अहिले म एउटा उपन्यास पढ्दैछु । उपन्यास पढ्दा म कथावस्तु भन्दा चरित्रहरु बढी पढ्छु । मैले पढेका कतिपय उपन्यासहरुको विषयवस्तु बिर्सिसके हुँुला तर कतिपय उपन्यासका चरित्रहरुले मेरो मनस्थितिलाई आज पनि उत्तिकै घचघच्याई रहन्छन्, उत्तिकै हुँडलिरहन्छन् । यिनमा पनि नारी चरित्रहरु धेरै जसो छन् । आदि विद्रोहको कथावस्तु म अहिले क्रमबद्ध रुपमा भन्न सक्दिन, तर त्यसभित्रका पात्रहरु लाग्छ मेरो वरिपरि घुमिरहेका छन् । लाग्छ स्पार्टकस मरेको छैन । उसको स्वास्नी त्यो वीरंगना मरेको छैन । आमाको टोकरीमा पर्चा लुकाएर मिलभित्र पर्चा पु¥याउने आमालाई बिर्सन सकिएला र ? अग्नि दिक्षामा बलात्कृत हुनेहरुलाई विर्सन सकिएला र ? ३ वर्ष अघि युवाहरुको गीत पढ्दा जेलभित्र कथा सुनाउने महिलालाई खै ती कसरी बिर्सौं ? अहँ यस्ता ज्यूँदा पात्रहरुलाई मरिकाटे बिर्सन सकिंदैन ।
“एक वर्ष अघि एउटा अंग्रेजी पत्रिकामा मैले समाचार पढेको थिएँ । “भर्खरै एउटा पत्रिकाले प्रकाशित गरे अनुसार काली नामक २३ वर्षीया गुरिल्ला केटी सरकारी सेनासितको प्रतिरोध युद्धमा मारिएकी छिन् ।”
आह ! यो लाउँ लाउँ खाउँ भन्ने २३ वर्षे उमेरमा कालीलाई बन्दुक बोक्ने कसले बनायो ? साँच्चै हो विषम भएपछि मान्छे बन्दुक उचाल्न आगोसित खेल्न डराउँदो रहेन छ । कालीलाई देशको मायाले उचाल्यो । हो, म अहिले उपन्यास पढ्दैछु । मैले पढ्न थालेको उपन्यास पनि यस्तै छ । केटीहरुले पढ्न हुँदैन भन्ने सडेगलेको संस्कृतिको विरुद्धमा यसले बोल्छ । केटीहरु अवला हुन् केही गर्न सक्दैनन् भन्नुको विरुद्ध यसले बोल्छ । केटीहरु पनि देश र जनतालाई माया गर्न सक्छन् । मुक्तिका लागि बन्दुक बोकेर पुरुषसरह लाग्न सक्छन् भन्ने पक्षमा यसले बोल्छ, साँच्चै के एउट नारीलाई आफ्नो देशलाई माया गर्ने अधिकार छैन ? साँच्चै के एउटी नारीलाई उज्यालो दिनको विश्वास राख्ने अधिकार छैन ?
उपन्यास १९४६ को चीनको परिस्थिति सित सम्बद्ध छ । उपन्यास पूरा पढिसकेको छैन । मैले उपन्यासमा एउटी नारी पात्र छिन् चेङ याओ, उनी चुनविङ विश्व विद्यालयको छात्रा हुन । उनी मुक्ति आन्दोलनमा विश्वास राख्छिन् । उनको एउटा दाजु पार्टीको भूमिगत कार्यकर्ता छन् र एउटा चाहिं मिलमा म्यानेजर छन् । एक दिन पार्टीको भूमिगत दस्तावेज फर्वाड, लिएर दाजुलाई खुसुक्क पढ्न दिन्छिन् । दाजुले यस्तो खतरनाक स्थितिमा यस्तो पत्रिका लिएर हिंड्ने हो ? भनेर गाली गर्छन् । तर उनले भन्छिन– दाजु मान्छेहरु भन्छन् । म्यानेजर भएदेखि तपाईको स्वभाव बदलिएको छ । तपाई आफ्ना पूराना साथीहरुबाट टाढिनु भएको छ । तपाई काँतर र डरपोक हुनुहुन्छ….. यति मात्र होइन उनका आँखाबाट तरर आँसु बग्छन्…. उनी कोठामा गएर ढोका थुनेर घोप्टो पर्छिन एउटी कोरा तर देशभक्त युवतीको मनस्थितिको अति सुन्दर अभिव्यक्ति छ। त्यहाँ पछि त्यही दाजु पार्टीका लागि काम गर्दा एजेन्टहरुद्वारा समातिइन र दाजुको दाउ उनले लिन्छिन् । अर्को पात्र छिन् सिस्टर चेङ । उनी र उनको लोग्ने वर्षौंदेखि अलग अलग रुपमा भूमिगत रुपमा काम गर्दै हुन्छन् । जब उनी कामको सिलसिलामा आफ्नो लोग्ने भएको ठाउँतिर जान्छिन् । र उहाँ नपुग्दै २÷३ दिन अगाडि उनको लोग्ने शहीद भएको कुरा उनी थाहा पाउँछिन । तर उनी विचलित हुदिनन् । कति राम्रो सित लोग्ने र स्वास्नीको परिभाषालाई तिनीहरुले पुष्टि गरिदिन्छन् ।
वास्तवमा ती पात्रहरु औपन्यासिक पात्रहरु मात्र होइनन् । ती साझा पात्र हुन् । के हामीकोमा पनि यस्ता सग्ला र सग्लापत्रहरु छैनन् त ? छन् ती मध्ये कतिपय आज पनि चुलोचौका भित्र कैद छन्, ती मध्ये कतिपय पहाडका कुना काप्चामा डोका नाम्लो र गाउँबेसीमा काम गर्दैछन् । तीमध्ये आज पनि कतिपय स्वस्थानीका १०८ वटा अक्षता गन्दैछन् । कठै । कतिपय नाजुक छन् । नेपाली नारीहरुको हालत तर ती मध्ये आज कतिपय नेपाली नारीहरु ती सबको विरुद्ध लड्दैछन् । जुध्दैछन्, मुठ्ठी कस्दैछन् र भन्दैछन् । नारी दासी होइन, नारी खेलौना होइन, नारी कठपुतली होइन, ऊ सिर्जना हो , ऊ आमा हो, ऊ योद्धा हो, ऊ पनि देशको माया गर्न सक्छे । ऊ पनि उपन्यासको पात्र बन्न सक्छे । साँच्चै हो नेपाली नारीहरु रातको भुमरीबाट नयाँ क्षितिज तिर उन्मुख हुँदैछन् ।
यद्यपि गाउँले नारीहरु अझै अन्धकारमा छन् तर पनि चेतना हो रोकेर रोकिन्न । भावना हो छेकेर छेकिन्न । साँच्चै हो अब नेपाली नारीहरु स्वस्थानीको पात्रहरुमा मात्र सीमित रहन सक्दैनन् । उनीहरु अब चेतनाको पहिलो डाँकोको रुपमा अनिदो पहाड सँगैको सिवानीको रुपमा प्रकट भैसकेका छन् र किसाननगरमा पुलिसको हातबाट आफ्ना लोग्नेहरु छुट्याउन सक्ने भैसकेका छन् । तर यति मात्र पर्याप्यत छैन । अझै औपन्यासिक पात्रहरुको अभाव छ । अझै ज्यूँदा जाग्दा पात्रहरुको सिर्जना हुन बाँकी छ । अँध्यारा दिनहरु लम्पसार परेर बाटो छेक्दैछन् । अप्ठ्यारा र गाह्रा सांग्रा परिस्थितिहरु लमतन्न भएर तेर्सिएका छन् । तिम्रै परिवार ढुकेर तिमीहरुको हत्या गर्न तेर्सिएको छ । कति संक्टपूर्ण जीवन छ हगि ? र हाम्रा ती उज्याला दिनका विश्वासमा दुःखको कालोपना कता हराउँछ कता होइन त ?
(प्रस्तुत सामग्री हाँक साप्ताहिक २०४० चैत्र ८ गते वर्ष १, अंक २१ बाट लिइएको हो ।
नारी मुक्ति र औपन्यासिक पात्र
Comments

