‘इच्छुक स्मृति पुरस्कार –२०८२’ इस्मालीलाई, ‘इच्छुक प्रतिभा पुरस्कार –२०८२’ साहित्य तर्फ विपिनलाई र ‘इच्छुक प्रतिभा पुरस्कार –२०८२ कला तर्फ अमित योञ्जनलाई दिइने

काठमाण्डौ । इच्छुक साँस्कृतिक प्रतिष्ठानले वर्षेनी प्रदान गर्दै आएको इच्छुक पुरस्कारको घोषणा गरेको छ । प्रतिष्ठानका सदस्य सचिव मोदनाथ मरहट्टाले २ं०८३ वैशाख २९ गते पुरस्कारको घोषणा गरेको जानकारी गराउनु भएको छ । ‘इच्छुक स्मृति पुरस्कार –२०८२’ इस्मालीलाई, ‘इच्छुक प्रतिभा पुरस्कार –२०८२’ साहित्य तर्फ विपिनलाई र ‘इच्छुक प्रतिभा पुरस्कार –२०८२ कला तर्फ अमित योञ्जनलाई दिइने भएको छ । प्रतिष्ठानले पुरस्कार प्रदान कार्यक्रममा सहभागीताकोलागि कलाकार ,साहित्यकार सहित सबैलाई अनुरोध गरेको छ । प्रश्तुत छ मोदनाथ मरहट्टाद्वारा हस्ताक्षरित विवरण –
इच्छुक सांस्कृतिक प्रतिष्ठानले हरेक वर्ष प्रगितवादी साहित्य, संस्कृति, समालोचना, सौन्दर्यचिन्तन र कला क्षेत्रमा क्रियाशील सर्जक तथा नवप्रतिभाहरूलाई पुरस्कृत गर्दै आइरहेको सर्वविदितै छ । यस वर्षको ‘इच्छुक स्मृति पुरस्कार २०८२’ (मुल पुरस्कार) नेपालको प्रगतिवादी साहित्यलेखन, सम्पादन तथा अनुवाद गर्नुका साथै जनसांस्कृतिक आन्दोलनमा विगत तीसको दशकदेखि निरन्तर क्रियाशील हुँदै नेपाली वर्गसङ्घर्षको नवीन सौन्दर्य मूल्यहरूको विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्दै आउनुभएका महोत्तरी जिल्ला औरहीमा जन्मिई हाल काठमाडौं महानगरपालिका १० निवासी प्रगतिवादी आख्यानकार तथा समालोचक इस्माली (महेश्वर प्रसाद उपाध्याय)लाई दिइने निर्णय गरेको छ ।
त्यसैगरी साहित्यतर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०८२’ विगत दुई दशकदेखि साहित्य लेखनमा क्रियाशील रहेर नेपाली वर्गीय आन्दोलनको संवेदनालाई कविता, निबन्ध÷संस्मरण मार्फत् अभिव्यक्त गर्दै आउनुभएका भरतपुर महानगरपालिका ५ तोरीखेत निवासी नारायण शर्मा ‘विपिन’लाई दिइने भएको छ भने कलातर्फको ‘इच्छुक प्रतिभा पुरस्कार २०८२’ नेपाली जनयुद्धमा गीत, संगीत तथा नृत्यका माध्यमबाट जुझारु सांस्कृतिक योद्धाको भूमिका निर्वाह गर्दै समाज रूपान्तरण अभियानमा सामाना सांस्कृतिक परिवारमा सङ्गठित भई जनपक्षीय संस्कृतिको विकास र प्रवद्र्धन गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका साँगाचोक गाउँपालिका ११, सिन्धुपाल्चोक निवासी अमित योञ्जनलाई दिइने भएको छ । हिजो बसेको इच्छुक प्रतिष्ठानको कार्यसमिति बैठकले उक्त पुरस्कारहरू दिने निर्णय गरेको हो ।
इच्छुक स्मृति पुरस्कारको राशी रु एक लाख नगद सहित प्रमाणपत्र रहेको छ भने प्रतिभा पुरस्कार जनही पच्चिस हजार र प्रमाणपत्र रहेको छ । यही जेठ १३ गते इच्छुक स्मृति तथा सांस्कृतिक वलिदान दिवसका अवसरमा आयोजित विशेष कार्यक्रममा उक्त पुरस्कारहरू प्रदान गरिनेछ । उक्त दिन वार्षिक कार्यक्रमका साथै पुरस्कार प्रदान कार्यक्रम गरिने भएकाले सहभागिताका लागि कवि, कलाकार र सम्पूर्ण सांस्कृतिक एवम् राजनीतिक कर्मीहरूलाई विशेष आमन्त्रण गरिन्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित