अमेरिकी साम्राज्यवाद र कंगो

अपत्य शर्मा
आजको विश्व एक धु्रवीय महाशक्तिको शोषण, उत्पीडन, दमन र आक्रमणको शिकार बनिरहेछ । एक धु्रवीय महाशक्ति संयुक्त राज्य अमेरिकालाई रुस र चीनले भत्काउँदै छन् । चीन अमेरिकालाई हरेक क्षेत्रमा उछिन्दै प्रथम हुने क्रममा छ । अमेरिका लगायत यूरोपेली, एसियाली मुलुकहरु र अफ्रिकी महादेशमा पर्ने इजिप्टको सभ्यताका बारे ऐतिहासिक, सामाजिक , राजनैतिक, आर्थिक तथा संस्कृतिबारे जानकारीमा छन्। तर अन्य अफ्रिकी देशहरुबारे थोरै मात्र जानकारी प्राप्त छन् । विश्व परिवेशमा साम्राज्यवादी मुलुकहरुका साम्राज्यवादी भाट लेखकहरुले कुनै पनि शासित देशहरुका बारेमा सही तथ्यपूर्ण जानकारी दिंदैनन् । त्यस्ता लेखकहरुले झुटमुठ विवरण दिनुका साथै ती शासित देशमा शासन गर्ने साम्राज्यवादी शासकहरुले विकास गराएको दाबी गर्छन् । चौधौं शताब्दीदेखि सामुद्रिक बाटोबाट महाद्वीपहरु पत्ता लगाउन थालेपछि संयुक्त राज्य अमेरिका लगायत एसियाली, अफ्रिकाली तथा ल्याटिन अमेरिकी मुलुकहरु औपनिवेशिक अन्धकार युगमा धकेलिएका थिए । साम्राज्यवादी जुवाबाट मुक्त हुन लामो रक्तपातपूर्ण संघर्ष गरे तापनि कतिपय कमजोर मुलुकहरु पुनः साम्राज्यवादीकै षडयन्त्रद्वारा कठपुतली क्रुर सैनिक तानाशाहीको बुटमुनि दबिएका छन् । यहाँ अनेकौं बहुमल्य खनिज पदार्थले भरिपूर्ण कंगोको राष्ट्रवादी नेता प्याट्रिस लुबुम्वालाई अमेरिकी जासुसी संगठन सिआइएर अन्य साम्राज्यवादी मुलुकहरुसँगको सहकार्यले हत्या गरियो भन्ने बारे चर्चा गरौं ।
अफ्रिका महादेश पत्ता लगाउने जहाजी पोर्चुगाली राजकुमार प्रिन्स हेनरी (१४९४–१४६०) हुन् । उनले अफ्रिका जाने समुद्री बाटो मुख्य रुपमा दक्षिण अफ्रिकाको पश्चिमी क्षेत्र पुग्ने बाटो पत्ता लगाए । १५ औं शताब्दी भनेको एउटा अन्वेषणको युग थियो । प्रिन्स हेनरीलाई नेभिगेटर पनि भनिन्छ । जसले समुद्रीमार्ग अन्वेषणमा ठूलो भूमिका खेले र अन्ततः यो अफ्रिकाको वरपरका बाटा हुँदै एसियामा भारतसम्म पुग्ने सम्भावनाहरु खोलिदिए ।
कंगो अमूल्य खानीहरु र प्राकृतिक स्रोत र साधनहरुले सम्पन्न देश हो । जहाँ सुन, तामा, हिरा कोबाल्ट जस्ता खनिज पदार्थहरु प्रशस्त पाइन्छन् । विशेष गरेर डेमोक्रेटिक रिपब्लिक अफ कंगो विश्वको सबैभन्दा ठूलो कोवाल्ट र हीराको उत्पादक देशहरुमा पर्छ । तर यो देशलाई प्रतिक्रियावादी तथा साम्राज्यवादीहरुले तीन टुक्रा पारेका थिए । (क) कंगो लियोपोल्ड (२) कंगो जैरे (३) कंगो कटाङ्गामा विभाजन गरेका थिए । तर अहिले दुई भागमा विभाजित छ । कंगो अमूल्य खनिज पदार्थले सम्पन्न भए पनि विश्वको सबैभन्दा गरिब देशमा गणना गरिन्छ । अफ्रिकी महादेशमा रहेको कंगो नदीको वरिपरिको क्षेत्र ऐतिहासिक रुपमा दुई फरक यूरोपेली साम्राज्यवादी शक्तिहरु बेल्जियम र फ्रान्सले कब्जा गरेका कारण आज कंगो दुई भागमा विभाजित भएको छ । यी दुई देशको नाम उस्तै भए पनि उनीहरुको औपनिवेशिक इतिहास र विकासको बाटो पूर्ण रुपमा फरक छ । १९ औं शताब्दीको अन्त्यमा यूरोपेली शक्तिहरुले अफ्रिकालाई बाँडफाँड गर्ने क्रममा कंगोलाई पनि विभाजन गरे । (१) दक्षिणी कंगोलाई डेमोक्रेटिक रिपब्लिक अफ द कंगो (डिआरसि) भनिन्छ । यो दक्षिणी क्षेत्र बेल्जियमका राजा लियोपोल्ड द्वितीयको व्यक्तिगत सम्पत्तिको रुपमा रहेको थियो, जसलाई बेल्जियम कंगो भनियो ।
२) उत्तरी कंगोलाई रिपब्लिक अफ द कंगो भनिन्छ । कंगो नदीको उत्तरपश्चिमी भागमा फ्रान्ससले कब्जा जमायो जसलाई फ्रेन्चत कंगो भनियो । यी दुई देशका बीचको सीमाना मुख्यतयाः कंगो नदी र उबाङ्गी नदीले निर्धारण गर्दछ । यी दुवै देशले १९६० मा स्वतन्त्रता प्राप्त गरे । तर औपनिवेशिक जुवा कायम छ । डिआरसी बेल्जियमबाट स्वतन्त्र भएको यो देश कंगोको ठूलो भाग हो । यसको राजधानी किन्शासा हो । अर्को रिपब्लिक अफ द कंगो फ्रान्सबाट स्वतन्त्र भएको देश हो, यो कंगोको सानो भाग हो र यसको राजधानी ब्राजाभिल हो । स्वतन्त्रता पछि यो कंगो ब्राजाभिल तुलनात्मक रुपमा स्थिर रहेको छ भने डेमोक्रेटिक कंगो किन्शासा दशकौंसम्म युद्ध, गृहयुद्ध र विभिन्न विद्रोही गुटहरुको आक्रमण, प्रत्याक्रमण र राजनैतिक अस्थिरताले ग्रसित छ । कंगो दुई भागमा विभाजित हुनुको मुख्य कारण १८८० को दशकको यूरोपेली औपनिवेशिक स्वार्थ थियो, जसले एउटै कंगो क्षेत्रलाई नदीको आधारमा दुई भागमा बाँडिदियो । आज पनि यी दुई देशका बीचमा कुनै पुल छैन र कंगो नदीका दुई किनारमा दुई फरक राजधानीहरु (किन्शासा र ब्राजाभिल) विश्वका सबैभन्दा नजिकका राजधानी सहर हुन् ।
लोकतान्त्रिक गणतन्त्र कंगो (डिआरसी) को हिरा, सुन, कोल्टान, कोबाल्ट र तामा जस्ता बहुमूल्य खनिजहरुको शोषणमा विभिन्न विदेशी कम्पनीहरु, छिमेकी राष्ट्रहरु, सशस्त्र विद्रोही समूहहरु र केही स्थानीय भ्रष्ट अधिकारीहरुको मिलिमतोमा चरम लुट र शोषण अन्याय र दमन भइरहेछ । यसरी सम्पन्न खनिज पदार्थ भएको कंगो विश्वको सबैभन्दा गरिब मुलुकमा गणना भइरहेछ । कंगोको खानीहरुको दोहन कसरी भइरहेछ हेरौं ।
१) सशस्त्र विद्रोही समूहहरु जो पूर्वी कंगोमा सक्रिय छन् जसमा एम २३, एडिएफ, सिओडिइसिओ जस्ता सयौं विद्रोही समूहहरुले खानी क्षेत्रहरु कब्जा गरेर अवैधरुपमा कोल्टान र सुनको उत्खनन गर्छन् । उनीहरुले स्थानीय बासिन्दा र बच्चाहरुलाई बन्दुकको डर देखाएर ज्यादै कम ज्यालामा या विना ज्याला काम गर्न बाध्य पार्छन् । यस्ता समूहहरुले उत्खनन गरेका खनिज छिमेकी राष्ट्रहरु रुवान्डा र युगान्डाद्वारा अवैध रुपमा अन्तर्राष्ट्रिय बजारमा बेच्छन् । संयुक्त राष्ट्र संघको प्रतिवेदन अनुसार रुवान्डा समर्थित एम २३ विद्रोही समूहले रुवान्डाको सीमा क्षेत्रका खानीहरु (विशेष गरेर रुवाया) कब्जा गरी कोल्टानको अवैध व्यापार गर्छन् । (स्रोतः यु.एस डिपार्टमेन्ट अफ स्टेट) कंगोबाट सुन र अन्य खनिजहरु अवैध रुपमा युगान्डाको बाटो हुँदै बाहिरिने गरेको छ ।
(२) बहुराष्ट्रिय कम्पनीहरुको शोषण ः
चीनले कंगोको कोबाल्ट र तामा खानीमा चिनियाँ कम्पनीहरुको ठूलो लगानी र नियन्त्रण छ (स्रोग्लोवल बार म्यागेजिन) । चिनियाँ फर्महरुको कन्सोर्टियम (सिकोमाइन्स)ले त्यहाँको ठूलो पूर्वाधार परियोजनाहरुका लागि खनिज उत्खनन गर्छ । (स्रोत ः आइएमएफ इलाइबे्ररी) कंगोको पूर्वी क्षेत्रमा रहेको रुवाया लगायतका महत्वपूर्ण खानीहरुमा एम २३ विद्रोही समूहले कब्जा गरेका छन् । रुवान्डाको समर्थन रहेको यो समूहले कोल्टान (कोल्टान मोबाइल फोनमा प्रयोग हुने कच्चा पदार्थ) खानी कब्जा गरी द्वन्द्वका लागि रकम जुटाउँछ । कंगोको हिरा खानीमा चाहिं १८८८ बाट अहिलेसम्म डीबीरस कंले कंगोको ८० प्रतिशतदेखि ८५ प्रतिशतसम्म कच्चा हिरामाथि (मोनोपोली) एकाधिकार चलाइरहेछ । त्यस्तै कंगोको तामा र कोवाल्टमा स्वीस कं. ग्लिनकोरले कामोटो कपट कम्पनीमा ७५ प्रतिशत हिस्सा राखेको छ । त्यस्तै क्यानडाको इभा हो माइन्सको कामोवा काकुला कपट कम्प्लेक्सको किवास र संचालनमा संलग्न छ ।
डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा सयौं बहुराष्ट्रिय कम्पनी सक्रिय छन् । ती मध्ये प्रमुख ग्लिनकोर (कामोटो कपर कम्पनी) बरिक गोल्ड कर्पोरेशन, एङ्लो गोल्ड अशान्ति, इभान हो माइन्स, जीलीन माइनिङ ग्रुप, कंगो डोङफाङ इन्टरनेशनल माइनिङ (हाउयु कोबाल्ट) सिसको माइन्स (चीनसँगको संयुक्त उद्योग) हुन् । डिमोक्रेटिक रिपब्लिक अफ कंगोमा ३४००० भन्दा बढी व्यावसायिक कम्पनीहरु र ८०,००० भन्दा बढी व्यक्तिगत व्यवसायहरु दर्ता छन् । मुख्य रुपले खानी, बैंकिङ, दुरसंचार र सेवा क्षेत्रमा कम्पनीहरु संचालित छन् ।
सुन सफा गर्दा वा अन्य धातुहरु निकाल्दा अनेकौं रसायनहरुको प्रयोग गर्दा स्थानीय जनतामा अनेकौं रोगहरु तथा प्रदुषणले गर्दा घातक असर गरेर हजारौं कङ्गोलीले ज्यान गुमाएका छन् । श्रम शोषण चरम रुपले व्यापक छ । नदीका पानी दुषित भएको छ । हात्ती, सिंह, गुरिल्ला, चिम्पान्जी जस्ता जंगली जनावर रहेको कंगोको जंगल अमेजनको जंगलपछि दोस्रो ठूलो हो । कृषि भूमि ज्यादै उब्जाउ छ । अमूल्य खनिज पदार्थ तथा स्रोत साधन सम्पन्न कंगोली आम जनता दिनदुना रात चौगुनाले गरिब हुँदैछन् । भ्रष्ट नोकरशाही तथा बहुराष्ट्रिय कंहरुले अकुत आम्दानी कमाइरहेछन् ।
कंगोमा धेरै साना ठूला राज्यहरु थिए जसमा कंगो साम्राज्य प्रमुख थियो । १५ औं शताब्दीको उत्तराद्र्धमा यूरोपेली मुलुक पोर्चुगलका व्यापारीहरु व्यापार गर्न कंगो नदीको तटमा पुगेका थिए । कंगो षेत्र बान्टु राज्यमा थियो । त्यस मुलुकलाई बर्बर तरिकाले बेल्जियम र फ्रान्सले उपनिवेश बनाए । स्मरणीय छः अफ्रिकाको नामाकरण रोमनहरुले गरेका हुन् । १४६ इसापूर्वमा कर्थाज हालको (ट्युनिसिया) कब्जा गरेपछि रोमनहरुले त्यहाँका स्थानीय बर्बर जनजातिलाई अफ्रि भन्थे, जसको अर्थ “धूलो” वा सुख्खा हुन सक्छ । अफ्रिजन जाति बस्ने जमिनलाई अफ्रिका टेरा अफ्रिहरुको भूमि भन्दा भन्दै यो नाम पूरै महादेशका लागि प्रयोग गरियो । अफ्रिका नाम अनुमानित ल्याटिन अफ्रिका घमाइलो स्थानबाट आएको वा ग्रीकमा अप्रिके जाडो वा त्रास विनाको स्थानबाट आएको या अल्केबुलान भनिन्थ्यो । जसको अर्थ मानव जातिको आमा वा “इडनको बगैंचा” हो ।
कंगोको इतिहास औपनिवेशिक शोषण, उत्पीडन, चरम, दमन, राजनैतिक अस्थिरता र कठोर रक्तरञ्जित संघर्षले भरिएको छ । यो अफ्रिकाको दोस्रो ठूलो र विश्वको ११ औं ठूलो देश हो । औपनिवेशिक कालभन्दा पहिले यस क्षेत्रमा बाम्बुटी र अन्य पिग्मी जनजातिहरु आदिवासी थिए र पछि बान्टु जातिहरु यहाँ बसाइ सरे । उनीहरुले कंगो नदीको वरिपरि शक्तिशाली कंगो राज्य स्थापना गरे । अफ्रिका पत्ता लागेपछि कंगोको दुर्दिन प्रारम्भ भयो । बेल्जियमले ई.१९९५ देखि १९६० सम्म औपनिवेशिक क्रुर सत्ता कायम ग¥यो । कंगो फ्रिस्टेट (१८८५ देखि १९०८ सम्म । १९ औं शताब्दीको अन्त्यमा बेल्जियमका राजा लियोपोल्ड दोस्रोले कंगोलाई आप्mनो निजी सम्पत्तिको रुपमा नियन्त्रण गरे । त्यस समयमा रवड र हात्ती दाँतको लागि कंङ्गोली जनतामाथि क्रुर अवर्णनीय अत्याचार गरेर दासता तथा असीमित नरसंहार गरे । बेल्जियम कंगो (१९०८–१९६०) ले १९६० मा मात्र स्वतन्त्रता प्राप्त ग¥यो ।
कंगोलाई स्वतन्त्र गर्ने स्वतन्त्रता सेनानी प्याट्रिस लुमुम्बा हुन् । उनी पहिलो प्रजातान्त्रिक रुपमा निर्वाचित प्रधानमन्त्री र अफ्रिकी स्वतन्त्रता आन्दोलनका प्रमुख नेता थिए । लुबुम्बा एक जना राष्ट्रवादी शासक भएकाले प्रतिक्रियावादी तथा साम्राज्यवादीका लागि ठूलो आँखाको कसिंगर हुने नै भए । उनले कंगोको प्राकृतिक स्रोत र साधनमाथि साम्राज्यवादीलाई लुट गर्न रोकेका हुनाले उनलाई कम्युनिस्ट भनेर अमेरिकी गुप्तचर संस्था सिआइएद्वारा हत्या गरियो ।
लुबुम्बाको जन्म २ जुलाई १९२५ मा बेल्जियमको कब्जामा रहेको हालको डेमोक्रेटिक रिपब्लिक अफ कंगोको ओनालुवा गाउँमा भएको थियो । उनले मिसनरी विद्यालयहरुमा पढे र त्यसपछि हुलाकका कर्मचारी र पत्रकारको रुपमा काम गरे । लुमुम्बा एक शिक्षित मात्र नभएर प्रखर तार्किक वक्ता पनि थिए । उनी उपनिवेशवादका कट्टर विरोधी भएकाले साम्राज्यवादी पश्चिमी जगतका लागि ठूलो खतरा मानिए । साम्राज्यवादीका आँखा जहिले पनि एसिया, अफ्रिका र ल्याटिन अमेरिकी महादेशहरुमा रहेका खनिज प्राकृतिक स्रोत र साधनहरुमाथि अधिकार जमाउन र क्रुरतम रुपले दोहन गर्नु रहेको छ । त्यसका लागि त्यहाँका प्रतिक्रियावादी शक्ति तथा कठपुतली सैनिक सत्ता कायम गर्नु रहेको थियो ।
लुबुम्बाले कंगोलाई स्वतन्त्रता प्राप्त गर्न एमएनसी अर्थात् कंगोलिज नेशनल मुभ्मेन्ट पार्टीको स्थापना गरेर लुबुम्बा नेताको रुपमा उदित भए । उनको अथक सक्रिय संघर्षले गरेर ३० जुन १९६० मा बेल्जियमबाट स्वतन्त्रता प्राप्त गरे । स्वतन्त्रतापपिछ लुबुम्बा कंगोका पहिलो प्रधानमन्त्री भए । स्वतन्त्रता दिवस समारोहमा बेल्जियमका राजा बाउडुइनको अगाडि बेल्जियमको औपनिवेशिक अत्याचारको कडा शब्दमा भण्डाफोर, निन्दा भत्र्सना गरे । त्यसको परिणाम पश्चिमी साम्राज्यवादी फासिष्ट शासकहरु उनीसँग क्रुर भए । लुबुम्बाले कंगोका प्राकृतिक स्रोतहरुमा कंगोबासीको अधिकारको कुरा उठाए । जसको परिणाम बेल्जियम र साम्राज्यवादी नरभक्षी अमेरिकालाई चिन्तित बनायो । कंगोको खनिज धनी प्रान्त कटाङ्ग अलग हुने घोषणा गरेपछि संयुक्त राष्ट्रसंघगँग सहयोग मागे, तर नपाएपछि सोभियत संघसँग सहयोग खोजे । त्यसले गर्दा पश्चिमी साम्राज्यवादी शक्तिहरुसँग उनको द्वन्द्वलाई बढायो । साम्राज्यवादीका दलाल गद्दार कर्नल मोबुतुका सैनिकहरुले लुबुम्बालाई गिरफ्तार गरे । १७ जनवरी १९६१ मा बेल्जियन अधिकारी र सिआइएको संलग्नतामा लुबुम्बा र उनका दुई सहकर्मीको पनि हत्या गरियो । लुबुम्बाको हत्यापछि उनको शरीरलाई एसिडले गालेर नष्ट गरियो, किनभने उनको चिहान नबनोस् । यसले साम्राज्यवादी कति क्रुर, बर्बर, अत्याचारी हुन्छन् भने प्रमाणित हुन्छ । तर लबुम्बालाई एक जना राष्ट्रवादी साम्राज्यवाद विरोधी वीर शहीदको रुपमा अफ्रिकी जनताले सम्झिरहेछन् । लुबुम्बालाई अफ्रिकी राष्ट्रवाद, प्यान अफ्रिकीनिजम र साम्राज्यवाद विरोधी संघर्षको प्रतिक मानिन्छ ।
कंगोको वर्तमान अवस्था ः
अप्रिल २०२६ को स्थिति अनुसार प्रजातान्त्रिक गणतन्त्र कंगोको वर्तमान अवस्था ज्यादै जटिल, अस्थिर र चुनौतीपूर्ण रहेको छ । कंगोको पूर्वी भागको उत्तरी किभु र दक्षिणी किभु प्रान्तहरुमा एम २३ विद्रोही समूह र सरकारी सेना (एफए आरडिसी) का बीचमा भएको लडाइँले डरलाग्दो रुप लिएको छ । सन् २०२५ मा अमेरिकी साम्राज्यवादीको मध्यस्थतामा भएको शान्ति सम्झौता उल्लंघन भएको छ । रुवान्डाले विद्रोहीलाई समर्थन गरेको आरोप कंगोले लगाएकाले क्षेत्रीय तनाव पनि बढ्दो छ । एकातिर विद्रोहीलाई हातहतियार दिएर सहायता गरेको छ भने अर्कोतिर सरकारी पक्षलाई पनि सहायता दिएर लडाउने अमेरिकी साम्राज्यवादी नै हुन् । एम २३ विद्रोहीहरुले कतिपय रणनैतिक सहरहरु कब्जा गरेका छन् भने सरकारी सेनाले पनि विद्रोहीहरुले कब्जा गरेका सहरहरु फिर्ता गर्ने प्रयास गरिरहेछन् । यसरी दोहोरोमारमा कंगोली जनता मारिंदैछन् । अमेरिकी साम्राज्यवादीको इसारामा चल्ने संयुक्त राष्ट्रसंघको शान्ति स्थापनाका लागि खटिएको मोनुस्को मिसनको अवधि डिसेम्बर २०२६ सम्म थप गरिएको छ ।
गृहयुद्धले ग्रसित कंगोका जनता विश्वकै सबैभन्दा ठूलो विस्थापनमा परेका जनता हुन् । हालसम्म ७० लाख भन्दा बढी कंगोली आन्तरिक रुपमा विस्थापित भएका छन् । २ करोड ६६ लाख मानिसहरु तीव्र खाद्य असुरक्षाको सामना गरिरहेछन्, जसले गर्दा भोकभोकै गर्नुपर्ने अवस्था छ । स्वास्थ्य सेवाको अभाव चरम गरिबीले गर्दा अनेकौं महामारीले हजारौं कंगोली मरिरहेछन् । ८० प्रतिशत भन्दा बढी चरम गरिबीमा बाँचिरहेका छन् । एक छाक खानको लागि मानिसको हत्यासम्म गरिन्छ । यसले त्यहाँको अभाव र गम्भीर भोकमरीलाई दर्शाउँछ । वैज्ञानिक शिक्षा, स्वास्थ्य सेवाको अभावलेगर्दा अन्धविश्वास, टुनामुनाको साम्राज्य छ । तर चरम गरिबी र अभावमा पनि कंगोली हँसमुख र नाँच्नेमा अग्रपंक्तिमा छन् । कंगोको सबैभन्दा घातक मानिने दोस्रो युद्धमा मात्र (१९९८देखि २००३) ५.४ मिलियन मानिसकोको मृत्यु भएको अनुमान छ, केही स्रोतहरुले यो संख्या ६० लाखसम्म भएको अनुमान छ । लोकतान्त्रिक गणतन्त्र कंगोमा जारी द्वन्द्व र गृहयुद्धलाई आधुनिक इतिहासको सबैभन्दा घातक द्वन्द्वमध्ये एक मानिन्छ । सन् १९९६ देखि शुरु भएको विभिन्न चरणका युद्ध र त्यस पछिका हिंसाका कारण ५० लाखदेखि एक करोड भन्दा बढी मानिस मारिइसकेका छन् । (स्रोत विविसी) दोस्रो कंगो युद्धलाई अफ्रिकाको विश्वयुद्ध पनि भनिन्छ । पूर्वी कंगोमा अझै पनि हिंसा रोकिएका छैनन् । सन् २०२५ को प्रारम्भबाट अहिलेसम्म हजारौं सर्वसाधारण मारिएका र लाखौं विस्थापित भएका छन् । मृत्युका कारणहरुः रोग र कुपोषण, स्वास्थ्य सेवाको अभाव र विस्थापनका कारण मलेरिया, झाडापखला र हैजाले ठूलो संख्यामा मृत्यु भएको छ । भोकः खेतीपाती बन्द हुनु, खाद्यान्न आपूर्ति ठप्प हुनु ।
कंगो द्वन्द्वका मुख्य पक्षहरुः
(१) एम २३ विद्रोही उत्तरी र दक्षिणी किबु प्रान्तमा सक्रिय छन् । उनीहरु रुवान्डाले सहयोग गरेको विद्रोही पारा मिलिटरी समूह हो ।
(२) एडिएफ र सिओडिइसिओ तथा अन्य सक्रिय सशस्त्र समूहहरु जसले सर्वसाधारणलाई निशाना बनाउँछन् ।
(३) एफएआरडिसि कंगोली सरकारी सेना ।
सन् २०२६ को प्रारम्भमा प्रजातान्त्रिक गणतन्त्र कंगो (डिआरसी) को जनसंख्या करिव ११ करोड ६० लाखदेखि ११ करोड ६५ लाख भन्दा बढी पुगेको अनुमान गरिएको छ । यो अफ्रिकाको सबैभनदा छिटो जनसंख्या बृद्धि हुने देशहरुमध्ये एक हो । कंगोमा कहिले शान्ति हुने हो त्यो अनिश्चित छ, किनभने त्यहाँका अमूल्य खनिजका लागि अमेरिकी साम्राज्यवादीले विद्रोही र सरकारी पक्षलाई युद्ध गराइरहेछ र लुटमार गराइरहेछ । आशा गरौं कंगोली राष्ट्रवादी शक्तिले साम्राज्यवादी शक्तिलाई परास्त गरेर लखेट्दै स्थायी सरकार कायम गर्दै सम्पन्न राष्ट्र हुनेछ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित