– विन्दुराज सापकोटा
पृथ्वीले जैव–जगतलाई कि जैव–जगतले पृथ्वीलाई बचाउँदैछ?
हामी प्रायः भन्छौँ—“पृथ्वी बचाऔँ ।” तर एक क्षण रोकिएर सोचौँ त, आखिर हामीले कसलाई बचाउन खोजिरहेका छौं ? के पृथ्वीलाई वास्तवमै हाम्रो उद्धार आवश्यक छ? वा पृथ्वीले नै अरबौँ वर्षदेखि जीवनलाई सम्भव बनाउँदै आएको छ र अहिले प्रश्न उल्टिएको छ—जैव–जगतले आफ्नो जीवनको आधार अर्थात् पृथ्वीको जीवन्त प्रणालीलाई कति जोगाइरहेको छ? सायद वास्तविक प्रश्न यही हो—कसले कसलाई बचाउँदैछ?
पृथ्वीः पृथ्वी भनेको वैज्ञानिक रूपमा चट्टान, पानी, वायुमण्डल, जैव–जीवन र तिनीहरूबीच निरन्तर हुने भौतिक, रासायनिक तथा जैविक प्रक्रियाहरूले बनेको विशाल जटिल प्रणाली हो । यसलाई केवल चट्टान, पानी र ग्यासको एउटा गोलो पिण्ड वा केवल एउटा ग्रह भनेर बुझ्नु अधुरो हुन्छ । वैज्ञानिक दृष्टिले पृथ्वी करिब ४.५४ अर्ब वर्ष पुरानो ग्रह हो । पृथ्वी प्रणाली(Earth System) अन्तरगत पर्ने प्रमुख प्रणालीहरु (१) स्थल मण्डल (२) जल मण्डल (३) वायु मण्डल (४) जीव मण्डल र (५) माटो तथा पारिस्थितिक प्रणाली पर्दछन् ।
१. स्थलमण्डल (Lithosphere): यो पृथ्वीको बाहिरी ठोस भाग हो । यसमा भूपर्पटी (Crust) र माथिल्लो म्यान्टलको कठोर भाग पर्छ । महादेश, समुद्रको तल, पर्वत, चट्टान र टेक्टोनिक प्लेटहरू यससँग सम्बन्धित छन् ।
२. जलमण्डल (Hydrosphere) यसले पृथ्वीमा रहेको सम्पूर्ण पानीलाई समेट्छ—महासागर, समुद्र, नदी, ताल, भूमिगत पानी, हिमनदी, हिमचादर र वायुमण्डलमा रहेको जलवाष्पसमेत ।
३. वायुमण्डल (Atmosphere) यो पृथ्वीलाई घेरेर रहेको ग्यासीय आवरण हो । यसका मुख्य तत्वहरुः नाइट्रोजन (N₂ – ७८५%, अक्सिजन (o₂ – २१%) तथा थोरै मात्रामा आर्गन–Ar ( ०.९३% ), कार्वन डाइअक्साईड (Co₂ (०.०४%) अन्य ग्यासहरु ०.०३% र जलवाष्प आदि हुन् । यसले मौसम, जलवायु र जीवनका लागि आवश्यक परिस्थितिमा महत्वपूर्ण भूमिका खेल्छ ।
४. जीवमण्डल (Biosphere)ः पृथ्वीमा रहेका सबै जीवित प्राणी र तिनले बसोबास गर्ने जीवनयोग्य क्षेत्र हो—मानव, जनावर, वनस्पति, फङ्गस, ब्याक्टेरिया तथा अन्य सूक्ष्मजीव सबै यसमा पर्छन् ।
५. माटो र पारिस्थितिक प्रणाली (Soil & Ecosystems)ः यसलाई छुट्टै मण्डलका रूपमा भन्दा स्थलमण्डल, जलमण्डल, वायुमण्डल र जीवमण्डलबीच हुने निरन्तर अन्तरक्रियाको परिणामका रूपमा बुझ्नु बढी वैज्ञानिक हुन्छ । उदाहरणका लागि, माटोमा चट्टानबाट आएका खनिज, पानी, हावा, जैविक पदार्थ र असंख्य सूक्ष्मजीव हुन्छन् । त्यसैले माटो जीवित र निर्जीव संसार जोड्ने अत्यन्त महत्वपूर्ण माध्यम हो ।
जैव–जगत (Living World)ः जैव–जगत भनेको पृथ्वीमा रहेका सम्पूर्ण जीवित संसार हो । यसमा वनस्पति— रुख, झाडी, घाँस, शैवाल आदि, जनावर — स्तनधारी, चराचुरुङ्गी, सरीसृप, उभयचर आदि, जलचर — माछा, ह्वेल, कोरल आदि, सूक्ष्मजीव — ब्याक्टेरिया, आर्किया, प्रोटिस्ट आदि, फङ्गस — च्याउ तथा अन्य फङ्गस, मानव — मानव पनि जैव–जगतकै एउटा प्रजाति हो । जैव–जगतलाई जीवमण्डल (Biosphere) सँग नजिकको अर्थमा प्रयोग गरिन्छ, तर दुवै शब्द पूर्ण रूपमा समान भने होइनन् ।
जैव–जगतले पृथ्वीमा रहेका सबै जीवित प्राणीहरूको समग्रता हो भन्ने बुझाउँछ भने जीवमण्डल(Biosphere) ले जीवहरू बस्ने र जीवन सम्भव हुने पृथ्वीको सम्पूर्ण क्षेत्र, जसमा स्थल, पानी र वायुमण्डलका जीवनयोग्य भागहरू भन्ने बुझाउँछ ।
पृथ्वी प्रणाली अन्तरगतका प्रमुख प्रणालीहरूलाई चित्रबाट यसरी बुझौंः

सन् १९७० मा बेलायती रसायनशास्त्री जेम्स लवलक (James Lovelock) ले एउटा क्रान्तिकारी विचार प्रस्तुत गरे, जसका कारण त्यतिबेला वैज्ञानिक समुदायका धेरै मानिसहरूले उनको विचारको आलोचना र उपहास गरे । उनले यसलाई “गैया परिकल्पना” (The Gaia Hypothesis) नाम दिए । उनको भनाइ थियो—पृथ्वी कुनै निर्जीव चट्टान होइन, जसको माथि जीवन केवल विकसित भइरहेको छ बरु पृथ्वी आफैं जीवनको एउटा विशाल प्रणाली हो । वायुमण्डल, महासागर, माटो र तापक्रम—यीमध्ये कुनै पनि कुरा केवल संयोग वा दुर्घटनाको परिणाम होइनन् । यो ग्रहले आफ्ना प्रणालीहरूलाई त्यसरी नै सक्रिय रूपमा सन्तुलित राख्छ, जसरी हाम्रो शरीरले आफ्नो तापक्रम नियन्त्रण गर्छ । जब हामीलाई गर्मी लाग्छ, शरीरले पसिना निकाल्छ । जब चिसो लाग्छ, शरीर काँप्छ । हाम्रो शरीरले हाम्रो अनुमति वा निर्णयको प्रतीक्षा गर्दैन । यसले आफैंलाई सुधार गर्छ । लवलकका अनुसार पृथ्वीले पनि यस्तै प्रकारले आफ्नो सन्तुलन कायम गर्ने प्रयास गर्छ ।
यस परिकल्पनाको मुख्य विचार हो—पृथ्वीमा रहेकाः जीवजन्तु, वनस्पति, सूक्ष्मजीव, महासागर, वायुमण्डल, माटो, चट्टान, जलचक्र, कार्बन चक्र यी सबै एकअर्कासँग अन्तरसम्बन्धित छन् । उदाहरणका लागि, वनस्पतिले कार्वन डाइअक्साईड सोस्छ र अक्सिजन उत्पादन गर्छ, महासागरले ठूलो मात्रामा कार्बन अवशोषण गर्छ, सूक्ष्मजीवहरूले माटो तथा कार्बन–नाइट्रोजन चक्रमा भूमिका खेल्छन् । यी प्रक्रियाहरूले मिलेर पृथ्वीको वातावरण र जलवायुमा प्रभाव पार्छन् । स्थलमण्डल, जलमण्डल, वायुमण्डल र जीवमण्डलबीच निरन्तर पदार्थ, ऊर्जा र प्रक्रियाको आदानप्रदान भइरहेको हुन्छ ।
तेसो हो भने के पृथ्वी साँच्चिकै “जीवित प्राणी” हो ?
यहाँ एउटा महत्वपूर्ण वैज्ञानिक भिन्नता छ । कडा अर्थमा गैया परिकल्पनाले पृथ्वी मानिस वा जनावर जस्तै एउटै जीवित प्राणी हो भनेर प्रमाणित गरेको छैन । आधुनिक वैज्ञानिक व्याख्यामा गैया अवधारणालाई बढी पृथ्वी प्रणाली विज्ञानसँग जोडेर हेरिन्छ—अर्थात् जीवमण्डल, वायुमण्डल, महासागर र भौगर्भिक प्रणालीहरू बीचका प्रतिक्रियाले पृथ्वीको अवस्था परिवर्तन गर्छन् । उदाहरणका लागिः बढ्दो तापक्रम → वनस्पतिरमहासागरीय प्रक्रियामा परिवर्तन → कार्वन डाइअक्साईडको अवशोषण वा उत्सर्जनमा परिवर्तन → जलवायुमा पृष्ठपोषण गर्छ ।
यस पृष्ठपोषले पृथ्वी प्रणालीलाई कहिलेकाहीँ स्थिरतातर्फ लैजान सक्छन्, तर सधैँ स्थिर राख्छन् भन्ने होइन । एउटा महत्वपूर्ण गलत बुझाइः “पृथ्वी आफैँले मानिसलाई बचाउन आफ्नो तापक्रम नियन्त्रण गर्छ” भन्ने लोकप्रिय व्याख्या गैया परिकल्पनाको अत्यधिक सरलीकृत रूप हो ।
पृथ्वी प्रणालीमा स्व–नियमनकारी पृष्ठपोषणहरू छन्, तर तिनले मानव सभ्यताका लागि आवश्यक तापक्रम सधैँ कायम राख्छन् भन्ने वैज्ञानिक निष्कर्ष छैन । उदाहरणका लागि, पृथ्वीले विगतमा अत्यन्त चिसा हिमयुग, अत्यन्त तातो अवस्था र ठूला महाविलुप्तिहरू पनि भोगेको छ । छोटकरीमा गैया परिकल्पनाको पृथ्वीका जीवित र निर्जीव घटकहरू बीचको परस्पर अन्तरक्रियाले पृथ्वीलाई एउटा जटिल, गतिशील र केही हदसम्म स्व–नियमनकारी पृष्ठपोषणहरूका रूपमा सञ्चालन गर्न सक्छ भन्ने विचार रहेको छ तर त्यसलाई वैज्ञानिक तथ्यभन्दा दार्शनिक अभिव्यक्तिका रूपमा बुझ्नु उचित हुन्छ ।
जब वायुमण्डलमा कार्बन डाइअक्साइड बढ्छ, त्यसलाई सोस्न वन क्षेत्रहरू विस्तार हुने प्रक्रियाहरू सक्रिय हुन्छन् । जब समुद्र अत्यधिक अम्लीय बन्छ, शंख–सीप बनाउने जीवहरूले पानीबाट क्याल्सियम लिएर त्यसलाई चुनढुङ्गाको रूपमा बन्द गर्छन् । जब सतह अत्यधिक तात्छ, सूर्यको प्रकाशलाई परावर्तन गर्न बादल निर्माण हुने प्रक्रिया बढ्छ । यो ग्रहले ४।५ अर्ब वर्षदेखि आफ्नै प्राकृतिक “थर्मोस्टेट” सञ्चालन गरिरहेको छ—कुनै निर्देशन पुस्तिका बिना, कुनै इन्जिनियर बिना, कसैको अनुमति बिना । यसले त्यस्ता उल्कापिण्डका प्रहारहरू पनि सह्यो, जसले विशाल विनाश निम्त्याएका थिए । पग्लिएको लाभाको गोलाबाट यसले यस्तो संसार निर्माण गर्यो, जहाँ वर्षावन र प्रवाल भित्ताहरू (Coral Reefs) विकसित भए र त्यसपछि हामी मानव आयौँ ।
पछिल्ला करिब २०० वर्षमा हामीले पृथ्वीलाई आफन्त होइन, केवल एउटा स्रोतका रूपमा हेर्न थाल्यौँ । हामीले यसको रगत निकाल्यौँ र त्यसलाई “तेल” भन्यौँ । हामीले यसको शरीर चिर्यौँ र त्यसलाई “खनन” भन्यौँ । हामीले यसको फोक्सोमा रसायन भर्यौँ र त्यसलाई “प्रगति” भन्यौँ । जब ग्रहमा तापक्रम बढ्न थाल्यो, हामीले तापक्रम बढेको तथ्यलाई नै अस्वीकार गर्न बहस गर्न थाल्यौँ । १०२ डिग्री ज्वरोले तातिरहेको मानिसलाई हेरेर कसैले पनि “म तिम्रो ज्वरोमा विश्वास गर्दिनँ” भन्दैन । तर हामीले एउटा सम्पूर्ण ग्रहसँग यस्तै व्यवहार गरिरहेका छौँ ।
यहाँ एउटा यस्तो सत्य छ, जुन लवलकले बुझेका थिए तर धेरै मानिसहरूले अझै बुझ्न सकेका छैनन्—पृथ्वीलाई बचाउन आवश्यक छैन । पृथ्वी यस्ता घटनाहरूबाट पनि बाँचेको छ, जसका अगाडि परमाणु बम पनि सानो देखिन्छ । पृथ्वी “महाअक्सिजनकरण घटना”(Great Oxygenation Event) र पाँचवटा महाविलुप्ति (Five Big Extinction) बाट पनि बाँचेको थियो । पृथ्वीले हिमयुग ल्याउँछ । यसले बाढी ल्याउँछ । यसले विनाशकारी घटनाहरू ल्याउँछ र फेरि नयाँ सुरुवात गर्छ । यो ग्रह कमजोर छैन । कमजोर हामी हौँ । हामी त्यस्तो प्रजाति हौँ, जसले भूकम्पीय दरार भएका ठाउँमा काँचका भवनहरू बनायौँ, समुद्री सतहभन्दा तल सहरहरू बसायौँ, अनि जमिन हल्लिँदा र पानी बढ्दा आश्चर्य प्रकट गर्यौँ । हामी यस ग्रहका मालिक होइनौँ । हामी केवल यसका पाहुना वा भाडामा बस्नेहरू हौँ र अब प्रकृतिको सहनशीलताको सीमा समाप्त हुँदैछ ।
महासागरले ताप र कार्बनको ठूलो मात्रा सञ्चय गर्छन् । वनस्पतिले प्रकाश संश्लेषण मार्फत कार्बन चक्रमा योगदान गर्छन् । सूक्ष्मजीवहरूले माटो, कार्बन र नाइट्रोजन चक्र सञ्चालन गर्छन् । वनहरूले पानीको चक्रमा प्रभाव पार्छन् । जीवजन्तुले बीउ फैलाउने, परागसेचन गर्ने र खाद्य शृङ्खला सञ्चालन गर्ने काम गर्छन् । अर्थात् पृथ्वी र जैव–जगतबीच सम्बन्ध मालिक र सम्पत्तिको होइन, परस्पर निर्भर प्रणालीको सम्बन्ध हो । जीवन पृथ्वीमा मात्र बस्दैन, पृथ्वीलाई परिवर्तन पनि गर्छ । करिब ३.५ अर्ब वर्षभन्दा पुरानो जीवनका प्रमाणहरूले पृथ्वीमा जीवन अत्यन्त लामो समयदेखि अस्तित्वमा रहेको देखाउँछन् । तर जीवनले पृथ्वीको वातावरणलाई पनि ठूलो रूपमा परिवर्तन गरेको छ । यसको सबैभन्दा शक्तिशाली उदाहरण महान् अक्सिजनकरण घटना (Great Oxidation Event) हो ।
अक्सिजनकरण घटना (Great Oxidation Event)ः
आज हामी वायुमण्डलमा रहेको जुन स्वतन्त्र अक्सिजनमा सास फेरिरहेका छौं, प्रारम्भिक पृथ्वीको वायुमण्डलमा अहिलेको जस्तो थिएन । प्रकाश संश्लेषण गर्ने सूक्ष्मजीव, विशेषतः सायनोब्याक्टेरियाले वायुमण्डलमा अक्सिजन उत्पादन गरि फैलाउन थाले । लामो समयको जैविक प्रक्रियापछि वायुमण्डलमा अक्सिजनको मात्रा उल्लेखनीय रूपमा बढ्यो । त्यही अक्सिजन कुनै समय पृथ्वीको इतिहासको सबैभन्दा ठूलो प्रदूषण घटना घट्यो, जसका कारण लगभग सम्पूर्ण जीवनलाई नष्ट गर्ने अवस्था सिर्जना भएको थियो । त्यस परिवर्तनले तत्कालीन धेरै अवायवीय (Anaerobic) जीवहरूका लागि गम्भीर संकट निम्त्यायो, तर पछि अक्सिजनमा आधारित जटिल जीवनको विकासका लागि नयाँ वातावरण तयार भयो । पृथ्वीले आफूलाई परिवर्तन गर्यो । जीवन फेरि विकसित भयो । त्यस्ता नयाँ प्रजातिहरू आए, जसले त्यो वातावरणमा बाँच्न सक्थे । पृथ्वीले यो प्रक्रिया फेरि पनि गर्न सक्छ । यो हामीपछि पनि बाँचिरहनेछ । त्यसैले वास्तविक प्रश्न कहिल्यै यो थिएन—“के पृथ्वीले हामीले गरेको विनाश सहेर बाँच्न सक्छ ?” वास्तविक प्रश्न हो—“के हामीले परिवर्तन भइरहेको पृथ्वीमा आफूलाई बचाउन सक्छौँ ?” यसबाट एउटा गहिरो सत्य देखिन्छ—जीवन पृथ्वीबाट प्रभावित मात्र हुँदैनस जीवनले पनि पृथ्वीको स्वरूप परिवर्तन गर्छ ।
पृथ्वीमा भएका पाँचवटा महाविलुप्ति वा महाविनास (Five Big Extinction) हरुः
१. पहिलो महाविनासः अर्डोभिसियन–सिलुरियन महाविनास (Ordovician–Silurian Extinction) करिब ४४।३ करोड वर्षअघि भयो । यसको मुख्य कारण अत्यन्त तीव्र हिमयुग (Ice Age) को सुरुवात तथा त्यसपछि भएको अचानक तापक्रम वृद्धि थियो । त्यसबेला गोन्डवाना (Gondwana) महाद्वीप दक्षिण ध्रुवतर्फ पुगेपछि विशाल हिमनदीहरू बने । तेसपछि महासागरमा अक्सिजनको गम्भीर कमी (Oceanic Anoxia)भयो, जसका कारण असंख्य समुद्री जीवहरूको मृत्यु भयो । यस महाविलुप्तिमा करिब ८५% समुद्री प्रजातिहरू सधैंका लागि समाप्त भएका थिए ।
२. दोस्रो महाविनासः लेट डेभोनियन महाविनास (Late Devonian Extinction) करिब ३७.२ करोडदेखि ३५.९ करोड वर्षअघि भयो । यो एकैपटक नभई लाखौँ वर्षको अवधिमा विभिन्न चरणमा भएको थियो । यस महाविनासको प्रमुख कारण जमिनमा वनस्पतिको अत्यधिक विस्तार मानिन्छ । विशाल रुखका जराहरूले चट्टानहरू क्षय गरिदिए । त्यसबाट निस्किएका खनिज तथा पोषक तत्वहरू नदीमार्फत समुद्रमा पुगे । फलस्वरूप समुद्रमा शैवाल (Algae_) को अत्यधिक वृद्धि भयो । घना वनहरू फैलिन थालेपछि वायुमण्डलको कार्बन डाइअक्साइड ठूलो मात्रामा सोसियो जसका कारण कार्बन डाइअक्साइडको स्तर द्रुत गतिमा घट्यो, र विश्वव्यापी तापक्रम घटेर पृथ्वी चिसिँदै गयो । यस महाविनासमा पृथ्वीका करिब ७५५ प्रजातिहरू समाप्त भएका थिए ।
३. तेस्रो महाविनासः परमियन–ट्रायासिक महाविनास Permian–Triassic Extinction) यसलाई पृथ्वीको इतिहासकै सबैभन्दा भयानक महाविनास मानिन्छ । यो महाविनास करिब २५ करोड २० लाख वर्षअघि भयो ।
यसको मुख्य कारण साइबेरियामा भएको विशाल ज्वालामुखी विस्फोट थियो । लाखौँ वर्षसम्मको निरन्तर विस्फोटहरूबाट अरबौँ टन कार्बन डाइअक्साइड, मिथेन तथा अन्य हरितगृह ग्यासहरू वायुमण्डलमा पुगे । यसको कारण—पृथ्वीको औसत तापक्रम करिब १०°C ले बढ्यो । महासागरको पानी अम्लीय बन्यो र अम्लीय वर्षा सामान्य घटना बनिसकेको थियो । पानीमा अक्सिजनको मात्रा निकै घट्यो । वायुमण्डल विषाक्त बन्न पुग्यो ।
यस महाविनासमा—पृथ्वीका ९६५ समुद्री प्रजाति र करिब ७०५ स्थलचर कशेरुकी (Vertebrate) प्रजाति पूर्ण रूपमा समाप्त भए ।
४. चौथो महाविनासः ट्रायासिक–जुरासिक महाविनास (Cretaceous–Paleogene Extinction) करिब २० करोड १० लाख वर्षअघि भयो । यसको कारण यस समय महा–महाद्वीप प्याङ्जिया (Pangaea) टुक्रिन सुरु भयो । महाद्वीप फुट्ने क्रममा अहिलेको अटलान्टिक महासागर बन्ने क्षेत्रमा मध्य एटलान्टिक चुम्बकीय क्षेत्र नामक विशाल ज्वालामुखीय गतिविधि भयो । फलस्वरूप—ठूलो मात्रामा कार्बन डाइअक्साइड उत्सर्जन भयो । पृथ्वीको तापक्रम तीव्र रूपमा बढेर अत्यन्त तातो र सुख्खा थियो महासागर अम्लीय बन्न थाले । जंगलमा मुख्य रूपमा शंकुधारी रूख (Conifers), गिङ्क्गो(Ginkgo) र फर्न (Ferns) पाइन्थे । जंगललाई ठूलो क्षति पुगे पनि तिनीहरू पूर्ण रूपमा समाप्त भएका थिएनन् ।
५. पाँचौँ महाविनासः क्रिटेसियस–पेलियोजिन महाविनास (Cretaceous–Paleogene Extinction) करिब ६ करोड ६० लाख वर्षअघि भएको थियो । यसको मुख्य कारण मेक्सिकोको युकाटन प्रायद्वीप नजिक करिब १० किलोमिटर व्यास भएको विशाल क्षुद्रग्रह (Chicxulub Asteroid) पृथ्वीमा ठोक्किनु थियो । त्यसै समय भारतको डेक्कन ट्र्याप्स (Deccan Traps)क्षेत्रमा पनि विशाल ज्वालामुखी विस्फोट भइरहेका थिए । क्षुद्रग्रहको प्रभावले—आकाश धुलो, खरानी र धुवाँले भरियो । वर्षौँसम्म सूर्यको प्रकाश पृथ्वीमा पुग्न सकेन ।
“इम्प्याक्ट विन्टर (Impact Winter)” अर्थात् कृत्रिम रुपमा अत्यन्त चिसो अवस्था सुरु भयो । यस महाविलुप्तिमा पृथ्वीका करिब ७५५ जीवहरू समाप्त भए । यिनै बाँचेका स्तनधारीहरूबाट पछि प्राइमेट (Primates) र अन्ततः मानवको विकास भयो ।
त्यसो भए पृथ्वीले जैव–जगतलाई बचाइरहेको छ कि जैव–जगतले पृथ्वीलाई ?
उत्तर एउटै मात्र छैन । पृथ्वीले जीवनलाई आधार दिन्छ, जीवनले पृथ्वी प्रणालीलाई परिवर्तन र प्रभावित गर्छ ।
सूर्यको ऊर्जा, पृथ्वीको गुरुत्वाकर्षण, उपयुक्त तापक्रम, तरल पानी, वायुमण्डल र भूगर्भीय प्रक्रियाले जीवनका लागि आधार तयार गरे । त्यस आधारमा विकसित जीवहरूले फेरि वातावरण, माटो, पानी र जैव–भूरासायनिक चक्रहरूलाई परिवर्तन गरे । त्यसैले यो सवाल एकतर्फी उद्धार वा कसैले कसैलाई बचाउदैछ भन्ने होइनस यो परस्पर निर्भरता र सह–विकासको आधार हो ।
यही प्रश्नबाट गैया परिकल्पनाको रोचक अवधारणा अगाडि आउँछ । वैज्ञानिक जेम्स लभलकले प्रस्ताव गरेको यस अवधारणालाई पछि माइक्रोवायोलोजिष्ट लिन मार्गुलिस लगायतका वैज्ञानिकहरूले पनि विकास गर्न योगदान दिए । यसको मूल विचारलाई सरल भाषामा यसरी बुझ्न सकिन्छ—पृथ्वीका जीवित र निर्जीव प्रणालीबीचको अन्तरक्रियाले पृथ्वीको वातावरण र जीवनका अवस्थालाई प्रभावित गर्छ र केही अवस्थामा त्यस्ता अन्तरक्रियाले पृथ्वी प्रणालीमा स्व–नियमनकारी पृष्ठपोषणहरू सिर्जना गर्न सक्छन् । तर यहाँ सावधानी आवश्यक छ । गैया परिकल्पनाको अर्थ पृथ्वी मानिस जस्तै एउटा सचेत जीव हो भन्ने प्रमाणित हुनु होइन । पृथ्वीले कुनै योजना अनुसार आफूलाई मानिसका लागि उपयुक्त बनाइरहेको छ भन्ने पनि वैज्ञानिक निष्कर्ष होइन । आधुनिक पृथ्वी प्रणाली विज्ञानले जीवमण्डल, महासागर, वायुमण्डल, माटो र भौगर्भिक प्रणालीबीचका पृष्ठपोषण र अन्तरसम्बन्धलाई प्रमाणमा आधारित ढङ्गले अध्ययन गर्छ ।
त्यसैले “पृथ्वी आफैँले हामीलाई बचाइरहेको छ” भन्नुभन्दा “पृथ्वी प्रणाली भित्रका प्राकृतिक पृष्ठपोषणहरूले जीवनका अवस्थालाई प्रभावित गर्छन्” भन्नु वैज्ञानिक रूपमा बढी उचित हुन्छ । तर समस्या तब सुरु भयो जब मानवले आफूलाई प्रकृतिको हिस्सा होइन, प्रकृतिको मालिक ठान्न थाल्यो । औद्योगिक युगपछि वायुमण्डलमा हरितगृह ग्यासहरूको मात्रा तीव्र रूपमा बढेको छ । यसको परिणामस्वरूप विश्वव्यापी तापवृद्धि, हिमनदीहरूको ह्रास, समुद्री सतह वृद्धि, महासागरीय तापवृद्धि, समुद्री अम्लीकरण, चरम मौसम र जैविक विविधतामाथि बढ्दो दबाब देखिएको छ । तर यहाँ एउटा अत्यन्त महत्वपूर्ण कुरा बुझ्नुपर्छ—मानवले पृथ्वीलाई समाप्त गरिरहेको छैनस मानवले आफ्नै सभ्यता र आफू निर्भर रहेको पारिस्थितिक प्रणालीलाई अस्थिर बनाइरहेको छ ।
पृथ्वीलाई कुनै आन्दोलनको आवश्यकता छैन ।
पृथ्वीलाई “नाजुक” भन्नु पनि केही हदसम्म भ्रामक हुन सक्छ । पृथ्वी अत्यन्त शक्तिशाली र परिवर्तनशील प्रणाली हो । तर मानव सभ्यता भने तुलनात्मक रूपमा नाजुक छ । हाम्रो खाद्य प्रणाली निश्चित तापक्रम र वर्षाको ढाँचामा निर्भर छ । हाम्रो शहरहरू समुद्री तट र नदीका किनारमा छन् । हाम्रो अर्थतन्त्र स्थिर जलचक्र, उर्वर माटो, परागसेचन, स्वच्छ पानी र जैविक विविधतामा निर्भर छ । यसलाई केवल हामीले त्यो कुरा सम्झनु आवश्यक छ, जुन हामीले पहिलो हरियो मैदानमाथि सडक निर्माण गर्दा बिर्सियौँ—हामी प्रकृतिबाट अलग छैनौँ । हामी आफैं प्रकृति हौँ र पृथ्वीविरुद्ध हामीले घोषणा गरेको युद्ध वास्तवमा आफ्नै अस्तित्व विरुद्धको युद्ध हो । हामी पानीलाई विषालु बनाएर आफ्नो रगत सफा राख्न सक्दैनौं । हामी वन डढाएर आफ्नो फोक्सो स्वस्थ राख्न सक्दैनौं । हामी माटोलाई बाँझो बनाएर आफ्नो भोजन सुरक्षित राख्न सक्दैनौं । पृथ्वीमाथि हामीले जे गर्छौ, अन्ततः आफ्नै शरीरमाथि गर्छौं । पृथ्वीले मानवभन्दा अगाडि पनि अत्यन्त ठूलो जलवायु परिवर्तन, हिमयुग, सुपरज्वालामुखी विस्फोट, क्षुद्रग्रहको ठक्कर र पाँचवटा महाविलुप्तिहरू भोगिसकेको छ । यिनिहरुको मूल कारण मुख्यतः प्राकृतिक थिए । तर सुरु भइसकेको वर्तमान छैटौँ महाविलुप्तिको प्रमुख कारण अत्यधिक लोभ, लाभ, धन, कुल ग्राहस्थ्य उत्पादन वृद्धि (GDP), युद्ध, आतंक र निजी स्वार्थमा केन्द्रित वर्तमान विश्वव्यापी कर्पोरेट मानव व्यवस्था हो ।
तेसैले मानवजातिले सुरु भइसकेको वर्तमान छैटौँ महाविलुप्तिको अवस्थाबाट आफुलाई बचाउने पृथ्वी र संपूर्ण जैव–जगतलाई बचाउनका लागि निजी स्वार्थमा केन्द्रित वर्तमान विश्वव्यापी कर्पोरेट मानव व्यवस्थालाई प्रकृति–मानव केन्द्रित एजेण्डाका पाँच मुलसिद्धान्त अर्थात पर्यावरणीय टिकाऊपन, न्यायसंगत बराबरी अथवा अधिकतम १ः५ को आय भिन्नता, उत्पादकता, लोकतंत्र र पारदर्शिताको उज्यालोमा मानवसमाज प्रति जवाफदेही व्यवस्थामा परिवर्तन गर्न आवश्यक छ ।
यसका लागि मानवजातिलाई सचेत र संगठित गर्दै शान्तिपूर्ण जनआन्दोलन मार्फत परिवर्तन ल्याउन सकिन्छ, ताकि मानव मात्र होइन, सम्पूर्ण जैव–जगतको अस्तित्व सुरक्षित रहोस् ।
अन्ततः प्रश्न “पृथ्वीलाई कसले बचाउने ?” भन्दा ठूलो प्रश्न हो—के मानवले आफू पृथ्वीबाट अलग छैन भन्ने सत्यलाई समयमै बुझ्न सक्छरु यदि बुझ्न सक्छ भने प्रकृतिमा फर्किने बाटो अझै खुला छ । यदि बुझ्न सकेन भने पृथ्वीले आफ्नो यात्रा जारी राख्नेछ—मानव सहित वा मानवबिनै । यही नै हाम्रो समयको सबैभन्दा गम्भीर प्रश्न हो ।
“पृथ्वी हाम्रो घर हो, हामी पृथ्वीका अंश हौं ।
प्रकृतिसंग सहअस्तित्व नै दिगो भविश्यको आधार हो ।”

