भोटेकोशी बाढीबाट के पाठ सिक्ने ?

–देबेन्द्र बस्याल, टोकियो
भाद्र १० गते अर्थात २०२६ अगस्ट २६ गते विहान करिब ८ः३७ बजे भोटेकोशीमा आएको बाढी मेरो जीवनमा मैले देखेका बाढीहरु भन्दा निकै ठूलो र भयानक बाढी थियो त्यो । त्यसले हेर्दाहेर्दै सबै गाउँ बस्ती स्कुल मन्दिर पाखापखेरा सबै बडारेर लिएर गयो । विज्ञहरुका भनाई अनुसार त्यसले ७ मिनेटमा २२ किलोमिटरको दुरी तय गर्दै तल्लो क्षेत्रमा ठूलो विनाश मच्चायो ।
त्यो बाढी आउनुको प्रमुख कारण ग्लोबल वामिङनै हो । त्यसैका कारणले लाङटाङ हिमाल शृङखलाको ५ हजार ६ सय मिटरभन्दा माथिको उचाइबाट करिब ६०० मिटर चौडा हिमनदीको विशाल हिस्सा ग्लेसियर तिब्रगतीमा तल खसेको थियो । उक्त हिमनदी र चट्टानको पहिरो अत्यधिक भिरालोबाट हिमतालमा खस्दा त्यसको प्रहारले ४.४ देखि ५.२ म्याग्निच्युडको भूकम्प पैदा गरेको थियो । त्यो पहिरोले ननस्टप हिमताल बडारेर सँगै लिएर जाँदा करिब ५० मिटर प्रतिसेकेन्ड (१८० किमी प्रतिघण्टा) को स्पिडमा दुरी तय गरेको थियो ।
भौगोलिक बनोट अत्यधिक भिरालो र साँघुरो भएकाले त्यो बाढीले केही मिनेट भित्रै रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी, बेत्रावतीबजार लगायतका क्षेत्रमा ठूलो मात्रमा जनधनको क्षति पुर्यायो । त्यसैले साधारण पानीको ताल मात्र फुटेर यस्तो गति र शक्ति आउन सम्भव थिएन । हिमनदिले हिमताल तिब्रगतिमा सँगै लिएर जाँदानै यो स्थितिको गति पैदाभएको हो । त्यो बाढी आएको आठौं दिनसम्म कान्तिपूरको रिपोर्ट अनुसार हालसम्म फेला परेका शवको संख्या ११२७, उद्धार गरिएको संख्या ६५४१, सम्पर्क विहिनको संख्या ४८५८ रहेको छ तर सम्पर्क विहिनको संख्या अत्याधिक हुनसक्छ ।
म बाढी प्रभावित क्षेत्रमा जन्मेर हुर्केको मान्छे हुँ । हाम्रो घरको माथी ठुलो पहाड थियो । त्यहाँ ढुँगे खानी थियो । हिउँदभरी त्यहाँ खोर्सी रहने भएकोले वर्षातको समयमा त्यसबाट एउटा खोलासँगै बाढी र पहिरो जान्थ्यो । त्यसमा वर्षा याममा बाढीले तल्लो क्षेत्रमा रहेका ६० घर कुरियालाई सताईरहेको थियो । मैले जीवनमा धेरै नजिकबाट कैयौं बाढी र त्यसको शक्ती कति भयानक हुन्छ भन्ने कुरा देखेर, भोगेर आएको छु । तर संयोगबस हामीलाई त्यो बाढीले सँगै लिएर जाने निकै प्रयत्न गरे पनि सकेन र अहिलेसम्म प्रकृतीको लिला देख्न पाईरहेको छु । मैले यो लेख तयार गर्ने बेलामा मलाई याद आउँछ, दरंङदरंङ पानी परिरहेको बेला जीउजोगाउन अन्धकार आधारातमा हामी ममी, दीदी, दाजीहरु, भावी र साना साना बहीनीहरु गुन्द्री, भूल्ला, टाट ओडेर भुईमा बसेर किनकि त्यो बेला हामीसँग टर्च लाईट पनि कहिलेकाहीं हुँदैनथ्यो । हातले बाटो छामछाम र छुमछुम गर्दै छिमेकीको घरमा/जेठोबुवाको घरमा बासवस्न जान्थ्यौं । त्यो भिजेको ज्यान, भय र त्रासले सोहोरिएको मन के निद्रा लाग्नु । यसो पल्टे जस्तै गरेर रात काटिन्थ्यो । बिहानै ममीले बाबु हाम्रो घर छ कि छैन हेरेर आउ भनेपछि म जुरुक्क उठेर हाम्रो घर यथास्थानमा छ कि छैन भनेर उता हेर्थें र ममीलाई भन्थें ममी घर त छ जाऔं । त्यसरी रातीमा हामी धेरैपटक हिंडेका छौं । कहिले घरको अगाडी पिंडीसहित पहिरो गएको हुन्थ्यो । तर पनि हामीले धेरैपटक त्यही घरमा टालटुल गरेर बसेका थियौं । किनभने आर्थिक अभावका कारण जाने ठाउँ थिएन । हामीलाई त्यतिवेलाको पंचायती सरकारले पनि कुनै सहयोग गरेन र हामीले सबै त्यसै छाडेर बसाईंसराइ गर्नु पर्यो ।
मलाई बाढीको कुरा सुन्नासाथ आकासमा बिजुली चम्के जस्तो र विशाल आवाजमा गर्जे जस्तो आवाजको महशुस हुन्छ । मैले राती र दिनका कैयौं बाढी देखेको छु दिनको भन्दा रातीको बाढी झिलिरमिली बत्ती बालेर हिडे जस्तो देखिन्छ । किनभने चट्टानहरु एकआपसमा रगडिंदा आगोका झिल्काहरु निस्कन्छन् र आवाज पनि भयानक गडगडाहट सुनिन्छ ।
मैले यहाँ विगतलाई किन निकालें भने हामी नेपालीहरु निकै आनन्दका प्राणी हौं । हामी माथि पटक पटक प्रहार हुँदा पनि त्यसबाट हामीले चेत्ने काम गर्दैनौं बरु त्यो क्षेत्रमा पुजापाठ गर्ने, मठमन्दिर बनाउनेतिर लाग्छौं तर हामीले कुनै पनि घटनाको वैज्ञानिक कारण र निराकणको उपाय, सुरक्षा, प्रविधिको खोज अनुसन्धानतिर लाग्दैनौं । विश्वले ठूलो फड्को मारिसक्यो, विज्ञान र प्रविधिमा धेरै प्रगति गरिसक्यो । तर हाम्रो नेपालमा नयाँ मन्दिर सिवाय अरु केही बन्दैनन् । हाम्रो हिमालमा के भईरहेको छ भन्ने कुरा थाहा पाउन हामीले विदेशीहरुसँग हातजोड्नु पर्ने ? हिमालको गतिविधी, नदीहरुको वहावको गतिविधीको मुल्यांकन गर्ने प्रविधिको किन विकास गर्न सकिएन ? नेपालमा विज्ञहरु छन तर ठग, अल्छि र गफाडी विज्ञहरुको विगविगी छ । अब हामीले कुरा भन्दा काम गरेर देखाउनु परेको छ । यो अहिलेको विपत्ती आउनु र ठूलोमात्रमा जनधनको क्षति हुनुमा पुराना राजनीतिक दलहरुले विज्ञान र प्रविधिको क्षेत्र तथा हिमाली क्षेत्रको निगरानी गर्ने काम नगरेका कारण श्रृजित समस्या हो त्यो । त्यसकारण अब सचेत नेपाली जनताले भगवान, भाग्य र मन्दिर बनाउनेतिर होइन कारण खोज्नेतिर ध्यायन दिनु पर्छ । अब खतरनाक क्षेत्रका जनतालाई उचित ठाउँमा व्यवस्थापन गर्नु पर्छ । भिरपाखाहरुबाट बस्ती हटाएर तोकिएको स्थानमा घर टहरा बनाउने व्यवस्था गर्नु पर्छ । अब देश भगवानको भरोसामा होइन सिस्टम र मिहिनेतको चमत्कारमा चल्नु पर्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित