गंगा पौडेल
जीवन आफैमा संघर्ष हो । मानिस जन्मिएदेखि मृत्युसम्म कुनै न कुनै रुपमा संघर्ष गरिरहेको हुन्छ । जन्म एउटा सुरुवात हो । हुर्कनु संघर्ष हो,सिक्नु संघर्ष,आफ्नो लक्ष्य प्राप्त गर्नु संघर्ष हो र जीवनलाई सार्थक बनाउनु पनि निरन्तर संघर्ष कै यात्रा हो। त्यसैले भनिन्छ –“जीवन संघर्ष हो र संघर्ष नै जीवन हो ।”मानिसको जीवनमा सुख र दुःख सफलता र असफता,आशा र निराशा,मिलन र विछोड जस्ता अनेकौं परिस्थिति आइरहन्छन् । सँधै अनुकुल परिस्थिति मात्र प्राप्त हुन्छ भन्ने हुँदैन । कहिलेकाही बाटो कठिन हुन्छ । आफ्नै मानिसबाट निराश हुनुपर्छ ,आर्थिक अभाव सहनु पर्छ,असफताको सामना गर्नु पर्छ तर यीनै कठिन परिस्थितिले मानिसलाई बलियो,परिपक्व र अनुभवी बनाउँछन् ।
संघर्षबाट भागेर जीवनमा सफलता प्राप्त गर्न सकिँदैन । नदीले पहाडसँग ठोक्किँदै आफने बाटो बनाउँछ । बीउ माटोभित्र दबिए पछि मात्र अंकुराउँछ । सुन आगोमा तापिएपछि मात्र चम्किन्छ । त्यस्तै मानिस पनि कठिनाइ र संघर्षबाट गुज्रिएपछि मात्र उसको वास्तविक क्षमता उजागर हुन्छ।
जीवनमा असफलता आउँदैमा निराश हुनुहुँदैन। असफलता अन्त्य होइन । सफलतातर्फ जाने एउटा पाठ हो। आजको असफलताले भोलिको सफलताको बाटो देखाउन सक्छ । त्यसैले कठिन परिस्थितिमा पनि धैर्य ,साहस आत्मविश्वास र निरन्तर प्रयासलाई छोड्नु हुँदैन। संघर्ष केवल आर्थिक अभाव वा कठिन परिस्थितिसँग मात्र सम्बन्धित हुँदैन आफ्ना कमजोरीसँग लड्नु पनि संघर्ष हो । खराब बानी त्याग्नु संघर्ष हो । समयको सदुपयोग गर्नु संघर्ष हो। आफ्नो लक्ष्यमा दृढ रहनु संघर्ष हो । सत्य ,नैतिकता र असल आचरणमा अडिग रहनु पनि संघर्ष हो । मानिसले जीवनमा के प्राप्त ग¥यो भन्ने मात्र महत्वपूर्ण हुँदैन,उसले त्यसकोलागि कति इमान्दार प्रयास ग¥यो भन्ने कुरा अझ महत्वपूर्ण हुन्छ। संघर्षले मानिसलाई आफ्नो क्षमता चिनाउँछ । संघर्षले धैर्य सिकाउँछ । संघर्षले आत्म निर्भर बन्न प्रेरणा दिन्छ र जीवनको वास्तविक मूल्य बुझाउँछ । हामीले संघर्षलाई बोझका रुपमा होइन। अवसरका रुपमा लिनु पर्छ । कठिनाइ आउँदा “म किन ?” भनेर निराश हुनुको सट्टा यसबाट मैले के सिक्न सक्छु ? भनेर सोच्नु सक्नुपर्छ । सकरात्मक सोच निरन्तर मेहनत र सही कर्मलाई साथमा लिएर अघि बढ्ने हो भने कुनै पनि कठिनाइ स्थायी हुँदैन । जीवनमा ठूलो सपना देख्नु राम्रो हो तर सपनालाई वास्तविकतामा बदल्न संघर्ष गर्न तयार हुनुपर्छ । लक्ष्य निर्धारण गरेर अनुशासनपूर्वक अघि बढ्ने मानिसले ढिलोचाँडो सफता प्राप्त गर्छ , सफलता प्राप्त भए पछि पनि संघर्ष समाप्त हुँदैन। नयाँ जिम्मेवारी र नयाँ लक्ष्यका साथ अर्को यात्रा शुरु हुन्छ । अन्ततः जीवन एउटा यात्राजस्तै हो। यस यात्रामा कहिले उकालो आउँछ ,कहिले ओरालो, कहिले घाम लाग्छ , कहिले पानी पर्छ । तर यात्रु आफ्नो गन्तव्यप्रति दृढ छ भने बाटोका कठिनाइले उसलाई रोक्न सक्दैन । त्यसैले जीवनमा जस्तोसुकै परिस्थिति आए पनि हिम्मत नहारौं । कठिनाइसँग लडौं ,असफलता बाट सिकौं सफलतामा विनम्र बनौं र निरन्तर कर्म गरिहरौं संघर्षबाट नै अनुभव जन्मन्छ । अनुभवबाट नै ज्ञान प्राप्त हुन्छ र ज्ञानबाट जीवन सार्थक बन्छ ।
जीवन संघर्ष हो । संघर्ष नै जीवन हो, संघर्षबाट नभागौं,संघर्षलाई स्वीकार गर्दै आफ्नो जीवनलाई सफल,सार्थक र प्रेरणादायी बनाऔं ।
जीवन संघर्ष,संघर्ष नै जीवन
Comments

