कवि हिरामणि दु:खीको कविता सङ्ग्रह ‘आगो पाक्दै छ’ घोराहीमा विमोचन

घोराही, दाङ। कवि हिरामणि दुखीद्वारा रचित कविता सङ्ग्रह ‘आगो पाक्दै छ’ घोराहीमा विमोचन गरिएको छ। सर्वोदय पुस्तकालय तथा वाचनालय घोराहीमा आयोजित एक साहित्यिक कार्यक्रममा कविता सङ्ग्रह विमोचनसँगै त्यसको परिचर्चा गरिएको हो।
सर्वोदय पुस्तकालय तथा वाचनालयका उपाध्यक्ष चन्द्रराज पन्तको अध्यक्षता एवं वरिष्ठ साहित्यकार पुरुषोत्तम खनालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो।
कार्यक्रममा विमोचित कविता सङ्ग्रहको वरिष्ठ साहित्यकार डा. अमर गिरी र साहित्यकार घनश्याम अस्तित्वले समीक्षा गर्नुभएको थियो। समीक्षकहरूले कविता सङ्ग्रहमा समेटिएका विषयवस्तु, कविताको भावभूमि, अभिव्यक्ति शैली र साहित्यिक चेतनाका पक्षमा चर्चा गर्नुभएको थियो। उहाँहरूले कवितामार्फत समाज, समय, जीवनका अनुभूति र समसामयिक यथार्थलाई अभिव्यक्त गर्ने प्रयास महत्वपूर्ण रहेको धारणा राख्नुभएको थियो।
कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव एवं घोराही बनाऔँ अभियानका संयोजक सविन प्रियासनले साहित्यले समाजलाई बुझ्ने, बुझाउने र सकारात्मक परिवर्तनका लागि प्रेरित गर्ने बताउनुभयो। उहाँले साहित्यकारहरूले आफ्ना सिर्जनामार्फत समाजका समस्या, सम्भावना र मानवीय संवेदनालाई उजागर गर्दै आएको उल्लेख गर्नुभयो। कवि हिरामणि दुखीको नयाँ कविता सङ्ग्रहले नेपाली साहित्यको भण्डारमा थप योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै उहाँले सिर्जनात्मक यात्राको निरन्तरताका लागि शुभकामना दिनुभयो।
त्यसैगरी राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाले साहित्यिक कृतिहरूको प्रकाशनसँगै तिनमाथि हुने परिचर्चा र समीक्षा पनि उत्तिकै महत्वपूर्ण हुने बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले लेखकलाई आफ्नो सिर्जनाबारे थप बुझ्ने अवसर प्रदान गर्नुका साथै पाठकमा साहित्यप्रतिको रुचि बढाउने धारणा राख्नुभयो।
कार्यक्रममा साहित्यकारहरू खगेश्वर न्यौपाने, डा. लोकराज पराजुली, सुरेशकुमार पाण्डेलगायतले कविता सङ्ग्रह र साहित्यिक सिर्जनाको महत्वका विषयमा आ–आफ्ना विचार व्यक्त गर्नुभएको थियो। वक्ताहरूले कवि दुखीको सिर्जनात्मक सक्रियताको प्रशंसा गर्दै आगामी दिनमा पनि स्तरीय साहित्यिक कृतिहरू पाठकमाझ ल्याउन आग्रह गर्नुभएको थियो।
कार्यक्रमको सहजीकरण सर्वोदय पुस्तकालय तथा वाचनालयका सचिव सुशीला आचार्यले गर्नुभएको थियो।
कवि हिरामणि दुखीलाई नयाँ कविता सङ्ग्रह ‘आगो पाक्दै छ’ को प्रकाशन तथा विमोचनका लागि हार्दिक बधाई तथा साहित्यिक सिर्जनायात्राको सफलताको शुभकामना व्यक्त गरिएको छ।
Comments
- Advertisement -

समाचार सँग सम्वन्धित