काठमाडौं, १४ कात्तिक । नेपाल पत्रकार महासंघ लगायतका बिभिन्न संघसंस्था र पार्टीहरुको तीब्र बिरोधपछि प्रहरीले पत्रकार बिश्वमणि सुवेदीलगायतका गिरफ्तार पत्रकारहरुलाई रिहागरेको छ । पत्रकारहरुको रिहाइ भएपनि धरपक्कडको छानविन हुनुपर्ने माग जारी रहेको थाहाभएको छ । उक्त गिरफ्तारीको प्रेस काउन्सिल लगायतलेसमेत बिरोध गरेका थिए । नेपाल पत्रकार महासंघका महासचिव रामप्रसाद दाहालले समाचार कक्षबाटै पत्रकारहरुलाई नियन्त्रणमा लिने कार्यलाई राज्य आतंकको संज्ञा दिनुभएको थियो । उहाँले बर्दीधारी तथा सादा पोशाकका प्रहरीहरु सिधै समाचार कक्षमा प्रवेश गरेर पत्रकारलाई उठाउने कदम नेपालको संविधान, पूर्ण प्रेस स्वतन्त्रता र अन्तर्राष्ट्रिय कानूनको समेत खुलेआम उल्लंघन भएको बताउनुभएको छ ।
त्यसैगरी प्रगतिशील पत्रकार संघले पत्रकारको गिरफ्तारीसँगै सिंगो सञ्चारजगतलाई तर्साउनेगरी प्रहरीले उठाएको कदमको विरोधगरेको थियो । अध्यक्ष श्यामलाल पोखरेलले जारी गर्नुभएको बक्तब्यमा प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदी र मोटिभेट न्युजका प्रधानसम्पादक शोभराज बराललाई पक्राउगरेको तथा नयाँपत्रिकाका पत्रकार नवराज मैनाली र दियो पोष्टका पत्रकार सुदीप विश्वकर्मालाई पक्राउगर्न खोजकोमा बिरोध जनाउनुभएको थियो । उहाँले समाचारसम्बन्धी चित्तनबुझे प्रेस काउन्सिलमा उजुरीगर्ने विधि स्मरणगराउँदै समाचारभन्दा फरक विषयमा गिरफ्तारीगर्दा पक्राउ पूर्जी दिनुपर्ने कानूनी प्रावधानप्रति प्रहरीको ध्यानाकर्षण पनि गराउनुभएको थियो ।
उहाँले कानून कार्यान्वयनगर्ने आधिकारिक निकायलेनै प्रेस काउन्सिल र पक्राउ पूर्जीलाई बाइपास गरेर विधिको शासन विरोधी क्रियाकलाप गरेको वक्तव्यमा उल्लेख गर्नुभएको थियो । उहाँले पक्राउ गरिएका पत्रकारको तत्काल रिहाइ तथा सञ्चारजगतमा त्रासको वातावरण बन्दगर्न माग पनि गर्नुभएको थियो

