काठमाडौं । नेपाल मेडिकल कलेज र विरगञ्जको नेशनल मेडिकल कलेजले रसुवा, नुवाकोट, धादिङका बाढीपिडित परिवारको लागि संयुक्त रूपमा ७५ लाख सहयोग गरेका छन् । प्राकृतिक विपद्ले निम्त्याएको कठिन परिस्थितिमा प्रभावित नागरिकको साथमा उभिँदै नेशनल र नेपाल मेडिकल कलेजले संयुक्त रूपमा उक्त रकम प्रधानमन्त्री राहत कोषमा हस्तान्तरण गरेका हुन् ।
सोमबार नेपाल मेडिकल कलेज र नेशनल मेडिकल कलेका अध्यक्ष प्रा।डा। जैनुद्धिन अन्सारी नेतृत्वको टीमले अर्थमन्त्रालयमै पुगेर अर्थमन्त्री डा। स्वर्णिम वाग्लेलाई राहत रकम हस्तान्तरण गरेका हुन् । रसुवामा आएको बाढी पहिरोबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले दुवै मेडिकल कलेजको तर्फबाट प्रधानमन्त्री राहत कोषमा ७५ लाख रूपैंया जम्मा गरिएको नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा। सबिहा यासमिनले बताउनु भयो ।
‘यो विषम परिस्थितिमा हामी सबैले राज्यसँग हातेमालो गर्नुपर्छ, देशको जुनसुकै क्षेत्रमा जनता पिडामा छटपटाइरहेका छन् भने हामीले पनि आ(आफ्नो क्षेत्रबाट सहकार्य गर्नैपर्छ भन्ने हाम्रो सोच हो । राज्यलाइ गर्नुपर्ने जुनसुकै प्रकारको सहयोग गर्न हामी तत्पर छौं ।’ नेपाल मेडिकल कलेजकी प्रबन्ध निर्देशक डा। यासमिनले भन्नुभयो ।
राहत रकम लिँदै अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले पनि दुई मेडिकल कलेजले पुर्याएको योगदानको प्रशंसा गर्नुभयो । देश संकटमा परेको बेला हरेक नागरिकले आफ्नो तर्फबाट सकेको योगदान गर्नुपर्ने बताउँदै अर्थमन्त्री वाग्लेले सरकार निजी क्षेत्रले देखाएको उदारता र सहकार्य प्रति कृतज्ञ रहने बताउनु भयो ।
स्वास्थ्य सेवा प्रदान गर्ने जिम्मेवारीसँगै विपद्को समयमा समाजप्रतिको उत्तरदायित्व निर्वाह गर्नुपर्ने मान्यताका साथ यी कलेजले संस्थागत सहयोग दिएका हुन् । विपद्को समयमा आर्थिक सहयोग मात्र नभई स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी र समुदायबीचको सहकार्य र ऐक्यबद्धता महत्वपूर्ण हुने भन्दै दुवै मेडिकल कलेजले मानवीय सेवाको भावनालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् ।
दुई स्वास्थ्य संस्थाको यो संयुक्त पहलले विपद्को घडीमा निजी स्वास्थ्य क्षेत्रले निर्वाह गर्न सक्ने सामाजिक भूमिकालाई समेत उजागर गरेको छ । प्रभावित नागरिकको जीवन सामान्य बनाउन राज्यका प्रयासमा हातेमालो गर्दै आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले गरिएको यो योगदानले ‘विपद्मा सबैको साथ’ भन्ने मानवीय भावनालाई थप बलियो बनाएको छ ।
नेशनल मेडिकल कलेज, वीरगञ्ज र नेपाल मेडिकल कलेज, काठमाडौंले आगामी दिनमा पनि रसुवासहित देशका विभिन्न क्षेत्रमा विपद्बाट प्रभावित नागरिकको आवश्यकता र परिस्थितिअनुसार मानवीय तथा सामाजिक सेवाका कार्यमा सहकार्य र योगदानलाई निरन्तरता दिने बताएका छन् ।

