विष्णु ज्ञवाली
थालनी
यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार कवितासङ्ग्रह कवि अनिल श्रेष्ठको सातौँ कवितासङ्ग्रह हो । कृतिप्रकाशनका हिसाबले २०५० सालमा प्रजातन्त्र र पागल कथासङ्ग्रहबाट नेपाली साहित्यमा उदाएका अनि निबन्धका क्षेत्रमा पनि पकड जमाएका अनिल श्रेष्ठ सशक्त कविका रूपमा स्थापित छन् । यस अघि उनका राष्ट्रले शोकधुन बजाएको छ (२०५१), मृत्युपर्व होइन मेरो देश (२०५५), आरु फुलेको साँझ (२०६३), मफलर युद्ध (२०६९), प्रतिनिधि कविता (२०७३) र मध्यरातमा मुर्कट्टा (२०७८) गरी छ ओटा कवितासङ्ग्रह प्रकाशित भइसकेका छन् । अनिल श्रेष्ठका कविताहरू प्रगतिवादी सौन्दर्यचेतका कारण शक्तिशाली बनेका छन् अनि शोषित वर्गप्रतिको पक्षधरता, समाजरूपान्तरणको चाह, अन्यायका विरुद्धको विद्रोहचेत र आशावादी जीवनदृष्टि उनका कविताहरूको मूल स्वर हो । यस कवितासङ्ग्रहमा रहेका ६७ ओटा कविताहरू पनि समकालीन युगचेतसहित तिनै प्रवृत्तिहरूको उन्नत कलासौन्दर्यबाट परिपोषित देखिन्छन् । यस लेखमा कवि अनिल श्रेष्ठको यही सङ्ग्रहभित्रका कवितामा रहेको अन्तर्वस्तुको विवेचना गरिएको छ ।
शीर्षकमै समग्र कविताको निचोड
अनिल श्रेष्ठको यस कवितासङ्ग्रहको शीर्षक नै छोटो कविता जस्तो छ । वाक्यात्मक पूर्णता सहित आएको यस शीर्षकमै कवितासङ्ग्रहभित्रका समग्र कविताको निचोड देख्न सकिन्छ । शीर्षकको पठनपश्चात् नै नेपालमा चलिरहेको राज्यसत्ताका विरुद्धमा अनिल श्रेष्ठका कविताहरूले आगो ओकलिरहेछन् भन्ने कुरो प्रस्ट हुन्छ । यस सङ्ग्रहको शीर्षक नै छ — यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार । मुर्दाघर अर्थात् मुर्दाहरूको घर । मुर्दाघर अर्थात् रत्तिभर मानवता नभएका नृशंसहरूको थलो । मुर्दाघर अर्थात् मान्छेलाई छलेर, तर्साएर, डर देखाएर आतङ्कित तुल्याउँदै आततायी सत्ता चलाउने मुख्य केन्द्र । कविले शोषण, अत्याचार, दमनको त्यही केन्द्रमाथि प्रहार गरेका छन् र मुक्तिकामी उन्नत वैचारिकीबाट निरन्तर प्रशिक्षित गर्दै उत्पीडनमा पिल्सिएका आधारभूत मान्छेका पक्षमा आफूलाई उभ्याएका छन् । सोही अनुरूप उनका कविताहरूमा राज्यसत्ताको कुकृत्यको सशक्त प्रतिवादका साथै पुँजीवादी चङ्गुल र साम्राज्यवादको विरोध, पर्यावरणीय चेतना र क्रान्तिकारी आशावादसहितको सुन्दर कवित्व देख्न सकिन्छ ।
उत्पीडक सत्ताको विरोध
कवि अनिल श्रेष्ठको यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार कवितासङ्ग्रहका कवितामा नेपालमा चलिरहेको राज्यसत्ता निरन्तर जनविरोधी, उत्पीडक र शोषणकारी बन्दै गइरहेको तथ्यलाई देखाइएको छ । कविता सङ्ग्रहकै शीर्षक समेत बनाइएको ‘यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार’ कवितामा राज्यसत्ताको केन्द्रका रूपमा रहेको सिंहदरबारलाई दमनको केन्द्रका रूपमा चित्रण गरिएको छ र राज्यसत्ताले जनताको आधारभूत आवश्यकतालाई समेत लुटेर आततायीपन देखाइरहेको सन्दर्भलाई प्रस्तुत गरिएको छ । त्यस्तै ठेलागाडा खोसेर बुढीआमालाई लछारपछार गरिरहेको स्थानीय सरकारका विपक्षमा ‘अश्रुसिक्त घाम’ कविता आएको छ भने दलाल, ठेकेदार र तस्करहरूको कब्जामा देश परेको अनि राज्यसत्तालाई कब्जा गरेर तिनीहरूले मनपरी गरिरहेको अवस्थाको चित्र ‘देश’ कवितामा उतारिएको छ । पानीलाई क्रान्तिकारी जनताको प्रतीकका रूपमा ल्याएर तिनीहरूसँग जिस्किरहेको शासकलाई चुनौती दिँदै उनीहरूको कुशासनको अन्त कुनै पनि बेला हुनसक्ने चेतावनी ‘ओ शासकहरू’ कवितामा दिइएको छ । ‘एक अप्रिय साँझ’ कवितामा सांसद् भवनभित्रको अट्टहासले जनसमाजलाई दिएको दुःखको अभिव्यक्ति देखिन्छ भने सत्तासीनहरूले जनतालाई झुक्याई झुक्याई सताएको र लुटेको सन्दर्भ ‘सन्त्रस्त टोल’ कवितामा आएको छ । कवितासङ्ग्रहभित्रको ‘चियर्स’ कविताले राष्ट्रको लिलामविक्री र लेनदेन गरिरहेका शासकहरूको कुरूप चित्र देखाइदिएको छ । दलालहरूका कारण निरीह जीवन बाँच्न बाध्य भएका नेपाली जनता र त्यो दृश्य देखेर मुस्कुराइरहेको छिमेकी सत्ताको सङ्केत ‘दलिनको घाम’ कविताले गरेको छ अनि आफू चोइटिएर वा घाइते भएर वा दुःख सहेर पनि सभ्यताको जग बनाइरहेका जनताको मर्ममधुर चित्रण कविले ‘ढुङ्गा २’ कवितामा गरेका छन् । ‘दुःस्वप्न’ कविताले नेपालको राष्ट्रिय झण्डा ओढेर नेपालके राष्ट्रिय स्वाभिमानमाथि प्रहार गरिरहेकाहरूको विरोध गरेको छ भने ‘गुलुबको उज्यालो’ कविताले सत्ताकै भजन गाइरहेको भ्रष्ट एवं जनविरोधी न्यायालयको अवस्थालाई प्रस्टसँग देखाइदिएको छ । जतिसुकै कष्ट सहनुपरे पनि मुक्तिकामी सङ्घर्षबाट पछि नहट्ने उद्घोष ‘उपसंहार’ कवितामा देखिन्छ अनि व्यवस्था बदलिएजस्तो देखिए पनि शासकहरूले प्रकारान्तरले जनतालाई पिँजडाभित्र राखेर उनकै भाषा बोल्न बाध्य पारिरहेको वर्तमान राजनीतिक स्थितिलाई ‘कृष्ण कहो भन् पट्टु’ कविताले देखाएको छ । चेतनाको उज्यालोसँग, समतामूलक समाजको चाहसँग डराएर भागिरहेका शासकहरूको चरित्र अनि समाजलाई उज्यालो पारिछाड्ने अठोट गरिरहेकाहरूको आँटको प्रस्तुति ‘गएँ है’ कवितामा भएको छ । यसरी यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार कवितासङ्ग्रहका कविताले नेपालमा चलिरहेको जनविरोधी, भ्रष्ट, आततायी राज्यसत्ताको कुरूप अनुहार देखाइदिएका छन् ।
पुँजीवादी चङ्गुलको चित्र
यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार कवितासङ्ग्रहका कवितामा वर्तमान समयमा चलिरहेको पुँजीवादी प्रणाली र त्यसले सिर्जना गरेको जटिलता र चङ्गुलको चित्र पनि पाइन्छ । पुँजीवादले मानिसलाई माल बनाउँदै लगेको र यो मानवताविरोधी रहेको तथ्यहरूको सङ्केत पनि श्रेष्ठका कविताहरूमा देख्न सकिन्छ । पुँजीवादी बजारको कब्जामा रहेको सत्ता र त्यसले मानिसका सपनालाई नियोजन गरिरहेको अवस्थालाई ‘ब्रान्ड एम्बेसडर सत्ता’ कविताले बडो सुन्दर ढङ्गले देखाइदिएको छ । मानिसहरूलाई रङ्गीन विज्ञापनका चङ्गुलमा फसाएर पुँजीवादले राज्यसत्तालाई समेत आफ्नो ब्रान्ड एम्बेसडर बनाइरहेको कुरूप यथार्थलाई कवितामा प्रस्तुत गरिएको छ । त्यसै गरी पुँजीवादी सत्ताले विष उत्पादन गरेको तर त्यसको बेचबिखन गर्नका लागि राज्यबाटै वैधानिकता लिइरहेको अनि ‘स्वास्थ्यका लागि हानिकारक छ’ भन्ने प्लेकार्ड बोकेर ढोँग पनि गरिरहेको वर्तमान परिस्थिति ‘यादहरूको विसर्जन’ कवितामा आएको छ भने साम्राज्यवादीहरूले वर्तमान समयमा युद्धको स्वभाव बदलेका, व्यापारका रूपमा, विनिमय र सेयर बजारका रूपमा युद्ध चलाइरहेका अनि त्यस युद्धबाट जनसमाज घाइते भइरहेको यथार्थसमेत ‘युद्ध’ कवितामा अभिव्यक्त भएको छ । यसरी अनिल श्रेष्ठको यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार कवितासङ्ग्रहका कवितामा पुँजीवादी चङ्गुलमा फसिरहेको समाजलाई देखाउँदै त्यसबाट मुक्त नभई समतामूलक समाज निर्र्माण गर्न नसकिने उद्घोष पाइन्छ ।
साम्राज्यवादको विरोध
यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार कवितासङ्ग्रहका केही कवितामा अन्तर्राष्ट्रिय सन्दर्भका साथै साम्राज्यवादको विरोध गरिएको देख्न सकिन्छ । यस सङ्ग्रहमा रहेको ‘गाजाका नानीहरू’ शीर्षकको कवितामा युद्धले थिल्थिलिएको गाजाको सन्दर्भलाई समेटिएको छ । युद्धको चपेटामा परेका केटाकेटीहरूमा देखा परेको घृणाको आगो संसारमा दादागिरी मच्चाइरहेका शक्तिराष्ट्रहरूलाई खतराको सूचक भएको देखाउँदै कविले यस कवितामा साम्राज्यवादको पतनतिर सङ्केत गरेका छन् । त्यस्तै हतियारसँग नजिस्कन र आगोसँग नखेल्न भन्दै ‘ओ अमेरिकी बड्डा’ कवितामा अमेरिकी राज्यसत्तालाई चुनौती दिइएको छ । साम्राज्यवाद भेष बदलेर तेस्रो विश्वभित्र छिरेको अनि नेपाली राजनीतिमा देखिएको अदृश्य वैदेशिक हस्तक्षेप त्यही साम्राज्यवादको कुटील चाल रहेको यथार्थलाई ‘स्ट्राइकर’ कविताले सुन्दर ढङ्गले प्रस्तुत गरेको छ । यसरी हेर्दा साम्राज्यवादी शक्तिले विश्वका जनतामाथि मच्चाइरहेको ताण्डवको विपक्षमा आपूmलाई उभ्याउँदै अनिल श्रेष्ठका यस सङ्ग्रहका कविताले पीडित मानिसहरूको सचेत प्रयासबाट एक दिन साम्राज्यवादी शक्ति क्षीण हुने विश्वास व्यक्त गरेका छन् ।
सामाजिक असङ्गतिको प्रतिरोध
यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार कवितासङ्ग्रहका कवितामा समाजमा रहेका विकृति र विसङ्गतिलाई देखाउँदै त्यसका विरुद्ध आवाज उठाइएको छ । कवितासङ्ग्रहभित्र रहेको ‘विनिमय’ शीर्षकको कविताले विदेश जान मरिहत्ते गर्ने, जानुपर्दा पनि हाँसीहाँसी जाने तर मलाई यो देशको माया छ भनेर गोहीका आँसु देखाउनेहरूलाई शिष्ट व्यङ्ग्य गरेको छ । समाजमा रहेको सुकुमबासी समस्या र घरबारविहीनहरूको दुःखद स्थितिलाई ‘सुकुम्बासी’ कविताले देखाइदिएको छ भने ‘संशय’ कवितामा धर्मका नाममा गरिएको लुटको विरोध गरिएको छ । ‘गुरुब्रह्मा’ कविताले शिक्षा प्रणालीमा देखिएको विकृति, ढोँगी शिक्षाप्रणालीको कुरूप यथार्थलाई उद्घाटित गरिदिएको छ । त्यस्तै ढोँगी जीवनशैली र पुँजीवादको चङ्गुललाई ‘सेल्फी योग’ कविताले देखाएको छ भने अर्कालाई दुःख दिएर हाँस्नेहरूलाई प्रेमपूर्वक हाँस्न गरिएको आग्रह ‘हाँसोको आनन्द’ मा पाइन्छ । यसै गरी गाउँले जीवन र सहरिया जीवनका बिचको अन्तर, सहरिया जीवन कष्टकर र दुःखदायी रहेको सङ्केत ‘दैनिकी’ कवितामा रहेको छ । यसरी हेर्दा अनिल श्रेष्ठको यस सङ्ग्रहभित्रका कविताहरूले सामाजिक विकृति र विसङ्गतिका विरुद्ध आवाज उठाएका छन् र समाजपरिवर्तनका लागि सचेत प्रयास गरेका छन् ।
पर्यावरणीय चेतना
यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार कवितासङ्ग्रहका कवितामा पर्यावरणीय चेतना पनि मुखर रूपमा आएको छ । पुँजीवादी व्यवस्थाले गरेको प्रकृतिको दोहन, पर्यावरणीय विनाश र त्यसले सिर्जना गरेको वैश्विक सङ्कटलाई यस सङ्ग्रहका कवितामा चित्रण गरिएको छ । कवितासङ्ग्रहमा रहेको ‘पहिरोमा बाको तस्बिर’ कविताले विकास अर्थात् सडकका कारण गएको पहिरोमा बा बगेको विषयलाई देखाउँदै पुँजीवादी विकासले पर्यावरणीय विनाश निम्त्याउँदै मानव जातिलाई मृत्युतिर धकेलिरहेको तथ्यलाई उद्घाटित गरेको छ । त्यस्तै कविले ‘वर्जित लय’ कवितामा चराहरूलाई पिँजरामा थुन्ने अनि आफ्नो भाषाको लय सुसेल्न नदिने मान्छेका विरुद्ध आवाज उठाएका छन् । मानिसका पर्यावरणविरोधी गतिविधिका कारण वनजङ्गल मासिँदै गएको तथ्यलाई देखाउँदै ‘बिसहजारी तालको किनारमा सुकिरहेको रूख’ शीर्षकको कवितामा प्रकृतिको विनाशमा समेत रमाइरहेका मानिसहरूको उपहास गरिएको छ । प्रकृति मानवका लागि हरसन्दर्भमा उपयोगी छ, सही र गलत चाहिँ मानव कर्मले निर्धारित गर्छ भन्दै प्राकृतिक सत्यको सन्धान गर्ने काम ‘बाँस’ कवितामा कविले गरेका छन् । ‘सान्निध्य’ कवितामा मानिसका आँखालाई खुसी दिलाउन प्रकृतिले गरेको हरसम्भव प्रयासको चित्र पाइन्छ भने ‘दुःखको वर्णमाला’ कवितामा पुँजीवादी विकासले प्रकृतिलाई मात्र नभई नेपाली मौलिकतालाई समेत नष्ट गरिरहेको तथ्यलाई प्रस्तुत गरिएको छ । ढुङ्गालाई फुटाएर, कुटेर, हिर्काएर उपयोग गरिँदा पनि ढुङ्गा विद्रोही नबनेको स्थितिलाई देखाउँदै ‘ढुङ्गा १’ कवितामा प्रकृतिको सहनशीलताप्रति संवेदशील हुनुपर्ने बताइएको छ । यसरी यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार कवितासङ्ग्रहका कवितामा पुँजीवादी विकासप्रणालीको विरोध गर्दै पर्यावरणको संरक्षण गर्नतर्फ नलागे मानव जाति सङ्कटमा पर्ने भएकाले यसप्रति संवेदनशील बन्न आग्रह गरिएको छ ।
कम्युनिस्ट आन्दोलनमा देखा परेका समस्याको प्रस्तुति
यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार कवितासङ्ग्रहका कविताले कम्युनिस्ट आन्दोलनमा देखा परेका समस्यालाई पनि देखाएका छन् । वैचारिक स्खलन, टुटफुट, वैयक्तिकता, कमजोर मानसिकताका कारण नेपालको कम्युनिस्ट आन्दोलनले गति लिन नसकेको विचार यस सङ्ग्रहका कविताहरूमा पाइन्छ । ‘छिनेको चप्पल’ कविताले कम्युनिस्ट आन्दोलनमा देखिएको अस्वस्थ प्रतिस्पर्धा र व्यक्तिवादलाई सुन्दर ढङ्गले देखाएको छ । यस कवितामा साथीको चप्पल चुँडाएर हिँडेकाहरूले रजगज गरेको देखाइएको छ । नेतृत्व वर्ग आफ्नै छायाले आफैँ तर्सिरहेको सन्दर्भलाई देखाएर कविले ‘ऐँठन’ कवितामा वर्गसङ्घर्षबाट च्युत भएका नेताहरूको डरपोक चरित्रलाई उभ्याइदिएका छन् । ‘बुद्धिजीवी’ शीर्षकको कवितामा समाजको सही नेतृत्व लिन नसकेका र सत्ताको रालसिँगानमा भुलिरहेका निकम्मा बुद्धिजीवीहरूको चरित्रलाई देखाइएको छ अनि यस्तै बुद्धिजीवीका कारण कम्युनिस्ट आन्दोलन शक्तिशाली बन्न नसकेको सङ्केत गरिएको छ । त्यस्तै ‘नोस्टाल्जिया’ कवितामा निद्राबाट बिउँझिँदा मिठा सपनाहरुले भरिएको पोल्टो रित्तो भएको देखाएर हिजोको कम्युनिस्ट आन्दोलनबाट प्राप्त उपलब्धि वर्तमानमा रित्तिँदै गएको सन्दर्भलाई सङ्केत गरिएको छ । आफैँले फुकेको आगो बिर्सेर हिँडेका यात्रीहरूको दुःखान्त भएको सन्दर्भ देखाउँदै ‘विसर्जन’ कवितामा पार्टी राजनीतिमा विचार पक्ष कति शक्तिशाली हुन्छ भन्ने तथ्यलाई प्रस्तुत गरिएको छ । त्यस्तै स्वतन्त्रताको चाह नै मानिसको नैसर्गिक गुण हो तर दास मानसिकताले वैचारिक स्खलन ल्याउँछ भन्ने कथ्यलाई प्रस्तुत गर्दै ‘दासहरूको कुनै विचार हुन्न’ कवितामा कम्युनिस्ट आन्दोलनमा लाग्नेहरूले दास मानसिकता त्याग्नुपर्ने र संसार विजय गर्ने उत्साहका साथ निरन्तर सङ्घर्षशील बन्नुपर्ने विचार प्रस्तुत गरिएको छ । यसरी यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार कवितासङ्ग्रहका कवितामा नेपाली कम्युनिस्ट आन्दोलन कमजोर हुनुका कारणहरू खोतल्ने प्रयास समेत कवि अनिल श्रेष्ठले गरेको देखिन्छ ।
आशावादी जीवनदृष्टि र क्रान्तिकारी जागरण
अनिल श्रेष्ठका यस सङ्ग्रहका कवितामा सङ्कटमय वर्तमानका विरुद्ध आशावादी जीवनदृष्टि र क्रान्तिकारी जागरण पनि पाइन्छ । सुन्दर भविष्यप्रति विश्वस्त हुँदै शोषितपीडित जनताहरूले एकआपसमा मिलेर समाजको तुवाँलो हटाउन आँधी जन्माउन सक्छन्, सडलहरूलाई मिल्काउन वर्षात् ल्याउन सक्छन् अनि सुषुप्त बस्तीहरूमा चेतनाको मसाल बाल्न सक्छन् भन्ने विश्वास ‘फूलमायासँग’ कवितामा पाइन्छ । त्यस्तै झुटा कुरा गरेर जनतालाई झुक्याउने नेताहरू नै वर्तमानमा बढी खुसी देखिएको तर सुदूर भविष्य सम्झेर मुस्कुराउनु पर्नेमा उदास बनिरहेका कविहरूको स्थितिलाई देखाएर ‘शहरमा एकदिन’ कविताले आशावादी जीवनदृष्टि नै वर्गसङ्घर्षको महत्त्वपूर्ण अस्त्र रहेको बताएको छ । ‘प्रतीक्षा’ कविताले त सोझै अँध्यारो समय एक दिन बदलिने छ भन्ने आशावादको सञ्चार गरेको छ । नयाँ युगको निमन्त्रणका लागि पुरानो मानसिकता भत्काउनुपर्ने विचारले ‘नोट अफ डिसेन्ट’ कवितालाई आशावादी बनाएको छ तर कवितामा ब्रह्म वा चेतनालाई नै सत्य मान्ने अनि जगत् वा पदार्थलाई असत्य मान्ने दार्शनिक प्रणालीलाई भत्काऊ भन्नुपर्नेमा ‘जगत सत्य ब्रह्म मिथ्या भत्काऊ’ भन्ने पङ्क्ति देखिएको छ । सिङ्गो माक्र्सवादी वैचारिकीका विरुद्ध जस्तो देखिने यो पङ्क्ति कविको समग्र कविताको दार्शनिक पक्षसँग मेल नखाने भएकाले यसलाई प्रुफरिडिङका क्रममा भएको त्रुटिका रूपमा बुझ्नुपर्छ होला । समग्रमा हेर्दा अनिल श्रेष्ठको यस कवितासङ्ग्रहका कविताले जनतालाई सङ्घर्षमा नझुक्न, भोलिको सुख सम्झेर अन्यायका विरुद्ध डट्न उत्प्रेरित गरेको देखिन्छ ।

साहित्यिक सन्दर्भका कुरूपता
यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार कवितासङ्ग्रहका केही कवितामा साहित्यिक क्षेत्रमा देखिने विकृतिका विरुद्ध आवाज उठाइएको छ । समाजमा रहेको वर्गीय विभेदलाई सङ्केत गर्दै हुनेखानेहरूले गरिबको जिन्दगीका बारेमा साहित्य लेखेर पुरष्कृत हुने गरेको भए पनि त्यस्तो साहित्य सुकिलामुकिलाहरूको डकारका रूपमा रहेको भन्दै ‘राष्ट्रिय कविता महोत्सव’ कवितामा ढोँगी कविहरूको उछितो काढिएको छ । त्यस्तै ‘एक पफ कविता’ शीर्षकको कवितामा सत्ताको भजन गाउँदै रल्लिरहेका गँजडी कविहरुको चित्र उतारिएको छ । परम्परागत बिम्ब र प्रतीकमा अल्झिरहेका कविलाई सत्यसन्धान गर्न र बिम्बको सही प्रयोग गर्न ‘एक अलग कुरा’ कवितामा सुझाइएको छ । यसरी कविले यस सङ्ग्रहका कवितामा साहित्यका क्षेत्रमा देखिएका गडबडीका विरुद्ध पनि आफ्नो आवाज बुलन्द गरेका छन् ।
प्रेम, सम्मान र नारीचेत
यस कवितासङ्ग्रहका केही कवितामा प्रेमिल विषय, विशिष्ट स्थान र व्यक्तिप्रतिको श्रद्धा एवं नारीवादी विचार पनि पाइन्छन् । कवितासङ्ग्रहमा रहेको ‘आह्लाद’ कवितामा मेरो आँखामा कसिङ्गर परिरहोस् अनि तिमीलाई फुक्न लगाइरहन पाऊँ भन्ने प्रणयमूलक इच्छाको अभिव्यक्ति रहेको छ । त्यस्तै ‘बनेपामा घाम’ कवितामा साहित्यकार मोहन दुवालको प्रशंसा एवं ‘तिलौराकोट’ कवितामा बुद्धभूमिको न्यानो स्पर्शको अनुभूति समेत देख्न सकिन्छ । कवितासङ्ग्रहभित्रका ‘निधारको टीका’, ‘पक्षीप्रेम’ एवं ‘ब्रह्माण्ड र स्त्री’ कवितामा पितृसत्ताले नारीहरूप्रति गरेको शोषण एवं नारीशक्तिको गौरवगान गरिएको छ । ‘निधारको टीका’ शीर्षकको कवितामा कालो टिका र रातो टिकाको सन्दर्भ उल्लेख गर्दै कलिलै उमेरबाट बालिकाहरूले पितृसत्ताले प्रशिक्षित गर्दै लैजान्छ र शोषणको चक्र चलाइरहन्छ भन्ने यथार्थको प्रकटीकरण गरिएको छ । त्यस्तै ‘पक्षीप्रेम’ कवितामा भालेको मायाले उड्न बिर्सेकी पोथीको जीवनका माध्यमबाट माया गरेको नाटक गर्दै पुरुष जातिले नारी जातिलाई कुँजो बनाएको र गृहलक्ष्मीको भुलभुलैयामा परेर नारीहरूले आफ्नो दायित्व र कर्तव्य बिर्सँदै गएको स्थितिको सुन्दर चित्रण पाइन्छ । यसका साथै नारीगौरव र नारीमूल्यको गौरवगानको आदर्शवादी ढप ‘ब्रह्माण्ड र स्त्री’ कवितामा रहेको छ । यसरी कविले आफ्ना कवितालाई विषयगत वैविध्यको रङले पनि सिँगारेका देखिन्छन् ।
कविताको शक्ति, सीमा र निचोड
विषयगत विविधता, बहुजनहिताय वैचारिकी, अन्यायको विरोध, समाज परिवर्तनको आकाङ्क्षा, सङ्घर्षका पक्षमा दृढता जस्ता कुराले कवि अनिल श्रेष्ठको यो देशको सबैभन्दा ठुलो मुर्दाघर हो सिंहदरबार कवितासङ्ग्रहका अधिकांश कविताहरू सशक्त बनेका भएका भए पनि सन्दर्भको सही उपस्थापन नभएका कारण केही कविताहरू अस्पष्ट र कमजोर देखिएका छन् । धेरै खाँदा गुँड तितो हुन्छ भनेर चिनी मिसाएर खाएको सन्दर्भ आएको ‘बेसरम’ कविता, सालिक ढलेपछि सालिकको चर्चा हुन थालेको सन्दर्भ रहेको ‘सालिक’ कविता, सपनामा आफूमाथि ढुङ्गा हानिरहेका बैरीहरू बिउँझिँदा नदेखिएको प्रसङ्ग रहेको ‘निद्राबाट ब्युँझिएर लेखिएको एउटा प्रेमिल कविता’ कविता, अगेनुमा आगाको राप हराएपछि अर्को अगेनुतिर हिँडेको सन्दर्भ र सहरलाई गरिएको दोषारोपण पाइने ‘अगेनुको राप’ कविता, भुइँचालको घाउ लुकाएर अप्रतिम सौन्दर्य प्रदर्शित गरिरहेको गाउँको चित्र उतारिएको ‘बारपाक’ कविता, भुइँचालाको साक्षी नै समय हो भन्दै त्यसको प्रतीकका रूपमा घण्टाघरको चित्रण गरिएको कविता ‘घण्टाघर’ कविता, घामको तातो ज्याकेटले छेकेको प्रसङ्ग रहेको ‘आङको ज्याकेट’ कविता, जाडोमा हिउँका गुइँठा बाल्न तम्सिरहेको संसदघरका बारेमा बताइएको ‘हिउँको गुइँठा’ शीर्षकको कविता, हतियार लिएर आएको बैरी झुकेपछि उसैलाई हतियार दिएर विजयी भव भन्दै पठाएको सन्दर्भ रहेको ‘साक्ष्य’ कविता, गन्तव्यको पत्तो नपाएर भ्रममा हिँडिरहेको शहरका बारेमा रहेको ‘इलुजन’ कविता, वैचारिक अस्पष्टताका कारण शान्ति र संविधान निर्माणमा परिरहेको समस्या देखाउन खोज्ने ‘सूर्यास्त’ कविता, ब्याट्री फेर्न नसकेर समस्यामा पारिरहेको भित्तेघडीका बारेमा बताइएको ‘सकसको घडी’ कविता, हराएको नागरिकता खोज्न सलाईको एक काँटी मागिएको ‘एक सलाई काँटी’ कविता, आफूलाई आफ्नो अस्तित्व र जिन्दगीलाई उसको अस्तित्व अर्थहीन लाग्दालाग्दै पनि मुस्कुराएर अघि बढेको सन्दर्भ आएको ‘कहिलेकाहीँ’ कविता कमजोर परिवेशविधान, लघु संरचनाको मोह, समुचित संज्ञानात्मकताको अभाव एवं विषय र विचारको आनुरूप्यमा देखिने शिथिलताका कारण केही कमजोरजस्ता देखिएका छन् । यसो भए पनि अधिकांश कविताहरूमा पाइने जीवनका असङ्गति र सङ्गतिको चेत, समाजपरिवर्तनसम्मत वैचारिकता, भाषिक सरलता र सहजता, समुचित बिम्बात्मकता, आवश्यकता अनुरूपको प्रतीकात्मकता, अन्तर्लयको उपयुक्त विन्यासका कारण अनिल श्रेष्ठका कविताले नेपाली प्रगतिवादी कविताका क्षेत्रमा आफूलाई अब्बल मात्र तुल्याएको छैन, समग्र नेपाली कवितासाहित्यको जुलुसमा समेत गहकिलो अन्तर्वस्तु र सोही अनुरूपको रूपविन्यासका कारण आफूलाई अग्रपङ्क्तिमा उभ्याएको छ ।
उपप्राध्यापक
पाटन संयुक्त क्याम्पस
bishnu.gyawalil/pmc.tu.np

