म कसरी कम्युनिस्ट भएँ ?

. फिडेल क्यास्त्रो

म एउटा जमिनदारको छोरा थिएँ— जुन एउटा कारण मात्रले पनि म सजिलै प्रतिक्रियावादी बन्न सक्थेँ।

मैले धार्मिक विद्यालयमा अध्ययन गरेँ, जहाँ मेरा सहपाठीहरू सबै सम्पन्न परिवारका छोराछोरी थिए— यो पनि अर्को एउटा कारण हुन सक्थ्यो, जसले मलाई सहजै प्रतिक्रियावादी बनाउन सक्थ्यो।

म क्युबामा बस्थेँ, जहाँ सबै संस्था, चलचित्र, प्रकाशन र सञ्चारमाध्यमहरू ‘मेड इन यूएसए’ थिए— यो तेस्रो कारण हुन सक्थ्यो, जसले मलाई स्वाभाविक रूपमा प्रतिक्रियावादी बनाउन सक्थ्यो।

मैले अध्ययन गरेको विश्वविद्यालयमा १५ हजार विद्यार्थीमध्ये केवल ३० जना साम्राज्यवादविरोधी थिए। र ती ३० जनामध्ये पनि म सबैभन्दा अन्तिमतिर थिएँ। जब म विश्वविद्यालयमा प्रवेश गरेँ, म जमिनदारको छोरा थिएँ र राजनीतिक रूपमा निरक्षर पनि थिएँ।

विश्वास गर्नुहोस्, कुनै पार्टी सदस्य, कुनै कम्युनिस्ट, कुनै समाजवादी वा कुनै अतिवामपन्थी आएर मेरो हात समातेको थिएन। मलाई प्रभाव पार्ने कुनै प्रयास पनि कसैले गरेको थिएन।

बरु, मलाई एउटा मोटो, भारी, असह्य र अपठनीय पाठ्यपुस्तक दिइएको थियो— जसमा बुर्जुवा दृष्टिकोणबाट राजनीतिक अर्थशास्त्रको व्याख्या गर्ने प्रयास गरिएको थियो। उनीहरू त्यसैलाई ‘राजनीतिक अर्थशास्त्र’ भन्थे  !

त्यो  पुस्तकमा अति–उत्पादनको संकटलगायत अन्य समस्याहरूको चर्चा गरिएको थियो, जुन संसारमा सबैभन्दा स्वाभाविक कुरा जस्तो देखाइन्थ्यो। उदाहरणका लागि, बेलायतमा कोइलाको प्रचुरता हुँदा कसरी इतिहासका अटल, अपरिवर्तनीय र निर्मम नियमहरूले बेरोजगारी र भोकमरी निम्त्याउँछन् भन्ने व्याख्या गरिएको थियो। जब कोइला प्रशस्त हुन्छ, त्यतिबेला मजदुरहरूको ज्याला उही ठाउँमा स्थिर रहन्छ:अनि भोकमरी र भोकले हुने मृत्यु देखा पर्छ।

त्यसैले, जमिनदारको छोरा, बुर्जुवाहरूको विद्यालयमा पढेको र याङ्की प्रचारबाट हुर्किएको त्यो युवकले सोच्न थाल्यो— यो व्यवस्थामा केही न केही गलत अवश्य छ।

मेरा बुबा गरिब परिवारबाट उठेर पछि जमिनदार बन्नुभएको थियो। उहाँको छोरा भएका कारण मैले कम्तीमा गाउँका किसानहरूसँग बस्ने अवसर पाएँ, र ती सबै मेरा साथीहरू थिए।

यदि मेरा हजुरबुबा नै जमिनदार हुनुहुन्थ्यो भने, मेरा बुबाले मलाई पक्कै राजधानीमा लैजानुहुन्थ्यो। त्यस अवस्थामा यी सकारात्मक प्रभावहरूले मलाई प्रभाव पार्ने अवसर पाउने थिएनन्। बरु, सहरी आत्मकेन्द्रितता, अहंकार र अन्य नकारात्मक पक्षहरूले सुरुदेखि नै मलाई आफ्नो प्रभावमा पार्ने थिए।

मैले पढेका विद्यालयहरूबाट पनि केही सकारात्मक तत्वहरू मभित्र विकसित भएका थिए। विवेकपूर्ण आदर्शबोध, के राम्रो र के नराम्रो भन्ने छुट्याउने क्षमता, न्याय र अन्यायबीचको भिन्नता बुझ्ने क्षमता तथा शोषणविरुद्ध विद्रोह गर्ने मानसिकताले मलाई मानव समाजलाई बुझ्ने दिशातर्फ प्रभावित गर्‍यो।

यसले मलाई त्यस्तो ठाउँमा पुर्‍यायो, जुन कुरा पछि मैले बुझेँ— त्यो एक प्रकारको काल्पनिक कम्युनिज्म थियो। त्यतिबेला मलाई कुनै कम्युनिस्ट वा कुनै कम्युनिस्ट दस्तावेज पढ्ने अवसर प्राप्त भएको थिएन।

पछि एक दिन मेरो हातमा ‘कम्युनिस्ट घोषणापत्र’को एउटा प्रति आयो— प्रसिद्ध ‘कम्युनिस्ट घोषणापत्र’! मैले त्यसलाई निकै ध्यान दिएर पढेँ, जुन कुरा म कहिल्यै बिर्सने छैन।

कस्ता अद्भुत शब्दहरू! कति अकाट्य सत्यहरू ! र हामी ती सत्यहरूलाई हरेक दिन आफ्नै आँखाले देखिरहेका थियौँ।

मलाई लाग्यो, म जंगलको त्यो सानो जनावरजस्तै रहेछु, जसलाई आफ्नो वरिपरिको संसारबारे केही पनि थाहा छैन। अनि एक दिन अचानक उसले त्यही जंगलको नक्सा फेला पार्छ— त्यसको विवरण, त्यसको भूगोल, सबै कुरा।

एकपटक सोच्नुहोस् त— यदि मार्क्सको विचारधारा न्यायपूर्ण, सही र प्रेरणादायी नभएको भए, यदि हाम्रो संघर्षको आधार मार्क्सवाद नभएको भए, हामी यहाँसम्म आइपुग्न सक्थ्यौँ र ?

हामी यहाँसम्म आइपुग्न सक्ने थिएनौँ।

त्यसपछि के म कम्युनिस्ट भएँ ?

होइन। म ती भाग्यमानी मानिसहरूमध्ये एक हुँ, जसले पूर्ण रूपमा कम्युनिस्ट बन्नुअघि नै एउटा राजनीतिक सिद्धान्त पत्ता लगाउन सफल भयो। त्यतिबेला म क्युबाको राजनीतिक संकटको तीव्र भुमरीमा घुमिरहेको थिएँ।

त्यसपछि मैले आफूलाई निरन्तर विकसित गर्दै गएँ।

लेनिनका पुस्तकहरूबाट भन्दा पनि अझ ठोस रूपमा साम्राज्यवादलाई बुझ्ने अवसर मलाई प्राप्त भयो। मैले साम्राज्यवादलाई सबैभन्दा घृणित र सबैभन्दा आक्रामक रूपमा देखेँ, बुझेँ। र मलाई विश्वास छ— जीवनले मलाई वास्तविकतालाई बुझ्ने अझ गहिरो दृष्टिकोण प्रदान गर्‍यो।

जीवनले नै मलाई अझ बढी क्रान्तिकारी, अझ बढी समाजवादी र अझ बढी कम्युनिस्ट बनाउँदै लग्यो।

(सन् १९७१ नोभेम्बर १८ मा चिलीको कन्सेप्सियन विश्वविद्यालयका विद्यार्थीहरूको प्रश्नको जवाफ दिँदै फिदेल कास्त्रोले ‘म कसरी कम्युनिस्ट भएँ’ भन्ने विषयमा आफ्नो धारणा व्यक्त गरेका थिए।)

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित