पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग

 

काठमाडौँ । जनआस्था मिडियाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई नेपाल पत्रकार महासङ्घले रिहा गर्न माग गर्नूका साथै प्रेस काउन्सिललाई सक्रिय हुन आग्रह गरेको छ । महासचिव रामप्रसाद दाहालको हस्ताक्षरमा २०८३ असोज ३१ गते प्रेसविज्ञप्ति जारी गर्दै महासङ्घले सो माग गरेको हो ।

समाचारको विषयलाई लिएर प्रहरीले पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधान विरुद्ध रहेको बताउँदै महासङ्घले यस्तो कार्यले लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यताको खिल्ली उडाएको स्पष्ट पारेको छ ।

 

प्रेसविज्ञप्तिको पूर्ण पाठ :

“जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई सत्तासिन दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल पत्रकार महासङ्घको ध्यानाकर्षण भएको छ ।

पन्तले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा सो साप्ताहिकमा समाचार प्रकाशित भएको थियो । सोही विषयमा परेको उजुरीलाई लिएर एसएसपी सन्तोष खड्कासहितको प्रहरी टोली श्रेष्ठलाई आज ललितपुरको नख्खुस्थित उहाँको निवासबाट पक्राउ गरेको छ ।

समाचारमा चित्त नबुझेका विषय भए प्रचलित र स्थापित विधिअनुरूप समाधान नखोजी साइबार ब्युरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधान विरुद्ध रहेको महासङ्घको ठहर छ । यो घटनाले लोकतान्त्रिक मूल्यमान्यता र स्वतन्त्र प्रेसको विश्वव्यापी मान्यतालाई खिल्ली उडाउने काम गरेको महासङ्घको बुझाइ छ ।

महासङ्घ प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा भएको यो स्वेच्छाचारी शैलीप्रति खेद प्रकट गर्दै कडा भत्र्सना गर्दछ ।

महासङ्घ प्रेसविरोधी यस्ता व्यवहार सच्याउन तथा पत्रकार श्रेष्ठलाई विनाशर्त तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराउँदै समाचारको विषय भए सम्बन्धित निकायमार्फत समाधान खोज्न सम्बद्ध पक्षलाई सचेत गराउँछ, साथै आफ्नो क्षेत्राधिकारको स्वामित्वको विषयमा प्रभावकारी भूमिका निर्वाह गर्न प्रेस काउन्सिल नेपाललाई आग्रह गर्दछ ।”

प्रहरीले आइतबार बिहान श्रेष्ठको घरमै पुगेर साइबर ब्युरोमा उपस्थित गराएको थियो । छलफलका लागि भन्दै उनलाई ब्युरोको कार्यालय पुर्‍याइएको प्रहरीले दाबी गरेको छ ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्क नेतृत्वमा प्रहरी टोली ललितपुरको नख्खुस्थित श्रेष्ठको घर पुगेको थियो । प्रहरीका अनुसार ठाडो निवेदन परेपछि छलफल गर्न श्रेष्ठलाई सम्पर्क गरिएको थियो तर फोन सम्पर्क नभएपछि प्रहरी उनको घर पुगेको बताइएको छ । प्रहरीले श्रेष्ठलाई गिरफ्तार गरिएको स्वीकार गरेको छैन ।

समाचारको विषयलाई लिएर श्रेष्ठ विरुद्ध रास्वपा केन्द्रीय सदस्य हिमेश पन्तले साइबर ब्युरोमा निवेदन दिएका थिए । पत्रकार श्रेष्ठले पनि हिमेश विरुद्ध ब्युरोमै निवेदन दिएका थिए । श्रेष्ठ र पन्त दुवै पक्षलाई राखेर छलफल गराउने बताइएको छ । पन्तलाई पनि ब्युरोमा बोलाइएको छ ।

श्रेष्ठलाई यसअघि साउन २७ गते प्रहरीले पक्राउ गरेको थियो । उनको निवास र घरमा खानतलासी गरेर प्रहरीले ल्यापटप, कम्प्युटर लगायतका विद्युतीय सामग्री नियन्त्रणमा लिएको थियो तर बन्दीप्रत्यक्षीकरणको रिट परेपछि सर्वोच्च अदालतले थुनामुक्त गरी हाजिरी जमानी वा तारिखमा राखेर अनुसन्धान गर्न परमादेश जारेको थियो । त्यसपछि उनी भदौ १ गते हिरासत मुक्त भएका थिए ।

 

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित