मनु वि.क.
खबरदार ! गरिबको घाँटी अठ्याउन पाइँदैन
जनतामारा शासन चाँहिदै चाहिँदैन।
देशमा कालो चस्माको राज छ
कालो चस्मा राम्रै लागेको छ कतिलाई
कालो चस्मा भित्रका आँखाहरु देख्न पाउँदैनन् कोही
कालो चस्माको सिसा भित्र
के लुकेको छ भन्ने कसलाई के थाहा ?
अलप झलप देखिने कालो चस्माले देख्दैन दुःखी र असाह्यहरुको वेदना ।
खुशी छ कालो चस्मा गरिबको घाँटी अठ्याउने आदेश दिँदा
रमाइरहेका छन् कोही
घाँटी अठ्याउनु सही हो भन्दै
यहाँ मस्त छन् कोही
घाँटी अठ्याउने सरकार चुनेर
गरिबमारा तानाबानामा झुमेर
ओ कति सक्छौ ताली पिट्न ?
घाँटी अठ्याउनु सामान्य छैन
गरिब असाहयहरुको वस्तीमा डोजर लगाउनु सामान्य छैन
गरिबको घाँटी अठ्याउनु त्यो पनि सहनु सामान्य छैन
डोजर चल्छ र पनि रमाउनु सामान्य छैन ।
घाँटी अठ्याउनु आवाजलाई रोकाउनु हो
घाँटी नै अठ्याए पछि को सक्छ बोल्न ?
घाँटीबाट नै जीवन चल्छ , सत्ताको उन्मादले कहिल्यै बुझ्छ र ?
घाँटी अठ्याउनुको उद्देश्य बोलीलाई रोकाउनु हो
घाँटी अठ्याउनुको अन्तिम उद्देश्य मार्नु हो
हो, मार्नु नै हो।
मार्नुको पनि उद्देश्य हुन्छ नि हजुर !
मारे पछि राज गर्न पाइयो
मारे पछि आफुमात्रै बाँच्न र नाँच्न पाइयो
ए ! के सोचेको?
मतकोे आडमा मात्तिएर
गरिबलाई मार्न खोजेको ?
गरिबको घाँटी अठ्याएर
आवाज र बोलीलाई क्रुरतापूर्वक दबाएर
डोजर,बल,बन्दुक तेस्र्याएर आवाज दबाउन खोजेको ?
घाँटी अठ्याएर के गर्न खोजेको ?
संसारमा तानाशाहहरुले घाँटी अठ्याएरै शासन गर्न खोजेका थिए ,
मारेर सकेरै शासन गर्न चाहेका थिए,चाहँदैछन् वर्तमानमा
तर के त्यो संसारले स्वीकारर्न सक्यो त ?
के त्यो मैमत्ता रमाउन र जमाउन सक्यो त ?
संसारमा उसँग बल,गाडी,घोडा के कुराको अभाव थियो र?
हरायो र हराउँदैछ संसारबाट
ए ! ए के खान्छौ र थाहा पाउँदैनौ ?
घाँटी अठ्याएर,डोजर देखाएर चुप लगाउँछु भन्ने सपना
कालो चस्मा भित्रको आँखाले देखेर पूरा हुन्छ त महोदय ?
कि कालो चस्माको सपनाको भ्रममा नाँचिरहनु भएको छ महोदय ?
“गरिबको चमेली बोल्दिने कोही छैन”भन्ने गीतको मर्म विचार विना बुझिन्न के महोदय ।

