लोकनारायण सुवेदी
अमेरिकी राष्ट्रपतिले ईरानमाथि इज्रायलसँग मिलेर गएको २८ फेब्रुअरीका दिन हमला गरेको पाँच हप्ता बित्न लागेको छ । त्यो हमला गरेको भोली पल्टै ईरानका सर्वोच्च नेता आयातुल्ला अली खोमेनई लगायतका उच्च अधिकारीलाई मारेपछि ईरान गलिहाल्छ भन्ने सोचेर उनले गरेको हमला यसरी महिना दिन बितिसक्दा ईरानले दृढ प्रतिरोध गरे पछि र उनले राखेको तथाकथित झूटो वार्ता प्रस्तावलाई पनि बेवास्ता गरे पछि उनले ईरानलाई ढुंगे युगमा पुर्याएर छोड्ने घोषणा गरे । ईरानले अमेरिका र इज्रायललाई आच्छु आच्छु पारेर दृढताकासाथ लडेपछि उनले केही नलागेर त्यस्तो धम्की दिएका हुन् । तर के भने पाषाण युगमा पुग्ने कुरा त ट्रम्पले स्वयं गरिरहेका छन् । त्यो युगमा मानिसहरुसँग टाढा टाढासम्म मार हान्ने मिसाईल, अत्याधुनिक सञ्चार प्रणाली, चिकित्सा विज्ञानमा आधुनिक आविष्कार र त्यो भन्दा पनि अगाडि बढेर आणविक परमाणविक हतियार बनाउन सकिन्थ्यो र ? यो प्रश्न किन भने ट्रम्पले ईरानलाई पछिल्लो समय नयाँ धम्की दिदै भनिदिएक कि ‘आउँदा दुइ तीन हप्तामा अमेरिकाले ईरानलाई पाषाण युगमा फिर्ता पठाइदिने छ, जहाँ ईरान वास्तवमा छ’ ? धेरैजसोलाई थाहै छ कि डोनाल्ड ट्रम्प योभन्दा पहिला ईरानका मानिसहरुलाई अत्यन्तै खतरनाक भन्ने कल्की भिराउदै ईरान जस्ता देशलाई पूर्णरुपले पछार्नु पर्दछ भन्ने कुरा गर्दैरहन्थे । ईरानसँग परमाणु हतियार छ र त्यसले गर्दा अमेरिका समेत पूरै विश्वलाई ठूलो खतरा छ भन्ने उनले भाष्य बनाएका थिए । त्यसै कुरालाई बहाना बनाएर नै अमेरिका र इज्रायलले २९ फेब्रुअरीका दिन ईरानमाथि भीषण हमला गरेर ईरानका सर्वोच्च नेता आयातोल्ला अली खोमेनाईको हत्या गरेका थिए ।
हामीले पुरानो पाषाणकालीन समाजलाई खोजविन गर्यौ भने मानिस सभ्यताको सिढी चढ्ने कोशिश गर्दै गर्दा त्यतिबेलाको आरम्भिक कविलाई समाजको जीवनमा यस्तै किसिमको व्यवहार दुइ कविलाका बीचमा गर्ने गरिन्थ्यो । आफ्नो वर्चश्व कायम गर्नका लागि अर्को कविलाका मुखियालाई मारिन्थ्यो र त्यो मारिने पराजित कबिलामाथि बर्चश्व कायम गरिएको आदेशको घोषणा गरिन्थ्यो । त्योभन्दा पहिला त ढुंगे युग नै थियो जसको उल्लेख अहिले २१औं शताब्दीमा ट्रम्पले गर्दैछन् । त्यो पाषाण युग त ढुंगाको हतियार बनाउने मात्र सीप भएका मानिसको युग थियो । तिनै ढुंगाका हतियारका बलमा जंगली जनावरहरुसँग लड्ने र जित्ने गरिन्थ्यो रती जनावरभन्दा आफुलाई बलवान र श्रेष्ठ ठानिन्थ्यो । जनावरहरुसँग त तिनको दाह्रा र नंग्रा मात्र हुन्थे मानिसहरुमा हात खुट्टाका अतिरिक्त थप ढुंगाका हतियार पनि थपिए । वास्तवमा यही हतियार नै मानिस र जनावरको त्यस बेलाको भिन्नताको पहिचानको आधार पनि थियो । बाँकी प्रवृत्ति त झण्डै झण्डै एउटै किसिमको थियो । त्यो के भने आफ्नो अस्तित्वकालागि अरुलाई मार्ने । त्यो संघर्षको कुनै नियम कानुन थिएन शारीरिक शक्ति कै मात्र अर्थ हुन्थ्यो । कोही कमजोर छ कि बलियो छ, लडाई लड्न सक्छ कि सक्तैन, लडाईकै आवश्यकता छ कि छैन, हतियारले सुसज्जित छ कि निहत्था छ यस्ता कुराको कुनै अर्थ त्यतिबेला थिएन । त्यसैले यस्ता कुरामा नअल्मलिकन केवल आफ्नो फाइदाका निम्ति त्यतिबेला हमला हुने गर्दथ्यो लडाई चल्थ्यो ।
यो माथि उल्लेखित ढुंगे युगको प्रवृत्तिलाई हेर्दा र केलाउँदा आज ईरान होइन अमेरिकाले पाषाण युगको प्रतिनिधित्व गरिरहेको देखिन्छ र डोनाल्ड ट्रम्प त्यस ढुंगे युगका कविला मुखिया जस्तै जहाँ मन लाग्यो त्यहीं हमला गर्ने गरिहेका छन् । अहिले अमेरिका र इज्रायलले ईरानमाथि हमला गरेको पाँचौ हप्ता सकिन लागेको छ । अहिलेसम्म ट्रम्प र नेतन्याहूलाई यसमा सफलता मिलेको छैन । यस्तो स्थितिमा जब ट्रम्पले राष्ट्रको नाममा सम्बोधन गर्ने भनियो त्यतिबेला सबैले सोचे कि उनले युद्ध समाप्त गर्न खोजेका होलान् । सम्बोधन गर्ने कुराले त्यतिबेला ओरालो लागेको शेयर बजार पनि अलि सकारात्मक भएको अर्थ विश्लेषकहरुले औंल्याए । तर उनको सम्बोधनमा त यस अघि उनले सामाजिक सञ्जाल र अन्य सञ्चार माध्यममा भनिसके कै कुराहरु मात्र दोहोरिए । त्यसले प्रष्ट पारिदियो कि ईरामाथि थोपरिएको युद्धका बारेमा अमेरिकासँग कुनै रणनीति नै छैन र अमेरिका पूरै इज्रायलको पकडमा यो युद्धमा होमिएको प्रतीत हुन्छ । यो युद्धले आजसम्ममै धेरै बर्बादी निम्त्याइसकेको छ । यो जारी रहनु भनेको अझ थप विध्वंश मच्चाउनु मात्र ठहरिने छ । यो युद्धका कारण विश्व भरीका देशहरुले मार खेप्नु परिरहेको छ र यो स्थिति अझ लम्बिने देखिदै आएको छ । अर्थ–सामाजिक चूनौतिहरु विश्वभरी सर्वत्र बढेर गएका छन् । भाषणमा ट्रम्प अझै ईरानलाई ठूलो बर्बादी थोपर्ने दाबी गरिरहेका छन् र भन्दैछन् कि ईरानको नौसेना(जलसेना) समाप्त भइसकेको छ भने वायु सेनामा पनि खण्डहरमा परिणत भइसकेको छ । ईरानका अधिकांश नेता अब मारिईसकेका छन् । मिसाईल र ड्रोन सञ्चालन गर्ने ईरानको क्षमता पनि धेरै खस्किसकेको छ । ईरानका हतियार कारखाना रकेट सञ्चालन गर्ने लञ्चरहरु पनि टुक्रा टुक्रा भएर सकिएका छन् । जतिबेला ट्रम्प ईरानका स्थितिका बारेमा यी झूटा कुरा बताउँदै थिए । त्यतिबेलै ईरानले इज्रायलमाथि कयौ प्रक्षेपास्त्र(मिसाईलहरु) हानिरहेको थियो । त्यसैले ईरानी सेनाका प्रवक्ताले भनेका पनि थिए कि अहिले अमेरिका हाम्रो ईरानका बारेमा पूरै तरह जानकार छैन ।
हुन त ट्रम्प बडो ठूलो स्वरमा अमेरिका कै पूर्व राष्ट्रपतिहरुको हस्सी उडाउन पनि बाँकी राखेनन् । उनले भने कि प्रथम विश्व युद्धमा अमेरिकाको सहभागिता एक वर्ष सात महिना पाँच दिनसम्म चल्यो । दोश्रो विश्व युद्धमा तीन वर्ष आठ महिना र पच्चिस दिनसम्म चल्यो । कोरियाई युद्ध तीन वर्ष, एक महिना दुइ दिन सम्म चल्यो । भियतनामा युद्ध उन्नाइस वर्ष, पाँच महिना उनन्तिस दिनसम्म चल्यो । इराक युद्ध आठ वर्ष, आठ महिना र अठ्ठाइस दिनसम्म चल्यो । हामी अघिल्लो साता यस देश ईरानमा पाच सातादेखि छौं । ईरान समाप्त हुनै लागेको छ ।अब अमेरिकालाई कुनै खतरा छैन । अर्थात पहिला को अमेरिकाले लामो युद्धहरुमा भाग लियो जबकि ट्रम्प केवल करीब ६ सातादेखि लडाई लडिरहेको छन्, थप उनले के पनि भन्न भ्याए भने युद्ध अब केही ‘दुइ,तीन हप्ता’ चल्न सक्छ । यदि कुनै सम्झौता भएन भने अमेरिकाले ईरानको विद्युत परियोजनामा हमला गर्नेछ । शायद उनको धम्कीबाट ईरान पछि हट्ने छैन ।
यो ट्रम्पको सम्बोधनभन्दा पहिला नै ईरानको राष्ट्रपति मसुद पेजेश्कियानले अमेरिकी जनतालाई सम्बोधन गर्दै एउटा खुलापत्र लेखेर अपिल गरेका थिए कि ‘बनाइएको कथा’भन्दा माथि उठेर हेरौ र यो प्रश्न गरौं कि वर्तमान युद्धले वास्तवमा कसको हितमा सेवा पुर्याइरहेको छ । ईरानी राष्ट्रपतिले लेखेका छन् ‘अमेरिकी जनताको हितमध्येमा कुन कुराको हित वास्तवमा यस युद्धबाट पूरा भइरहेका छन् ? के निर्दोष बाल बच्चाहरुको नरसंहार, क्यान्सरको औषधी बनाउने कम्पनीहरुको विध्वंश या कुनै देशलाई ‘पाषाण युग’ पठाइदिने डिंग हाक्नुले अमेरिकाको विश्व प्रतिष्ठालाई अझ नोक्सान पुर्याउनको साटो अन्य कुनै उदेश्य पूरा होला र ?’ उनले पत्रमा भनेका छन् – ‘ईरानका महत्वपूर्ण आधारभूत संरचनाहरु जसमा ऊर्जा र औद्योगिक सुविधाहरु पनि समावेश छन, तिनमाथिको हमला सिधै ईरानी मानिसहरुलाई निशाना बनाएको ठहरिन आउँदछ । यो कुरा युद्ध अपराधको नभएर अरु केही होइन । त्यसको परिणामस्वरुप ईरानको सीमाभन्दा पर पनि यो फैलिन पुगेको छ । यसले अस्थिरता पैदा गर्दछ । मानवीय तथा आर्थिक लागत बढ्छ र तनावको चक्र जारी रहन्छ जसले वर्षौंसम्म जनतामा अलग्गवाद र आक्रोशको बीउ रोप्ने काम गर्दछ । यो शक्तिको प्रदर्शन होइन, त्यसको विपरीत रणनीतिक भ्रम र स्थायी समाधान हासिल गर्नमा असमर्थताको संकत हो’।
अर्कोतिर ईरानका सर्वोच्च नेता माज्तबा अली खामेनेईले गएको अघिल्लो बुधबार प्रकृति दिवसका दिन भनेका थिए कि ईरानी राष्ट्रले पूरै देशमा आशाको बिउ रोप्नेछ । जसले गर्दा ‘भगवानको कृपाले’ तीमध्ये प्रत्येक आउँदा बर्षरुले भरिपूर्ण फल दिनसकुन् । सबै शहर र गाउँका मानिसहरु प्रकृति दिवसका दिनबाट शुरु गरेर बसन्त ऋतुको अन्त्यसम्ममा फलफूलका फलदार बोट बिरुवा रोप्नेछन् । यस्तो समयमा कि जतिबेला अमेरिकी–जायोनी शत्रुहरुले हाम्रा प्यारो मातृभूमिको प्राकृतिक पर्याबरण र पारिस्थितिकीको क्षेत्रमा पनि हमला गरेका छन्, विकासको उदेश्यले गरिएको कुनै पनि प्रयास एकदमै आवश्यक कार्य हुन्छ । त्यसैले अब विश्वले स्वयं नै तय गरोस् कि ‘पाषण युग’को मानसिकता ट्रम्पको हो कि ईरानीहरुको ।
आफ्नो भाषणमा ईरानलाई तहस नहस र बर्बाद पार्ने दाबी गर्दै ट्रम्पले भनेका थिए कि ईरानको नौसेना(जलसेना)नष्ट भइसकेको छ । वायु सेना खण्डहरमा परिणत भइसकेको छ । ईरानका अधिकांश नेता मारिइसकेका छन् । मिलाईल र ड्रोन चलाउने ईरानीहरुको क्षमता पनि धेरै कम भइसकेको छ । अनि उनका हतियार कारखाना र रकेट चलाउने लञ्चरहरु टुक्रा टुक्रा भइसकेका छन् । ट्रम्पले यस्तो भाषण गरिरहेकै बेला ईरानले भने इज्रायलमाथि कयौं मिसाईहरुले हमला गरिरहेको थियो । ईरानी सेनाका प्रवक्ताले त्यतिबेला भनेका पनि थिए कि अमेरिकाले ईरानको बारेमा धेरै कुरा थाहा पाएकै छ्रैन । विश्वको शक्तिशाली देश अमेरिका र उसको आशिर्वाद प्राप्त र एक मात्र सहयोगी इज्रायलले सम्पूर्ण शक्तिकासाथ ईरानमाथि हमला गर्दा ईरान गलेको छैन । लडिरहेको छ । विश्व जनमत ईरानको पक्षमा बोलिरहेको छ । शक्तिको उन्मादले जित्छ कि न्यायले विश्वले प्रतिक्षा गरिरहेको छ ।
Comments

