अर्घाखाँची सुपा देउराली मन्दिरको संक्षिप्त परिचय

अर्घाखाँची सुपा देउराली मन्दिरको संक्षिप्त परिच
– नरेन्द्रबहादुर थापा
यही २०८३ साल बैशाख ५ गते शनिबारको दिन म मेरो आफ्नै जन्मघर अर्घाखाँची जिल्लाको मालारानी गाउँ पालिका वडा नं.६ साबवक हंसपुर गाविस वडा नं.४ मेहलपानी,लम्धाराबाट बुटवलतर्फ लागेँ । यसरी बुटवल तर्फ लाग्दा गुल्मी, प्युठान र अर्घाखाँचीको सिमाना सौतामारे छेँडाबाट बिहान करीब ७।३० बजे गाडी चढेको करीब १०.१५ बजेतिर गाडीले नरपानी पुर्‍याएको थियो । यो मन्दिर अर्घाखाँची जिल्लाको सन्धि खर्क नगरपालिका वडा नम्बर ७ र शीतगंगा नगरपालिका वडा नम्बर २ को सिमानामा अवस्थित छ । सुपा देउराली मन्दिरमा पुजा गर्न आएका मानिसहरुको भीड र ती मानिसहरू आएका गाडीहरू सडकको किनारामा पार्किङ गरिएको भीडले सडक जाम भएको थियो । नरपानीको प्रहरी विटदेखि गाडी रोकिँदै, चल्दै गर्दा जेनतेन मुस्किलले करीब आधा घण्टा समय लगाएर सुपादेउराली पुगियो । तर त्यहाँ पुग्न बित्तिकै भक्तजन र गाडीहरूको जामको कारणले गर्दा गाडी चल्नबाट रोकियो । गाडीबाट झरियो ।अगाडि पछाडि कतै जान सकिएन । त्यही जाममा रोकिएको गाडीमा पुनः चढेर बसियो । सुपा देउराली पुग्नु पहिले नै खाँचीखोला पुल देखि मन्दिरसम्म करीब १ किलोमिटरजति हातमा धूप(ध्वजा लिएर लाइनमा रहेका भक्तजनहरूको लावालस्कर देखिन्थ्यो । सुपा देउराली मन्दिरबाट अगाडितर्फ हेर्दा देख्न सकिने दुरीसम्म मानिसहरूको लाइन थियो । सडकको दुबै किनारमा गाडीहरूको पार्किङ लाईन सुपा खोला पुलसम्म करीब ३ किलोमिटरसम्म लामो भएको कुरा पछि थाहा भयो ।
ट्राफिक प्रहरी जवानहरुले बाटोको जामखोल्ने प्रयत्न गरिरहेका थिए । तर प्रहरी जवानहरू सफल हुन सकिरहेका थिएनन् । यही समयमा मैले पनि सुपा देउराली मन्दिरको बारेमा त्यहाँ उपस्थित भक्तजनबाट केही कुरा बुझ्ने पर्यत्न गरेँ। यसबारेमा मैले जे जति बुझेँ त्यही कुरा यहाँ पाठक मित्रहरू समक्ष पस्कने जमर्को गरेको छु ।
अर्घाखाँची जिल्लाको सांस्कृतिक, धार्मिक र ऐतिहासिक पहिचानको केन्द्रबिन्दुकारूपमा स्थापित सुपा देउराली मन्दिर नेपाली जनजीवनमा गहिरो आस्था, परम्परा र लोकविश्वाससँग जोडिएको एक अनुपम धरोहर हो। यहाँको यो यस्तो धरोहरको रूपमा रहेको सुन्दर, रमणीय, आकर्षक र अद्वितीय स्थल केवल पूजा–आराधनाको थलो मात्र होइन, नेपाली समाजको मनोवैज्ञानिक, सांस्कृतिक , ऐतिहासिक र पौराणिक चेतनाको जीवन्त प्रतीक पनि हो।
यो मन्दिर नेपाली जनमानसमा एउटा आस्था र विश्वासको धरोहर भएको पनि मानिन्छ । सुपा देउराली मन्दिर विशेषतः हिन्दू धर्मावलम्बीहरूको लागि अत्यन्तै विस्वंसनीय र पूजनीय मानिन्छ। यहाँ देवी दुर्गाको एक शक्तिशाली स्वरूपको पूजा गरिन्छ भन्ने विश्वास छ। विशेषगरी यात्रामा निस्कनेहरूले सुरक्षित यात्राको कामना गर्दै यहाँ पूजा गर्ने चलन पनि छ। विगतदेखि नै यो स्थान ‘भय हटाउने’ र ‘सुरक्षा दिने’ देवीका रूपमा रहेको चीरपरिचित स्थानकोरूपमा रहेकोे छ । यही कारणले पनि बुटवल–सन्धिखर्क सडक खण्ड हुँदै यात्रा गर्ने हजारौं यात्रुहरू यहाँ रोकिएर दर्शन गर्ने परम्परा सदीयौंदेखि नै कायम रहेको छ। प्राचीन कालमा यहाँ मन्दिर भने निर्मित थिएन । यहाँ एउटा ढुंगाको मुर्ति मात्र थियोे । त्यही मुर्ति मात्र पूजा गरिन्थ्यो । अहिले जस्तो बाटो पनि थिएन र भीरको मोटर बाटो थिएन । पाइदल यात्री हिड्ने अप्ठेरो गोरेटो बाटो खोलै खोल गएको थियो । अहिले केही वर्ष पहिलेदेखि भीरकोबाटो खनेर गाडी चलेका छन् । बाटोको किनार छेउमा मन्दिर छ । सानो बजार पनि अवस्थित छ ।
ऐतिहासिक किंवदन्ती
सुपा देउराली मन्दिरसँग सम्बन्धित विभिन्न किंवदन्तीहरू पनि प्रचलित रहेका छन्। ती किंवदन्ती मध्ये एउटा छ, लाहुरेको कहानी । कुनै एक समयमा एउटा लाहुरे लाहुर जाँदा देउरालीसँग पल्टनमा भर्ती हुने माग राख्दै लाहुरबाट फर्किँदा देउरालीलाई एउटा मेडो चढाउने भाकल गरेछ । लाहुरे भारतीय पल्टनमा भर्ती भयो ।उसको माग पूरा भयो । लाहुरे छुट्टीमा फर्केर आयो । भाकल अनुसारको भोग नदिएको कारण लाहुरेलाई सुपा देउराली देवीको शक्तिले पहरामा लगेर टाँसिदिएको भनिएको छ , जुन भीरको पहरामा लाहुरे , उसको बाकस र बन्दुक सहितको चित्र अहिले पनि देख्न सकिन्छ। यस प्रकारका आकारहरूलाई अहिलेको विज्ञानले प्राणीको फोसिल्सको रूपमा ब्याख्या गर्दछ।

कतिपय कथनअनुसार, प्राचीन समयमा यहाँ मानवको बलि दिने प्रथा समेत रहेको भनाइ पाइन्छ, जसले यसको रहस्यमय र शक्तिशाली छवि निर्माण गरेको छ। यद्यपि समयक्रमसँगै यस्ता प्रथाहरू अन्त्य भई बाख्राको पाठी बलि दिने चलन चल्यो र अहिले बोका पाठा बलि चढाउने प्रचलन रही आएको छ तापनि भविस्यमा यो परंपरालाई पूर्णतः अहिंसात्मक पूजा पद्धति अपनाइने प्रयत्न भइरहेको पनि बताइएको छ ।
इतिहास र लोककथाको मिश्रणले यस स्थललाई अझ रोचक र अध्ययनयोग्य बनाएको छ, जसले नेपाली समाजमा परम्परा र परिवर्तनको सहअस्तित्वलाई झल्काउँछ।
सांस्कृतिक महत्त्व
बडादशैं, चैते दशैं जस्ता पर्वहरूमा सुपा देउराली मन्दिरमा विशेष मेला लाग्ने गर्दछ। टाढाटाढाबाट र देश विदेशबाट भक्तजनहरू देवीको दर्शन गर्न आउँछन्। यसले स्थानीय अर्थतन्त्रमा समेत सकारात्मक प्रभाव पार्ने गरेको छ। मेला, भजन–कीर्तन, सांस्कृतिक कार्यक्रमहरूले यो क्षेत्रलाई धार्मिक मात्र नभई सांस्कृतिक केन्द्रका रूपमा स्थापित गरेका छन् ।
प्राकृतिक सौन्दर्य र पर्यटन सम्भावना
सुपा देउरालीको अर्को आकर्षण यसको प्राकृतिक सौन्दर्यता हो। हरियाली डाँडाकाँडा, शान्त वातावरण र मनमोहक दृश्यहरूले यहाँ आउने जो कोहीलाई मन्त्रमुग्ध बनाउँछ। धार्मिक पर्यटनसँगै आन्तरिक पर्यटनको पनि ठूलो सम्भावना रहेको यो क्षेत्र राज्यको उचित ध्यान पाए अझ विकसित हुन सक्ने देखिन्छ।
यो मन्दिरमा भक्तजनहरूले चढाएको भेटीबाट १.५ करोड आम्दानी हुने गर्दछ र उक्त आम्दानीको रकमबाट शिक्षा, स्वास्थ्य र सामाजिक विकास कार्यमा खर्च गर्ने गरिन्छ। महिनामा लाखौं रुपैयाँ विद्यालय र स्वास्थ्य चौकीमा खर्च गरिन्छ । यो बाहेक भूकम्प, बाढी पहिरो लगायतका भैपरि आउने विपतका घटनाहरूमा राहत वितरण गर्ने , समाज सेवा र पूर्वाधार विकासका कार्यहरूमा समेत यो बजेटबाट खर्चगर्ने गरिन्छ।
निष्कर्ष
सुपा देउराली केवल एउटा मन्दिर मात्र होइन, यो नेपाली समाजको पहिचान , आस्था, इतिहास, संस्कृति र प्रकृतिको संगमस्थल हो। यहाँको धार्मिक विश्वास, ऐतिहासिक किंवदन्ती र प्राकृतिक सुन्दरता मिलेर यसलाई एक अद्वितीय गन्तव्य स्थल बनाएका छन्।
आधुनिकता र विकासको दौडमा पनि यस्ता सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन गर्नु हाम्रो साझा जिम्मेवारी हो। सुपा देउरालीले हामीलाई आफ्नो आस्था , विश्वास र पहिचानसँग जोडिराख्ने एउटा जीवित स्मारकका रूपमा सदैव प्रेरणा दिइरहनेछ। यद्यपि आजको विज्ञान र प्रबिधिको युगमा यो अदृश्य शक्ति के हो ? यो एउटा अध्ययनको विषय बनेको छ । कोही पनि दिग्भ्रमित हुनु हुँदैन । छिटै सत्य तथ्य प्रमाण सहित सम्बन्धि निकायले रहस्य खुलाएर सार्वजनिक गर्नु पर्दछ ।
मितिस्२०८३ बैशाख ७ गते

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित