सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु भएको छ। मङ्गलबारदेखि विभिन्न खेलका प्रतिस्पर्धा सुरु भएसँगै लामो समयदेखि प्रतीक्षा गरिएको राष्ट्रिय खेलकुद प्रतियोगिताले गति लिएको हो।
राष्ट्रिय खेलकुद परिषद्का अनुसार प्रतियोगिताअन्तर्गत पहिलो चरणमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडीलगायत खेलका प्रतिस्पर्धा सुरु भएका छन्।
कुल ३२ खेल समावेश गरिएको प्रतियोगिताका २३ खेल सुर्खेतमा सञ्चालन हुनेछन्। बाँकी खेल कर्णाली प्रदेशका सल्यान, दैलेख, कालिकोट, जुम्ला र रुकुमपश्चिम तथा लुम्बिनी प्रदेशका नेपालगञ्ज र बर्दियामा सञ्चालन हुने कार्यक्रम छ।
प्रतियोगितामा सात प्रदेश, तीन विभागीय टोली र गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) गरी ११ टोलीको सहभागिता रहनेछ। विभिन्न ३८४ स्पर्धामा खेलाडीहरूले कुल १ हजार ३३७ पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगिताको औपचारिक उद्घाटन आगामी मङ्सिर १६ गते सुर्खेतस्थित कर्णाली प्रदेश रङ्गशालामा हुनेछ। प्रतियोगिता मङ्सिर २७ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ।
कर्णाली प्रदेशमा पहिलोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुन लागेको हो। यसले कर्णालीको खेलकुद विकास, पूर्वाधार विस्तार, पर्यटन प्रवर्द्धन तथा राष्ट्रियस्तरमा यस क्षेत्रको पहिचान स्थापित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।राख्नु आवश्यक छ—प्रतियोगिताका खेलहरू मङ्सिर ८ गतेदेखि सुरु भएका हुन्, तर औपचारिक उद्घाटन मङ्सिर १६ गते हुनेछ।

