काठमाडौं । २५ औं इच्छुक स्मृति दिवस तथा सांस्कृतिक बलिदान दिवसमा इच्छुक सांस्कृतिक प्रतिष्ठानले साहित्यकार इस्मालीसहित तीनजना स्रष्टालाई पुरस्कृत तथा सम्मानित गरेको छ । जेठ १३ गते काठमाण्डौ घट्टेकुलोस्थित इच्छुक साँस्कृतिक प्रतिष्ठानको प्रेक्षालयमा आयोजित साँस्कृतिक बलिदान तथा इच्छुक स्मृति दिवश कार्यक्रममा स्रष्टाहरु महेश्वरप्रसाद उपाध्याय‘इश्माली’,इच्छुक स्मृति पुरस्कारबाट नारायण शर्मा ‘विपिन’इच्छुक प्रतिभा पुरस्कार(साहित्य) तर्फ ,अमित योन्जन इच्छुक प्रतिभा पुरस्कार (कलातर्फ)बाट सम्मानित हुनु भएको हो । पुरस्कारको राशि क्रमशः एक लाख र २५ ,२५ हजार सहित दोसल्ला र सम्मान पत्र रहेको छ । स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि चैतन्य, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका महासचिव सीपी गजुरेल गौरवले दोसल्ला ओढाएर प्रमाण पत्र र पुरस्कार राशीसहित सम्मानित गर्नुभएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि तथा माक्र्सवादी सौन्दर्य चिन्तक चैतन्यले सम्मानित स्रष्टाहरुलाई धन्यवाद दिँदै कृष्णसेन इच्छुकको क्रान्तिकारी रुपान्तरणको आन्दोलनमा योगदानको चर्चा गर्नु भयो । वहाँले इच्छुक देश र जनताप्रति निकै निष्ठावान ,आस्थावान व्यक्ति रहेको जनाउँदै राजनीति ,साहित्य ,पत्रकारितामा इच्छुकको अतुलनीय योगदान रहेको बताउनु भयो र भन्नु भयो –वहाँले जेलको यातना सहँदा सहँदै प्राण आहुति दिनु भएको थियो ,वहाँ जस्तै हज्जारौं शहीदहरुको वलिदान भयो तर जनताले चाहेको जस्तो परिवर्तन हुन सकेको छैन । पछिल्लो जेन्जी विद्रोह पछि त झनै परिस्थिति निकै जटिल बन्न पुगेको छ । अहिलेको चर्तिकला हामीले देखेकै छौं , स्थायी कुनै पनि चीज हुँदैन माक्र्सवादले परिस्थिति बदलिरहन्छ भन्छ । क्रान्तिकारीहरुका धैर्यता , साहस निष्ठाले निश्चित रुपमा सामाजिक रुपान्तरण गर्न सक्छौं ,नयाँ जनवाद वैज्ञानिक समाजवाद हुँदै साम्यवादमा पुग्न सक्छौं । शहीदका सपना पूरा गर्न सक्छौं । वहाँले आफ्नो गम्भीर स्वास्थ्य अवस्थाबाट सुधार भएर कार्यक्रममा आइ सबै साथीहरुलाई भेट्न पाएकोमा खुशी व्यक्त गर्दै आगामि अभियानहरु सफलताको शुभकामना पनि व्यक्त गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि प्रतिष्ठानका सल्लाहकार तथा क्रान्तिकारी कम्युनष्टि पार्टी नेपालका वर्तमान महासचिव सिपी गजुरेल गौरबले १० वर्षे जनयुद्धले धोका खाएको बताउनु भयो । अहिलेको अवस्थामा क्रान्तिको दीप जलिरहेको बताउँदै बत्तीमा तेल कम भएको हो तर निभेको होइन भन्नु भयो । वहाँले वर्तमान राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थितिको चर्चा गर्दै नेपाल साम्राज्यवादीहरुको प्रयोगशालामा परिणत भएको बताउनु भयो । वहाँले भदौ२३ र २४ गतेको जेनजी विद्रोह भ्रम रहेको बताउँदै अमेरिकी साम्राज्यवादले चीनलाई घेरा हाल्ने योजना भएको उल्लेख गर्नु भयो । भदौ २३ र २४ गतेको विध्वंश कुनै विद्रोह ,जन विद्रोह नभएको बताउँनु भयो । यसको जनताको बीचमा गएर भण्डाफोर गर्ने र क्रान्तिकारी आन्दोलन अगाडि बढाउँदै शहीदको सपना साकार पार्नु पर्ने कुरामा गौरवको जोड थियो ।कार्यक्रममा क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका प्रवक्ता हेमन्त प्रकाश ओलीले कवि इच्छुक क्रान्तिकारी पक्षधरहरुमात्र नभइ सबैले सम्झने नाम रहेको चर्चा गर्दै वहा निकै मिजासिलो , नरम खालको मान्छे रहेको बताउनु भयो ।
पुरस्कृत तथा सम्मानित स्रष्टा कथाकार इस्मालीले कार्यक्रमलाई सम्बोधन गर्दै अहिलेको परिस्थितिलाई २०१७ सालको शाही कू पछिको अवस्था जस्तै हो भन्नु हुँदै अहिले प्रगतीवादी कला साहित्य सिर्जना कर्ममा लाग्नेहरुको खडेरी परेको अवस्था भन्दै अनिकालमा बीउ जोगाउनु सरह रहेको बताउनु भयो । उहाँले अहिले आफुलाई क्रान्ति तथा परिवर्तनको आन्दोलनमा होमेका साथीहरु पनि घण्टी बजाउँदै हिडेको अवस्थामा बीउ जोगाउनु महत्वपूर्ण रहेको बताउनु भयो । वहाँले अहिलेको समय राजनैतिक रुपमा प्रतिगमन भएको भन्दै यो अवस्थामा प्रगतिवादी स्रष्टा सचेत हुनु पर्ने र आफ्नो परिवर्तन तथा क्रान्तिप्रतिको दायित्व पूरा गर्नु पर्ने कुरा औंल्याउनु भयो । अमित योन्जन तथा अनिश योन्जनले इच्छुकद्वारा रचित ‘प्रतिबन्ध’ शीर्षकको गीत गाउनु भयो ।
कार्यक्रममा बोल्दै र कविता वाचन गर्दै कवि नारायण शर्मा विपिनले भूमिहीन सुकुम्बासीमाथि राज्यको बर्बरताका विरुद्ध क्रान्तिकारीहरुले विभिन्न मोर्चाबाट प्रतिरोध गर्नुपर्ने भनाइ राख्नुभयो । वहाँले क्रान्तिकारी आन्दोलनमा हिँडेर सन्तान शहीद भएका शहीद परिवार निकै कष्टपूर्ण जीवन जिउन विवश रहेको भन्दै उहाँहरुको समस्याको समाधान तर्फ क्रान्तिकारीहरुको ध्यान जानु पर्ने विचार राख्नु भयो । कार्यक्रममा इच्छुकका जीवन संगिनी तथा प्राध्यपक तक्मा केसीले भदौ २३ र २४ को घटना पछि देश कतातिर जान थालेको हो ? भन्ने आफुलाई लागिरहेको बताउँदै इच्छुकका शालिकहरु ढालिनु , पुष्पलाल र विपीका शालिकहरु ढालिनु निकै गम्भीर रहेको उल्लेख गर्नु भयो । कार्यक्रममा साहित्यकार अनिल श्रेष्ठले इच्छुकको ‘प्यालेष्टाइनी मित्रहरुका नाममा ’शीर्षकको कविता वाचन गर्नु भयो । कविहरु सत्य पहाडी, मनु विक, पञ्चकुमारी, कविता नेपालीले कविता वाचन गर्नुभएको थियो ।
कवि मित्रलाल पंज्ञानीले पुरस्कृत तथा सम्मानित स्रष्टाहरुको योगदानको बारेमा प्रकाश पार्नुभएको थियो । इच्छुक सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष हिरामणि दुःखीको अध्यक्षता र सदस्य सचिव मोदनाथ मरहट्टाको सञ्चालन ,तथा कवि गौरी देवकोटाले स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।


