिक्त सुझाव देवकोटा, शक्ति लम्साल, सुश्री पम्फा भूसाल सहित अन्य वक्ताहरुले बोल्नु भएको थियो ।
(प्रस्तुत समाचार हाँक साप्ताहिक, वर्ष १,अंक २१ , २०४० चैत्र ८ मा प्रकाशित भएको थियो ।)

