दीपक के.सी.ः मेरो आदर्श व्यक्तित्व

धनेश्वर पोख्रेल

प्रारम्भः
कहाँबाट सुरु गरौं, मेरो सम्मानित व्यक्तित्व दीपक के.सी.ज्यू बारेमा लेख्न? यतिबेला मेरा हातहरु कामी रहेका छन्। एउटा आदर्श पुरुषको मृत्युको खबरले म यतिबेला शोकमग्न छु । भावविह्ल भएको छु । हामी भर्खरैसम्म साथै थियौं, भौतिक रुपमा पनि र सम्पर्क सम्बन्धको हिसावले पनि । काठमाडौं वा प्यूठान जहाँ रहे पनि हामी बीचको सम्बन्ध–सम्पर्क दैनिक भइरहन्थ्यो । अहिले त्यो सम्बन्म्ध केवल भावनामा सीमित भयो । दीपक सरले हामीलाई छोडेर जानुभयो । मृत्युले श्रावण२५ गते पनि पर्खेन । हामी चाहान्थ्यौं उहाँको स्वास्थ्यमा सुधार आउनेछ र अझै केही वर्ष हाम्रो साथमा रहनुहुनेछ । उहाँसँग अझै हामी सहकार्य गर्दै जानेछौं । पारिवारिक रुपमा होस वा वैचारिक रुपमा हामीले उहाँको अभिभावकत्व पाइरहनेछौं । भौतिकरुपमा क्रियाशील हुन नसके तापनि वैचारिकरुपमा उहाँ एक उदाहरणीय अथक यात्री हुनुहुन्थ्यो दीपक सर ।

यही असार २६ गते विहान इच्छुक सांस्कृतिक प्रतिष्ठानको टिम विशेष कार्यक्रमका लागि चितवन जाँदै थियो । त्यो टिममा म पनि परेको थिएँ । दीपक सर सानो दुर्घटनाका कारण विरामी भएर उपचारको लागि अघिल्लो दिन २५ गते भैरहवाबाट प्लेनमा लिएर नख्खुस्थित मेडिसिटी अस्पतालमा भर्ना गरेको जानकारी साँझ मात्र पारिवारिक स्रोतबाट जानकारी पायौं । रातको समय भेट्न जाने अनुकूल मिलेन । अर्कोदिन विहानै चितवन जाने तयारीका साथ उहाँकी कान्छी बुहारी पूर्णिमा सहित म्याडम हामी टेक्सी लिएर अस्पताल पुग्यौं । अघिल्लो दिन अलि असजिलो जस्तो भए पनि त्यसदिन उहाँको मुहार उज्यालो देख्यौं । त्यहाँ त्यसबेला उहाँको माहिलो ज्वाई विश्वबन्धु र छोरा कृष्ण हुनुहुन्थ्यो । हामी त्यहाँ करिब एकघण्टा बसेर उहाँको स्वास्थ्य अवस्थाबारे सोधपुछ ग¥यौं । समसामयिक विषयमा छलफल ग¥यौं । कुराकानीको सन्दर्भमा अलि अलि हाँसो पनि भयो । त्यतिबेला उहाँ फ्रेस देखिनु हुन्थ्यो । अस्पतालमा चेकजाँचको क्रम जारी थियो । करिव एक घण्टाको भेटघाट पछि म आफ्नो गन्तव्य तर्फ लागें । उहाँ उपचारको काम नसकिउन्जेल काठमाडौं मै बस्ने कुराकानी भएकोले फर्केर आउपछि फेरि भेट हुने बाचाका साथ म विदाईका हात मिलाएर छुट्टिएको थिएँ । ‘म अहिले जान्छु सर फर्केपछि भेट होला है’ भनिरहँदा उहाँले मलिन अनुहार लगाएर ‘बाँचे भेट हौला कर’ भन्नु भएको थियो । यो शब्दले म चितवननपुग्दासम्म मेरो मानसपटलमा चस्चसी घोंचिरह्यो । चितवन पुगेर पनि मैले उहाँको स्वास्थ्य स्थितिबारे बेलाबखत जानकारी लिइराखें र आवश्यक सुझाव पनि परिवारका सदस्यलाई दिइराखें ।

म चितवनको कार्यक्रम सकेर नेपालगन्ज हुँदै आषाढ ३१ गते प्यूठान पुगें । श्रावण३ गते छोरा कृष्णले उहाँलाई प्यूठान लैजानु भएछ त्यो थाहा पाएर ४ गते नै ४ नं. व्यूरो सचिव एवं प्यूठान जिल्लाका क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता एवं स्थानीय पार्टी केन्द्रीय सदस्य टिकाराम पौडेल सहित हामी उहाँलाई भेट्न घरमा पुग्यौं । घरमा विहानभरी बसेर गफगाफ ग¥यौं, उहाँलाई हरेक कोणबाट ढाडस दियौं, मनोबल बढाउने छलफलहरु भए । उहाँमा खासै शारीरिक पींडा भएको, छटपटाहट भएको त्यस्तो गम्भीर स्थिति हामीले केही पाएनौं । उहाँले त्यो पीडा हामीसँग नबताउनु भएको हो वा नभएको हो थाहा भएन । मत्र उहाँको चिन्ता ‘खाना रुच्दैन’ भन्ने थियो । हामीले सहज ढंगले विस्तारै ठिक हुन्छ नआत्तिनुस् केही हुँदैन भनेर सम्झाउने ग¥यौं ।

खाना खाएको एकछिनपछि हामी त्यहाँबाट उहाँसँग हात मिलाएर छुट्टियौं । हामी कौसीबाट आँगनमा झर्दा हामीतिर हेर्दै उहाँले पहिलेको कुरा दोहोराउनु भयो ‘बाँचे फेरि भेटौंला’ मलाई फेरि पनि त्यो शब्दले घोचिरह्यो । उहाँलाई भित्रैदेखि अब बाँचिन्न क्या हो ? भन्ने लागेको रहेछ । उहाँको मनोबल कमजोर हुँदै गएको रहेछ भन्ने लाग्यो । यो कुरा बुझेर मैले टिकाराम जीलाई उहाँको बारेमा विशेष ध्यान दिन सल्लाह दिएँ र भेटघाटको लागि सबै साथीहरुलाई खबर गर्न अनुरोध गरें । बाग्दुलाबाट क. टिका र म छुट्टियौं पनि । अर्कोदिन म काठमाडौंतिर लागें ।

काठमाडौं आएको केही दिनपछि पार्टीका पूर्व महासचिव दाजु मोहन वैद्यसँग म प्यूठान पुगेर फर्केको जानकारी गराउँदै गर्दा उहाँले ‘दीपकजीको अवस्था केछ, कहाँ हुुनुहुन्छ ? भनेर सोध्नुभयो । मैले प्यूठानघरमै हुनुहुन्छ । स्थिति सामान्य छ, चिन्ता गर्नुपर्दैन भनेर जानकारी गराएको थिएँ । उहाँले ‘फेसबुकमा भएपनि भेटेर कुरा गर्ने वातावरण मिलाउनु प¥यो’ भन्नुभयो । मैले साउन १७÷१८ गतेतिर छोरी नानी लता र बुहारी नानी पूर्णिमाको सहयोगमा त्यो वातावरण मिलाएर उहाँहरु बीच ‘फेस टु फेस’ कुरा गर्ने एक अर्काको स्थिति बुझ्ने काम भयो । त्यतिबेला उहाँ सायद खुशीले होला उज्यालो देखिनुहुन्थ्यो । त्यो एउटा उहाँहरु दुवैको निम्ति सुनौलो घडी थियो । दुवै एक अर्कामा सन्तुष्ट देखिनुहुन्थ्यो । त्यो वातावरण मिलाउन सकेकोमा म पनि खुशी थिएँ ।

दुःखद खबरः
साउन २४ गते । साँझ झमक्क परिसकेको थियो । पानी सिमसिम परेको थियो । सडकमा गाडी गुडेको आवाज कम भैसकेको थियो । पसलहरु बन्द हुँदै थिएि । एकछिन अघिदेखि सडकमा मानिसको ओहोरदोहोर पनि विस्तारै हराउँदै थियो । हामी पनि खाना खाएर किचनमै बसिरहेका थियौं । हवाइजहाज हामी माथिको आकाशमा ओहोर दोहोर गर्दै थियो एकाएक पूर्णिमाको फोन आयो तल्लो तलबाट ‘सर एकछिन तल झर्नुस्’ मलाई चिसो पस्यो । कतै…… (म हतार पतार गर्दै तल झरें । बाबुहरुभित्र कोठामा मोबाइल हेर्दै थिए । पूर्णिमा बाहिर कोठामा हुनुहुन्थ्यो । म सँगै म्याडम पनि झरिन । म बाहिरबाट भित्र पस्ने बित्तिकै पूर्णिमाले ‘सर बुबा त बित्नुभएछ’ भन्दै रोएर सोफामै पल्टिनु भयो । म अवाक भएँ । केही बोल्नै सकिन । एकाएक छाँगाबाट खसे जस्तो भयो । के यो कुरा साँचो हो त ? मलाई पत्याउन अलि गाह्रो भयो । एकछिन कोठामा शोकको मौनता छायो । कोही बोलेनौं । नपत्याउँ उहाँको अवस्था गिर्दै गएको थियो । हुन पनि सक्छ भन्ने लाग्यो, पत्याउँ अस्ति भर्खर त्यति कुराकानी भएको छ, आजै त्यो घटना कसरी घट्यो भन्ने लाग्यो । जे जसो भएपनि प्रकृतिको सास्वत नियमलाई नपत्याई सुखै भएन । एकछिनको मौनतालाई त्यसपछि बारम्बार आउने फोनका घण्टीहरुले तोडी दिए । त्यसपछि अब के गर्ने ? भन्ने बारे सरसल्लाह शुरु भयो । अन्तमा उहाँका छोरी ज्वाईहरु र पूर्णिमा बीच गाडी बनाएर गै हाल्ने, यहाँ धेरै समय खर्च नगर्ने टुंगो लागेपछि त्यसकै तयारीमा लाग्ने काम भयो। करिव १२ बजे उहाँहरु गाडी लिएर आउनुभयो र तुरुन्तै घरतर्फ लाग्नुभयो ।

उहाँहरुलाई विदाई गरेर वावुहरुलाई सुत्न लगाएर हामी पनि कोठातर्फ उक्लियौं । रातको साढे एक बज्दै थियो । सिमसिम पानी रोकिएको थियो । तैपनि आकाश गम्म बादलले ढाकिएको थियो । चिन्ताले पटक्कै निन्द्रा लागेन । करिव साढे दुई बजे बल्ल आँखाले विश्राम लिए ।

दीपक के.सी. सरको संक्षिप्त जीवनी ः
दीपक सर प्यूठान कम्युनिस्ट आन्दोलनको एक अथक योद्दा हुनुहुन्थ्यो । उहाँले सर्वहारा वर्गको मुक्तिका खातिर आफ्नो जीवन कालभर माक्र्सवाद–लेनिनवाद–माओवादको मार्गनिर्देशक सिद्धान्तलाई आत्मसाथ गरी निरन्तर कम्युनिस्ट आन्दोलनमा लाग्नुभयो । नेपालको कम्युनिस्ट आन्दोलनमा देखिएका विभिन्न किसिमका अन्तरविरोधहरु, गुटउपगुटहरुमा उहाँ सधै क्रान्तिकारी धारमा उभिएर देश र जनताको मुक्तिका खातिर सर्वहारावर्गको झण्डालाई सधै उचो बचाई राख्नु मात्र भएन पार्टीभित्र देखिएका दक्षिणपन्थी संशोधनवाद तथा विभिन्न खाले अवसरवादका विरुद्ध खरो ढंगले उभिनुभयो । उहाँमा कहिल्यै लोभ, प्रलोभन, पद, प्रतिष्ठा र सत्ता मोहको महत्वकांक्षा जागेन । उहाँ २०२३ सालमा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेदेखि निरन्तर सर्वहारावर्ग, पार्टी र क्रान्तिप्रति दृढ बफादार रही जीवनको अन्तिम घडीसम्म आफूलाई न्याय र स्वतन्त्रताको पक्षमा सतिसालको रुपमा उभ्याइरहनु भयो ।

उहाँको जन्म साविकको मरन्ठाना गाविस ४ र हालको प्यूठान नगरपालिका १० मरन्ठानाको टाकुरामा बाबु डोरबहादुर के.सी. र आमा गोपनकुमारी के.सीको कोखबाट १९९८ साल श्रावण २५ गते भएको हो । बाबु आमाका तीन भाइ छोराहरु मध्ये उहाँ सबैभन्दा कान्छो छोरा हुनुहुन्थ्यो । कान्छो हुनुका नाताले उहाँ बाबुआमा र दाजुहरुबाट पुलपुलाई हुर्कनु भयो । उहाँकै भनाई अनुसार उहाँ कहिल्यै घरको कामकाज, खेतीपाती र घर व्यवहारमा अल्झिनु भएन ।
उहाँले २०३३ साल मंसिरको अन्तिम सातामा तात्कालिन खैरा गाविस ९ निवासी नरेन्द्र बस्नेतकी जेठी छोरी भवानी बस्नेतसँग विवाह गर्नुभयो । त्यतिबेला उहाँको उमेर ३५ वर्ष थियो भने भवानी १५ वर्षको हुनुहुन्थ्यो ।

शिक्षा उहाँले १६ वर्षको उमेरमा ७ कक्षामा भर्ना भएर जनता मावि बाग्दुलाबाट २०२०/२१ मा एस.एल.सी. पास गरी बनारसबाट आइ.ए.पास. र वि.ए सम्मको अध्ययन गर्नुभएको थियो ।

पार्टी जीवन ः
२०२३ सालमा उहाँले मोहनविक्रम सिंहबाट पार्टी सदस्यता प्राप्त गर्नु भएको थियो । पार्टी सदस्यता प्राप्त गरिसकेपछि मोहन विक्रम सिंह उहाँलाई पार्टी संगठन विस्तारको निम्ति २०२४ सालमा रोल्पाको थवाङमा शिक्षक बनाएर पठाएका थिए । उहाँले त्यतिबेला प्यूठान लुङ गापा. लुङ निमाविमा भर्खरै पढाउन थाल्नुभएको थियो । थवाङ गएर उहाँले पार्टी संगठन विस्तार गर्ने काममा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभयो । २०२७÷२८ सालमा प्यूठान फर्केर प्यूठानको पार्टीमा आबद्ध भई संगठनको विभिन्न भूमिकामा रहेर काम गर्नुभयो । पार्टीमा आबद्ध भएपछि एरिया, जिल्ला सदस्य, जिल्ला सचिव, क्षेत्रीय सदस्य, केन्द्रीय सदस्य हुँदै हाल उहाँ क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालको केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो । पंचायतकालमा उहाँ २०३४ असार ४ गते नेकपा चौमको नामबाट देशव्यापी रुपमा गरिएको पंचायत विरोधी पर्चाकाण्डबाट भूमिगत भई २०३६ सम्म भूमिगत भएर काम गर्नुभयो । पछि खुल्ला भैसकेपछि पनि उहाँ पार्टी काममै निरन्तर लागिरहनुभयो । उहाँ जनयुद्धकालमा शुरुदेखि नै भूमिगत भएर काम गर्नुभयो । जनयुद्धमा पछिल्ला २ छोरी र विदेश गएका जेठो छोरा बाहेक सम्पूर्ण परिवार होमिएको थियो । (२०५३ देखि २०६३सम्म) उहाँ युद्धकालमा प्यूठान जिल्लाको जनसरकार प्रमुख पनि हुनुभयो ।

दीपक सरले रोल्पा थवाङदेखि प्यूठानको लुङ, बाग्दुला, मरन्ठाना लगायतका विद्यालयहरुमा गरी २४÷२५ वर्ष अस्थायी रुपमा अध्यापन गर्नुभयो । त्यतिबेला पंचायतकालमा व्यवस्था विरोधी भनि राज्यले कहिल्यै स्थायी हुन दिएन । बरु पटकपटक जागिर खोस्ने काम ग¥यो । हाइस्कूलमा पढ्दा उहाँ एक कुशल भलिबल खेलाडी हुनुहुन्थ्यो ।
उहाँलाई युद्धकालमा गिरफ्तार गरी करिव एकमहिना प्रहरी हिरासतमा राखिएको थियो । पछि प्यूठानका अगुवा नागरिकको दबाबका कारण हिरासत मुक्त हुनुभएको थियो । शान्ति प्रक्रियामा आएपछि उहाँ पहिलो संविधानसभा निर्वाचनमा २ नं. क्षेत्रबाट विजयी भई संविधानसभा सदस्य बन्नुभएको थियो ।
उहाँको परिवारमा २ छोरा, ५ छोरी र १५ नातीनातिना छन् ।

दीपक के.सी. स्वभाविका दृष्टिले अत्यन्त सालिन र गम्भीर स्वभावको हुुनुहुन्थ्यो । उहाँ अध्ययनमा असाध्यै रुचि राख्नुहुन्थ्यो । उहाँमा विचार, राजनीति, सिद्धान्त र दर्शनका विषयमा गहिरो अध्ययन थियो । उहाँ जुनसुकै पार्टीको भए पनि राजनैतिक व्यक्तित्वहरुसँग वैचारिक छलफल गर्न निकै रुचाउनुहुन्थ्यो । र उहाँका तर्कसंगत कुराहरु जो कोहीले काट्न सक्दैनथ्यो । राजनैतिक दृढता र प्रतिबद्धताका कारण उहाँले जिल्लामा छुट्टै आफ्नो पहिचान दिनुभएको थियो । सबैसँग मिल्न सक्ने क्षमता उहाँमा थियो ।

उहाँको जीवन संगिनी भवानी म्याडम अत्यन्त भद्र महिला हुनुहुन्थ्यो । उहाँ प्रा.वि. तहको स्थायी शिक्षिका हुनुहुन्थ्यो । उहाँले खैरा, मरन्ठानाका विभिन्न विद्यालयमा अध्यापन गर्नुभयो । विद्यालयबाट निवृत्त भइसकेपछि उहाँ जनयुद्धकालमा भूमिगत भएर महिला र शिक्षक संगठनमा महत्वपूर्ण भूमिका निभाउनु भयो । उहाँ शिक्षक संगठनको केन्द्रीय उपाध्यक्ष समेत भएर संगठनमा राम्रो योगदान दिनुभयो ।

संगठनमा काम गर्दै गर्दा पारिवारिक व्यवस्थापनको चाँप र यता आफ्नो सांगठिक जिम्मेवारीको चाँपले धेरै जोखिमपूर्ण अवस्थामा पनि निकै दौडधुप गर्नुभयो । जसको कारण उहाँ विरामी पर्नुभयो । उपचारपछि पुनः काममा खट्दै गर्दा २०६५/६६ देखि क्यान्सर जस्तो घातक रोगले सतायो । उहाँको उच्च मनोबलले ४/५ वर्ष त उमेर लम्बाउन सक्नुभयो अन्तमा क्यान्सरले नै उहाँको जीवन वर्वाद ग¥यो ।
भवानी म्याडमले दीपक सरलाई हरेक कुरामा निकै सघाउनुभयो । कहिल्यै पारिवारिक बोझ र आर्थिक झमेलामा फसाउनु भएन । करिब आधा दर्जन केटाकेटीको स्याहार सुसार, पठन पाठन, स्वास्थ्यदेखि लिएर सामाजिक काममा समेत उहाँको पहलकदमी राम्रो थियो । क्यान्सर रोगका कारण उहाँ जीवन अल्पायुमै समाप्त भयो । अलविदा दीपक सर ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित