स्याङ्जा जिल्लामा कम्युनिस्ट आन्दोलनः संक्षिप्त ऐतिहासिक रुपरेखा

 

– रामबहादुर बुढा

स्थान परिचय
स्याङ्जा जिल्ला नेपालको एक पहाडी जिल्ला हो । यसको क्षेत्रफल ११६४ वर्ग कि.मि. छ । यस जिल्लाको पूर्वमा तनहुँ, उत्तरमा पर्वत र कास्की, पश्चिममा पर्वत र गुल्मी र दक्षिणमा पाल्पा जिल्ला पर्दछन् । यो जिल्लाको उचाई समुन्द्र सतहदेखि ३६६मिटरदेखि २,५१५ मिटरसम्म छ । यहाँको सबैभन्दा ठूलो नदी काली गण्डकी हो, जुन मुस्ताङबाट बग्दै आएर स्याङ्जा जिल्लाको पश्चिम भाग छुँदै नारायणीमा मिसिन पुगेको छ । स्याङ्जाको मिर्मिमा कालीगण्डकी नदीबाट १४४ मेघावाट विद्युत निकालिएको छ। अर्को ठूलो नदी आँधीखोला हो । यो स्याङ्जाको बीच भागबाट बगेर काली नदीमा मिसिन पुग्छ। २०१८ सालमा स्याङजाको सदरमुकाम नुवाकोटबाट अहिलेको स्याङ्जा बजार (पुतलीबजार) मा सारिएको थियो। राष्ट्रिय राजमार्ग सिद्धार्थ राजमार्गले स्याङ्जा जिल्लालाई बीच भागबाट ७९ किलोमिटर दुरी लिएको छ । (खाँण ठकुरी, २०६०) राणाकालमा नेपाललाई ३५ वटा जिल्लामा विभाजन गरिएको अवस्थामा स्याङ्जा जिल्ला पश्चिम ४ नं. अन्तर्गत पर्दथ्यो । नेपाल एकीकरण पूर्व कायम रहेका चौविसे राज्यहरु नुवाकोट, सतौं, भिरकोट, गह्रौं, पैयुँ, रिसिङ, घिरिङ र ढोर राज्यका केही भाग र वर्तमान पर्वत जिल्लाको दक्षिण पश्चिम भेग तथा कास्की र तनहुँका केही भागहरु समेत पश्चिम ४ नं. इलाकामा पर्दथे । वि.सं. २०१८ को प्रशासकीय विभाजन अन्तर्गत नुवाकोट, सत्तौंकोट, भिरकोट र गह्रौंकोटलाई मिलाएर स्याङजा जिल्ला निर्माण गरिएको थियो । (पराजुली, २०६८)

नेकपाको जिल्ला कमिटी गठन
२०१६ साल फागुनमा नेकपाको १३ सदस्यीय स्याङ्जा जिल्ला संगठन समिति गठन भएको थियो । जसमा सेक्रेटरी–सोमप्रसाद गौचन (वाच्छा–हाल पर्वत), सदस्यहरु हुविर आले (बाह्राकोट), शेखर प्रधान (पुतलीखेत) , उमाकान्त शर्मा (फोक्सिङ), खड्कबहादुर अधिकारी (फोक्सिङ), जुद्धबहादुर आले (बाह्रकोट), नगेन्द्र भट्टराई (रत्नपुर, ढालबहादुर मल्ल (सेखाम), खगेन्द्र कोइराला (वालिङ, देविस्थान), समरबहादुर थापा (साविकको वालिङ–१०), पदमबहादुर कोइराला बाच्छा (हाल पर्वत) , गणेश दत्त नेपाली (दहथुम ) थिए । (पराजुली, २०६८)

२०१७ को फौजीकाण्डपछि पार्टीका जिल्ला सचिव सोमप्रसाद गौचन, जिल्ला सदस्य जुद्धबहादुर आले र नगेन्द्र भट्टराई गिरफ्तारमा परे । जिल्लामा अत्यन्त निराशा छायो, तथापि छिटफुट प्रचारका कार्यहरु भए । २०२२ सालमा भूमिगत रुपमा उमेशचन्द्र थापाको नेतृत्वमा स्याङ्जा जिल्ला कमिटी बन्यो । तर उमेशचन्द्र थापा काठमाडौंतिर गएका, भेषराज शर्मा, पीताम्बर शर्मा र एम.एस. थापा पनि निजी व्यवसायमा लागेकाले संगठनमा शिथिलता आएको थियो । २०१६ तिर नै भन्दा पहिले नै निर्मल लामाले फल्लेवासमा शिक्षक भएको र त्यस क्षेत्रमा राजनीतिक प्रचार गरेको कास्कीका बलराम उपाध्यायले पार्टीको प्रकाशन ‘मशाल’ स्याङ्जामा वितरण गर्ने र पार्टी प्रचार गर्ने गरेको पाइन्छ । (ढकाल, २०७५, पृ. १५–१६)

पुष्पलाल समूह
२०२५ सालमा गोरखपुरमा सम्पन्न नेकपा (पुष्पलाल समूह) को तेस्रो राष्ट्रिय सम्मेलन सम्पन्न भयो । त्यस सम्मेलनले नेकपाको १८ वर्षको इतिहासको सिंहावलोकन गर्दै नयाँ जनवादी कार्यक्रमबारे दस्तावेज पारित गरेको थियो । स्याङ्जा जिल्लाका नेकपाका अधिकांश पार्टी सदस्यहरुले पुष्पलाल समूहको गोरखपुरको तेस्रो राष्ट्रिय सम्मेलनलाई समर्थन गरेका थिए । यस समूहको २०२६ सालमा स्याङ्जा जिल्लाको सिमाना कास्कीको भरतपोखरीको प्यूरीदोभानमा स्याङ्जा जिल्ला भेला आयोजना गरी लेखनाथ पोखरेल सचिव सदस्यहरु भेषराज शर्मा, मोहन सिग्देल, चुडामणि पौडेल, टेकप्रसाद चापागाई, मोहन के.सी., कर्मबन्धु शर्मा रहेको स्याङ्जा जिल्ला कमिटी गठन गरिएको थियो । २०२८ सालमा स्याङ्जा जिल्ला कमिटी पुनर्गठन गरी सचिव कल्याणकुमार पोखरेल, सदस्यहरु शैलराज लम्साल, मुक्ति पोखरेल (साम्मी ४, कास्की), विनोदकुमार घर्ती, भोजराज आचार्य, दिलबहादुर घर्ती, धनबहादुर वि.क., रुद्रबहादुर जि.सी., चुडामणि पौडेल भए । २०३० सालमा स्याङ्जाको चिन्नेवासमा सम्पन्न जिल्ला भेलाले चन्द्रकुमार उपाध्यायलाई सचिव र दुर्गा प्रसाद अर्याल, कर्मबन्धु शर्मा, शैलराज लम्साल, दिलबहादुर गुरुङ, रुद्रबहादुर जि.सी., केशर गिरी (सानो), बहादुर सिंह भुजेल, अम्विका थैवलाई सदस्यमा निर्वाचित गरेको थियो (पराजुली,२०६८)

२०३३ सालमा पार्टीका जिल्ला सचिव चन्द्रकुमार उपाध्याय गिरफ्तार भएर ३ महिना जेल बसेका थिए । २०३४ को अन्त्यतिर खड्कबहादुर राना, कुलमान सिं थापा, मुक्ति वाग्ले , यादव चन्द्र वाग्ले, उमाकान्त शर्मा सहितले जिल्ला तदर्थ समिति बनाएका थिए । २०३६ सालमा खुला वातावरणमा चिन्नेवासमा बृहत जिल्ला भेला गरी स्याङ्जा जिल्ला समिति पुनर्गठन गरिएको थियो । जसमा सचिव दुर्गाप्रसाद अर्याल,सदस्यहरु ध्रुवराज लम्साल लगायत थिए ।

चौम धार
२०३५ तिर केन्द्रबाट खम्बसिंह कुँवरले स्याङ्जा जिल्लामा पार्टी प्रचार कार्य गरेका थिए । २०३६ साल जेष्ठ २२गते शोभाखर ढकालको संयोजकत्वमा नेकपा (चौ.म.धार) को स्याङ्जा जिल्ला सम्पर्क कमिटी गठन गरिएको थियो । त्यस सम्पर्क केन्द्रले वालिङमा मुक्ति वगाले, एकनारायण वगाले, हरि खनाल, बलबहादुर पराजुली रहेको वालिङ सम्पर्क केन्द्र गठन गरिएको थियो । २०३७ सालमा लोकबहादुर थापा, देवेन्द्र लम्साल, अमृत थापा रहेको सम्पर्क कमिटी गठन गरिएको थियो । उक्त सम्पर्क समितिको पहलमा २०३८ सालमा ५ सदस्यीय जिल्ला समिति गठन गरिएको थियो । जसमा सेक्रेटरी शोभाखर ढकाल, सदस्यहरु धर्मदत्त ढकाल, जगन्नाथ , सोमनाथ सापकोटा र मुक्ति पोखरेल थिए । २०४० मा गोरखपुरमा सम्पन्न पार्टीको तेस्रो राष्ट्रिय सम्मेलनमा स्याङ्जा जिल्लाबाट शोभाखर ढकाल प्रतिनिधि गएका थिए । २०४० सालको पार्टी विभाजनमा स्याङ्जा जिल्लामा नेकपा (चौम) अर्थात् निर्मल लामा समूहको खासै प्रभाव रहेन । नेकपा (मशाल) अर्थात् मोहन विक्रम–मोहन वैद्य पक्षको नै संगठनमा पकड रहेको थियो । (ढकाल, २०७५)

नेकपा (एकताकेन्द्र)
सेती दोभानमा भएको प्रथम जिल्ला सम्मेलनले नेकपा (एकताकेन्द्र) को ११ सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो । जसमा सचिव शोभाखर ढकाल, सदस्यहरु इन्द्रध्वज गुरुङ, धर्मदत्त ढकाल, नारायण सिग्देल, खिमकुमार वि.क., हरि खनाल, ख्यामनारायण ढकाल, भूमि शर्मा, भूपराज चापागाई, बुद्धिबहादुर थापा, जगन्नाथ सापकोटा रहेका थिए। सम्मेलनमा ४५ जना प्रतिनिधिको सहभागिता थियो । नेकपा (एकताकेन्द्र) को चितवनमा सम्पन्न राष्ट्रिय एकता महाधिवेशनमा स्याङ्जा जिल्लाबाट शोभाखर ढकालले प्रतिनिधित्व गरेका थिए । ( ढकाल, २०७५, २२)

नेकपा (माओवादी)
२०५१ सालमा शोभाखर ढकाल पार्टीबाट पलायन भएपछि त्यस पार्टीको सचिवको जिम्मा इन्द्रध्वज गुरुङले लिएका थिए । २०५२ सालमा जनयुद्ध सुरुभएपछि आँधीखोला पश्चिमको पर्वत–स्याङ्जा भौगोलिक जिल्ला र आँधी पूर्वको तनहुँ–स्याङ्जा भौगोलिक जिल्ला बनाई काम गरेको थिए । २०६१ असारमा मात्र पर्वत र तनहुँबाट विच्छेद भई नेकपा (माओवादी) को स्याङ्जा जिल्ला कमिटी गठन भएको थियो । रमेश सिग्देल जिल्ला इन्चार्ज थिए । २०६१ असारमा खिमबहादुर वि.क. (हिक्मत) स्याङ्जा जिल्ला सचिव भएका थिए । २०६१ पौषमा खिमबहादुर वि.क. (हिक्मत) क्षेत्रीय व्यूरो कार्यालयमा सरुवा भएपछि २०६३ असोजसम्म विन्दु माइला सेक्रेटरी भए । फेरि २०६३ असोजदेखि २०६४ माघसम्म हिक्मत नै सेक्रेटरी भए । २०६४ माघदेखि तारा भूसाल ( विजय) सेक्रेटरी भए । (ढकाल, २०७५ः२२)

नेकपा–माओवादी
२०६९ असारको पहिलो हप्ता नेकपा –माओवादी पुनर्गठन भएपछि सूर्य गैरेले जिल्ला सेक्रेटरीको जिम्मा पाएका थिए ।(ढकाल, २०७५ः२२)

नेकपा (मा.ले)
नेकपा (माले) को गठन हुनुभन्दा पहिले नै २०२९ सालतिर स्याङ्जाका धर्मदत्त पोखरेलले भारतको सिलोङमा रोजगारीका सिलसिलामा गएका बेला भाकपा (माले) को पूर्वोत्तर राज्य समितिमा बसेर काम गरेका थिए । (ढकाल, २०७५ः२३) २०३६ साल श्रावणमा वामदेव गौतम (विमल), त्रिलोचन ढकाल (अरुण) र धनिराम लामिछाने (प्रमोद) का बीचमा नेकपा (माले) इलाका सक्रिय दल स्याङ्जा गठन भएको थियो । २०३६ साल मंसिरमा वामदेव गौतमको नेतृत्वमा त्रिलोचन ढकाल, धनिराम लामिछाने रहेको स्याङ्जा–पर्वत संयुक्त जिल्ला कमिटी गठन भएको थियो । २०३७ साल जेष्ठ १२ गते सचिव धनिराम लामिछाने, सदस्यहरु त्रिलोचन ढकाल, प्रेमनारायण पौडेल, बासु शाक्य रहेको नेकपा (माले) जिल्ला सम्पर्क कमिटी स्याङ्जा गठन भएको थियो । त्रिलोचन ढकाल र धनिराम लामिछानेलाई अर्कै जिल्लामा सरुवा गरेको हुँदा २०३७ साल भाद्रमा सम्पर्क कमिटीलाई जिल्ला संगठन समितिमा रुपान्तरित गरिएको थियो । जसको सचिव प्रेमनारायण पौडेल, सदस्यहरु बासु शाक्य, कमल नारायण श्रेष्ठ, रामबहादुर थापा, हुमनाथ शर्मा थिए । पार्टीले प्रेमनारायण पौडेललाई बागलुङ, बासु शाक्यलाई पर्वत र हुमनाथ शर्मालाई तनहुँ जिम्मा दिएको हुँदा २०३८ साल मंसिर १४ मा त्रिलोचन ढकाल सचिव र सदस्यहरु रामबहादुर थापा, चक्रबहादुर पराजुली, नविन प्रकाश गुरुङ रहेको जिल्ला संगठन समिति पुनर्गठन गरिएको थियो । (पराजुली २०६८)

नेकपा एमाले 
२०४७ साल माघ १९ र २० गते नेकपा (माले) र नेकपा (माक्र्सवादी) का बीचमा संयुक्त भेला भएको थियो । नेकपा मालेका १३ जना र नेकपा (माक्र्सवादी) का १० जना गरी २३ सदस्यीय नेकपा (एमाले) स्याङजा जिल्ला संगठन कमिटी बनाइएको थियो । जसको जिल्ला सचिव चक्रबहादुर पराजुली, सचिवालय सदस्यहरु धु्रवराज लम्साल, अमरनाथ शर्मा, रामबहादुर थापा, लक्ष्मीपति पौडेल, महेन्द्रमान व्यथित, मानध्वज गुरुङ हुनुहुन्थ्यो भने सदस्यहरुमा उमेशचन्द्र थापा, खड्कबहादुर राना, गुमानसिंह थापा, झकबहादुर थापा, टंकप्रसाद पोखरेल, दुर्गाप्रसाद अर्याल, धनप्रसाद वि.क., नरनाथ लम्साल, पद्मा अर्याल, पुरुषोत्तम पौडेल, लक्ष्मीकुमारी कार्की, हरि पराजुली र शिशराम पाठक, हितकाजी गुरुङ, ध्रुवराज अधिकारी र महेन्द्र थापा हुनुहुन्थ्यो ।

२०४८ माघ १८ देखि २० सम्म आयोजित प्रथम जिल्ला अधिवेशनबाट चक्रबहादुर पराजुली सचिव रहेको जिल्ला कमिटी गठन गरिएको थियो । अधिवेशनको उद्घाटन स्याङ्जा बालमन्दिरको हलमा उद्घाटन गरेका थिए भने समापन समारोहलाई मदन भण्डारीले सम्बोधन गरेका थिए । दोस्रो जिल्ला अधिवेशन २०५२ साल जेष्ठ ०३ देखि ५ सम्म स्याङ्जाको बालमन्दिर हलमा सम्पन्न भएको थियो । चक्रबहादुर पराजुली सचिव रहेको १७ सदस्यीय जिल्ला कमिटी गठन गरिएको थियो । दोस्रो जिल्ला अधिवेशनको उद्घाटन एमालेका केन्द्रीय सदस्य वाचस्पति देवकोटाले गरेका थिए भने समापन समारोहलाई एमाले अध्यक्ष मनमोहन अधिकारीले गरेका थिए । ०५३/३/१७ मा बसेको एमाले स्याङ्जा जिल्ला कमिटीको बैठकले चक्रबहादुर पराजुलीले सचिव पदबाट दिएको राजीनामा स्वीकार गरेको थियो र प्रेमनारायण पौडेललाई समितिमा थप गरी जिल्ला सचिव समेत चयन गरेको थियो । ०५४ कार्तिक १० गतेको ३५ औं बैठकले पुनः चक्रबहादुर पराजुलीलाई सचिवमा चयन गरेको थियो । २०५५ साल आश्विन २९–३१ गते सम्पन्न तेस्रो जिल्ला अधिवेशनबाट प्रेमनारायण पौडेल र उपसचिव महेन्द्रमान व्यथित उपसचिव रहेको २३ सदस्यीय जिल्ला कमिटी गठन गरेको थियो । तेस्रो अधिवेशनको उद्घाटन एमाले अध्यक्ष मनमोहन अधिकारीले गरेका थिए । २०५८ असोज २९,३० र कार्तिक १गते सम्पन्न चौथो जिल्ला अधिवेशनबाट महेन्द्रमान वेथित सचिव र रामबहादुर थापा उपसचिव रहेको जिल्ला कमिटी गठन गरेको थियो । अधिवेशनको उद्घाटन एमलो स्थायी कमिटी सदस्य खड्गप्रसाद ओलीले गरेका थिए । (पराजुली, २०६८)

२०६१ पौष ९ देखि ११ गते सम्पन्न पाँचौं जिल्ला अधिवेशनबाट सचिव चक्रबहादुर पराजुली र उपसचिव रामबहादुर थापा रहेको जिल्ला कमिटी निर्वाचित गरिएको थियो । पाँचौं अधिवेशनको उद्घाटन एमाले महासचिव माधव नेपालले गरेका थिए । २०६६ असोज २५ देखि २७ सम्म स्याङ्जाको सिटी हलमा छैठौं जिल्ला अधिवेशन सम्पन्न भएको थियो । अधिवेशनबाट अध्यक्ष चक्रबहादुर पराजुली,उपाध्यक्ष खड्कबहादुर नेपाली, सचिव पुण्य भूसाल बहुमतबाट निर्वाचित उपसचिव सुधिरकुमार पौडेल निर्विरोध निर्वाचित भएका थिए । छैठौं अधिवेशनको उद्घाटन एमलो अध्यक्ष झलनाथ खनालले गरेका थिए । (पराजुली २०६८) ०६९ माघ २६–२७ मा नेकपा (एमाले) स्याङजाको सातौं जिल्ला अधिवेशन सम्पन्न भयो । अधिवेशनले पद्मा अर्याललाई अध्यक्ष निर्वाचित गरेको थियो । अधिवेशनको उद्घाटन एमाले केन्द्रीय उपाध्यक्ष वामदेव गौतमले गरेका थिए । २०७० मा जिल्ला पार्टीको बैठकले मिनप्रसाद गुरुङलाई का.वा. अध्यक्ष बनायो । एक वर्ष पछि जिल्ला प्रतिनिधि परिषद्ले मीन प्रसाद गुरुङलाई नै का.वा अध्यक्षबाट अध्यक्ष बनाएको थियो । ०७५ मा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीचमा पार्टी एकता हुँदा स्याङ््जा जिल्लामा माओवादी केन्द्रबाट आएका सूर्य प्रसाद गैरे, नेकपा (नेकपा) का अध्यक्ष र एमालेबाट आएका मीन प्रसाद गुरुङ सचिव बने । नेकपा एमाले आठौं अधिवेशनबाट सूर्यप्रसाद गैरे नै अध्यक्ष भए । (पराजुली, २०८३)

नेकपा (मसाल)
स्याङ्जा जिल्लामा नेकपा (मसाल) धारको पहिलो सेक्रेटरी सूर्य थापा मगर (जगत्रदेवी गाविस वडा नं. ८ , हाल बल्पुक ) हुन् । २०३५ सालमा एस.एल.सी. दिएर उनी दिल्ली गएका थिए । दिल्लीमा नेकपा (मसाल) सम्बद्ध अखिल भारत नेपाली एकता समाजमा आवद्ध भई उनले काम गरेका थिए । २०३९ तिर नेपाल फर्किए पछि उनले स्याङ्जाकै बम भञ्ज्याङ प्रा.वि.मा करिव १ वर्ष पढाएका थिए । त्यसपछि उनले निकै लामो समयसम्म गल्याङको चिरायु अंग्रेजी बोर्डिङ स्कूलमा पढाउने र लेखपालको काम गरेका थिए । पर्वतका अर्का शिक्षक रामप्रसाद काफ््ले समेत सित मिलेर स्याङ्जामा अखिल नेपाल युवक संघ गठन गरेका थिए ।सूर्यथापालाई नेकपा मसालका नेता कलाधर देवकोटा (कामरेड जितबहादुर ) ले २०४० तिर पार्टी सदस्यता उपलब्ध गराएका थिए । २०४१ तिर नेकपा (मशाल) स्याङजाको जिल्ला कमिटी गठन भयो । जसमा सेक्रेटरी सूर्य थापा मगर (बल्पुक), सदस्यहरु रामप्रसाद काफ्ले (पर्वतबाट आएका) झमानसिंह वि.क. (रामचे) थिए । पछि जिल्ला पार्टीमा जगदिश गैरे,विष्णु गैरे, राजेन्द्र गैरे जोडिए । केही समय एकता समाजबाट आएका चन्द्रबहादुर केसी र रेम राना पनि जोडिए । जगदिश गैरे २०३८ तिरै पाल्पाको त्रिभुवन बहुमुखी क्याम्पसमा पढ्दै अखिल (छैठौं) मा आबद्ध थिए । उनी पनि स्याङ्जाको पार्टीमा जोडिए । भूपराज चापागाई (पिंढिखोला) २०४७ मा मसालबाट एकताकेन्द्रमा गएका थिए ।
बागलुङका गणेश उचै आँधीखोला जलविद्युत परियोजनामा कार्यरत थिए , उनी पनि स्याङ्जाको पार्टीमा जोडिए । भारतमा एकता समाजमा काम गरेका लालबहादुर राना पनि मसालमा जोडिए। (थापा, २०८३) २०५७ देखि २०६५ सम्म स्याङ्जा जिल्लामा नेकपा (मसाल) को जिल्ला सेक्रेटरी नारायण शर्मा भए । त्यसबेला स्याङ्जा जिल्ला कमिटीमा सूर्य थापा (जगत्रदेवी), भरत पाठक (पेलाकोट), राजेन्द्र गैरे (वालिङ), जगदिश गैरे (पाखिचौर), इन्द्र शर्मा (सिर्सेकोट), खुम राना (…..), खेम राना,हुम राना, कृष्ण पौडेल (….) प्रकाश परियार लगायत थिए । २०६५ सालमा नारायण शर्मा संगठनको कामले अरु क्षेत्रमा क्रियाशील हुने भए पछि कृष्ण पौडेल स्याङ्जा जिल्लाको सेक्रेटरी भए । कृष्ण पौडेलपछि प्रकाश परियार जिल्ला पार्टीको सेक्रेटरी बने । (शर्मा, २०८३)

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल
२०८० र २०८१ मा नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (बहुमत) र नेकपा (मशाल) का बीच पार्टी एकता भएपछि स्याङ्जा जिल्लामा पछिल्लो अवधिमा लालबहादुर रानाले पार्टीको नेतृत्व गरेका छन् ।

सन्दर्भ 
खाँण ,ठकुरी (२०६०, खाँण ठकुरी वंशावली, वि.सं. १५५–२०६०) चौविसे राज्इको आंशिक इतिहास समेत –ई योगेन्द्र खाँण

ढकाल, दुर्गानारायण (२०७५), राजनीतिक आन्दोलनका इतिहास (स्याङ्जा १) बलिदान स्मृति प्रतिष्ठान स्याङ्जा

ढकाल, दुर्गानारायण (२०७६), राजनीतिक आन्दोलनको इतिहास (स्याङ्जा २) बलिदान स्मृति प्रतिष्ठान

पराजुली, चक्रबहादुर (२०६८), स्याङ्जा जिल्लाको कम्युनिस्ट आन्दोलनको संक्षिप्त इतिहास, स्याङ्जा अभियान, नेकपा (एमाले) स्याङ्जाका मुखपत्र ।

अन्तर्वार्ता
रामबहादुर थापा, दुर्गानारायण ढकाल, नारायण शर्मा, सूर्य थापा मगर,चक्रबहादुर पराजुली, महेन्द्रमान बेथित,

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित