अभिलेख
–अपत्य शर्मा
यसभन्दा पहिले हामीले सर्वहारा अन्तर्राष्ट्रवाद र त्यसको अवस्थाबारे धेरै चर्चा गरेका थियौं ।यहाँ हामी आफूलाई माक्र्सवादी–लेनिनवादी भन्ने तर सिद्धान्त विपरीत पुँजीवादी सिद्धान्त र व्यवहार लागु गर्ने एउटा (भाकपा माक्र्सवादी) पार्टीको अन्तर्राष्ट्रिय पार्टीहरुद्वारा लिइएको पुँजीवादी आर्थिक सिद्धान्तलाई माक्र्सवादी लेनिनवादी भनेर दावी गरिएकोबारेमा चर्चा गरौं । शोषक वर्ग र शोषित वर्गमा विभाजित वर्गीय शासन व्यवस्थामा प्रत्येक व्यक्ति एउटा न एउटा वर्गको सदस्य हुने हुनाले ऊ एउटा वर्गको वर्गीय प्रतिनिधिको रुपमा हुन्छ । हाम्रो जस्तो सामन्ती र अर्धऔपनिवेशिक देशमा सामन्ती, धनी किसान,सम्पन्न मध्यम तथा निम्नमध्यम र गरिब किसानवर्ग ग्रामिण क्षेत्रमा छन् भने शहरहरुमा ठूला दलाल तथा नोकरशाही पुँजीपतिवर्ग , राष्ट्रिय पुँजीपति, निम्न पुँजीपति तथा सर्वहारावर्गमा विभाजित वर्गहरु मोटामोटी रुपमा रहेका छन् । यसकारण सामाजिक, आर्थिक, राजनीतिक तथा सांस्कृतिक अरु क्षेत्रमा पनि उनीहरुका आनीबानी, सोचाई र चिन्तनहरु प्रष्ट वा अप्रत्यक्ष रुपमा देखा पर्छन् । यी वर्गीय चिन्तनहरु कम्युनिस्टहरुमा पनि पाइन्छन् ।
नेपालमा कम्युनिस्ट नाम गरेका पार्टीहरु पनि धेरै छन् । तिनीहरुको उद्देश्य नेपाल कम्युनिस्ट पार्टीलाई मजदुरहरुको पार्टी र उनीहरुको अधिनायकवादलाई तिरस्कार गर्दै लत्याउने ध्येय राखेको प्रष्ट देखिंदैछ । नेपाल कम्युनिस्ट पार्टी (एमाले) धेरै नेपालका कम्युनिस्ट पार्टीहरुमा ठूलो पार्टीमा गणना भएको र आफ्नो घोषित मिश्रित आर्थिक नीतिदेखि राजनीति चाहिं बहुदलीय जनवादको घोषणा पर्ने पुँजीवादी पार्टी हो । आफूलाई माक्र्सवादी–लेनिनवादी भनेर सर्वहारा वर्गप्रति बेइमानी गर्ने, माक्र्सवादी–लेनिनवादी सिद्धान्त लिनेहरुलाई जडसुत्रवादी, उग्रवादी भनेर कुर्लने गरेकाले उसको अन्तर्राष्ट्रिय गुरु भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) को नेतृत्वसँग विशेष सम्बन्ध राखेको कुरा सबैलाई थाहा छ । बेला बखत ज्योति बसु आइण्ड कम्पनीको नेताहरुले दिने विशेष भेटघाट र शुभकामना सबैको अगाडि छ । प. बंगालमा लामो समयदेखि ज्योति वसुको शासन सत्ता छ । त्यहाँका खुला आकास मुनि पेटीमा सुत्ने र पशुले जस्तै मान्छे बोक्ने तान्नेहरुको जीवनमा कुनै रौं मात्रको परिवर्तन नभएको कुरा घाम जस्तै छर्लङ छ । माक्र्सवादी रातो ओढ्ने भाकपा (माक्र्सवादी) को शासनले गरिब, भोका, नांगा, शोषित पीडित ग रिब जनता र सर्वहारावर्गको पुँजीवादी दासता र शोषणमा कुनै फेरबदल ल्याएको छैन ।
आफ्नो पुँजीवादी वर्वर घिनलाग्दो अपराधी अनुहारलाई छोप्न भाकपा (माक्र्सवादी कम्युनिस्ट पार्टी) ले लेनिन पनि विदेशी पुँजी निवेधको समर्थक हुनुहुन्थ्यो भन्ने फटाहा कुरा गरेको छ । विदेशी पुँजी, व्यक्तिगत सम्पत्ति र मिश्रित अर्थव्यस्थालाई माक्र्सवादी–लेनिनवादी सिद्धान्त अनुकूल छ भन्ने प्रमाणित गर्न लेनिनको उदाहरण दिन नसकेर भाकपाको पोलिटव्यूरो सदस्य सुनील मैत्रको भनाईलाई भारतीय पत्रिका जनसत्ता (२० जुलाई १९९४) ले उल्लेख गर्दै के भन्यो भने सुनील मैत्रले इतिहासकार र सोभियत मामलाहरुमा विशेषज्ञ ईएचकारको पुस्तक “बोल्सेविक रिभोल्युशन १९१७ १९२३ (खण्ड तीन मा दिइएको विवरणलाई आधार बनाएर १० अप्रिल १९२२ मा जेनेभा (इटली) मा युद्धको दावाहरुको बारेमा भएको अन्तर्राष्ट्रिय बैठकको चर्चा गरेको छ । युद्धको बेलामा रुसको ऋणको बारेमा ठेगान गर्न बोलाइएको बैठक थियो । ईएच कारले लेखेको छ “सोभियत प्रतिनिधि मण्डलले राष्ट्रियकृत सम्पत्तिको बारेमा पहिलेका विदेशी मालिकहरुलाई लामो समयसम्मका लागि छुट दिने इच्छा दोहो¥याए । ब्रिटिश प्रतिनिधि मण्डलले यस प्रस्तावप्रति अलिकता ढल्केको देखाए तर फ्रान्स र बेल्जियमका प्रतिनिधि मण्डलहरुले क्षतिपूर्ति लिनमा जोड दियो । अगाडि भन्छन् कब्जा गरिएको सम्पत्ति फिर्ता गर्न चाहन्थे ताकि भविष्यमा उनीहरु पुँजी निवेश गर्न तयार हुन ।” सुनील मैत्र के भन्छन् भने “पहिले यस बैठकमा लेनिन आफै जानु हुन्थ्यो तर सुरक्षाका कारणहरुले उहाँ जानु भएन । प्रतिनिधिमण्डल लगातार उहाँको सम्पर्कमा थियो र लेनिनकातर्फबाट प्रस्ताव राखियो कि ऋण दिने देश चाहन्छन् भने रुसका कारखानाहरु उनीहरुलाई ठेक्कामा दिन सकिन्छ । यसबोमा कुरा गर्न सकिन्छ कि ठेक्का दश बीस वापचास वर्षको होस् ।”
मैत्र भन्छ“प्रष्ट छ लेनिन विदेशी निवेशको पक्षमा थिए ।”
सर्वहारा अधिनायकवादी समाजवाद,माल, मुद्रा र ज्यालादारी व्यवस्थाको अन्त्य तथा सर्वहारावर्ग र कम्युनिस्ट पार्टीकै लोपको लागि क्रान्ति गर्दै अनवरत संघर्ष गर्ने महान लेनिनले साम्राज्यवादी शत्रु शक्तिलाई सोभियत जनतालाई साम्राज्यवादी पुँजीको जालोमा फसाउने कुरा कल्पना पनि गर्न सकिन्न । भाकपा तथा नेपाल कम्युनिस्ट पार्टी (एमाले) जो एउटै लक्ष्य निजीकरण, विदेशी पुँजी निवेश र मिश्रित अर्थव्यवस्था मान्ने हुनाले चीन, भियतनाम आदि देशमा पुँजीवादी पुनस्र्थापनालाई पनि समाजवादी व्यवस्था नै भएको दावी गरिरहेछन् । जुन तङ स्याओ पिङ गद्दार गुटको “समाजवादी बजार अर्थव्यवस्था”लाई आदर्श मान्नुको प्रमाण हो । जहाँ तही तङको आर्थिक उन्नतिको ढोल बजिरहेछ त्यहाँ महंगी, बेकारी, गरिबी, बेश्यावृत्ति, हत्या र बलात्कार फलि फुलिरहेछ । गाउँले क्षेत्रको आम्दानी प्रतिव्यक्ति ९२१ युआन छ भने शहरमा प्रतिव्यक्ति (१९९३ मा) २३३७ युआन छ । गाउँले आम्दानी ३.३ प्रतिशत र शहरवासीको १०.२ प्रतिशत छ ।
उपरोक्त तथ्यलाई ध्यानमा राखेर नोट, भोट र चोटको राजनीतिले सत्ताधारी बन्ने सर्वहारावर्गको मुक्तिको कुरा गर्ने तर पुँजीवादी दासता र अपमानको सिक्रीले बाँधी राख्ने पार्टीहरुप्रति नेपाली सर्वहारा वर्ग मात्र होइन, विश्वका सर्वहारावर्ग पनि सचेत बन्दै एक साथ संघर्षमा अघि बढ्नुपर्छ । समुदाय उत्पादनगर्छ व्यक्ति नाफा लुट्छ । पुँजीवादीहरु जुनसुकै नाममा काम गरुन् सबै निजीलाभ (व्यक्तिगत लाभ) को अर्थनीति र व्यक्तिगत लाभको राजनीति (राज्य सत्ता ) छोड्दैनन् । यसकारण अवश्य नै यो अप्राकृतिक इतिहास विरोधी व्यवस्थाको अन्त्य हुन्छ तर यसको लागि मजदुर कम्मर कसेर लागि पर्नुपर्छ ।
(नोटःयो लेख नयाँ हाँक साप्ताहिक, वर्ष ३,अंक ३१, २०५१ भाद्र ६ गते सोमबारबाट लिइएको हो)

