अपत्य शर्मा
विश्वमा ठूलो भूभाग ओगटेका देशहरु सानोमा परिणत भएका छन् भने साना देश ठूलो देशमा परिणत भएको छ । साना ठूला देशका आ–आफ्ना सभ्यता र समृद्धि हुन्छन् । कुनैका प्राचीन त कुनैका आधुनिक यहाँ प्राचीन सभ्यता भएको स्वतन्त्रताका लागि रक्तरंजित कठोर संघर्ष ठूलो बलिदान भएको लेबनानको इतिहास र लेबनानी जनताले भोगेका र भोग्दै गरेका हालका कष्टपूर्ण संघर्षका बारेमा छोटकरीमा चर्चा गरिन्छ ।
लेबनानको इतिहास ५ हजार वर्ष पुरानो छ । लेबनान फोनेसियन सभ्यताको इतिहास बोकेको छ । तर जातिवादी विस्तारवादी इज्रायलको ग्रेटर इज्रायली सपना पूरा गर्न लेबनानमा दशकौंदेखि आम नरसंहार गरिरहेछ । यहाँ फोनेसियन सभ्यता भनेको के हो भन्नेबारे चर्चा गरौं । फोनेसियन सभ्यता भनेको एउटा प्राचीन समुद्री सभ्यता हो, जसमा विशेष गरेर भूमध्य सागरीय क्षेत्रमा व्यापार, नौकायन र लेखनका लागि प्रख्यात थियो । त्यस सभ्यतामा लेखन वर्ण फोनेसियनहरु मुख्य रुपले लेबनान, सिरिया र इजिप्टका फिलिस्तिन दक्षिण इटाली जस्ता ठाउँहरुमा प्रभाव पारेको थियो । व्यापारिक मार्गहरुले भूमध्य सागरीय क्षेत्रमा सांस्कृतिक आदान प्रदानले विभिन्न सभ्यतालाई जोड्ने काम गरेको थियो । फोनेसियन सभ्यताको प्रमुख विशेषता उनीहरुको वर्णमाला प्रणाली थियो । जसलाई सबैभन्दा पहिले व्यवस्थित लेखन प्रणालीका रुपमा लिइन्छ । यसका साथै उनीहरुका पानी जहाजहरु व्यापारिक नेटवर्क, नौवहन कला पनि अति नै प्रभावशाली थिए । यसकारण संसारभरी उनीहरुको पहुँच जहाँ तही पुग्न सफल भयो ।
फोनेसियन वर्णमाला प्रणाली एउटा व्यञ्जनमा आधारित प्रणाली थियो र सबै वर्णव्यञ्जनका ध्वनि थिए । जुन पछि यो प्रणाली ग्रीकहरुद्वारा अपनाएपछि आधुनिक ल्याटिन वर्णमालाको आधार नै बन्यो । यसकारण यो अंग्रेजी जस्ता भाषाका लागि पनि मुख्य आधार बनेको मानिन्छ । फोनेसियन सभ्यताको अर्को ठूलो विशेषता भनेको के हो भने तिनीहरुको विस्तृत व्यापारिक संजाल थियो । फोनेसियनहरुले भूमध्य सागरीय व्यापार गरेर विभिन्न वस्तुहरु आदनप्रदान गरे । उनीहरु समुद्री नौकायन, पानी जहाज निर्माणमा निकै पोख्त थिए । फोनेसियनहरुले ठूला काठका जहाजहरु बनाए जसले गर्दा लामो समुद्री मार्गहरु पार गर्न सक्षम थिए । यी जहाजहरु बलिया, छरिता र धेरै टिकाउ पनि थिए । फोनेसियनहरुले काठ, धातु, रंगहरु र गहना जस्ता सामग्रीको व्यापार गर्थे । उनीहरुले बनाएका कपडा, काठका उत्पादन र महत्वपूर्ण सामग्रीहरु भूमध्य सागरीय क्षेत्रहरुमा लगेर बेच्दथे । अहिलेको लेबनान सभ्यताको केन्द्रीय क्षेत्र थियो । लेबनानमा प्राचीन सहरहरुका अवेशषहरु अझै भेटिन्छन् र त्यहाँका सांस्कृतिक इतिहास अझै पनि जीवित छ ।
लेबनान, पश्चिम एसियाको लेभान्ट क्षेत्रमा अवस्थित एउटा सानो सुन्दर देश हो । यसको क्षेत्रफल १०,४५२ वर्गकिलोमिटर छ । यहाँको जनसंख्या करिब ५९ लाख छ । यसको जनघनत्व प्रतिवर्ग किलोमिटर ५७६ जना मानिस बसोबासी गर्छन् । यो नेपालको भन्दा निकै धेरै हो । यहाँका करिब ८९ प्रतिशत मानिस सहरमा बस्छन् । लेबनानका प्रमुख शहरहरुमा राजधानी बेरुत सबै भन्दा ठूलो सहर हो । अरु सहरहरुमा त्रिपोली, सिडोन र टायर हुन् । यहाँको आधिकारिक भाषा अरबी हो तर पनि फ्रान्सेली र अंग्रेजी भाषा पनि व्यापक रुपमा बोलिन्छन् । लेबनानमा विभिन्न धार्मिक समुदायको मिश्रण भएको देश हो । जहाँ मुस्लिम र क्रिश्चियन दुवै समुदायका मानिसहरुको बाक्लो उपस्थिति छ ।
लेबनानको भूगोल र सिमानामा पश्चिममा भूमध्य सागर पर्दछ भने उत्तर र पूर्वमा सिरिया र दक्षिणमा इज्रायलसँग सिमाना जोडिएको छ । लेबनानको भूगोललाई चार भागमा विभाजन गर्न सकिन्छ । (क) तटीय मैदान भूमध्य सागरको किनारै किनार रहेको यो भाग एकदमै साँघुरो छ तर यहाँ लेबनानका प्रमुख बन्दरगाह र व्यापारिक सहरहरु छन् ।
(ख) लेबनानका पर्वतमाला ः तटीय क्षेत्रको समानान्तर फैलिएको यो पहाडी श्रृंखला देशको मध्य भागमा पर्छ । यहाँको उच्च शिखर “कोर्नेट अस साउडा हो जुन ३,०८८ मिटर अग्लो छ । यो क्षेत्र लेबनानको राष्ट्रिय प्रतीक देवदार (सिडर) का रुखहरुका लागि प्रसिद्ध छ ।
(ग) बेका उपत्यका ः यो लेबनान र एन्टी लेबनान पर्वत श्रृंखलाको बीचमा रहेको १२५ किमि लामो उपत्यका हो । यो क्षेत्र लेबनानको मुख्य कृषि उत्पादनको केन्द्र हो ।
(घ) एन्टी–लेबनान पर्वतमालाः यो पूर्वी सिरियाको सिमानामा रहेको पहाडी श्रृंखला हो ।
भूमध्य सागरीय हावापानी भएको लेबनानमा गर्मीयाममा न्यानो र सुख्खा मौसम हुन्छ भने हिउँदमा वर्षा र लेकाली भागमा हिमपात हुन्छ । जहाँसम्म नदी र तालको प्रश्न र लेबनानमा सबैभन्दा लामो दी लिटानी हो । हिउँ पग्लिएर आउने पानी र प्रशस्त मुहानहरुले यहाँको जनजीवनलाई सहज बनाएको छ ।
लेबनानको इतिहासतिर चियायौं भने लेबनानको स्वतन्त्रतादेखि लेबनानको समृद्धिमा लेबनानी क्रान्तिकारी तथा लेबनानी कम्युनिस्ट पार्टी र यसका नेताहरुले ज्यादै महत्वपूर्ण भूमिका खेलेका पाइन्छन् । लेबनानको फोनेसियन काल भनेको करिब ३ हजार ई.पू.देखि ६४ ई.पू. हो । लेबनानको तटमा बस्ने शक्तिशाली फोनेसियनहरु उत्कृष्ट व्यापारी, जहाजी र नाविक तथा वर्णमालाका आविष्कारक र बाइब्लोस्, टायर र सिडन जस्ता सहरहरुको निर्माणकर्ता फोनेसियनहरुको पतन पछि यो क्षेत्र असीरियन, बेबिलोनियन र फारसीहरुले कब्जा गरे । त्यसपछि अलेक्जेन्डर द ग्रेटले टायर सहरमाथि आक्रमण गरी फोनेसियन प्रभुत्व समाप्त पारेपछि यो क्षेत्र रोमन र बाइजान्टिन साम्राज्यको अधिनमा गयो । सातौं शताब्दीमा अरब आक्रमणपछि लेबनानमा इस्लाम र विभिन्न समुदाय ड्रुज र सिया आदिको प्रवेश भयो । ११ औं र १२ औं शताब्दीमा यूरोपेली धर्मयोद्धा (क्रुसेडर) ले पनि त्यस क्षेत्रमा लामो समयसम्म शासन गरे । धर्म युद्ध मध्य युगिन इतिहासमा ११ औं देखि १३ औं शताब्दीका बीचमा क्रिश्चियन धर्म र इस्लाम धर्मका अनुयायीका बीच पवित्र भूमि जेरुसेलम र अन्य क्षेत्रहरुको नियन्त्रणका लागि भएका श्रृंखलाबद्ध युद्धहरुलाई क्रुसेड भनिन्छ र त्यसमा भाग लिने क्रिश्चियन योद्दाहरुलाई क्रुसेडर भनिन्थ्यो । (हिम्का इतिहासबाट)
लेबनानमा अटोमन साम्राज्यको शासनसत्ता १५१६ देखि १९१८ सम्म लगभग ४०० वर्षसम्म रह्यो । त्यस समयमा माउन्ट लेबनानले स्थानीय नेताहरुको नेतृत्वमा केही हदसम्म स्वायत्तता पाएको थियो । प्रथम विश्वयुद्ध पछि अटोमन साम्राज्यको पतन भयो । प्रथम विश्वयुद्ध समाप्त भएपछि फ्रान्सले लेबनानमाथि नियन्त्रण (१९२०–१९४३) जमायो । फ्रान्सले सिरियाबाट छुट्याएर ग्रेटर लेबनानको स्थापना ग¥यो । धेरै आन्दोलन र संघर्षपछि लेबनानले सन् १९४३ मा फ्रान्सबाट पूर्ण स्वतन्त्रता प्राप्त ग¥यो । तर यो स्वतन्त्रता सजिलैसँग प्राप्त भएको थिएन । लेबनानका क्रान्तिकारीहरुले लेबनानको स्वतन्त्रता र सार्वभौमसत्ताका लागि आफ्नो ज्यानको आहुति दिनेहरुको निश्चित संख्या उपलब्ध छैन । लेबनानले विभिन्न कालखण्डमा अनेकौं बलिदानी संघर्ष गरेकामा अटोमन शासनसत्ताबाट मुक्तिका लागि र १९७५ देखि १९९० को गृहयुद्ध र त्यसपछिका संघर्षहरुमा धेरै क्रान्तिकारीहरुले आफ्नो ज्यान गुमाएका छन् । सन् १९१६ मा लेबनानका अटोमन जमल पासाले क्रुर बर्बतापूर्वक साम्राज्यको अधीनमा थियो । लेबनानको स्वतन्त्रता र अधिकारका लागि आवाज उठाउने २० जना लेबनानी बुद्धिजीवी, कवि र क्रान्तिकारीहरुलाई बेरुतमा अटोमन शासकले फाँसी दिएका थिए । त्यसैको सम्झनामा हरेक वर्ष मई ६ लाई शहीद दिवसको रुपमा मनाइन्छ ।
लेबनानको गृहयुद्ध (१९७५–१९९०) को सिलसिलामा विभिन्न गुट, विदेशी हस्तक्षेप र राजनैतिक परिवर्तनको लागि लड्दा करिव एक लाख पचास हजार भन्दा बढी मानिसले ज्यान गुमाएका लेबनानको इतिहास विभिन्न आन्दोलन युद्ध र क्रान्तिकारी नेताहरुको संघर्षले भरिएको छ । उनीहरुले विभिन्न कालखण्डमा विदेशी हस्तक्षेप, धार्मिक विभाजन र भ्रष्ट शासनको विरुद्धमा आवाज उठाएका छन् । उनीहरुको जीवनीः
(१) कमल जुम्वलात आधुनिक लेबनानको राजनीतिक इतिहासमा सबैभन्दा प्रभावशाली समाजवादी नेता तथा विचारक थिए । उनी १९१७ मा जन्मिएका प्रोगे्रसिभ सोसलिष्ट पार्टीका संस्थापक थिए । उनले धर्मनिरपेक्षता, सामाजिक न्याय र अरब राष्ट्रवादको पक्षमा वकालत गरे । कमलले लेबनानी गृहयुद्ध (१९७५–१९९०) प्रारम्भ हुनु अघि गरिब र सर्वहारा वर्गको अधिकारका लागि लडेका थिए । उनी प्यालेस्टिनी शरणार्थीहरुको अधिकारका कट्टर समर्थक थिए । सन् १९७७ मा उनको अज्ञात समूहद्वारा हत्या गरियो तर उनको समाजवादी क्रान्तिकारी विचार आजसम्म पनि लेबनानमा जीवित छ ।
लेबनानमा कम्युनिस्ट पार्टीको इतिहास सन् १९२४ मा फ्रान्सेली आधिपत्यको समयबाट शुरु हुन्छ । लेबनानमा कम्युनिस्ट पार्टीको जग बसाल्ने लेबनानी कम्युनिस्ट पार्टी (एलसिपि) लाई नेतृत्व गर्ने प्रमुख नेताहरुमा युसुफ इब्राहिम याजबेक, फुआद अल शमाली र जर्ज हावी मुख्य हुन् । (विकिपिडिया)
१)युसुफ इब्राहिम याजबेक एलसिपिका संस्थापक थिए । उनी लेबनानी बौद्धिक, लेखक, पत्रकार र इतिहासकार पनि थिए । युसुफले १९२४ मा अरु बुद्धिजीवीहरुसँग मिलेर लेबनिज पिपुल्स पार्टीको स्थापना गरे । जुन पछि गएर लेबनानी कम्युनिस्ट पार्टीमा परिणत भयो । उनले पहिलो अरबी वामपन्थी साप्ताहिक पत्रिका अल–इन्सानिया (मानवता) को सम्पादन गरे । प्रारम्भमा फ्रान्सेली औपनिवेशिक शासनको विरोध गरेका कारण उनलाई धेरै पटक जेल हालियो र निर्वासनमा पठाइयो । (रेड फ्ल्याग)
(२) फुआद अल शमालीले युसुफ इब्राहिम याजबेकसँगै लेबनानी कम्युनिस्ट पार्टीका सहसंस्थापक थिए र बिकफैयाका एक सुर्ती उद्योगका मजदुर थिए । फुआदले लेबनानको मजदुर आन्दोलनको नेतृत्व गरे र मजदुर वर्गलाई संगठित गर्दै साम्यवाद र समाजवादको विचार फैलाउन महत्वपूर्ण भूमिका खेले । यतिमा मात्र सीमित नभएर सिरियाली कम्युनिस्टहरुसँग मिलेर सिरियाली –लेबनानी कम्युनिस्ट पार्टीको गठन गरे ।
(३)जर्ज हावी लेबनानी कम्युनिस्ट पार्टीका पूर्व महासचिव थिए । उनी ग्रीक अर्थोडक्स समुदायबाट आएका थिए । जर्ज हावी लेबनानका चर्चित वामपन्थी नेतामा गणना गरिन्थ्यो । सन् १९६० र १९७० को दशकमा पार्टीको नेतृत्वमा आए र उनको नेतृत्वमा लेबनानी कपाले लेबनानी गृहयुद्ध (१९७५–१९९०) मा भाग लियो र प्यालेस्टिनी मुक्ति संगठनसँग मिलेर इज्रायली आक्रमणका विरुद्ध लड्यो । जर्ज हावी सिरियाली हस्तक्षेपको प्रखर आलोचक थिए । सन् २००५ मा बेरुतमा कार बम विस्फोट गराएर हत्या गरियो ।
(४) मोहसिन इब्राहिम कम्युनिस्ट कार्य संगठन (कम्युनिस्ट आएक्सन अर्गनाइजेसन इन लेबनान–ओएसिएल) का प्रमुख नेता थिए । मोहसिन प्रारम्भमा अरब राष्ट्रवादी आन्दोलनमा आबद्ध थिए । तर पछि माक्र्सवादतिर आकर्षित भए । सन् १९६८ मा लेबनानी समाजवादीहरुको संगठन (अर्गनाइजेसन अफ लेबनिज सोसलिष्ट) गरे, जुन पछि ओएसिएलमा विलय भयो । मोहसिन लेबनानको बहुसांकृतिक वामपन्थी आन्दोलनका प्रमुख सिद्धान्तकार र रणनीतिकार मानिथ्यो । अन्य उल्लेख्य नेताहरुमा निकोलस शाओइ लामो समयसम्म लेबनानी कम्युनिस्ट पार्टीका महासचिव भए र पार्टीलाई वैधानिकता दिलाउन ठूलो प्रयास गरे ।
फारा जल्ला हेलु कम्युनिस्ट पार्टीको प्रारम्भिकालका एक प्रमुख शहीद हुन् जसले लेबनान र सिरियामा मजदुर अधिकारका लागि संघर्ष गर्दागर्दै आफ्नो ज्यान गुमाए ।
लेबनानी कम्युनिस्ट आन्दोलनको ऐतिहासिक पृष्ठभूमि ः
लेबनानमा कम्युनिस्ट नेताहरुले सधै मजदुर अधिकार र धार्मिक रुपमा विभाजित लेबनानी समाजमा धर्म निरपेक्षता (सेकुलारिजम) को वकालत गरे । साम्राज्यवादी फ्रान्सेली उपनिवेश विरोधी संघर्षदेखि प्यालेस्टिनी शरणार्थीहरुको अधिकार र इज्रायलको कब्जा विरुद्धको सशस्त्र प्रतिरोधमा कम्युनिस्ट नेताहरुले लेबनानी राष्ट्रिय प्रतिरोध मोर्चाद्वारा महत्वपूर्ण अग्रणी भूमिका खेले । तर शीतयुद्धको अन्त्य र सोभियत संघको पतनपछि लेबनानको कम्युनिस्ट आन्दोलन कमजोर बन्दै गयो र यसका धेरै नेताहरुको हत्या प्रतिक्रियावादी फासिष्ट शासकहरुले गरे ।
वर्तमानमा लेबनान आर्थिक, राजनैतिक संकटमा मात्र फसेको छैन । संवैधानिक र सत्ता संरचनाको संकटमा पनि फसेको छ । लेबनानको शासनप्रणाली कन्फेसनालिज्म प्रणालीमा आधारित अर्थात् अर्को शब्दमा भन्दा धार्मिक समुदायको जनसंख्यात्मक अनुपातमा आधारित छ ।
(पूर्णरुपले क्याथोलिक –मारोनाइट क्रिश्चियन रोमको पोपसँग)
१) प्रमुख पदहरुको बाँडफाँड कसरी गरिएको छ भने राष्ट्रपति सम्बन्धमा भएको मारोनाइट क्रिश्चियन, प्रधानमन्त्री सुन्नी मुस्लिम र संसदको सभामुख शिया मुस्लिम हुनुपर्ने संवैधानिक व्यवस्था छ । लेबनानी सत्ताधारीहरुलाई अमेरिकी साम्राज्यवादीको समर्थन छ ।
२) उपरोक्त व्यवस्थाले देशमा शान्ति कायम गर्न सकेको छैन र असफल छ र यसले राजनैतिक गतिरोध र धार्मिक समूहहरुका बीचको तानातानीलाई नै मलजल गरिरहेछ ।
अमेरिकी साम्राज्यवादीको सहायता र समर्थनले जातिवादी विस्तारवादी इज्रायलले लेबनानी भूमिमाथि अधिकार जमाउन दशकौंदेखि लेबनानमाथि आक्रमण गर्दै आएको छ । हिज्बुल्लाले लेबनानलाई जोगाउन जातिवादी इज्रायलसँग लड्दै आएको छ ।
लेबनानमा युद्धले गर्दा अरबौंको नोक्सान भइरहेछ र ठूलठूला शहरहरु भग्नावेशषमा परिणत भएका छन् । एक चौथाई कृषि भूमि ध्वस्त भएको छ । जनजीवन अत्यन्त कष्टपूर्ण हुँदै गइरहेछ । बैंकिङ प्रणाली २०१९ मै समाप्त भएको छ र स्थानीय मुद्रा ९० प्रतिशतले मूल्य घटेको छ । लेबनानी सरकार हिज्जबुल्लालाई निःशस्त्र पार्ने कोशिश गर्दैछ तर हिज्बुल्लाले अस्वीकार गर्दै आएको छ ।
हिज्बुल्ला एउटा सिया मुस्लिम संगठन हो । हिज्बुल्लाको अर्थ अरेबीमा ईश्वरको पार्टी हो । यो संगठनलाई सुन्नी लेबनानीहरु घोर विरोध गर्छन् किनभने हिजबुल्लालाई विनामूल्यको क्षेत्रीय शक्ति मान्दछ र पूर्व सुन्नी प्रधानमन्त्री रफिक हरारीको हिज्बुल्लाले २००५ मा हत्या गरेको आरोप लगाउँछ । हिज्बुल्लाको संसदमा हिज्बुल्ला समर्थक समूहको ५८ सिट छ । बहुमत ल्याउनलाई ६५ सिटको आवश्यकता पर्छ । लेबनानको संसदमा प्रत्यक्ष निर्वाचित सदस्य संख्या १२८ छ र यसको अवधि चार वर्ष हुन्छ । सबै सिट क्रिश्चियन र मुस्लिमका बीचमा बराबर बाँडिएको हुन्छ । हिज्बुल्ला राज्यभित्र राज्यको रुपमा रहेको छ र १९८० मा लेबनानको गृहयुद्धका बीचमा इज्रायली आक्रमणको प्रतिरोध गर्न र पश्चिमी प्रभाव हटाउन इरानको सहयोगमा स्थापना भएको हो । यदि हिज्बुल्लाको लडाकु संगठन नभएको भए इज्रायलले आफ्नो भूभागमा विलिन गराई सक्थ्यो ।
दक्षिणी लेबनान र बेका उपत्यकाका आम नागरिक इज्रायली हवाई आक्रमणले दिनप्रतिदिन मारिंदै घायल हुँदै घरबार विहीन हुँदै छन् । अस्थायी युद्ध विराम गरे पनि इज्रायली आक्रमण रोकिंदैन । इज्रायलले हिज्बुल्लाका कैयौं नेताहरुको हत्या गराइसकेको छ । लेबनानका सहरहरु भग्नावशेषमा परिणत भएका छन् । इज्रायली जातिवादीद्वारा लेबनानमा गरिने आम नरसंहार कहिले रोकिने हो अनिश्चित छ । मानव सभ्यताको दुश्मन, जातिवादी, मानवता विरोधी, रक्तपिपासु, क्रुर, बर्बर, फासिष्ट, जाइनिस्टहरुको सत्ता रहिरहेसम्म लेबनानमा सशस्त्र प्रतिरोधी संघर्ष पनि जारी रहने देखिन्छ ।
जातिवादी तथा विस्तारवादी इज्रायल र लेबनानी जनताको संघर्ष
Comments

