राजनैतिक निरन्तरताको अनुभव

सपना राजथला
म १२÷१३ वर्षको उमेरदेखि राजनैतिक गतिविधिहरुमा निकै चासो दिने गर्दथें । मेरा दाइहरु अखिल नेपाल विद्यार्थी संगठन त्यतिबेलाको चौम धारको विद्यार्थी संगठनमा सक्रिय कार्यकर्ता हुनुहुन्थ्यो । म उहाँहरुको सक्रियता सँगै वहाहरुको राजनैतिक गतिविधिहरुमा ध्यान लिने गर्दथें । २०४१ सालदेखि म राजनीतिक गतिविधिका बारेमा जानकारी राख्ने भएँ । त्यतिबेलादेखि नै दाइका संगठनका साथीहरु हाम्रो घरमा आउनु हुन्थ्यो । वहाँहरुले मलाई आफ्नो कार्यक्रम पोस्टरिङकोलागि माड पकाउन भन्नुहुन्थ्यो । मैले मैदा घोलेर अलि अलि चिनी हालेर माड पकाइदिन्थें । प्रायः ठिमीका दाजुका साथीहरु आउँथे साझ साझमा । दाइका साथीहरुलाई आमा र म भएर खाना पकाइदिन्थ्यौं ।उहाँहरु राति राति पम्पलेट टाँस्ने काम भ्याएर बिहानै हिँडिसकेका हुनुहुन्थ्यो । मेरी आमा वहाँहरुलाई कार्यक्रममा गएर सुरक्षित रुपमा कार्यक्रम गरेर फर्किनु भनेर सुझाव सल्लाह दिनु हुन्थ्यो । किनकि त्यतिबेला पञ्चायतकाल थियो । राजनीतिक गतिविधिहरु लुकीलुकी गर्नुपर्ने अवस्था थियो । पञ्चायती सरकारले दाइहरुलाई केही गर्लाकि भनेर आमा डर मान्नु हुन्थ्यो तर पनि कार्यक्रममा नजानु भनेर कहिल्यै भन्नु भएन । मेरो बुबा पञ्चायतमा विश्वास गर्ने हुनुहुन्थ्यो । बुबा त्यति बेलाको प्रधानपञ्चको साथी हुनुहुथ्यो । बुवाले हामीहरुलाई राजनैतिक गतिविधिमा संलग्न हुँदा “तिमीहरु झुलबाहिरका लामखुट्टेजस्तै हौ । हामी पञ्चायतमा विश्वास गर्नेहरु झुलभित्र छौं, तिमीहरुले केही गर्न सक्दैनौं” भनेर हाँसो गर्नुहुन्थ्यो ।
मेरा दाजुहरु लुकी लुकी पम्पलेटिङ गर्ने काम गर्नु हुन्थ्यो । जनआन्दोलन र संघर्षकालागि मशाल जुलुश गर्नुहुन्थ्यो । कार्यक्रमको विभिन्न स्वरुप मध्ये मशाल जुलुश गर्ने कार्य पनि हुन्थ्यो । दाइहरुले बाँस काटेर बाँसको भाटा ल्याउनुहुन्थो । त्यस समयमा म र साथीहरु मिलेर मशाल जुलुशकोलागि जुटको बोराहरु काटेर मशाल बनाउन सहयोग गर्दथ्यौं ।
यसरी जानी नजानी म राजनीतिक गतिविधिमा सामेल हुन पुगें । राजनीतिक कार्यक्रमहरु–कोणसभा,सभाहरुमा सहभागी हुन पुग्थें । पञ्चायत कालमा राजनीतिक कार्यक्रम गर्न सजिलो थिएन । लुकी छिपी कार्यक्रम गर्नुपथ्र्यो । गाइजात्राको निहुँ पारेर व्यङ्ग्यात्मक नाटक,सडक नाटक, गर्न पाइन्थ्यो । साँस्कृतिक कार्यक्रम हुन्थ्यो । म मेरा तीन दाजुहरुको पछि लागेर त्यो कार्यक्रम हेर्न जान्थें । त्यसबेलाको जन कलाकारहरुमा रायन श्रेष्ठ ,रामेश श्रेष्ठ,मञ्जुल श्रेष्ठ,अशेष मल्ल, हुनुहुन्थ्यो । मलाई वहाँको सम्झना अझै आउँछ ।
२०४६ सालमा पुनः प्रजातन्त्र ल्याउन आन्दोलन गर्न नेपालका प्राय सबै कम्युनिष्ट पार्टीहरु एक भएका थिए । मोटो मशाल पातलो मसाल,चौम भन्ने मिलेर एकताकेन्द्र बनेको थियो । जनआन्दोलन गर्नको लागि कांग्रेस र कम्युनिष्टहरुका बीचमा संयुक्त मोर्चा बने पछि जनआन्दोलन भएको थियो । कांग्रेस पार्टीसँग पनि कार्यगत एकता गरी संघर्ष,आन्दोलन भएको थियो । आन्दोलन गर्दा आन्दोलनकारीहरुलाई चरम यातना दिइन्थ्यो । त्यतिबेला मेरोे माहिलो दाइलाई पञ्चायती सरकारले भक्तपुरमा ३ महिना हिरासतमा राख्यो । मेरो साहिलो दाइलाई ३ महिना लुकाउन कहिले ललितपुरको सानागाउँ हरिसिद्धि, कहिले भक्तपुरको झौखेल ठाउँ सार्दै बचाउनु परेको थियो । हाम्रो घरमा सँधै प्रहरीहरु खोजी गर्न आउँथे ।
२०४६ सालमा म एसएलसी पास भएँ । म क्यामपस भर्ना भएपछि विद्यार्थी संगठनको सदस्यता लिएँ । संगठनको कहिले भक्तपुर सानोठिमी क्याम्पसमा बैठक हुन्थ्यो । कहिले मिनभवन क्याम्पसमा त कहिले ल क्याम्पसमा बैठक हुन्थ्यो । म विद्यार्थी संगठनका सबै गतिविधिहरुमा सक्रियतापूर्वक भाग लिन्थेँ । यसरी मेरो सांगठनिक रुपमा जवसको मोर्चाहरुमा काम गर्दा गर्दै शुरु हुन पुगेको हो ।
२०४६–२०४९ सालसम्म म सक्रिय रुपमा विद्यार्थी संगठनको भक्तपुर जिल्ला सदस्य भएर काम गरें । २०४६ साल पछि संगठन बनाउन धेरै सजिलो भयो । त्यसपछि म महिला संगठनमा संगठित भएँ । संगठनको केन्द्रीय अध्यक्ष भएर पम्फा भूषाल,हिसिला यमी, शशीश्रेष्ठ लगायत महिला नेताहरु संगठनको विस्तार गर्न आउनुहुन्थ्यो । म अखिल नेपाल महिला संघमा पनि सक्रिय हुँन थालें । महिला संघले आयोजना गरेका हरेक कार्यक्रमहरुमा सहभागी हुने गर्दथें । महिला अधिकारको लागि भन्दै महिलाहरुले विरोध प्रर्दशनहरु गर्दथे । एक चोटी महिला अधिकारकोलागि भन्दै आन्दोलनमा भाग लिन काठमाण्डौ भोटाहिटी गएँ । त्यहाँ हाम्रो आन्दोलनमाथि प्रहरीले व्यापक दमन ग¥यो । जुलुश गर्दै नारा लगाउँदै थियौं । प्रहरीले अश्रुग्यास हान्यो । आँखा पिरो भएर वरपर केही पनि देखिएन । १६जना महिलाहरुलाई पक्रेर लगी महेन्द्र पुलिश क्लबमा थुनेर राती छोड्यो ।
म २०५० सालमा सक्रिय रुपमा अनेमसंघको भक्तपुर जिल्ला सचिव भएँ ।
२०५० सालको माघमा हुन पर्छ हाम्रो घरमा एकताकेन्द्र पार्टीको १० दिने केन्द्रिय समितिको बैठक भएको थियो । सोही बैठकले पार्टी दुइ भागमा विभाजन भयो । क.किरण,क.प्रचण्ड क.बाबुराम,क.सिपी जनयुद्ध गरी देशमा वर्गीय मुक्ति गर्न सर्वहारा वर्गको राज्यसत्ता स्थापना गर्न अब जनविद्रोह हुँदै जनयुद्ध गर्नुपर्छ भन्ने निर्णय लिए । २०५० साल फागुन ७ गते जनकपुरमा उद्घाटन कार्यक्रम गरी प्रचण्डको नेतृत्वमा छुट्टै पार्टी नेकपा माओवादी घोषणा गरी भूमिगत भयो भने क.निर्मल लामाका समुह क.प्रकाशहरुको शहर केन्द्रित पार्टी बन्यो । त्यतिबेला उद्घाटन कार्यक्रममा चाइनिज सेनाहरुको जस्तै हरियो ड्रेसमा मार्चपास गर्न म पनि जनकपुर पुगेको थिएँ ।
माओवादी भूमिगत भएपछि २÷३ वर्ष ठूला नेताहरु,कार्यक्रमहरु बारेमा त्यति धेरै जानकारी पाउन सकिन । २०५६,२०५७ सालमा केहिलेकाहीँ नेताहरु अर्कै,भेषमा घरमा आउनुहुन्थ्यो । दाह्री पालेका ,दौरा सुरुवाल लगाएका नेताहरु हाम्रो घरमा आउनु हुन्थ्यो । मैले कोही पनि चिन्दैनथेँ ।दाजुहरुले पनि भन्नु हुँदैनथ्यो । म ठूली भैसकेको थिएँ,सानो बेलामा जस्तै सोध्दैनथें । मैले २०५२ सालबाट बोर्डिङ स्कूल पढाउन थालें । मेरा दुइ जना दाजुहरु जागिर खान्थे । कान्छो दाजु मात्र सक्रिय राजनीति गर्नु हुन्थ्यो । २०५७ पुषदेखि म बुद्धिजीवि संगठनको सदस्य भएँ । स्कूल विदा भएको बेलामा म विभिन्न कार्यक्रमहरुमा भाग लिने गर्दथें । मलाइ बुद्धिजीवि संगठनमा सक्रिय गराउन मेरी सानीमाकी छोरी ज्वाइँको ठूलो भूमिका छ । ज्वाइँ प्यूठानको कृष्ण केसीको दाजुभाइ हो,ज्वाइँको घरमा माओवादी नेताहरु आइ बस्नु हुन्थ्यो । उहाँ मार्फत वि.सं २०५७ बाट भूमिगत रुपमा बुद्धिजीवि संगठनको सदस्य हुँदै काम गर्दै गएँ ।
हामीले जनयुद्धमा लागेका साथीहरुलाई हाम्रो घरमा आउँदा प्रशासनबाट लुकाउने ,बासको व्यवस्था मिलाउने र संरक्षण गर्ने काम गर्दथ्यौं । उपत्यकाका चौकीहरु साँखु ,थानकोट,दधिकोटमा एकै समय आक्रमण हुँदा पनि राति हाम्रै घरमा बास बसी जानु भएको थियो ।
२०५८ सालबाट अखिल नेपाल शिक्षक संगठनको पनि विस्तार हुन थाल्यो । म भक्तपुर जिल्ला सदस्य भएर काम गर्दै गए । उता म नेमकिपा पार्टीको सदस्यले संचालन गरेको वोर्डिङ स्कुलमा पढाउँथे । यता माओवादी पार्टीको अखिल नेपाल शिक्षक संगठनमा बसेको भनेर स्कूलमा वादविवाद हुने गर्दथ्यो । उनीहरुले अप्रत्यक्ष रुपमा छोड्न भन्थे । विद्यार्थीहरु र अविभावकहरुको जोडले गर्दा व्यवस्थापन समितिसँग वाद विवाद गर्दै २÷३ वर्ष पढाएर बसेँ ।
०६१÷०६२ सालको जनआन्दोलन पछि शिक्षक संगठन व्यापक विस्तार गर्न भनी मलाई संगठनको पूर्णकालीन बन्नु पर्ने निर्णय भयो । म महिला पूर्णकालीन शिक्षक भएर संगठन विस्तार गर्नमा लागेँ । २०६३ पछि म भक्तपुर जिल्ला पार्टीको जिल्ला सदस्य भएर पनि काम गरेँ । २०६५ सालमा ४५० शिक्षकको उपस्थिति गराइ जिल्ला भेला सम्पन्न गरी जिल्लाको अनेशिसंको जिल्ला सचिव भएँ र दुइ वर्ष काम गरेँ । त्यति बेला पूर्णकालीन शिक्षक भएर २०६६ साल सम्म काम गरे । पूर्णकालीन भएर शिक्षक संगठनको काम गर्दा आर्थिक व्यस्थापनकोलागि मैले आफ्नो मेहनतले जोडेको सुनका गहनाहरु पनि बेच्नु प¥यो । वि.सं २०६२ माघ २५ गतेबाट पूर्णकालीन शिक्षक रुपमा अनेशिसंको केन्द्रीय समितिले निर्णय गरेको थियो । पूर्णकालीन सदस्यको रुपमा केही रकम दिने निर्णय पनि भएको थियो तर कहिले पनि लिइन । पूर्णकालीन शिक्षकको रुपमा काम गर्दा मैले भक्तपुर जिल्लाका सरकारी अर्थात सामुदायिक विद्यालयमा प्रावि,निमावि र मावि गरी लगभग १२५ भन्दा बढि विद्यालयमा सदस्यता वितरण गरी संगठन विस्तार गर्ने काममा लागें । यसरी २०६२ –६३ को जनआन्दोलन पछि २०६३ सालको शान्ति सझौता पछि भक्तपुर जिल्लामा शिक्षक संगठनलाई सशक्त रुपमा अगाडि बढाउने काम भयो ।
संगठनमा पूर्णकालीन भएर काम गर्न संगठनले आर्थिक व्यवस्थापन गर्न नसकेपछि २०६७ असार २१ गते नियुक्ति भएर सरकारी स्कूलमा काम गर्न थालेँ । म निरन्तर पार्टी, जवस मोर्चाहरु शिक्षक संगठन,नेवा राष्ट्रिय मुक्ति मोर्चा नेपाल, अनेमसंघमा जोडिएर काम गर्न थालेँ । २०६४ सालको संविधान सभाको निर्वाचनमा पार्टीका उम्मेदवारहरुलाई जिताउन निकै खटेको थिएँ ।
२०६४ को संसविधान सभा निर्वाचनमा नेकपा माओवादी पार्टी देशको पहिलो पार्टी बन्यो । तर पनि पहिलो संविधान सभाले संविधान दिन सकेन । संविधान दिननसके पछि २०७० सालमा दोस्रो संविधान सभा गठन भयो । दोस्रो संविधान सभाले संविधान दियो । संविधानमा महिलाका केही अधिकारहरु समावेश गरिएका छन् । म निरन्तर रुपमा राजनीतिमा सक्रिय भइरहें । २०७५ सालमा जागिर छोडेदेखि आजको मितिसम्म म पूर्णकालीन जस्तै पार्टी र जबस मोर्चामा रहँदै काम गर्दै आएको छु । हरेक कार्यक्रमहरुमा सहभागी हुँदै आएको छु । पार्टीले आयोजना गरेका आन्दोलन संघर्षका कार्यक्रमहरु राष्ट्रियताको पक्षमा होस या जनतन्त्र र जनजीविकाको पक्षमा शुरु गरेको आन्दोलन होस जुन सुकै आन्दोलनहरुमा सहभागी हुँदै आएको छु । आन्दोलनहरुमा सहभागी हुँदा देश,समाज तथा जनताकोलागि केही न केही काम गर्न सकेको छु भन्ने लाग्छ ।
देशमा कैयौं राजनीतिक परिवर्तनहरु भयो तर पनि जनताले मौलिक अधिकार समेत प्राप्त गर्न सकेका छैनन् । देशमा स्वाधिन सरकारको निर्माण गर्न, समानता र न्यायको निम्ति निरन्तर संघर्ष गरी सर्वहारा वर्गको जनवादी व्यवस्था ल्याउन नेपाली जनताले निरन्तर संघर्ष गरिरहनु पर्छ ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित