कविता – फ्याउरो

– जितामित्र सुनार
फ्याउरो मासु खान्छ
पाएसम्म मासु मात्रै खान्छ।
नपाउँदा किरा खान्छ,
कन्दमूल खान्छ।
भोकले मर्नु परे
जे पनि खान्छ।
देख्दा कुकुरजस्तो,
तर कुकुर नै होइन।
हो त कुकुर प्रजातिको।
कुकुरमा गुन हुन्छ भन्छन्,
फ्याउरो त गुन नभएको,
बाँच्नका लागि जे पनि गर्ने
अवसरवादी, धोकेबाज र मौकापरस्त।
भन्छन् नि मान्छे, “फ्याउरोजस्तो”
मैले बुझेको, कुकुरभन्दा नीच
फ्याउरो नै रहेछ।
न भुक्छ, न गुन छ,
लुकीलुकी सिकार गर्छ
र प्राणीको जीवन खोस्छ।
प्राणीको जीवन खोस्ने
फ्याउराहरूसँग बच्नुपर्छ।
फ्याउरो कहिले वल्लो पाखा,
कहिले पल्लो पाखा,
कहिले कालेपट्टि,
कहिले भालेपट्टि।
खानेबाहेक केही बुझेकै छैन,
आफ्नो खुबी नै छैन।
जे लगायो, त्यही गर्छ।
फ्याउरो फ्याउरो नै रहेछ।
अहिले खानकै लागि
फ्याउराले क्याम्प सारेछ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित