(कान्छो छोरा जनयुद्धका सहिद क.दोर्जेको बारेमा संस्मरण)
– खुशिराम पाख्रीन
-सर्वहारा पार्टी र त्यसको नजिकका मोर्चा, सङ्घसंस्थाहरूका हरेक सभा-सम्मेलन र बैठक सुरु हुनुअघि देश र जनताको मुक्तिका लागि प्राणको आहुति दिने महान् सहिदहरूको सम्झनामा एक मिनेट मौन धारण गर्नु कम्युनिस्ट क्रान्तिकारीहरूको अनिवार्य सर्त र नैतिक संस्कारभित्र पर्ने कुरा हो।
हिजोआज मौन धारणको बेला सहिदहरूलाई सम्झँदा म पहिलो नम्बरमा खुम्चेको धमिलो टोपी लगाएको, हेर्दा निम्नवर्गको बालक भनेर चिन्न सकिने, टीठलाग्दो तर चनाखो टाठो अनुहार भएको, महान् जनयुद्धका पहिलो सहिद दिलबहादुर रम्तेललाई झल्झली सम्झन्छु। त्यसपछि सिङ्गो आन्दोलन र पार्टीकै सबैभन्दा उच्च तहका सहिद, सरल स्वभावका प्रखर व्यक्तित्व, वैकल्पिक पोलिटब्युरो सदस्य क. वासु आँखाअगाडि आउनुहुन्छ। त्यसपछि क्रमशः नाम चिनेका अनुहार, चिनेका सहिदहरू लस्करै मानसपटलमा आउने गर्छन्। त्यसै क्रममा मेरो कान्छो छोरो अमर पनि आइपुग्छ। अनि म अलि बढी डुबेर घोत्लिन थाल्छु। पातलो-पातलो अलि लामो कपाल, निडर र निश्चल रातो वर्णको सर्लक्क परेको अनुहार, खिस्स हाँस्दा दुवैतिर माथिल्ला तिखा दाँत देखिने, त्यो दृश्य आँखामा आइपुग्छ अनि म टोलाउँदै भावुक हुन पुग्दोरहेछु। एक मिनेट सकिइहाल्छ। सोचाइलाई धैर्यले ठिक ठाउँमा ल्याउने कोसिस गर्छु।
रामपुर क्याम्पसको पश्चिम किनारमा उत्तर-दक्षिण लस्कर परेका घरहरूको लाइन छ। त्यो लाइन किरणगञ्जमा पर्दछ। त्यो गाउँको पृष्ठभूमि आन्तरिक कथाव्यथाजस्तै भए पनि हेर्दा निकै रमाइलो छ। त्यही बिचमा एउटा सानो छाप्रो घर छ। हो, त्यही हो मेरो घर। त्यसको नाताले कसैले घर कहाँ हो भनेर सोधे भने चितवन, शारदानगर, किरणगञ्ज हो भन्ने गर्छु। त्यही पनि २०३० सालतिर बाजेले बनाइदिनुभएको छाप्रो हो। त्यही छाप्रोमा जन्मेको हो मेरो कान्छो अमर।
आजभोलि त्यो छाप्रो बडो मुस्किलले उभिएको छ। टिनको छानो खिया लागेर कुरूप भइसकेको छ। पानीभित्र, घामबाहिर हुनु नै उसको धर्म हो। हिजोआज त्यो धेरै फुच्चे पनि भइसकेको छ। किनभने वरिपरिका घर निकै ठूला-ठूला भइसके। कुनै बेला त्यो छाप्रोभित्रको जीवन कति सुन्दर थियो! एक खालको प्रतिष्ठानजस्तो थियो त्यो छाप्रो।
त्यसभित्र पस्दा आर्ट ग्यालरीभित्र पसेको जस्तो अनुभूति हुन्थ्यो। विविध बाजागाजा सजिसजाउ थिए। कविता सुनाउनेदेखि राजनीतिक छलफल र नृत्य-गायनसम्म त्यहीभित्र हुन्थ्यो। कति गीतहरू त्यहीँ जन्मे, कति कलाकारहरू त्यहीँबाट प्रशिक्षित भएर निस्के। देश-विदेशका मान्छेसँग चिरपरिचित थियो त्यो छाप्रो। कवि, कलाकार, साहित्यकारहरूसँग घनिष्ट थियो त्यो छाप्रो। क. प्रचण्ड, क. किरण, क. बादल, क. गौरवदेखि पुराना पुस्ताका नेताहरू क. काजी, क. भक्तबहादुर सबैसँग चिरपरिचित थियो त्यो छाप्रो।
वरिपरि घरका बुवाहरू कोही जागिर खान गए, कोही लाहुर गए, कोही कतै गए, आफ्नो-आफ्नो निस्तो गए। त्यो सानो घरको बुवा भने दुनियाँ बुझाउनका लागि भनेर गितार, मादल बोकेर हिँड्थ्यो, छ महिना-वर्ष दिनमा कहिलेकाहीँ हात र मुख मात्रै लिएर आउँथ्यो। त्यो घरको बुवा कहिले हुलाकी चउर र डाँडा चहार्दै त कहिले मनाङको खाङसार र थोचे डुलिरहँदा त्यो घरकी आमा, छोराछोरीहरू आफ्नै दुःखसँग पौँठेजोरी खेलिरहेका हुन्थे। त्यो घरको बुवा कहिले गोरखा, लमजुङ, तनहुँतिर हिँडिरहँदा त्यो छाप्रोमा एउटै नाइलनको झुलमुनि आमा र छोराछोरीहरू मात्रै बास बसिरहेका हुन्थे। त्यो सानो छाप्रोको बुवाले ती परिवारका बारेमा कहिल्यै सोचेन।
वि.सं. २०४४ तिर घर आउँदा ठूली छोरी अलि ठूली नै भइसकेकी थिइन् र बाबुसँग पहिल्यैदेखि हिँडिरहने भएकाले अलि नजिक हुन्थिन्। अरू साना भाइबहिनीहरू बाबुको नजिक पनि पर्दैनथे। को कति कक्षामा पढ्छन्, त्यो पनि बुवालाई थाहा थिएन। सानो घर, थोरै बारी, सानो खेती, श्रम लगानी। अरूले खाएजस्तो कसरी खानु, अरूले लाएजस्तो कसरी लाउनु? हरेक दिन स्कुल जाँदा कहाँबाट होस् तिनको खल्तीमा एक मोहर! अर्काले बदाम खाँदा, अर्काले बरफ चुस्दा कस्तो भयो होला?
दुःख-सुखमा बढ्दै गए उनीहरू प्रहरी आतङ्कका बिचमा। २०४६ सालमा बुवालाई चारैतिरबाट घेरा हालेर प्रहरीले सात किलोमिटर खेद्दा धेरै निराश र आतङ्कित भए उनीहरू। २०४६ सालपछि ती कष्टपूर्ण दिनहरू केही सहज बन्दै गए। घरमै बाजागाजा बजिरहने हुँदा उनीहरू पनि नाच्न, गाउन, बजाउन थाले। जनयुद्ध नहुँदासम्म प्रायः म घरै हुने गर्थें। त्यो सानो छाप्रोभित्रको जीवन फेरि एकचोटी सुन्दर बन्दै गयो। उनीहरू सबै ठूला-ठूला हुँदै गए। ठूलीको विवाह भयो। कान्छी सानोमा लजालु भए पनि ठूली हुँदै गएपछि बोल्न सक्ने टाठी हुँदै गइन्। ठूलो छोरो मेहनती, कडा परिश्रम गर्ने खालको थियो भने कान्छो अमर दाइसँग कहिल्यै नछुट्ने, सँगै सुत्ने, सँगै काम गर्ने, सँगै खेल्ने, सँगै रमाइलो गर्ने गर्थ्यो। बिनासङ्कोच बुवासँग, काकाहरूसँग मीठा, गहकिला गफ गर्थ्यो। घरमा दिदीहरू भएर पनि ती दुई भाइले आफूले खाने थाल सधैँ आफैँ धुन्थे। दाइले भाइलाई माया गरेर लाटो भनेर बोलाउने गर्थ्यो, भाइले दाइलाई भोकचे भनेर जिस्क्याउँथ्यो। दाजुभाइको बिचमा कहिल्यै रिसारिस र झगडा भएको पनि थाहा भएन।
आफ्नो घरको अवस्था थाहा भएकाले उनीहरूले आफ्नो गच्छेभन्दा माथिको चिज कहिल्यै माग पनि गरेनन्।
हाम्रा दाजुभाइका छोराहरू सबै मिलाएर नौ जना थिए। तीन भाइ त्यतिबेला साना-साना थिए भने छ भाइ तन्नेरी, सँगै काम गर्थे, सँगै हिँड्थे, सँगै खेल्थे, पढ्थे, चाडपर्वमा रमाइलो गर्थे। दाइहरू कोही ढोलक बजाउने, कोही उद्घोषक बन्ने, कोही नाच्ने, कान्छो अमरले किबोर्ड बजाउने, कति सुन्दर थिए ती दिन!
गर्मी महिनामा बेलुकी खाना खाएर आँगनमा गफ गर्न बस्दा बाजेबज्यैदेखि साना नातिनातिनासम्म र आमाबुबाहरू अनि छरछिमेक सबै जम्मा हुँदा साँझ रोचक विषयहरूमा गफ चल्थ्यो, अति चाख लिएर सुन्थे, रातको १०-११ बजेको चालै पाइँदैनथ्यो। कति रमाइला थिए ती दिनहरू! कान्छी छोरी वीरेन्द्र क्याम्पस, दुई भाइ शारदानगर क्याम्पसमा। तीनै जना आइ.ए. पढ्दै थिए।
जब पार्टीले जनयुद्धको शङ्खघोष गर्यो, दुस्मनको निगरानी फेरि बढ्दै गयो। बुवा घरमा बसिरहने स्थिति रहने कुरै भएन। त्यो सानो छाप्रो फेरि दुस्मनको निसानामा डाइनामाइट भएर उभियो। धेरैपटक कमान्डोले घेरा हाल्न आयो। धेरैपटक सङ्गीन ताक्न आए, ती रमाइला सुन्दर दिनहरूमा फेरि कालो धब्बा लाग्दै गयो। पढ्ने छाँट पनि गतिलो रहेन। कान्छो अमर एक दिन आमासँग अलिकति पैसा लिएर एक्लै घरबाट निस्केर हिँड्यो, कहाँ जाने भन्ने गन्तव्यको ठेगान पनि के हुन्थ्यो र? लुम्बिनी पुगेर बुद्ध धर्मावलम्बीहरूले पूजा गरिरहेको गुम्बामा टोलाएर हेरिरहेको रहेछ र त्यो रात त्यहीँ बिताउने तरखर गरेछ। चिनेको कोही छैन। किन आएको? धर्म गर्न हिँडेको मान्छे पनि होइन। त्यसपछि त्यहाँको पालेले त्यहाँ बस्न दिएनछ र रातभरि बाहिर कठै रात काटेछ। कहिल्यै घर नछोडेको मान्छे, आमाको काख नछोडेको मान्छे। भोलिपल्ट बिहान उज्यालो हुने बित्तिकै घर फर्केछ। बेलुका घर पुग्नासाथ आमालाई झम्टेर आमाछोरा अङ्कमाल गरेर रोएछन्। उसलाई घरको अवस्था र आफ्नो भविष्यको निकै चिन्ता थियो त्यतिखेर।
एकपटक म गिरफ्तार भएर मलाई यातना दिने बेला ‘तेरा छोराछोरी के गर्छन्’ भनी सोधे। ‘तेरो घरमा लास पल्टाइदिन्छु’ भने भतुवाहरूले। मैले उल्टै प्रश्न गरेँ – ‘तेरो बाउको लास पल्टाएका थिए मेरा छोराछोरीले?’ पछि पुनरावेदनले छुटाएपछि पनि म्याद टाँस्न नछाडेपछि टाढा जानुपर्ने भयो। उनीहरू पनि दिदीभाइ पार्टीमा कस्सिएर लाग्ने निधो गरेछन्। सुरु-सुरुमा पार्टीको योजनाअनुसार फटाहालाई कारबाही गर्ने क्रममा दुई-चार जना फटाहाको करङ र खुट्टा भाँच्ने काममा राम्रै भूमिका निभाएछन्। पछि दिदी सङ्गठनमा र ऊचाहिँ सेनामा रही गण्डकतिर खटिन थालेछन्। कास्कीको डाँडानाक चौकी, गोरखाको भच्चेक, नवलपरासीको सुनवल कब्जा गर्दा यसल्ट ग्रुपमै बसेर सानदार वीरतापूर्ण लडाइँ लडेछ उसले। ऊ इमानदार थियो, ऊ मिलनसार थियो, ऊ जाँगरिलो र अध्ययनशील थियो।
\
२०५९ सालतिर म प्रवासबाट फर्केर आएपछि शाही सेनाको आतङ्कका कारण आमा पनि मसँगै राप्ती क्षेत्रतिर जानुपर्ने भयो।
वि.सं. २०६० सालको असारतिर अखिल नेपाल जनसांस्कृतिक सङ्घको दोस्रो राष्ट्रिय सम्मेलनमा हामी काठमाडौँ आउँदा आमाछोराको भेटघाट भएको रहेछ। त्यसपछि त २०५५ साल माघदेखि भेट भएको थिएन। ऊ त भौतिक रूपमा पनि र वैचारिक रूपमा पनि धेरै परिवर्तन भइसकेको रहेछ।
धेरै वर्षपछि बुवासँग भेट्न पाउँदा र आमाको मातृत्व-ममताको न्यानो पाउँदा ऊ धेरै खुसी थियो। हामी पनि औधी खुसी भयौँ। घर-गाउँका ती रमाइला दिनहरू, दुःख-सुखका क्षणहरू, माया गर्ने दाइभाइहरूको साथ छोडेर ऊ साँच्चै सर्वहारा वर्गको मायामा रमाइसकेको रहेछ। भोलिपल्ट सम्मेलन स्थलतिर जाँदा पनि हामी एकान्त कुनासम्म सँगै गयौँ। उसलाई बाबु पार्टीको के हो भन्ने पनि थाहा रहेनछ। बुझ्ने जिज्ञासा राखेपछि मैले बताएँ। ऊसँग एक किसिमको जोस, जाँगर र स्पिरिट देखिन्थ्यो। सम्मेलन हलमा पछिल्लो लाइनमा शारदा दिदीसँगै बसेको थियो ऊ। मैले एउटा गीत ‘नरुनुस् आमा लड्दालड्दै ढलेको छोरालाई सम्झेर’ गाउँदा खूब ध्यान दिएर सुनिरहेको थियो। (त्यो गीत अहिले उसैका लागि लेखेको जस्तो हुन पुग्यो)। जनमुक्ति सेनाको सैन्य फर्मेसनभित्रको सांस्कृतिक रिपोर्ट अत्यन्त टाठो र स्पष्ट ढङ्गले उसैले राख्यो। उसको रिपोर्ट सुनेर सेनाको आलोचना चर्को भयो भनेर कतिपय वरिष्ठ साहित्यकारहरू कम डराएनन्। ‘को हो त्यस्तो चर्को बोल्ने?’ भनेर सोधेको जवाफमा ‘पाख्रिन दाइको छोरो’ भन्दा ‘हँ, गर्नुपर्ने नै थियो’ भन्ने प्रतिक्रिया आयो। जाने बेलामा म बैठकमा बस्नुपर्ने भएकाले चितवनसम्म भए पनि सँगै जान पाएन उसले। उसले विवाहका लागि प्रस्ताव गरेको केटीको फोटो देखाएर मालेमावादी विचारका आधारमा एक-अर्कालाई मन पराएको कुरा राख्दै पार्टीमा निवेदन दिएको बतायो र मलाई पनि स्वीकृति माग्यो। मेरो तर्फबाट पनि सहजै स्वीकृति दिइयो। उसले पुरानो परम्परा तोड्दै अन्तरजातीय विवाह गर्ने अठोट गरेको रहेछ।
\
मैले कहिलेकाहीँ अरूको गीत सुन्नुपर्ने भएकाले सस्तो खालको वाकमेन किनेको थिएँ। त्यस्ता चिजहरू गोजीमा राखेर कानमा इयरफोन लगाएर सुन्ने रहर त युवाहरूलाई हुन्छ, उसलाई पनि रहर थियो कि! आवश्यकताले गर्दा मैले उसलाई थुप्रै साथीहरूसँग बसेको र सेना फर्मेसनका फोटोहरू प्रिन्ट गरेर ल्याएको थिएँ। कम थिएन। वार्ता तोडिएलाजस्तो हुँदै थियो। बेला भए पनि दुस्मनको निगरानी छ, लुकाएर लैजानू भनेर मैले उसलाई सम्झाएको थिएँ। उसले ‘केही हुँदैन, के डर?’ भनेर मेरो कुरालाई सामान्य रूपमा लियो। त्यो नै हाम्रो अन्तिम भेट भन्नु वा अन्तिम बिदाइ थियो। टुँडिखेलमा हात मिलाएर बिदा भयो ऊ।
एक जना साथीको साथ आमासँग नारायणघाटसम्म गएर र आमासँग पनि बिदा लिएर आफ्नो कार्यक्षेत्रतिर लागेछ ऊ। केही दिनपछि हामी पनि रोल्पा गयौँ। माघ-फागुनतिर उनीहरूको विवाह भएको रहेछ भन्ने हल्ला समाचार सुन्नमा आयो। पछि युद्धविराम भङ्ग भयो। हामी भने राप्तीका गाउँहरूमा विभिन्न अभियानहरूमा लागिरहेका थियौँ। हुँदाहुँदै चैत लाग्यो। पार्टीको रणनीतिक सन्तुलनबाट राजनीतिक, फौजी रूपले प्रत्याक्रमणतिर छलाङ हान्नु थियो। त्यसक्रममा एउटा केन्द्रीकृत कारबाहीको योजना आयो, त्यो बेनी हान्ने योजना थियो। यस क्षेत्रका क्षेत्रीय सांस्कृतिक टोलीहरू पनि स्वयंसेवकको निम्ति तयारीमा जुट्यौँ। म पनि पहिलो ब्रिगेडसँग जोडिएर बेनी आक्रमणका लागि तयार भएर गएँ। आक्रमण ७ गते बेलुकी १०:३० देखि ८ गते एघार-बार बजेसम्म चलिरह्यो। म भने बिहान पाँच बजेतिर खोंच-खोंचमा हिँड्न सक्ने घाइतेहरूलाई डोर्याउँदै तातोपानी हुँदै दरबाङतिर आउँदै थिएँ त्यो दिन। रिट्रिट टाँडीमाथि दुस्मनले हवाई फायरिङ गरिरह्यो। लुक्ने, छिप्ने अनुकूलता केही थिएन। नलागे बाँच्ने हो, त्यही हो उपाय। जे होस्, हाम्रो ग्रुपलाई लागेन।
हो, त्यही चैत ८ गते मेरो कान्छो अमरको लमजुङमा सहादत भएको रहेछ। हामी बेनीबाट फर्केपछि रोल्पामा १० तिरबाट दुस्मन पस्यो। हामी भने सल्यानतिर गएर सांस्कृतिक प्रशिक्षणमा जोडिन पुग्यौँ। सल्यानको एउटा गाउँमा प्रशिक्षण दिँदै थिएँ। एक जना साथीले त्यति संवेदनशील विषय पनि हल्का ढङ्गले ‘दोर्जे गोली लागेर ढल्यो’ भनेको कुरा सुनायो मलाई। त्यत्रो युद्धको बिचको समाचार अपुष्टजस्तो भए पनि हुन सक्ने कुरा पनि भयो। त्यति विश्वास पनि लागेन। तर, मनभरि गोलमाल भने मच्चियो। सबैले थाहा पाउने गरी त्यति भावुक भइनँ। एक महिनाको नाति बोकेकी क. दीपासँगै उनकी आमा पनि रोल्पाबाट सल्यान आइपुगिछन्। त्यस्तो अपुष्ट समाचार उनले पनि सुनेकी रहिछिन्। फेरि पनि नहुन पनि सक्छ भनेर उनको मन थमथमानेँ। तर, हाम्रो मनभरि पीडाको बाढी त उर्लिरहेकै थियो।
एउटा गाउँमा मगरात स्वायत्त जनसरकार प्रमुख सन्तोष बुढा आउनुभएको रहेछ। त्यहीँ उहाँसँग भेट भएपछि गम्भीरताका साथ समाचार पुष्टि भएको कुरा उहाँले राख्नुभयो। उसकी आमाले कसरी मन थाम्न सक्नु! त्यस दिनदेखि हाम्रो निम्ति धर्तीमा घाम लागेन। सपनामै हिँडिरह्यौँ। सन्तान गुमाउनुको पीडा भोग्नेलाई थाहा हुँदोरहेछ। हामी कति रुनु? जति रोए पनि धोको नपुग्ने भएपछि। युद्ध लड्न हिँडेका मान्छेहरू दुनियाँले देख्ने गरी कति रुनु? पीडालाई दाह्रा किटेर पाइतालाले दबाएर हिँडिरह्यौँ। दुस्मनको आँखा छल्दै हिँडिरह्यौँ। मानसिक पीडाको कारण हामी भौतिक रूपले पनि कमजोर बन्दै गयौँ। लामा-लामा उकालोहरूमा धेरै सास्ती खेप्नुपर्यो।
त्यही पीडाको बिचमा एउटा कार्यक्रम पनि तय गर्यौँ। निकै उत्कृष्ट नै भएको रहेछ। त्यो पार्टी केन्द्रीय बैठकका लागि थियो। त्यही केन्द्रीय बैठककै बेला अध्यक्ष क. प्रचण्डसँग भेट हुँदा हार्दिक समवेदना प्रकट गर्नुभयो। सबैजसो कमरेडहरूले समवेदना प्रकट गर्नुभयो मलाई। पार्टीको व्यस्तता, दुस्मनको चापले गर्दा बुहारीसँगको भेटघाट धेरै पछिमात्र भयो। मगरात सांस्कृतिक टोलीको प्रशिक्षणको दौरान नै एक वर्ष तेह्र दिनमा राडकोटमा उक्त गाउँका क्रान्तिकारी जनसमुदायबिच उत्कृष्ट शोकसभाको आयोजना गर्यौँ। तर त्यहाँ एक जना पनि सि.सि.एम.को उपस्थिति थिएन। त्यतिबेला सबै खारा कारबाहीमा व्यस्त थिए।
ऊ पहिलो वार्ताकालमा भरुवा बन्दुक बोकेर जनमुक्ति सेनामा प्रवेश गरेको रहेछ। जनमुक्ति सेनाको प्लाटुन कमान्डर हुँदै वासु-स्मृति ब्रिगेड कार्यालयमा काम पनि गरेको रहेछ र पछि फौजी फर्मेसनभित्रकै एउटा सांस्कृतिक टिमको अध्यक्ष भएको रहेछ।
लमजुङको चिती भन्ने गाउँमा सेन्ट्री बस्दै गर्दा घेरामा परेछ। मिटिङ बसिरहेका साथीहरू बचाएर ऊ ढलेछ। गोली लागेर छटपटिँदै साथीलाई भनेको थियो रे – ‘तिमीहरू बच्ने काम गर, मेरो चिन्ता गर्नुपर्दैन, भौतिक रूपले म बाँच्दिनँ।’ त्यसपछि उसको भौतिक जीवनको अन्त्य कसरी भयो? म कल्पना पनि गर्न सक्दिनँ। पछि शत्रुले अर्को साथीलाई पनि समातेर हत्या गर्यो रे!
ऊ सरल स्वभावको साहसी र इमानदार युवा थियो। वर्गदुस्मनप्रति तीव्र घृणा र बदलाको भावले जोसिइरहने मान्छे थियो। पार्टी र क्रान्तिप्रति एकरत्ति पनि दायाँबायाँ गर्नुहुन्न भन्ने मान्यता राख्थ्यो उसले। जनताको गीत लेख्न, जनताको निम्ति नाच्न, गाउन, बजाउन, जे पनि गर्न तत्पर थियो ऊ। ऊ एउटा क्रान्तिकारी विचारले सुसज्जित युवा थियो। उसले पनि आफ्नो स्वार्थका निम्ति कहिल्यै सोचेन होला। ऊ जोरीपारीहरूको समेत मिलनसार प्यारो साथी थियो। साना नानीहरूको प्यारो अङ्कल थियो। दाइ, दिदीहरूको प्यारो भाइ र आमाबुबाको प्यारो कान्छो सन्तान थियो। दुःखी र गरिब जनताको निम्ति जीवन अर्पण गर्न तत्पर कुशल योद्धा थियो।
दुःखको कुरो! क. प्रचण्डलाई प्रत्यक्ष देख्ने उसको धोको पूरा हुन पाएन। उसलाई कलासम्बन्धी शास्त्रीय ज्ञान, मार्क्सवादी प्रगतिवादसम्बन्धी दक्ष बनाउने मेरो सपना अधुरो हुन पुग्यो। भौतिक रूपमा उसले आन्दोलनको लामो अनुभव गर्न पाएन। अब उसको भौतिक शरीर हाम्रो सामु रहेन। अन्त्यमा, कान्छो अमरप्रति हार्दिक श्रद्धाञ्जली! सबै वीर सपूतहरू प्रति श्रद्धाञ्जली! अहिले पछिल्लो युद्धविरामपछि सबै साथीहरू घरमा भेटघाट गर्न जाने ओइरो चल्दा हामी पनि त्यो सानो छाप्रोमा आयौँ। हामी आउँदा एकचोटी सबै खुसी भयौँ। तर, कान्छो अमर आएन। त्यो सानो छाप्रो घर फेरि खुसी भएन। अन्त्यमा त्यो सानो कलाकारका यी गीतका पङ्क्तिहरू उल्लेख गरी त्यो सहिदलाई सलामी चढाउँदै बिदा हुन्छु।
हामी भन्छौँ रगतको टीका लगाएर हामी भन्छौँ राइफल काँधमा सजाएर जनयुद्ध जिन्दावाद ! मार्क्सवाद, लेनिनवाद, माओवाद जिन्दावाद !
रातो झण्डा फरफराउने हामी हौँ जनमुक्ति सेना वर्गदुश्मनसँग भिड्ने योद्धा हौँ हामी लालयोद्धा हौं यो विद्रोहको ज्वालाको लड्ने हामी योद्धा हौँ हामी भन्छौँ …………….!!
सर्वहारा जनताको युद्ध हो यो जनयुद्ध हो नयाँ युगको नयाँ क्रान्ति हो सांस्कृतिक क्रान्ति हो यो नयाँ युग जन्माउने रक्तपात युद्ध हो हामी भन्छौं. !!
जनताको उर्लंदो यो भेल हो जनक्रान्ति भेल हो मृत्युलाई जित्न सक्ने खेल हो जनक्रान्तिको खेल हो यो मृत्युलाई जित्न सक्ने रक्तपूर्ण खेल हो हामी भन्छौँ ….. !!
Comments

