– नवीन खड्का
जनमुक्ति सेना नेपाल : ऐतिहासिक नामकरण, घोषणा र वर्तमान आवश्यकताको बहस
जनमुक्ति सेना दिवसको हार्दिक शुभकामना! माओत्सेतुङको एउटा भनाइ छ – सेना नभएको जनता संग आफ्नो भन्नू केही हुदैन। नेपाली राजनीतिक इतिहासमा जनमुक्ति सेना नेपालको नाम एउटा महत्वपूर्ण ऐतिहासिक अध्यायका रूपमा स्थापित छ। जनयुद्धको क्रममा विभिन्न नाम र संरचनामा परिचालित हुँदै आएको सैन्य संगठनलाई २०५८ साल भदौ १९ र २० गते रोल्पाको कुरेलीमा सम्पन्न जनमुक्ति सेना नेपालको प्रथम राष्ट्रिय भेलाले औपचारिक रूपमा ‘जनमुक्ति सेना, नेपाल नामकरण गरेको थियो। त्यसपछि २०५८ साल मंसिर ८ गते जनमुक्ति सेना नेपालको औपचारिक घोषणा गरिएको थियो। यस घोषणासँगै उक्त संगठनले आफ्नो छुट्टै संस्थागत पहिचान प्राप्त गरेको थियो र तत्कालीन राज्यसत्ताको जग नै हलाइदिएको थियो।
जनमुक्ति सेना नेपालको इतिहास केवल सैन्य संगठनको इतिहास मात्र होइन, यो तत्कालीन राजनीतिक संघर्ष, सामाजिक रूपान्तरणको आकांक्षा, वर्गीय विभेदविरुद्धको आवाज, राष्ट्रिय स्वाधीनता र राज्य व्यवस्थामा परिवर्तनको मागसँग पनि जोडिएको इतिहास हो। यस यात्रामा हजारौँले आफ्नो जीवन समर्पण गरे, धेरै घाइते तथा अपाङ्ग , बेपत्ता र अनेकौँ परिवारले अपूरणीय क्षति व्यहोर्नुपर्यो। २०६३ साल मंसिर ५ गते कथित विस्तृत शान्ति सम्झौता भएपछि महान जनयुद्ध अन्त्य गर्ने र मुलुकलाई शान्तिपूर्ण राजनीतिक प्रक्रियामा अगाडि बढाउने बाटो तय भयो। त्यसपछि जनमुक्ति सेनाको विघटन,कथित लडाकुहरूको समायोजन तथा पुनर्स्थापनाको प्रक्रिया अघि बढ्यो। यो नै माओवादी आन्दोलनमा ठूलो धोका र अपराध भयो। यसरी जनमुक्ति सेनाको तत्कालीन सैन्य संरचना इतिहासको विषय बनाइयो।
आजको सन्दर्भमा जनमुक्ति सेनाको आवश्यकता किन? आज देश राजनीतिक परिवर्तनपछि पनि बेरोजगारी, भ्रष्टाचार, असमानता, गरिबी, राष्ट्रिय स्वाधीनतामाथिका चुनौती, किसान तथा मजदुरका समस्या र युवाहरूको पलायनजस्ता समस्याबाट मुक्त हुन सकेको छैन। परिवर्तनका लागि जीवन समर्पण गरेका योद्धाहरूका सपना र जनताको अपेक्षाबीच अझै ठूलो खाडल देखिन्छ। त्यसैले आज क्रान्तिकारी कम्युनिस्ट पार्टीहरुले जस्ले बल प्रयोग सिद्धान्त मान्दछन । कम्युनिस्ट आन्दोलनको रक्षाका निम्ति जनमुक्ति सेनाको आवश्यकताबारे बहस गर्दा विगतको जनमुक्ति सेना नेपालको संरचनालाई पुनर्गठन र त्यसले बोकेका जनपक्षीय एजेन्डा, त्याग, अनुशासन, सामूहिकता र परिवर्तनको प्रतिबद्धतालाई नयाँ परिस्थितिअनुसार स्थापित गर्न आवश्यक छ। आजको आवश्यकता भनेको: •राष्ट्रिय स्वाधीनता र सार्वभौमिकताको रक्षाका लागि सचेत जनमुक्ति सेना नेपाल गठन गर्नु । •भ्रष्टाचार, बेथिति र अन्यायविरुद्ध शान्तिपूर्ण तथा संगठित जनआवाज बुलन्द गर्नु। •किसान, मजदुर, उत्पीडित वर्ग र समुदायका अधिकारको पक्षमा उभिनु। •घाइते, अपाङ्ग, बेपत्ता योद्धा तथा सहिद परिवारको सम्मान र न्याय सुनिश्चित गर्नु। •युवाहरूलाई देश निर्माण, सामाजिक न्याय र आर्थिक समृद्धिको अभियानमा जोड्नु। •विगतका सकारात्मक अनुभव र कमजोरीको समीक्षा गर्दै बैज्ञानिक समाजवादी व्यवस्था स्थापना र जनउत्तरदायी राजनीतिक संस्कार विकास गर्नु।
अन्त्यमा २०५८ मंसिर ८ गते घोषित जनमुक्ति सेना नेपालको इतिहासलाई केवल सम्झनामा सीमित राख्नु हुँदैन। त्यस इतिहाससँग जोडिएका सपना, त्याग, बलिदान, प्रतिबद्धता र जनताका अपेक्षाको समीक्षा गर्नु र अगाडि बढ्नु आजको जिम्मेवारी हो। हामीले विगतको गौरवगाथा मात्र गाएर पुग्दैन, अधुरा सपना पूरा गर्ने व्यवहारिक बाटो पनि खोज्नुपर्छ। जनताको अधिकार, राष्ट्रिय स्वाधीनता, सामाजिक न्याय, समानता र समृद्धिका पक्षमा संगठित जनमुक्ति सेना नेपाल गठन गर्नु नै आजको ऐतिहासिक आवश्यकता हो। आज मंसिर ८ जनमुक्ति सेना दिवसको अवसरमा सम्पूर्ण जनमुक्ति सेना, घाइते, अपाङ्ग, बेपत्ता योद्धा तथा सहिदहरूप्रति उच्च सम्मान र महान सहिदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली तथा बेपत्ता योद्धा प्रती स्मरण सहित तत्काल सार्वजनिक गर्न माग गर्दछु। इतिहासको सम्मान गरौँ, बलिदानको मूल्य बुझौँ, अधुरा सपना पूरा गर्ने संर्घषको अभियानमा जुटौँ। लाल सलाम! २६ औं जनमुक्ति सेना दिवस जिन्दावाद!
( लेखक अखिल (क्रान्तिकारी)का महासचिव लेखक हुन् )
Comments

