– नरेन्द्रबहादुर थापा
देवकोटा नेपाली साहित्यका विराट प्रतिभा र मानवतावादी चेतनाका अमर संवाहक हुन् ।
नेपाली साहित्यको आकाशमा अनेकौँ प्रतिभाशाली नक्षत्रहरू उदाए, आफ्नो समयलाई आलोकित गरे र नेपाली भाषा तथा साहित्यको विकासमा अमूल्य योगदान दिए। तीमध्ये केही प्रतिभाहरू आफ्नो सिर्जनात्मक सामर्थ्य, वैचारिक गहिराइ र युगान्तकारी योगदानका कारण समयको सीमालाई नाघेर युगौँयुगसम्म जीवित रहन्छन्।
महाकवि लक्ष्मीप्रसाद देवकोटा यस्तै दुर्लभ प्रतिभा भएका ब्यक्तित्व हुन् , जसको व्यक्तित्व र कृतित्व नेपाली साहित्यको इतिहासमा एउटा अविस्मरणीय अध्यायका रूपमा स्थापित छ। उनी केवल कवि मात्र होइन, युगद्रष्टा साहित्यकार, मानवतावादी चिन्तक, प्रकृतिप्रेमी, राष्ट्रप्रेमी र नेपाली समाजको पीडा तथा भावनालाई साहित्यमा अभिव्यक्त गर्ने विलक्षण प्रतिभा भएका ब्यक्ति पनि हुन् ।
हरेक वर्ष देवकोटाको जन्मजयन्ती मनाइरहँदा हामी एउटा महान् साहित्यकारको जन्मस्मरण मात्र गरिरहेका हुँदैनौँ, नेपाली भाषा, साहित्य, संस्कृति, मानवीय संवेदना र राष्ट्रिय चेतनाका बारेमा पुनर्विचार गर्ने अवसर पनि प्राप्त गरिरहेका हुन्छौँ। जन्मजयन्तीको वास्तविक सार फूलमाला, भाषण, कविता वाचन र औपचारिक श्रद्धाञ्जलीमा मात्र सीमित हुनु हुँदैन। उनले साहित्यमार्फत उठाएका सामाजिक प्रश्न, मानवमुक्तिको आकाङ्क्षा, समानताको भावना र जीवनप्रतिको आशावादी दृष्टिकोणलाई आजको समाजसँग जोडेर हेर्न सक्नु नै देवकोटा प्रतिको सच्चा सम्मान हो।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्म वि।सं। १९६६ साल कार्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौंको डिल्लीबजारमा भएको थियो। पिता तिलमाधव देवकोटा र माता अमरराज्यलक्ष्मी देवीका सुपुत्रका रूपमा जन्म लिएका देवकोटाको नामकरण पनि लक्ष्मीपूजाकै पवित्र दिनसँग जोडिएको थियो। उनको जन्म त्यस्तो समयमा भएको थियो, जतिबेला नेपाल राणाशासनको निरङ्कुश तानाशाही राजनीतिक व्यवस्थाबाट सञ्चालित थियो। शिक्षा केही सीमित वर्गको पहुँचमा थियो र सर्वसाधारण जनताका लागि ज्ञान तथा चेतनाको संसारमा प्रवेश गर्न अनेकौँ कठिनाइ थिए।
पारिवारिक वातावरणबाटै उनले साहित्य र भाषाप्रतिको प्रारम्भिक रुचि प्राप्त गरे। उनका पिता स्वयं संस्कृत र नेपाली भाषाका ज्ञाता, कवि तथा विद्वान् थिए । बाल्यकालदेखि नै अध्ययन, पठन र सिर्जनामा रुचि राख्ने देवकोटाले सानै उमेरमा कविता लेख्न थालेका थिए । उनको प्रतिभा परम्परागत शैक्षिक सीमाभन्दा धेरै अगाडि बढिसकेको थियो। पूर्वीय साहित्य, दर्शन र संस्कृत वाङ्मयसँगै अङ्ग्रेजी साहित्यको अध्ययनले उनको चिन्तनलाई अझ फराकिलो बनायो।
देवकोटाको जीवन बाहिरबाट हेर्दा प्रतिभा र सफलताको कथा देखिए पनि भित्रबाट त्यो अभाव, सङ्घर्ष, पारिवारिक जिम्मेवारी र मानसिक द्वन्द्वले भरिएको जीवन थियो। उनले जीवनभर कहिल्यै आर्थिक सम्पन्नता प्राप्त गर्न सकेनन् । तर भौतिक अभावले उनको सिर्जनात्मक सामर्थ्यलाई रोक्न सकेन। बरु जीवनका दुःख, पीडा, सङ्घर्ष र असमानताले उनको साहित्यलाई मानवीय संवेदनाको गहिराइमा पुग्न सहयोग प्रदान गरे।
उनको जीवनले एउटा महत्त्वपूर्ण सन्देश दिन्छ—मानिसको महानता उसको धनसम्पत्ति, पदप्रतिष्ठा र बाह्य वैभवबाट होइन, उसले समाज र मानवताका लागि दिएको योगदानबाट मापन हुन्छ।
नेपाली साहित्यमा देवकोटाको प्रवेश एउटा नयाँ सिर्जनात्मक युगको आरम्भ थियो। उनीभन्दा अगाडि नेपाली साहित्यमा शास्त्रीय तथा धार्मिक परम्परा , नैतिक शिक्षा र परम्परागत काव्यशैलीको प्रभाव बलियो थियो। देवकोटाले यस परम्परालाई आत्मसात् गर्दै त्यसमा नवीनतम कल्पना,व स्वच्छन्दतावादी चेतना, प्रकृतिप्रेम, मानवतावाद र जीवनका विविध अनुभूतिहरू समावेश गरे ।
उनको साहित्यिक प्रतिभाको सबैभन्दा उल्लेखनीय पक्ष यसको बहुआयामिकता हो। कविता, महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा, उपन्यास, नाटक, गीत र समालोचनाजस्ता विधामा उनले उल्लेखनीय योगदान दिए। नेपाली भाषामा मात्र नभई संस्कृत र अङ्ग्रेजी भाषामा समेत उनको राम्रो पकड थियो। पूर्वीय र पाश्चात्य साहित्यिक परम्पराको अध्ययनले उनको सिर्जनालाई अन्तर्राष्ट्रिय साहित्यिक चेतनासँग जोड्ने आधार तयार गर्यो।
उनका प्रमुख कृतिहरूमा ‘मुनामदन’, ‘शाकुन्तल’, ‘सुलोचना’, ‘कुञ्जिनी’, ‘लुनी’, ‘वनकुसुम’, ‘महाराणा प्रताप’, ‘पृथ्वीराज चौहान’, ‘प्रमिथस’, ‘चम्पा’, ‘लक्ष्मी निबन्ध सङ्ग्रह’ र ‘लक्ष्मी कथा सङ्ग्रह’ आदि पर्दछन्। यी कृतिहरूले उनको सिर्जनात्मक विविधता, भाषिक सामर्थ्य र विषयगत व्यापकतालाई प्रमाणित गर्छन्।
विशेषतः उनको लेखनको गति र सिर्जनात्मक क्षमताबारे साहित्यिक क्षेत्रमा अनेकौँ प्रसङ्ग चर्चित छन्। ‘शाकुन्तल’ महाकाव्य तीन महिनामा, ‘सुलोचना’ महाकाव्य दस दिनमा र ‘कुञ्जिनी’ एकै दिनमा सिर्जना गरेको प्रसङ्गले उनको अद्भुत प्रतिभाको परिचय दिन्छ। तर उहाँको महानता सिर्जनाको तीव्रतामा मात्र होइन, सिर्जनाको गुणस्तर, भावनात्मक गहिराइ र वैचारिक उचाइमा निहित छ।
उनलाई ‘महाकवि’ उपाधि दिइनु पनि उनको सिर्जनात्मक विराटताको सम्मान हो। महाकविको अर्थ धेरै कविता लेख्ने व्यक्ति मात्र होइन। जीवन, प्रकृति, समाज, इतिहास, मानवता र विश्वचेतनालाई व्यापक दृष्टिकोणबाट हेर्न सक्ने स्रष्टा नै वास्तविक अर्थमा महाकवि हो। देवकोटाले नेपाली साहित्यमा यही उचाइ हासिल गरेका थिए ।
देवकोटाको साहित्यिक योगदानको चर्चा गर्दा ‘मुनामदन’ लाई अलग राख्न सकिँदैन। यो नेपाली साहित्यको अत्यन्त लोकप्रिय र जनजीवनसँग गहिरो सम्बन्ध स्थापित गर्न सफल खण्डकाव्य हो। यसले नेपाली समाजको एउटा सामान्य परिवारको प्रेम, वियोग, त्याग, दुःख, बाध्यता र मानवीय संवेदनालाई अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गरेको छ।
मुनामदनको कथामा मदन धन कमाउन ल्हासा जान्छ। मुना आफ्नो श्रीमानको प्रतीक्षामा घरमा रहन्छिन्। यात्राका क्रममा मदन बिरामी पर्छ र एक भोटे पात्रले उसको जीवन बचाउँछ। तर मदनको मनमा जातीय अहङ्कारका कारण भोटेको सहयोगप्रति पर्याप्त सम्मान देखिँदैन। अन्ततः उसले मानिसको मूल्य जात, धर्म, वर्ण र बाहिरी पहिचानबाट होइन, उसको हृदय र मानवीय व्यवहारबाट निर्धारण हुनुपर्छ भन्ने जीवनको कठोर सत्य बुझ्छ।
‘मुनामदन’ को सबैभन्दा क्रान्तिकारी पक्ष यसको मानवतावादी सन्देश हो। देवकोटाले समाजमा विद्यमान जातीय विभेद र छुवाछुतको मानसिकतामाथि गम्भीर प्रश्न उठाएका छन् । मानिसलाई ठूलो वा सानो बनाउने आधार उसको जात होइन, उसको मानवीय गुण हो भन्ने विचारलाई उनले अत्यन्त सरल र प्रभावकारी ढङ्गले अभिव्यक्त गरेका छन् ।
काव्यमा अभिव्यक्त प्रसिद्ध पङ्क्ति—
“क्षेत्रीको छोरो यो पाउ छुन्छ घिनले छुँदैन,
मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन।”
यी पङ्क्तिहरू नेपाली समाजको जातीय विभेदविरुद्धको सशक्त साहित्यिक घोषणाका रूपमा स्थापित छन्। यिनमा समावेश विचार आज पनि उत्तिकै सान्दर्भिक छ। संविधानले समानताको अधिकार सुनिश्चित गरे पनि व्यवहारमा जातीय भेदभाव, छुवाछुत र सामाजिक बहिष्करण पूर्ण रूपमा अन्त्य हुन सकेको छैन। यस्तो अवस्थामा देवकोटाको मानवीय दर्शन सामाजिक न्यायको आन्दोलनका लागि प्रेरणाको स्रोत बन्न सक्छ।
‘मुनामदन’ को अर्को विशेषता यसको भाषिक सरलता र लोकलय हो। नेपाली समाजमा प्रचलित झ्याउरे लयलाई साहित्यिक उचाइ प्रदान गरेर देवकोटाले लोकजीवन र साहित्यबीचको दूरी घटाए । साहित्य उच्च वर्गका शिक्षित मानिसको बौद्धिक सम्पत्ति मात्र होइन, सामान्य जनताको जीवन, अनुभूति र भाषामा पनि उत्तिकै सशक्त रूपमा अभिव्यक्त हुन सक्छ भन्ने कुरा उनले प्रमाणित गरे ।
त्यसैले ‘मुनामदन’ एउटा प्रेमकथा मात्र होइनस यो सामाजिक चेतना, मानवीय समानता, श्रम, त्याग र करुणाको महाकाव्यात्मक अभिव्यक्ति हो।
देवकोटाको साहित्यको केन्द्रमा मानिस छ। उनका लागि मानिस जात, धर्म, वर्ग, लिङ्ग, भाषा वा राष्ट्रियताका आधारमा विभाजित प्राणी होइन, बरु सुख, दुःख, आशा, निराशा, प्रेम र पीडाले भरिएको संवेदनशील अस्तित्व हो। मानिसको स्वतन्त्रता, सम्मान र खुसी नै उनको साहित्यिक चिन्तनको महत्त्वपूर्ण आधार हो।
उनको प्रसिद्ध कविता ‘पागल’ यस सन्दर्भमा विशेष उल्लेखनीय छ। समाजले सामान्य मानिसको सोचाइ र व्यवहारलाई स्थापित मान्यताका आधारमा मापन गर्छ। ती मान्यताभन्दा फरक ढङ्गले सोच्ने मानिसलाई असामान्य वा पागल ठान्ने प्रवृत्तिमाथि देवकोटाले यस कवितामार्फत व्यङ्ग्य गरेका छन् ।
‘पागल’ को वक्ता समाजको कृत्रिम मूल्य, खोक्रो प्रतिष्ठा, स्वार्थ र सङ्कीर्ण बुद्धिवादसँग सहमत छैन। उसले संसारलाई आफ्नै संवेदनात्मक दृष्टिले हेर्छ। प्रकृतिमा, जीवनमा र मानवीय सम्बन्धमा उसले देख्ने सौन्दर्य सामान्य सामाजिक दृष्टिभन्दा फरक छ। यसरी देवकोटाले व्यक्तिको स्वतन्त्र चिन्तन, कल्पनाशीलता र आत्मसम्मानको पक्ष लिएका छन् ।
यो कविता केवल एउटा व्यक्तिको मानसिक अवस्थाको अभिव्यक्ति होइनस स्थापित सामाजिक मान्यतामाथि प्रश्न गर्ने सिर्जनात्मक चेतनाको प्रतीक पनि हो। समाजले सत्य र असत्यको निर्णय केवल बहुमत वा शक्तिका आधारमा गर्न सक्दैन भन्ने सन्देश यसमा अन्तर्निहित छ।
देवकोटाको मानवतावाद भावुकतामा मात्र सीमित छैन। त्यसमा सामाजिक न्याय, समानता, स्वतन्त्रता र मानवीय मर्यादाको चेतना समावेश छ। समाजमा कमजोर, गरिब, पीडित र उपेक्षित मानिसप्रति सहानुभूति राख्नु मात्र पर्याप्त हुँदैनस उनीहरूको पीडा उत्पन्न गर्ने सामाजिक संरचना र विभेदपूर्ण व्यवहारलाई पनि परिवर्तन गर्नुपर्छ भन्ने निष्कर्षतर्फ उनको साहित्यले पाठकलाई प्रेरित गर्छ।
देवकोटा नेपाली साहित्यका महान् प्रकृतिप्रेमी कवि पनि हुन् । उनका रचनामा हिमाल, पहाड, नदी, वन, फूल, चराचुरुङ्गी, आकाश, बादल र प्रकृतिका असङ्ख्य रूपहरू जीवन्त भएर उपस्थित हुन्छन्। उनी प्रकृतिलाई केवल वर्णनको विषय बनाएनन स प्रकृतिलाई जीवनको अभिन्न अङ्ग, सौन्दर्यको स्रोत र मानवीय अनुभूतिको सहयात्रीका रूपमा चित्रण गरे।
प्रकृतिको सौन्दर्यमा उनले जीवनको गहिरो अर्थ खोजेका छन् । प्रकृतिका परिवर्तनशील रूप, ऋतुहरूको आवागमन, फूलको फक्राइ, नदीको प्रवाह र आकाशको विशालतामा उनले जीवनको निरन्तरता र गतिशीलता अनुभूत गरेका छन् ।
उनको प्रकृतिचित्रणमा कल्पनाको उडान र संवेदनाको गहिराइ एकसाथ भेटिन्छन्। यसले उनलाई नेपाली स्वच्छन्दतावादी काव्यधाराका प्रमुख प्रतिनिधिका रूपमा स्थापित गरेको छ।
तर उनको प्रकृतिप्रेम केवल सौन्दर्यको आनन्दमा सीमित छैन। प्रकृतिसँगको मानवीय सम्बन्ध, जीवनको पारस्परिकता र विश्वबन्धुत्वको भावना पनि उनका सिर्जनामा पाइन्छ। मानिसले आफूलाई प्रकृतिको मालिक ठान्ने अहङ्कार त्यागेर प्रकृतिसँग सहअस्तित्वको सम्बन्ध स्थापित गर्नुपर्छ भन्ने शिक्षा उनका कृतिहरूको भावभूमिसँग जोडेर बुझ्न सकिन्छ।
आज जलवायु परिवर्तन, वन विनाश, प्रदूषण, प्राकृतिक स्रोतको अनियन्त्रित दोहन र पर्यावरणीय असन्तुलन विश्वव्यापी चुनौती बनिरहेका छन्। यस्तो समयमा प्रकृतिप्रति प्रेम र संवेदना जगाउने देवकोटाको साहित्यको महत्त्व अझ बढेको छ।
देवकोटाको साहित्यमा समाजका सुखी, सम्पन्न र प्रतिष्ठित मानिसहरूको जीवन मात्र चित्रित छैन। त्यहाँ गरिब, श्रमिक, भिखारी, असहाय, उपेक्षित र पीडित मानिसहरू पनि उत्तिकै महत्त्वका साथ उपस्थित छन्।
उनले समाजलाई बाहिरी चमकधमकबाट होइन, त्यसको अन्तर्यमा रहेका पीडा र विरोधाभासबाट बुझ्ने प्रयास गरे। मानिसको दुःख, गरिबी, भोक, अभाव र सामाजिक अन्यायलाई साहित्यको विषय बनाउनु उनको सिर्जनात्मक विशेषता हो।
उनको ‘भिखारी’ कवितामा अभाव र मानवीय विवशताको चित्रण भेटिन्छ। समाजमा धन र प्रतिष्ठाका आधारमा मानिसको मूल्य निर्धारण गर्ने प्रवृत्तिप्रति उनको साहित्यले प्रश्न उठाउँछ। मानिसको गरिबी उसको अपराध होइन, र आर्थिक अवस्थाका कारण कसैको मानवीय सम्मान घट्न सक्दैन भन्ने भाव उनका रचनाहरूमा प्रकट हुन्छ।
देवकोटा स्वयं आर्थिक सङ्घर्षबाट गुज्रिएको हुनाले गरिबी र अभावको अनुभूति उनका लागि केवल बाहिरी अवलोकन थिएन। जीवनको प्रत्यक्ष अनुभवबाट प्राप्त संवेदनाले उनको साहित्यलाई अझ यथार्थपरक र मार्मिक बनाएको छ।
उनको साहित्यमा विद्रोहको स्वर पनि भेटिन्छ। त्यो विद्रोह केवल राजनीतिक सत्ताविरुद्धको नारामा सीमित छैनस मानिसलाई मानिसबाट अलग गर्ने सबै प्रकारका सङ्कीर्णता, विभेद, अन्याय र कृत्रिम सामाजिक प्रतिष्ठाविरुद्धको वैचारिक प्रतिरोध हो।
देवकोटा नेपाली भाषा र साहित्यको विकासका लागि समर्पित व्यक्तित्व थिए । उनले नेपाली भाषालाई केवल अभिव्यक्तिको माध्यमका रूपमा मात्र होइन, राष्ट्रिय पहिचान, सांस्कृतिक एकता र सामूहिक चेतनाको आधारका रूपमा ग्रहण गरेका छन् ।
नेपाली भाषाको साहित्यिक सामर्थ्य अन्तर्राष्ट्रिय स्तरसम्म पुग्न सक्छ भन्ने विश्वास उनमा थियो। त्यसैले उनले नेपाली भाषामा उच्चस्तरका महाकाव्य, खण्डकाव्य, निबन्ध र अन्य साहित्यिक कृतिहरू सिर्जना गरे । नेपाली साहित्यलाई विश्वसाहित्यसँग परिचित गराउने काममा पनि उनले योगदान दिए ।
वि।सं। २०१६ सालमा शिक्षा तथा स्वायत्त शासनमन्त्रीका रूपमा जिम्मेवारी सम्हाल्दा नेपाली भाषालाई पाठ्यक्रममा अनिवार्य विषयका रूपमा स्थापित गर्ने पहल र नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना प्रक्रियामा उनको सक्रिय योगदान उल्लेखनीय छ। साहित्यकारका रूपमा मात्र नभई राष्ट्रको भाषा, शिक्षा र सांस्कृतिक विकाससम्बन्धी नीतिगत कार्यमा समेत उनले भूमिका निर्वाह गरेका थिए ।
यसले उनको राष्ट्रप्रेम भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नभई व्यवहार र सार्वजनिक जिम्मेवारीमा समेत प्रकट भएको देखाउँछ।
राष्ट्रप्रेमको अर्थ आफ्नो देशको प्रशंसा मात्र गर्नु होइन। देशका कमजोरी पहिचान गर्नु, जनताको पीडा बुझ्नु, भाषा र संस्कृतिको संरक्षण गर्नु तथा समाजलाई न्यायपूर्ण र समुन्नत बनाउने दिशामा योगदान गर्नु पनि राष्ट्रप्रेम हो। देवकोटाको साहित्यमा पाइने राष्ट्रप्रेमको चेतनालाई यही व्यापक अर्थमा बुझ्नुपर्छ।
देवकोटाको अर्को महत्त्वपूर्ण विशेषता पूर्वीय र पाश्चात्य साहित्य तथा दर्शनको सिर्जनात्मक समन्वय हो। उनले संस्कृत साहित्यको परम्परा, भारतीय दर्शन, पौराणिक आख्यान र नेपाली लोकसंस्कृतिको गहिरो अध्ययन गरेका थिए। त्यसैगरी अङ्ग्रेजी साहित्यका रोमान्टिक कवि र अन्य विश्वप्रसिद्ध साहित्यकारका रचनाबाट पनि उनी प्रभावित थिए ।
तर उनको विशेषता विदेशी साहित्यको नक्कल गर्नुमा थिएन। उनले विभिन्न साहित्यिक परम्पराबाट उपयोगी पक्ष ग्रहण गरेर नेपाली समाज, संस्कृति र जीवनअनुभवसँग जोड्ने काम गरे ।
‘शाकुन्तल’ मा कालिदासको प्रसिद्ध संस्कृत नाट्यपरम्परासँग सम्बन्धित कथावस्तुलाई नेपाली काव्यात्मक अभिव्यक्तिमा रूपान्तरण गरेका छन् । ‘प्रमिथस’ मा पश्चिमी पौराणिक आख्यानलाई सिर्जनात्मक रूपमा प्रस्तुत गरेका छन् । यी कृतिहरूले उनको अध्ययनको व्यापकता र सांस्कृतिक सीमाभन्दा माथि उठेर सोच्न सक्ने क्षमतालाई देखाउँछन्।
यसबाट एउटा महत्त्वपूर्ण शिक्षा प्राप्त हुन्छ—आफ्नो मौलिक पहिचान कायम राख्दै विश्वका ज्ञान, विचार र सिर्जनात्मक उपलब्धिलाई ग्रहण गर्न सक्नु नै साँचो बौद्धिक विकास हो। देवकोटाले नेपाली साहित्यलाई यही बाटो देखाएका छन् ।
देवकोटा बाँचेको समय राजनीतिक, सामाजिक र सांस्कृतिक दृष्टिले सङ्क्रमणको समय थियो। राणाशासनको अन्त्य, प्रजातान्त्रिक आन्दोलन, सामाजिक परिवर्तनको आकाङ्क्षा र नयाँ राष्ट्रिय चेतनाको विकासले नेपाली समाजलाई प्रभावित गरिरहेको थियो।
उनले यस्ता परिवर्तनलाई नजिकबाट अनुभव गरे। उनको साहित्यमा त्यस समयका सामाजिक अन्तर्विरोध, मानिसका आकाङ्क्षा र जीवनका जटिलताहरू विभिन्न रूपमा अभिव्यक्त भएका छन्।
उनी कुनै एउटा साहित्यिक विधा वा विचारको साँघुरो घेरामा सीमित थिएनन् । उनको लेखनमा कल्पना छ, यथार्थ छ, करुणा छ, विद्रोह छ, दर्शन छ र जीवनप्रतिको अदम्य आशावाद पनि छ।
उनका निबन्धहरूमा बौद्धिक गहिराइ, हास्यव्यङ्ग्य, कल्पनाशीलता र मौलिक अभिव्यक्ति पाइन्छ। उनको गद्यले नेपाली निबन्ध साहित्यलाई नयाँ उचाइ प्रदान गरेको छ। विशेषतः साहित्यिक निबन्धमा उनले विचारलाई कलात्मक भाषा र जीवन्त अनुभूतिसँग जोडेका छन् ।
यस अर्थमा देवकोटाको योगदान कविताको संसारमा मात्र सीमित छैन। नेपाली भाषाका विभिन्न साहित्यिक विधालाई समृद्ध
आज हामी एक्काइसौँ शताब्दीको प्रविधि, सूचना र भूमण्डलीकरणको युगमा छौँ। विज्ञान र प्रविधिले मानव जीवनलाई अभूतपूर्व रूपमा परिवर्तन गरेको छ। सञ्चारको विस्तार भएको छ, शिक्षा र ज्ञानका नयाँ अवसरहरू खुलेका छन् र मानिसको जीवनशैलीमा व्यापक परिवर्तन आएको छ। तर यी उपलब्धिका बीचमा पनि समाज अनेकौँ समस्याबाट मुक्त हुन सकेको छैन।
जातीय विभेद, आर्थिक असमानता, गरिबी, भ्रष्टाचार, सामाजिक अन्याय, हिंसा, स्वार्थ, वातावरणीय विनाश र मानवीय संवेदनाको ह्रास आज पनि हाम्रा सामु चुनौतीका रूपमा रहेका छन्।
यस्तो अवस्थामा देवकोटाको साहित्यलाई पुनः पढ्नु आवश्यक छ। ‘मुनामदन’ ले जातभन्दा मानवता ठूलो हुन्छ भन्छ। ‘पागल’ ले स्थापित मान्यतामाथि प्रश्न गर्ने स्वतन्त्र चेतनाको पक्ष लिन्छ। ‘भिखारी’ ले गरिब र असहाय मानिसप्रति संवेदना जगाउँछ। प्रकृतिप्रधान कविताले मानिस र प्रकृतिबीचको सम्बन्धलाई आत्मसात् गर्न प्रेरित गर्छ।
यी विचारहरू केवल साहित्यिक सौन्दर्यका विषय होइनन्स आजको सामाजिक रूपान्तरणका लागि पनि महत्त्वपूर्ण वैचारिक आधार हुन्।
आज शिक्षा विस्तार भएको छ, तर शिक्षित मानिसमा नैतिकता, सामाजिक जिम्मेवारी र मानवीय संवेदना कति विकसित भएको छ भन्ने प्रश्न गम्भीर छ। मानिससँग सूचना धेरै छ, तर अरूको पीडा बुझ्ने क्षमता कमजोर हुँदै गएको त छैनरु आर्थिक समृद्धिको आकाङ्क्षा बढेको छ, तर त्यससँगै सामाजिक समानता र न्यायको भावना पनि विकसित भएको छ कि छैनरु यस्ता प्रश्नको उत्तर खोज्दा देवकोटाको साहित्यले हामीलाई आत्मसमीक्षाको अवसर दिन्छ।
साहित्यको उद्देश्य मनोरञ्जन मात्र होइनस मानिसलाई संवेदनशील, विवेकशील र जिम्मेवार बनाउनु पनि हो। देवकोटाको साहित्यले यही काम गरेको छ। त्यसैले उनको अध्ययन आजका विद्यार्थी, शिक्षक, साहित्यकार, राजनीतिकर्मी र आम नागरिक सबैका लागि उपयोगी छ।
हरेक वर्ष महाकवि देवकोटाको जन्मजयन्ती विभिन्न साहित्यिक तथा सांस्कृतिक कार्यक्रमका साथ मनाइन्छ। विद्यालय, महाविद्यालय, साहित्यिक संस्था, प्रज्ञिक निकाय र सामाजिक सङ्घसंस्थाहरूले उनको योगदानको चर्चा गर्छन्। उनका कविताहरू वाचन गरिन्छन्, उनका कृतिमाथि विमर्श हुन्छ र उनको व्यक्तित्वलाई सम्झेर श्रद्धाञ्जली अर्पण गरिन्छ।
तर यति मात्रले उहाँप्रतिको हाम्रो दायित्व पूरा हुँदैन। उनका कृतिहरू नयाँ पुस्ताले कति पढिरहेका छन्रु विद्यालय र विश्वविद्यालयको अध्ययनमा उनको साहित्यलाई कति गम्भीरतापूर्वक समेटिएको छरु नेपाली साहित्यको संरक्षण, अनुसन्धान, अनुवाद र अन्तर्राष्ट्रिय प्रचारप्रसारका लागि हामीले के गरिरहेका छौँरु यी प्रश्नहरू पनि जन्मजयन्तीका अवसरमा उठ्नुपर्छ।
देवकोटाको नाममा कार्यक्रम आयोजना गर्नु महत्त्वपूर्ण छ, तर उनका कृतिहरूको गम्भीर अध्ययन र विश्लेषण गर्नु अझ महत्त्वपूर्ण छ। उनका साहित्यिक कृतिहरूलाई नयाँ पुस्तासम्म पुर्याउनु, विश्वका विभिन्न भाषामा अनुवाद गर्नु, उनको जीवन र साहित्यबारे प्रामाणिक अनुसन्धानलाई प्रोत्साहन गर्नु र साहित्यमा अभिव्यक्त मानवीय मूल्यलाई सामाजिक व्यवहारमा रूपान्तरण गर्नु आवश्यक छ।
साहित्यकारको सम्मान उसको तस्वीरमा माला चढाएर मात्र हुँदैनस उसको विचारलाई जीवनमा आत्मसात् गरेर हुन्छ। देवकोटाको सम्मान भनेको जातीय विभेदविरुद्ध उभिनु, गरिब र असहायको पक्षमा बोल्नु, स्वतन्त्र चिन्तनको रक्षा गर्नु, प्रकृतिलाई माया गर्नु र नेपाली भाषाको समृद्धिका लागि योगदान दिनु पनि हो।
महाकवि लक्ष्मीप्रसाद देवकोटाको जीवनयात्रा वि।सं। २०१६ साल भदौ २९ गते काठमाडौंमा समाप्त भयो। उनी केवल पचास वर्षको उमेरमा यस संसारबाट बिदा भए। तर उनको भौतिक जीवनको अन्त्यले उनको सिर्जनात्मक अस्तित्वलाई समाप्त गर्न सकेन। उनका कृतिहरू आज पनि नेपाली समाजको बौद्धिक र सांस्कृतिक जीवनमा जीवित छन्।
मानिसको जीवन कति लामो रह्यो भन्नेभन्दा उसले आफ्नो जीवनकालमा मानव समाजलाई के दियो भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। देवकोटाले आफ्नो छोटो जीवनमा नेपाली साहित्यलाई जुन अमूल्य सम्पदा प्रदान गरे , त्यो कुनै एक पुस्ताको मात्र सम्पत्ति होइन। त्यो सम्पूर्ण नेपाली समाजको साझा सांस्कृतिक धरोहर हो।
उनले नेपाली भाषालाई सिर्जनात्मक अभिव्यक्तिको व्यापक सामर्थ्य प्रदान गरे । साहित्यलाई जनजीवनसँग जोडे। जातीय विभेद र सङ्कीर्णतामाथि प्रहार गरे । गरिब, पीडित र उपेक्षित मानिसप्रति मानवीय संवेदना जगाए। प्रकृतिको सौन्दर्यलाई साहित्यमा जीवन्त बनाए र नेपाली साहित्यलाई विश्वसाहित्यसँग संवाद गर्न सक्ने उचाइमा पुर्याए।
आज देवकोटाको जन्मजयन्ती मनाइरहँदा हामीले उनलाई केवल विगतका महान् कविका रूपमा सम्झेर पुग्दैन। उनलाई वर्तमानका समस्यासँग संवाद गर्ने जीवित वैचारिक शक्तिका रूपमा ग्रहण गर्नुपर्छ। उनको साहित्यमा निहित मानवता, समानता, स्वतन्त्रता, प्रकृतिप्रेम र सिर्जनात्मक विद्रोहलाई हाम्रो सामाजिक तथा सांस्कृतिक जीवनको अभिन्न अङ्ग बनाउनुपर्छ।
देवकोटा एउटा व्यक्तिको नाम मात्र होइन, सिर्जनात्मक स्वतन्त्रता, मानवीय करुणा, सामाजिक चेतना र नेपाली साहित्यको गौरवशाली इतिहासको प्रतीक पनि हुन् । उनको शरीर अस्तायो, तर उनले बालेको सिर्जनाको दीप अझै निभेको छैन। त्यो दीप नेपाली भाषाको प्रत्येक नयाँ सिर्जनामा, अन्यायविरुद्ध उठ्ने प्रत्येक चेतनशील आवाजमा र मानवताप्रति समर्पित प्रत्येक कर्ममा निरन्तर बलिरहनेछ।
महाकवि देवकोटाको जन्मजयन्तीको सच्चा अर्थ उनका कृतिहरू पढ्नु, उनका विचार बुझ्नु र उनले देखाएको मानवीय तथा सिर्जनात्मक बाटोमा निरन्तर अघि बढ्नु आज पनि उत्तिकै आवस्यकता रहेको छ । श्रद्धेय देवकोटा प्रति हार्दिक श्रद्धासुमन
मिति २०८३ कार्तिक २२ गते

