माक्र्सवादको गहिरो स्व–अध्ययनको आवश्यकता र महत्व

 

हुकुमबहादुर सिंह

माक्र्सवादी किताबहरुको अध्ययन घेरैले गर्दछन् र त्यसवारे धेरैले ज्ञान प्राप्त पनि गर्दछन् । तर माक्र्सवादलाई क्रान्ति र परिवर्तनका लागि एउटा मार्गनिर्देशक सिद्धान्तको अत्यावश्यक आधारभूत पक्षका रुपमा गहिरो गरी बुझ्न सकिरहेको पाइदैन । यो भनेको माक्र्सवादलाई एउटा भौतिकवादी दर्शनका रुपमा आफ्नो दैनिक कार्यहरूमा लागु गर्न सिक्ने हो । जसले आफ्नो व्यवहारमा महत्वपूर्ण सुधार र परिवर्तन गर्न सक्छ । सारंशमा माक्र्सवादको गहिरो अध्ययन माक्र्सवादी—लेनिनवादी—माओवादी सिद्धान्तको प्रकाशमा कुनै व्यक्तिको व्यवहारका लागि एउटा साँंचो(पेचकिला) हो ।

एउटा कम्युनिस्ट पार्टी कार्यकर्ताका रूपमा व्यक्तिगत र समग्र पार्टीको दुवै रूपमा प्रायः जसो आफ्नो वरीपरीको विश्वलाई बुझ्ने र त्यसबारे व्याख्या विश्लेषण गर्ने काम केवल सीमित अध्ययन र अनुभवहरू अनुसार गरिन्छ र त्यसकारण स्वतः त्यसबाट निस्केका निश्कर्षहरू प्रायः जसो गलत हुन जान्छन् वा गलत निश्कर्ष निकालिन्छ । यसको विपरीत मालेमाको एउटा सही तथा गहन बुझाईले यस्ता खराबीहरूमाथि विजय प्राप्त गर्न मद्त गर्दछ ।कैयौ पटक एउटा सतही प्रकारको बुझाइले कार्यकर्ताहरूलाई निश्चित पार्टी निर्णयहरूका परिपत्र र नेताहरूले व्यक्त गरेका भनाइ र अडानका अगाडि बढन उत्प्रेरित त गर्दछ तर तिनीहरूले माक्र्सवादी सिद्धान्त र पार्टी निर्णयको स्प्रीरिट र मूल तत्वलाई बुझ्नै सक्दैनन् । अनि अनाहकमा आलोचनाको विषय बन्न जान्छन् । यस्ता कमी कमजोरीबाट मुक्त हुनका लागि पनि मालेमाको गहिरो अध्ययन आवश्यक छ । मालेमाको गहिरो अध्ययनद्धारा यस्ता गल्तीहरू, कमिकमजोरीबाट मुक्त हुन सकिन्छ ।

मालेमाबारेको अध्यनद्वारा विश्व क्रान्तिका सकारात्मक र नकारात्मक अनुभवहरूबाट सिक्न सकिन्छ । यसमा रहेका असल चीजहरूबाट सिक्ने र आफ्नै व्यवहारमा असल र खराब के हो त्यसलाई छुट्टयाउनका लागि सिक्ने हो । सबै प्रकारका अवसरवादलाई चिन्न, त्यसको आलोचना गर्न र त्यसका विरुद्ध लाग्न सिक्ने हो । यसका लागि विचार पहिलो र प्रधान हो ।
मालेमावाद एउटा ‘प्रयोगात्मक—व्यवहारिक’ सिद्धान्त हो । जसको मतलव कार्यान्वयन गरिनु पर्ने र व्यवहारमा लैजानै पर्ने विषय हो । अनगिन्ति वर्गसंघर्षहरूका दौरानमा यो सिद्धान्त उत्पत्ति र विकास भएको हो । त्यसकारण ठोस भौतिक परिस्थितिहरू र सामाजिक अभ्यासको बुझाई आवश्यक छ, जसबाट हुँदै सर्वहारवर्गका महान गुरूहरू—माक्र्स, एङ्गेल्स, लेनिन, स्टालिन र माओले पत्ता लगाउनु भएको हो र यसका आधारभूत सिद्धान्तहरूको प्रतिपादन गर्नु भएको हो । यसरी मालेमाको उत्पत्ति र विकासको ऐतिहासिक प्रक्रियासंग मिलान नगरी कसरी माक्र्सवादलाई बुझ्न सकिन्छ र ! जसले माक्र्सवादलाई बुझ्न आवश्यक ठान्दैन् र संशोधनवादलाई बुझने कोशिस गर्दछ, अनि त्यस्ताको माक्र्सवादको आधारमा गरिने व्याख्या र विश्लेषण स्वतः माक्र्सवाद विरोधी हुन्छ नै ।

सामाजिक आर्थिक अवस्थाहरू, मुख्य राजनीतिक र वर्गसंघर्षका विभिन्न रूपहरू, जसले गर्दा मालेमाको जन्म र विकास भयो र कुनै पनि निश्चित पक्षबारे विस्तृत रूपमा बुझनका लागि अध्ययन, अध्ययन र फेरी पनि अध्ययन नै आवश्यक छ । त्यसकारण विचारको विकासको गतिशील पक्ष बुझ्नका लागि र कस्तो ऐतिहासिक अवस्थाहरू, वातावरणहरूमा कुनै चीज अडिएका हुन्छन् र सिद्धान्त यसैमा जन्मन्छ भनेर बुझनका लागि पनि माक्र्सवादी अध्ययनको आवश्यकता पर्दछ । अध्ययन र लेखन दुवै सँगसँगै जानु आवश्यक छ । यसक्रममा हाँक पत्रिका मेरो जीवनको मेरो लागि एउटा लेखकीय स्वःअध्ययनको पाठशाला हो भन्दा अतिसयोक्ति ठहर्दैन । । मेरो जीवनको माक्र्सवादी अध्ययन र लेखनमा यसले मलाई पुराएको योगदान अतुलनीय छ । हाँकमार्फत मेरा शुरुका अवस्थामा लेखिएका दर्शन, वैज्ञानिक समाजवाद, साहित्य तथा तत्कालीन समसामयिक राजनीतिक लेखहरुमार्फत पार्टी कमरेडहरुसम्म पुराउन यसले महत्वपूर्ण भूमिका खेलेको छ । यसरी पनि हाँक पत्रिका मेरो जीवनको मेरो लागि एउटा लेखकीय स्वःअध्ययनको पाठशाला सावित भएको छ ।

माक्र्सवादी अध्ययनको प्रमुख उद्देश्य पार्टी सदस्यहरूको वैचारिक, सैद्धान्तिक एवं व्यवहारिक रुपान्तरणका लागि आवश्यक व्यवस्था नै हो । सबै स्तरका नेतृत्वकारी कमरेडहरु र आम सदस्यहरुमा रहेका गैर सर्वहारा चिन्तनलाई हटाई सर्वहारा वर्गीय चिन्तन तथा दृष्टिकोणबाट शिक्षित तथा प्रशिक्षित भएर गैरसर्वहारा चिन्तन र व्यवहारबाट मुक्त हुन आवश्यक छ । यस्तो अध्ययनद्वारा पार्टी कार्यकर्ताहरुले पार्टी र क्रान्तिको लागि बढी दह्रो रुपमा, बढी आत्मविश्वासका साथ र बढी सुझबुझयुक्त ढङ्गबाट क्रान्ति र परिवर्तनका निम्ति अधिकतम योगदान गर्न सक्छन् । हाँक लगायत महिमा, ज्वाला, मातृभूमि, योजना, जनादेश, अन्नपूर्ण, राजधानी, वर्गदृष्टि, हलकारा, वेदना, मूल्याङ्कन, उत्साह, जनजिभ्रो आदि नयाँ पुराना अनेकौ पत्रपत्रिकाहरुमा प्रकाशित मेरा लेखहरु अहिले पनि मेरालागि स्वःअध्ययनको पाठशालाका उपज हुन ।

सर्वपथम हाँकले ४३ औं वर्ष प्रवेश गरेको सन्दर्भमा हृदयदेखि बधाई छ । किनभने यसको स्थापनाकालदेखि म यससँग एउटा लेखक तथा स्तम्भकारका रुपमा संलग्न भएको हो । विभिन्न आन्दोलन तथा संघर्ष कालका दौरानमा हाँकले एउटा आन्दोलनकर्ता र प्रचारकर्ताको महत्वपूर्ण भूमिका निर्वाह गरेको इतिहास छ । हाँकमा प्रकाशित मेरा लेखहरुप्रति देश र विदेशमा रहनु भएका तत्कालीन नेकपा(मसाल)का कमरेडहरुबाट जे जस्ता सकारात्मक प्रतिक्रियाहरु तथा सुझावहरु प्राप्त हुन्थे, त्यसबाट मलाई लेख्ने र त्यसका लागि अध्ययन गर्नु पर्ने आवश्यकतावारे उर्जा मिल्दथ्यो र म मा झन गहन अध्ययन गर्न लेख्न हौसला मिल्दथ्यो । म एक जना लेखकका रुपमा यसमा संलग्न भएको परिणाम तत्कालीन नेकपा (मसाल)मा काम गरेका हाँकका पाठकहरुले अहिले पनि भेट हुँदा मेरो नाम हाँकसँग र त्यसमा प्रकाशित लेखसँग जोडेर हेर्ने गर्नु हुन्छ । नेकपा (मसाल)को एउटा मुखपत्रजस्तै यसले यो पार्टीलाई जनताको बीचमा जीवन्त राखिरहन महत्वपूर्ण भूमिका खेलेको इतिहास र वर्तमानमा पनि यो सत्य हो ।

अहिले तल्लो तहका कम्युनिस्ट कार्यकर्ताहरू र पार्टी सदस्यहरूलाई माक्र्सवादी अध्ययनका बारे सोध्यो भने प्रायजसोबाट एउटै उत्तर आउँछ कि पार्टीका केन्द्रीय समितिका र उच्च समितिहरूका सदस्यले गहन अध्ययन गरून र हामीलाई निर्देशन दिउन त्यही नै काफी छ । अनि पार्टीका प्रायजसो केन्द्रीय समितिका र उच्च समितिहरूका सदस्यहरूले धेरैले महसुश गर्दछन् कि संगठन र संघर्षका अन्य कामहरू यतिविधि धेरै छन् कि सैद्धान्तिक अध्ययनका लागि समय नै मिल्दैन । अर्कोतीर पार्टीभित्र केही अन्य सदस्यहरू छन् जसले महसुश गर्दछन् कि कुनै कामलाई सही तरिकाले गर्नका निम्ति महान गुरूहरूका प्रत्येक कामहरूबारे ज्ञान लिन आवश्यक छ । तिनीहरूले समयको अत्यधिक मात्रा हरेक चीजको अध्ययन गर्ने कोशिसमा बिताउछन् । तिनीहरूमा यस्तो प्रभावले पनि काम गरेको हुन्छ कि सही माक्र्सवादी शिक्षा विना प्रत्येक चीजलाई जो उनीहरू पढछन् विना तर्क वा नसोचीकन महान गुरूहरूका प्रत्येक कामहरूलाई धर्म वा सिद्धान्तलाई मान्ने मतका रूपमा विश्वास गर्दछन् ।

जसरी प्रचण्डलाई मानेर जनयुद्धमा हजारौ कार्यकर्ता र जनता होमिए तर अहिले धोका खाएको महसुस गर्दैछन् । यदि पहिले देखि नै उनीहरूमा माक्र्सवादी शिक्षाको साथै क्रान्तिको भट्टि दुवैमा खारिदै आएको भए अहिलेको यो विचलनलाई समयमा नै उनीहरूले पहिचान गर्न सक्ने थिए र त्यसलाई वेलैमा रोक्न नेताहरूलाई सहयोग र समर्थन गर्ने थिए । स्वयम् प्रचण्ड अहिले पार्टीपंक्तिभन्दा बाहिरका कांग्रेस र एमालेलाई बढता विश्वास गरेछु भनेर पछुताइरहेका अभिव्यक्ति उनीबाट आइरहेका छन् । त्यसैले हाम्रो माक्र्सवादी शिक्षाको अध्ययनमा यी सबै प्रवृतिहरूलाई त्याग्नु आवश्यक छ । प्रत्येक कमरेडले हाम्रो सिद्धान्त, विचार मालेमाको मूल तत्व, नैसर्गिक प्रवृति, अनिवार्य गुणलाई बुझ्नका लागि प्रशस्त समय अध्ययनमा दिनु आवश्यक छ । वर्तमानमा नेपाली कम्युनिष्ट आन्दोलन साँचो अर्थमा सर्वहारावादी रहन कठिन देखिएको छ । कम्युनिष्टको नाममा अनेकौ संसदवादी कम्युनिष्टहरूको वर्चश्व छ । तै पनि अहिले नेपाली कम्युनिस्ट आन्दोलनभित्र राजनीतिक ध्रुवीकरण समुद्रको पिंधमा आएको ज्वारभाटा जस्तै भएको छ ।समुद्रको पीँधमा बसेका माछालाई मात्रै थाहा हुने, अरूहरू त्यसवारे वेखवर भएजस्तै । सारमा के हो भने नेपाली कम्युनिष्ट आन्दोलनमा अहिले दक्षिणपन्थी संशोधनवादी धारा नै इतिहासमै सबैभन्दा बलियो देखिएको छ । माओवादी आन्दोलनले १० वर्षसम्म जनवादी क्रान्तिका लागि शसस्त्र विद्रोह सञ्चालन त गरेको थियो । यति छिटै कसरी आफूलाई क्रान्तिकारी धारामा गुणात्मक रूपले फड्को हाल्न असमर्थ भयो, महान् बहसको आवश्यकता छ ।

यो सही हो सिद्धान्ततः नेपालको सन्दर्भ र साथै अन्तराष्ट्रिय कम्युनिस्ट आन्दोलनको वर्तमान सन्दर्भमा माक्र्सवाद–लेनिनवाद–माओवादलाई क्रान्तिको मार्गदर्शक सिद्धान्त मान्नेहरू नै क्रान्तिकारी कम्युनिस्टहरू हुन् । सही माक्र्सवादी कम्युनिस्टहरू हुन् । यद्यपि अहिले तिनीहरू विभिन्न गुट, उपगुट र स–साना समुहमा विभाजित छन् ।  नयाँ जनवादी क्रान्तिको कार्यभार पूरा गर्ने महान उद्देश्य पुरा गर्न यिनै स—साना कम्युनिस्ट घटकहरूलाई समेटेर नयाँ ढङ्गको पार्टी निर्माण अहिलेको आवश्यकता भएको छ र त्यसका लागि समग्र कम्युनिस्ट आन्दोलनभित्र वैचारिक, सैद्धान्तिक, व्यवहारिक विचलन एवम गैर सर्वहारा वर्गीय चिन्तन र दृष्टिकोणका अवशेषहरू काफी छन् र ती आफैमा गैरसर्वहारा चिन्तन र व्यवहार हुन् । यिनीहरूबाट मुक्तिका लागि प्रथम पार्टी पङ्तिभित्र आन्तरिक रुपमा शुद्धीकरण र सुदृढीकरण अभियानहरु संचालन गरेर क्रान्तिकारी रूपान्तरण गर्नको लागि व्यवस्थित रुपमा माक्र्सवादी अध्ययनकोे महत्व र आवश्यकता झन बढेको छ ।अनि मात्रै पार्टीलाई सिद्धान्तनिष्ठ, एकतावद्ध र लडाकु तथा क्रान्तिकारी पार्टी बनाइ राख्न मद्दत गर्दछ । माक्र्सवादी अध्ययनद्धारा पार्टीलाई वैचारिक, सैद्धान्तिक एवं व्यवहारिक रूपान्तरणको ढोका खोल्न सकिन्छ । सबै स्तरका नेतृत्वकारी कमरेडहरू र आम सदस्यहरूमा रहेका गैर सर्वहारा चिन्तनलाई हटाई सर्वहारा वर्गीय चिन्तन तथा दृष्टिकोणबाट शिक्षित तथा प्रशिक्षित पार्नु अर्थात तिनलाई गैर सर्वहारा चिन्तन र व्यवहारबाट मुक्त पार्न व्यवस्थित रूपबाट प्रयत्न गर्नु माक्र्सवादी शिक्षाको महत्वपूर्ण पक्ष हो । जसले गर्दा कार्यकर्ताहरूले पार्टी र क्रान्तिको लागि बढि दह्रो रूपमा, बढि आत्मविश्वासका साथ र बढी सुझबुझयुक्त ढङ्गबाट आफ्नो तर्फबाट अधिकतम योगदान गर्न सकुन् ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित