संसदीय व्यवस्थाबाट समाजवाद र साम्यवाद सम्भव छ ? क्रान्तिकारी कम्युनिस्टहरूले गम्भीरतापूर्वक सोच्नुपर्ने प्रश्न

रामसिङ वि.क.
कम्युनिस्ट पार्टीको स्थापना गर्नुको मूल उद्देश्य केवल चुनावमा भाग लिनु, संसद्मा प्रतिनिधित्व गर्नु वा सरकारमा पुग्नु मात्र होइन। कम्युनिस्ट आन्दोलनको ऐतिहासिक लक्ष्य भनेको शोषण, उत्पीडन, वर्गीय विभेद र असमानतामा आधारित समाज व्यवस्थाको अन्त्य गर्दै समाजवाद हुँदै साम्यवादसम्म पुग्नु हो। त्यसैले आफूलाई सच्चा कम्युनिस्ट तथा क्रान्तिकारी कम्युनिस्ट पार्टी भन्नेहरूले आफ्नो राजनीतिक कार्यदिशा, व्यवहार र आन्दोलनको दिशा कुन वर्गको हितमा केन्द्रित छ भन्ने कुरामा गम्भीर समीक्षा गर्न आवश्यक छ।
आज कम्युनिस्ट आन्दोलनभित्र एउटा गम्भीर प्रश्न उठेको छ—के वर्तमान संसदीय व्यवस्थाभित्रै रहेर समाजवाद र साम्यवाद स्थापना गर्न सम्भव छ? यदि संसदीय व्यवस्थालाई नै क्रान्तिको अन्तिम गन्तव्य मानिन्छ र चुनावी प्रतिस्पर्धा, सत्ता प्राप्ति तथा संसदीय जोडघटाउलाई नै मुख्य राजनीतिक कार्यदिशा बनाइन्छ भने त्यसले कम्युनिस्ट आन्दोलनलाई क्रमशः सुधारवाद र दक्षिणपन्थी अवसरवादतर्फ धकेल्ने खतरा रहन्छ।
संसदीय व्यवस्थामा सहभागी हुनु र संसदीय व्यवस्थालाई नै समाज परिवर्तनको अन्तिम माध्यम ठान्नु एउटै कुरा होइन। निर्वाचन र संसद्लाई जनताका समस्या उठाउने, राजनीतिक प्रचार गर्ने तथा जनतालाई संगठित गर्ने माध्यमका रूपमा प्रयोग गर्न सकिन्छ। तर संसदीय व्यवस्थाभित्र सीमित भएरै समाजको आमूल परिवर्तन हुन्छ भन्ने भ्रम पाल्नु क्रान्तिकारी दृष्टिकोणसँग मेल खाँदैन।

मार्क्सवादले समाज परिवर्तनलाई वर्गीय अन्तर्विरोध र वर्गसंघर्षसँग जोडेर हेर्दछ। समाजमा विद्यमान शोषणकारी सम्बन्धको अन्त्य गर्न केवल सरकार परिवर्तन पर्याप्त हुँदैन, उत्पादनका साधनमाथिको स्वामित्व, राज्यसत्ताको चरित्र र समाजको वर्गीय संरचनामै परिवर्तन आवश्यक हुन्छ।त्यसैले सच्चा क्रान्तिकारी कम्युनिस्टहरूले वर्गसंघर्षलाई निरन्तर अगाडि बढाउँदै मजदुर, किसान, उत्पीडित समुदाय र श्रमजीवी जनताको व्यापक एकता निर्माण गर्नुपर्छ। बलियो वैचारिक आधार, अनुशासित संगठन, जनताको सक्रिय समर्थन र अनुकूल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिको मूल्याङ्कन गर्दै क्रान्तिकारी परिवर्तनको बाटो तय गर्नुपर्छ।

इतिहासले देखाएको छ कि समाजको आमूल परिवर्तन कुनै सजिलो वा एकै दिनमा सम्पन्न हुने प्रक्रिया होइन। त्यसका लागि लामो राजनीतिक संघर्ष, वैचारिक स्पष्टता, जनसंगठन र व्यापक जनसमर्थन आवश्यक हुन्छ। क्रान्तिकारी परिवर्तनका विभिन्न सम्भावित बाटाहरूबारे परिस्थितिको ठोस विश्लेषण आवश्यक छ। त्यसैले सशस्त्र विद्रोहको प्रश्नसमेत कुनै भावनात्मक नाराका रूपमा होइन, ऐतिहासिक, राजनीतिक र वस्तुगत परिस्थितिको गम्भीर विश्लेषणका आधारमा बुझिनुपर्छ।
तर दुःखको कुरा, कतिपय कम्युनिस्ट पार्टीहरू आफ्नो क्रान्तिकारी उद्देश्य र वर्गीय दृष्टिकोणलाई कमजोर बनाउँदै संसदीय सत्ताको वरिपरि घुम्न थालेका छन्। चुनाव जित्ने, मन्त्री बन्ने, सरकारमा पुग्ने र सत्ताको भागबन्डामा सहभागी हुने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनको क्रान्तिकारी चरित्रमाथि नै प्रश्न उठाएको छ। यस्तो प्रवृत्तिले अन्ततः क्रान्तिकारी विचार र व्यवहारबीचको सम्बन्ध कमजोर बनाउँछ र दक्षिणपन्थी अवसरवादलाई प्रश्रय दिन्छ।
कम्युनिस्ट नाम र झन्डा बोकेर मात्र कोही क्रान्तिकारी हुँदैन। उसको विचार, राजनीतिक कार्यदिशा, वर्गीय पक्षधरता र व्यवहारले नै उसको वास्तविक चरित्र निर्धारण गर्छ। समाजवाद र साम्यवादको नारा लगाउने तर व्यवहारमा विद्यमान शोषणकारी व्यवस्थासँग सम्झौता गर्दै जाने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई सही दिशामा अगाडि बढाउन सक्दैन।
यसर्थ, कम्युनिस्ट आन्दोलनप्रति आस्था राख्ने सम्पूर्ण साथीहरूलाई मेरो विनम्र अनुरोध छ—कुनै पनि पार्टीको नाम, नारा वा बाहिरी आवरणबाट मात्र प्रभावित नहुनुहोस्। त्यस पार्टीको वास्तविक राजनीतिक कार्यदिशा, वर्गीय पक्षधरता, क्रान्तिप्रतिको प्रतिबद्धता र व्यवहारलाई गम्भीरतापूर्वक अध्ययन गर्नुहोस्।

हामीले बुझ्नुपर्ने मूल कुरा के हो भने कम्युनिस्ट आन्दोलनको लक्ष्य सत्ता प्राप्ति मात्र होइन, समाजको आमूल रूपान्तरण हो। संसदीय सफलतालाई नै समाजवाद र साम्यवाद प्राप्तिको पर्याय ठान्नु हुँदैन। क्रान्तिकारी विचारलाई व्यवहारमा रूपान्तरण गर्न जनताको संगठित शक्ति, वर्गसंघर्ष र स्पष्ट राजनीतिक दृष्टिकोण आवश्यक हुन्छ।
अन्ततः कम्युनिस्ट आन्दोलनको भविष्य चुनावी सफलता वा संसदीय पद प्राप्तिमा होइन, शोषित, पीडित र श्रमजीवी जनताको मुक्तिको उद्देश्यप्रति कति इमानदार र प्रतिबद्ध रहन सकिन्छ भन्ने कुरामा निर्भर गर्दछ।
क्रान्तिकारी विचारको रक्षा गरौँ, अवसरवादविरुद्ध वैचारिक संघर्ष गरौँ र समाजवाद तथा साम्यवादको लक्ष्यप्रति इमानदार बनौँ।

नेपालमा आफूलाई सशस्त्र क्रान्तिकारी कम्युनिस्ट पार्टी भन्नेहरूको कमी छैन। उनीहरूका भाषण, लेख र दस्तावेजमा क्रान्तिका ठूला–ठूला कुरा सुनिन्छन्। तर व्यवहारमा हेर्दा उनीहरूका क्रान्तिकारी विचार र कार्यशैलीबीच ठूलो अन्तर देखिन्छ। मुखले क्रान्तिको कुरा गर्ने तर व्यवहारमा संसदीय व्यवस्थाकै वरिपरि घुमिरहने प्रवृत्तिले कम्युनिस्ट आन्दोलनलाई नै बदनाम गरिरहेको छ। सिद्धान्तमा क्रान्तिकारी देखिनु तर व्यवहारमा संसदीय अवसरवादमा फस्नु गम्भीर वैचारिक समस्या हो।

कुनै पनि क्रान्तिकारी कम्युनिस्ट पार्टीले आफ्नो देशको वस्तुगत परिस्थिति, जनताको वास्तविक समस्या र सामाजिक अवस्थाको सही विश्लेषण गर्न सक्नुपर्छ। चीनमा माओले गरेको क्रान्ति, रूसमा लेनिनले नेतृत्व गरेको क्रान्ति, जर्मनीका कम्युनिस्ट आन्दोलन वा भारतका कम्युनिस्ट पार्टीका अनुभवहरू अध्ययन गर्नु गलत होइन। तर ती देशका अनुभवलाई जस्ताको तस्तै नेपालको परिस्थितिमा लागू गर्न खोज्नु वैज्ञानिक दृष्टिकोण हुन सक्दैन। ती अनुभवबाट शिक्षा लिने हो, नक्कल गर्ने होइन।

नेपालको आफ्नै ऐतिहासिक, भौगोलिक, सामाजिक, सांस्कृतिक र आर्थिक विशेषता छ। हिमाल, पहाड र तराईको विविधता, विभिन्न जातजाति, भाषा, धर्म, संस्कृति, संस्कार र परम्पराले हाम्रो समाज बनेको छ। यहाँका जनताको जीवनशैली, भावना, आवश्यकता र अपेक्षालाई गहिरो रूपमा बुझ्न जरुरी छ। नेपाली जनताले भोगिरहेका गरिबी, बेरोजगारी, असमानता, शोषण, विभेद र राष्ट्रिय स्वाधीनताका समस्यालाई केन्द्रमा राखेर मात्रै नेपालको क्रान्तिको सही बाटो पहिचान गर्न सकिन्छ।

कम्युनिस्ट हुनु भनेको किताबमा क्रान्तिका सिद्धान्त लेख्नु वा भाषणमा क्रान्तिकारी नारा लगाउनु मात्र होइन। जनताको जीवनसँग जोडिनु, उनीहरूका समस्या बुझ्नु र सिद्धान्तलाई व्यवहारमा लागू गर्नु हो। विदेशी क्रान्तिका उदाहरण दिएर आफूलाई क्रान्तिकारी प्रमाणित गर्नेभन्दा आफ्नै देशको धरातलीय यथार्थ बुझेर अगाडि बढ्नु आजको आवश्यकता हो।
अन्ततः क्रान्तिकारी पार्टीको पहिचान उसका नारा र दस्तावेजले मात्र होइन, उसको राजनीतिक व्यवहार, जनतासँगको सम्बन्ध र सिद्धान्तप्रतिको इमानदारीले निर्धारण गर्छ। त्यसैले नेपाली कम्युनिस्ट आन्दोलनले विदेशी अनुभवको अन्धानुकरण र संसदीय अवसरवाद दुवैबाट मुक्त हुँदै नेपालको वस्तुगत परिस्थितिमा आधारित वैज्ञानिक क्रान्तिकारी कार्यदिशा निर्माण गर्न आवश्यक छ।क्रान्तिको कुरा नारामा होइन, व्यवहारमा देखिनुपर्छ। नेपाली क्रान्तिको बाटो नेपाली जनताको वास्तविक जीवन र वस्तुगत प्ररिस्थितिबाटै खोजिनु पर्दछ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित