लालपाते बोटे– बोटे समाजका प्रतिनिधि पात्र– एक स्मरण

 

लेखनाथ पौडेल

अँ त नि, तल बेरेको कछाड, आङमा पिठ्युँ र छाति ढाक्ने कन्था र खाली खुट्टा जर्जर फुटेका पैताला लतार्दै दौडन्थे काली किनार तिर दिनदिनै विहान मिल्मीलेमा,नदी किनारमा ढडिया थाप्ने, बल्छी र जाल हान्ने अनि सानी गण्डकीमा सून चाल्ने कार्य नै उनको थियो । उनको दिनचर्या सम्झन्छु अहिले मैले म सानो छँदा देख्थे माछा लिएर आउँथे । हाम्रो गाउँ घरतिर कुर्लन्थे– “आयो मछली, खाओ मछली“ भन्दै ! हामी माछा किन्थ्यौं रोजी रोजी उनैसित। साँझ पख माछा वेची सक्थे लाग्थे कतै पहरो तिर त कतै अग्ला अग्ला सिमोल वोट तिर, खोज्न अरिङ्गाल्का गोला र पोल्थे गुँड, झिक्थे चल्ला–खान्थे र मार्थे भोक। यो हो उनको कुनै कुनै दिनको फेरि अर्को सह दिन चर्या ।

को हुन् उनी र कहाँ हो घर ? उनी हुन् माइन् डाँडाका लालपाते वोटे । भन्न गाह्रो छ कतिवेला पुग्थे उनी आफ्नो घर छाप्रोमा एक निद्रा सुत्न । थिए उनी अन्दाजी ५०–५२ वर्षका । हाम्रो हजुरवा भन्नुहुन्थ्यो ः – “यो वोटे केटो हामीले देख्दा वाउसँग लुखुर लुखुर पछिपछि हिंड्थ्यो, उसको जिन्दगी नै त्यसैगरी वित्यो । कहिल्यै कपडा राम्रो लगाएर हिडेको देखिएन, के गर्ने यी गरीवका दिन कहिल्यै नआउने भए ! कुन जमानामा किपटको जग्गा पाएका त्यै पनि लुटे,छाप्रोको वास र निस्तो गास सँधै यस्तै छाँटले यिनले धान्नु छ सास।“

उनी कतै पठाउनु परे जान्थे,खर्च पर्च दिए हुन्थ्यो– धान, मकै, कोदो। घर छाप्रोमा भेट्नै गाह्रो हुने हुनाले म एक पटक विहान उज्यालो नहुँदै मिल् मिलेमै उनको छाप्रोमा पुगेर दाइ ! दाइ ! भन्दै बोलाएं ढोकामा उभिएर,उनी बोले– ह उ ! म त यता छु ।मैले– कता ? भन्दै हेर्दा त उनी आँगनको पराल उधिन्दै पो देखिए त । भन्छन ः वेलुकी अबेला उतै अरिङ्गालका वचरा पोलेर खाएर आको, भित्रभन्दा यतै न्यानो होला जस्तो लागेर यतै घुस्रैं र एक रात फालेँ वावु ! कता हो यति चाँडो आको ? के प¥यो र ? मैले भने ए उहीँ हो तिमीले मन पराउने ठाउँ, जान्छौ कि भनेर, जान्छौ ? हुन्छ जाऔँला नि, घरमा खर्च पर्च सकिएको छ चाहिएको छ । मैले भनेँ भै हाल्छ नि, आउनु खर्च लिएर आउला र भोलि विहानै जाने हो। उनले भने हुन्छ हुन्छ विहानै आउँछु ।

गरीव भए पनि बोटेले मागेर नखाने वरू नदीमा वालुवा चाल्ने,माछा मार्न नदी किनार तिरै जाने, बौरेठा दाउरा थुत्ने गण्डकीले बगाएर ल्याएका वर्षा याममा । नदी किनारमा रात साँझ डराउने पनि हैन, सम्झिन्छन् उनी अझै । बोलेपछि ढाट्न यो जातले जान्दैन, आए बिहानै लागे आफ्नो वाटो ।

दुइ दिन पछि– साँझमा फतफताउँदै आइ पुगे वोटे दाइ, भन्दै ः अस्ति बेलुकी त चाँडैनै पुगे थें । आज आउन अली ढिला भयो । नानी हिंड्न सकिनन्, साँझै प¥यो । मैले भने सञ्चै पुगी आएछौ भयो । फेरि बोल्दै थिए ः उता वाट पनि दिनुहुन्छ र म त्यहाँ जान मन लाग्छ वावु ! साह्रै मनकारी हुनुहुन्छ बुवा ।

त्यो समय आज भोलि जस्तो जमाना कहाँ हो र चेली बेटी घर माइत गर्न दिन भरी पैदल हिड्नु पथ्र्यो । वन जंगल झाडी घोरेटो बाटो, खोलानाला तर्नुपथ्र्यो पुल पुलेसा पनि थिएनन् । कहिँ वाँसका घारा तेर्साएर सागु बनाएका हुन्थे तर्न डरलाग्दो । साथी नभै हिड्न गाह्रो थियो । तीजमा माइत जान्छु न भनेर गएका चेलीवेटी आउन एक दिन ढिलो हुँदा सोध्न नपाइने ! त्यसैले यिनै वोटे दाइले देखेका हुनाले पठाएको नि । उतिवेला खवर गर्ने यस्तो संचार साधन हुन्नथ्यो । पुगेको आएको खवर पठाउन पाईदैनथ्यो तर आज भोलि जस्तो मान्छे सँग डर हुन्नथ्यो है । जमाना बदलियो आजभोलि जताततै वाटोघाटो पुगेको छ । खवर गर्ने मोवायलहरु छन् घन्टाघन्टामा सोध्न मिल्छ, पुल पुलेसाहरु छन् खोलानालाको डर हुदैन । धेरै फरक छ वरु मान्छेमा आचरण विग्रीदै गयो, अभक्ष चीज खान थाले मान्छे लाई मान्छेकै डर हुन थाल्यो । हत्या हिँसा बढे र समाज विग्रदै गएको छ। कहिले के को डर कहिले के को डर हुने तर यातायातका साधनले सजिलो भएको छ । त्यत्रो १ दिनको वाटो २/३ घण्टामा जान आउन सकिने ।

त्यस्तो वेला काम पर्ने हुनाले उनले माया गर्ने कहिले तरकारी साग सब्जी घिरौला दिने नि । त्यही हुनाले परेको वेला सँधै हार्न सक्दैनथे। निकै सहयोगी मान्छे हुन् लालपाते बोटे दाइ । मान्छेको जात यति स्वार्थी हुन्छ कहिले लरक्क कहिले फरक्क ! चाहिदाको भाँडो नचाहिँदाको ठाँडो झैँ गर्छन्। त्यस्ता मान्छेलाई देख्दा उदेक लाग्छ, खोलो पनि त¥यो लौरो पनि विस्र्यो । जस्तो त गर्नु हुन्न नि। उनलाई ४ प्रकारले बोलाउँथे अथवा उनका ४ थरि नाम थिए ः– १ लालपाले २ लाले ३लालप्रसाद ४ लालु दाइ । उनी भन्दा ठूलाले लालपाते, ठूलावडाले लाले, काम गराउन पर्दा लालप्रसाद, अझै चुनावको वेला त जी थप्थे, अनि फकाउन परे लालु दाइ । यस्तो छ मान्छेको प्रवृत्ति । एउटै व्यक्तिले फरक फरक परिस्थितिमा आफ्नो स्वार्थ अनुकुल बोलाउँदा सम्वोधन गर्दा एउटै व्यक्तिलाई ४ प्रकारले बोलाउँछ वा सम्वोधन गर्छ । कहिले काहिँ त उनले आफै पनि भन्थे छोटो छ भनेर हेपेर होला तर हामी गरीव भए पनि कसैको दया मायामा बाँचेका छैनौ नि ! हाम्रो चलन चल्ती भनेर त्यही अर्घो खेल्दा हो त्यो पनि नृत्य प्रदर्शन गर्दै घरदैलोमा पुग्ने नत्र आँफै बालुवा चाल्ने माछा मार्ने, गिटी कुट्ने गरेर खान्छौ तर भीख मागेर भरसक हिड्दैनौ नि । अनपढ गरीवले पनि कुरा त बुझ्छ!

वाग्लुङ् जिल्ला वानपा १४ को उपल्ला सरंगी माइन डाडामा बोटे जातिका केही घर अझै छन् । लालपाते त गए छैनन् । उनीमात्र हैन यो जाति एक इमान्दार जाति हो । पहिले पहिले काली नदी किनार तिर विशेष गरेर नदी किनार तिरै भोर्लेनी भन्ने ठाउँको स्यानी गण्डकी भन्थ्यौँ त्यसै भागमा वालुवा धेरै हुनाले त्यहाँको वालुवा चालेको हामीले देख्थ्यौ, हेथ्र्यौ,त्यहाँ अलि बढी सून हुन्छ भन्थे र सून निकाली वेच्न ल्याउँथे । यो सूनलाई माझी रुवा भन्थे,राम्रो हुन्छ भन्थे । हाम्रो गाउँतिर पनि वेच्न ल्याएको देख्थ्यौ । अहिले त उनीहरु विभिन्न पेशामा लाग्ने, पढ्ने गर्छन् यस्तो वाटो छोड़ी सके ।

पुरानो वानेश्वर काठमाडौँ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित