कविता: नाइ म शहिद हुँदिन

 

मनु वि.क.
नाइ म शहिद हुँदिन
नाइँ म शहिद हुँदिन
नाइ म मर्न चाहँदिन
म बाँच्न चाहन्छु
म हाँस्न र
यो धर्तीमा नाँच्न चाहान्छु ।

स्वार्थीहरु चाहन्छन्
मलाई शहिद बनाउन
मेरो रगत चढाएर
मेरो प्राण उडाएर
मेरो लाशमाथि छुद्र स्वार्थ पूरा गर्न ।

मेरो श्वासमा
मेरो प्राणमा
मेरो मुटुमा
मेरो हाड र मासुमा
मेरो नसा नसामा
मेरो मन र छातीमा
मेरो आँखा र मस्तिष्कमा
शहिदको सपना छ
मुक्तिको सपना छ ।

सपना निश्छल छ
सपना स्वर्णिम छ
सपना सफा छ
पूर्व क्षीतिजमा एका बिहानै
देखिएको लालीजस्तै
मेरो देशमा बिउँझाउँदै र
सुसाउँदै बग्ने नदी जस्तै
समुद्रमा उर्लिने थोपा जस्तै
अटल बनेर उभिएको हिमाल जस्तै
चैत्र वैशाखमा रक्ताम्य बनेर
डाँडाकाँडा ढाक्ने लालीगुराँस जस्तै
मन्त्रमुग्ध बनाउने धुन जस्तै ।

मेरो प्यारो सपना
उडाउन खोज्नेहरुलाई
मेरो प्यारो कल्पना मेटाउन खोज्नेलाई
तिरस्कार गर्दै,उनीहरुको अस्तित्वको वेवास्ता गर्दै
कठिनता र दूर्दशा पर पञ्छाउँदै
आफ्नै मनभित्र सजाएर राखेको
सपना हो मुक्तिको सपना
फुलाएर राखेको हो शहिदको सपना ।

शहिदको सपना देखाएर
मुक्तिको सपना ओछ्याएर
सुतिरहेका मान्छेहरु
लुटिरहेका मान्छेहरु
देखिरहेको छु वर्षौंदेखि
उनीहरुलाई सोध्न खोज्दैछ मन
के शहिदको सपना यसैकोलागि थियो ?
के शहिदको सम्मान यसरी नै भयो ?

खेल यस्तै छ यहाँ
झेल यस्तै छ यहाँ
शहिदको रगतमा टेकेर
उठिरहेछ आफ्नै महल ।
शहिदको सपना कसैको महल ठड्याउन थिएन
कसैको स्वार्थ बढाउन थिएन
थियो त समानता र स्वतन्त्रता ल्याउन
थियो त अन्याय र अत्याचार मेटाउन
थियो त समानताको गीत गाउन ।

म चाहँदिन कसैको स्वार्थ पूरा गर्ने शहिद बन्न
म चाहदिन तुच्छ स्वार्थकोलागि रगत बगाउन
म चाहन्छु महान सपना पूरा गर्न
जुन सपनाले संसारको मुक्ति हुन्छ
जुन सपनाले संसारको दुःखका पहाड भत्काएर
यस धर्तीमा समानताको फूल फुलाउँछ
त्यो सपना साकार पार्न
त्यो सपनालाई विपनामा परिणत गर्न
किनकि जीवन अमूल्य छ
मुक्ति अमूल्य छ ।

२०८३ जेठ १३ गते , काठमाण्डौ

 

 

 

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित