काठमाडौं, कात्तिक २६। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारले देशभर उल्लास र उमङ्ग छाएको छ। उज्यालो, फूल, दीपावली र आपसी सद्भावको पर्वका रूपमा मनाइने तिहारको अन्तिम दिन आज बुधबार देशभर भाइटीका मनाइँदै छ।प्राकृतिक विपत्तिको प्रभाव विगतको जस्तो उल्लासमय छैन तिहार ।
भाइटीकाको अवसरमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गर्दै सप्तरङ्गी टीका तथा मखमली र सयपत्री फूलको माला लगाइदिने परम्परा छ। दाजुभाइले पनि दिदीबहिनीलाई उपहार तथा दक्षिणा दिएर स्नेह र सम्मान प्रकट गर्ने गर्दछन्।
तिहारको अवसरमा काठमाडौं उपत्यकासहित देशका विभिन्न सहर तथा ग्रामीण क्षेत्रमा घर, आँगन र सार्वजनिक स्थलहरू झिलिमिली बत्तीले सजिएका छन्। बजारमा फूलमाला, दियो, मैनबत्ती, विद्युतीय बत्ती तथा पूजाका सामग्री किनमेल गर्नेहरूको चहलपहल देखिएको छ।
यस वर्ष कात्तिक २१ गते काग तिहारबाट सुरु भएको यमपञ्चकमा कात्तिक २२ गते कुकुर तिहार र लक्ष्मीपूजा, कात्तिक २३ गते गाईपूजा तथा कात्तिक २४ गते गोरु तिहार, गोवर्द्धन पूजा र म्हपूजा मनाइएको थियो। नेवार समुदायले म्हपूजासँगै नेपाल संवत् ११४७ को नयाँ वर्षसमेत मनाएका छन्।
तिहारलाई प्रकृति, पशुपक्षी, परिवार र सामाजिक सम्बन्धप्रति सम्मान प्रकट गर्ने पर्वका रूपमा समेत लिइन्छ। देउसी–भैलो, गीत–सङ्गीत, नाचगान र सांस्कृतिक कार्यक्रमले पनि तिहारको रौनक थप्ने गरेका छन्।विभिन्न जातजाति, भाषा, संस्कृति र समुदायका मानिसहरूले आ–आफ्नै परम्परा र शैलीमा मनाउने तिहारले नेपाली समाजमा आपसी सद्भाव, भाइचारा र सांस्कृतिक एकताको सन्देश प्रवाह गर्दै आएको छ।
तिहार पर्वमा भाइटिकाको दिन टिका लगाउने प्रचलन मधेसी समुदायमा छैन। थारु समुदायमा पनि यो प्रचलन छैन। तर पहाडी समुदायको प्रभावका कारण कतिपय मधेसी र थारु लगायतका अन्य जाति तथा समुदायहरुले पनि तिहारमा टिका लगाउने गर्दछन्। यसै वर्ष गएको रसुवाको भोटेकोशी त्रिशुलीको बाढीले १२०० मानिसहरू को मृत्यु , ६ हजार बेपत्ता, हजारौं हजार घरबारविहीन भएको घटना, त्यसपछि बुढी गण्डकीमा आएको बाढीले पुर्याएको क्षति, असोजको ८ देखि १२ गतेसम्म नेपालमा भीषण बर्सातका कारण ५० भन्दा बढीको मृत्यु लगायतका दुखद घटनाहरूले नेपाली समाजमा तिहारको रौनकता विगतमा जस्तो छैन।
यस वर्ष को दशैं र तिहारको बेलामा व्यापक मात्रामा कालोबजारीको समस्या पनि नेपाली जनताले भोग्नु परेको छ। पटकाहरू अनावश्यक रुपमा धेरै पड्काएर समाजमा अशान्ति फैलाउने काम पनि भएको छ। विगतका कतिपय सरकारहरूले पटका नियन्त्रण गर्ने गरेर ध्वनि प्रदूषण कम गरेका उदाहरणहरु छन्, समाजमा सुशासन दिन्छु भनेर आएको वर्तमान बालेन सरकारको पालामा पटकाको ध्वनि प्रदूषण तिहारको बेलामा नियन्त्रण गर्न समेत नसकेको पनि देखियो।

