सरकारले दृष्टिसम्बन्धी अपाङ्गता भएकाहरुमाथि कुदृष्टिको व्यवहार देखाएको छ । सरकारको यस्तो व्यवहारको विरोधमा सोमबार दृष्टिविहीनहरुले सरकारसँग विभिन्न माग राखेर काठमाण्डौको माइतीघर मण्डलामा धर्ना तथा प्रदर्शन कार्यक्रम आयोजना गरे । उनीहरुले “घाम पानी धूलो धूवाँ सहनु हाम्रो रहर होइन, बाध्यता हो, विकल्प नदिई सडकपेटी छोड्दैनौं”भन्दै धर्ना कार्यक्रम आयोजना गरे । दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरु, जो सडक पेटी ,मठ मन्दिर तथा चोकहरुमा बसेर आफ्नो कला र गलाको माध्यमबाट तथा सामानहरु बेचविखन गरेर जीवकोपार्जन गर्दै आएका छन्, लाई जबरजस्ती हटाउने,अपमान गर्ने ,नगरप्रहरीले दमन गर्ने, दिनभर होल्डिङ सेन्टरमा थुन्ने, महिलाहरुमाथि अभद्र व्यवहार गर्ने जस्ता कार्य गरेकोमा आपत्ति जनाउँदै विकल्प दिन सरकारसँग माग गरेका छन् ।
सडक पेटीमा मर्यादित रुपमा गरी खान दिनु पर्ने,कामको ग्यारेण्टी तथा योग्यता अनुसारको काम दिनु पर्ने, सरकारले रोजगार दिन नसकेकोले वेरोजगार भत्ता मासिक २० हजार दिनु पर्ने उनीहरुको माग रहेको छ । सरकारले विना विकल्प उनीहरुलाई हटाउने जुन शैली अपनाएको छ, यो निकै निन्दनीय छ । सरकारले दृष्टिसम्बधी अपाङ्गता भएका नागरिकहरुलाई जीविकोपार्जनमा सहजता होस भनेर उनीहरुले गर्न सक्ने प्रकारका सीप,कामहरुको व्यवस्था गर्नु पर्दथ्यो,जो जसको योग्यताले भ्याउँछ उनीहरुलाई त्यही प्रकारको कामको ग्यारेण्टी गर्नु पर्दथ्यो तर सरकारले उनीहरुको समस्यालाई समाधान गर्नुको सट्टा उनीहरुलाई समस्याको रुपमा देख्ने,बोझको रुपमा लिने, सडक पेटीलाई असुन्दर बनाउने भनेर अपमान गरेको देखिएको छ । काठमाण्डौ महानगरमा वर्तमान प्रधानमन्त्री वालेन्द्र साह प्रमुख भएको बेला सडक पेटीलाई सुन्दर बनाउने नाममा उनीहरुलाई बस्न नदिने, खाली गर्न नगर प्रहरीहरु परिचालित गर्ने कार्य भयो । सरकारले उनीहरुलाई रोजगारी दिन सकेको छैन । जीविकोपार्जनको व्यवस्था हुन नसकेमा के गर्ने ? जीवन त जिउनु प¥यो । उनीहरुलाई गास, बासको समस्या समाधान गर्नको लागि नै पेटीहरुमा बसेर गला र कला बेच्नु परेको हो । तर सरकारले उनीहरुको समस्यालाई कुनै पनि समस्या नै होइन जस्तो व्यवहार देखाएको छ ।उनीहरुलाई निरन्तर रुपमा सताएको छ ।
दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुलाई समाज, सरकारले उनीहरुको क्षमता विकास गर्नको लागि निकै पहल तथा प्रयत्न गर्नु आवश्यक छ । उनीहरुले बाहिरी आँखाले मात्रै नदेख्ने हुन् उनीहरुको भित्री आँखाले संसारलाई बुझ्ने क्षमता कोहीको भन्दा कम छैन । तर हाम्रो समाजको सोच उनीहरुप्रति गरिने व्यवहारमा भने सुुधार हुन सकेको छैन । अहिले सरकार त झनै दुःखी गरिब, असहाय, सुकुम्बासी, भूमिहीनप्रति निकै असंवेदनशील देखिएको छ । सुकुम्बासीहरुलाई विना विकल्प घरबास उडाइदिएको छ । गरिबहरु बस्ने बास भत्काएर धनीहरुलाई टहलिने पार्क बनाउन लागेको छ । सडक पेटीमा सानोतिनो व्यापार व्यवसाय गरेर गुजारा गर्नेहरुलाई गरि खान दिएको छैन ।सडक पेटीमा मकै पोल्ने, तरकारी बेच्नेहरुलाई लखेटेको छ । सरकारले दृष्टिसम्बन्धी अपाङ्गताको पीडामा मलम लगाउनुको सट्टा सडक पेटीबाट लखेटेर ,बस्न नदिएर दुःख दिएको छ । शासकहरुको दृष्टिकोण,बोकेको विचार दर्शन अनुसार व्यवहार देखिन्छ । विचार, दृष्टिकोण गरिब, दुःखी असहाय र अपाङ्गता मैत्री हुन नसक्दाको परिणाम दुःख भोग्नु परेको छ ।
राष्ट्रिय जनगणनाको पछिल्लो तथ्याङ्क अनुसार नेपालभर १ लाख ४५ हजार ६६७ जना दृष्टि सम्बन्धी अपाङ्गता भएका व्यक्तिहरु छन् । यसमध्ये पूर्णरुपमा दृष्टिविहीन ३५ हजार १४२ र कम दृष्टि भएका व्यक्तिहरु १ लाख १० हजार ५२५ जना रहेका छन् । यो संख्याको शक्तिलाई अपमानित गरेर, उनीहरुको समस्यालाई कुनै समस्या नै होइन जस्तो गरेर सरकारले देखाउने व्यवहारलाई कुनै पनि अवस्थामा सही मान्न सकिँदैन । दृष्टिसम्बन्धी अपाङ्गता भएका व्यक्तिहरुलाई उचित प्रकारको क्षमता अभिवृद्धि गर्ने अवसर दिनुको साथै रोजगारीको व्यवस्था गर्नु पर्दछ । उनीहरुलाई देशको बोझको रुपमा हैन,घृणाको दृष्टिमा हैन, सम्मान र समानताको दृष्टिबाट हेरिनु र व्यवहार गरिनु पर्दछ । उनीहरुको मागको सम्बोधन गरिनु पर्दछ । सरकारले धनी, सबलाङ्गहरुको मात्र हो जस्तो गरी व्यवहार प्रदर्शन गर्नु हुँदैन ।
दृष्टिविहीनहरुमाथि सरकारको कुदृष्टि
Comments

