म फुल कुमारी

– नारायण योगी 

(कविता)

काँडाहरु बीच फुल्न खोजेकी म फुलकुमारी
न जन्मँदै अर्कैकी भैसकेकी
न फुल्दै ओइलाउन खोजेकी
युगौंदेखि दासताको जंजीरमा बेरिएकी
तर उन्मुक्तिको जीवन बाँच्न खोजेकी म फुलकुमारी
कसलाई बताउँ, के के सुनाउँ
त्यो कालो इतिहासको पाना खोलुँकी
न खोलुँ
होस सम्हालेदेखि म आमाको हात समाएर
बाबुको अघि पछि गर्दै
जमिन्दारको भव्य महल पुग्थ्ये
मनमा नानाथरी कुराहरु सोंच्थे
तर वित्यासमा
भन्छन्–ओठ चाटेर तिर्खा मर्दैन
घरीघरी सपनाको महल बुन्थें
एक दिन बाबालाई सोंधे
बाबा ? बाबा ?
हामी बस्न घर र
जिम्दार बाजेको घरमा किन यति फरक !
हामीले खाने खाना
जिम्दारको जुठो पुरो नै किन हुन्छ ?
हामी बस्ने घर र खाने खाना भन्दा त
जिम्दारको भोटे कुकुर खाने बस्ने कति राम्रो हैन ?
जिम्दारको सेवा गर्दा गर्दै
थाकेर लखतरान परेर
बंहिगा जस्तो नुगेको शरीर
अनुहारमा उमेर न ढल्दै चाउरिएका ? रेखाहरु
मेरा प्रश्नले झनै चाउरिन्थे
मेरो बाबाका ललाटका रेखाहरु
बाबाको बेदना मिश्रित अनुहार देखेर
म व्यथित बनेर त्यो दिन चुप लाग्थें
तर प्रश्नै प्रश्नले भरिएकी
म फुलकुमारी
प्रश्नका तिखा काँडाले घोंचिदा घायल बनेर
म फेरि बाबाको छियाछिया परेको
हृदयमा पीडा थप्दै भन्दथे
बाबा हामी र
चढान, महतान, बरापुहरुको जीवनमा
किन यति फरक ?
उहाँहरुका छोरा,छोरी त पढ्न जानुहुन्छ
हामी मैसखा, कमलहरी किन ?
मेरो प्रश्नको जवाफ बाबासँग थिएन
तैपनि सत्य छिपाउँदै बाबाले भन्नु भयो,
त सानी छेस यस्ता कुरा बुझ्दैनेस नानी
भन्दै मेरो टाउको सुमसुम्याउनु भयो
म नबोली नबोली
म उहाँको काखमा बसें
मेरो गालामा तातो
वाफिलो थोपाहरु तप्प तप्प खसे
मैले बाबाको अनुहार हेरें
उहाँ आकाश तर्फ हेर्दै
पीडा लुकाउन खोज्दै हुनुहुन्थ्यो
किन कुन्नी मलाई त्यो दिनदेखि
आफ्नै घर पनि पराई जस्तो लाग्न थाल्यो
जब बाबा आमाले,
जिम्वाल्नीको काममा सघाउन भन्नुभयो
मेरै बाबा आमाप्रति प्रश्न उठ्न थाल्यो
त्यो दिन त म झनै कति रोएँ कति
कति तडपिए, आफैलाई थाहा छैन
जब हातमा
अलि धेरै नोटका विटा देखाउँदै बाबाले
भन्नुभयो, हेर, फुलकुमारीकी आमा
अब हाम्रो भाग्यले कोल्टे फेर्ने भयो
आमाले अँध्यारो मुख लगाएर नबोली नबोली
प्रसंगमा बलिरहेको अगुल्टो चलाउँदै
बर्बरी आँशु खशाल्नु भयो
मैले आमा रोएको कुरा बुझ्न सकेन
म पनि अनयासै रोएँ ।
आमाले मेरो निधारमा म्वाई खाँदै
ढाडस दिंदै भन्नुभयो
न रोउ ! छोरी न रोउ !
तर एक्कासी मलाई छातीमा टाँसेर
भक्कानो छोडेर रुनुभयो
म पनि आमासँग रोएँ
बाबा नबोली नबोली
कोन्टीटिर लाग्नु भयो
म रुँदा रुँदै, कोन्टीमा कतिबेला
निदाएछु थाहै भएन–म फुलकुमारी
अचानक व्यूँझिदा म फुलकुमारीबाट
फुलरानी बनेछु
युगौयुगौको दासताको जंजिरमा
बेरिएर दासी बनेछु
म फुलकुमारी
कौहामा मकैका फुला भुटेर खाँदै हुर्केकी
आगोसँग साइनो गाँसेकी
कसरी सहथे यो सबै
त्यो कालो रात सम्झेर ल्याउँदा
अनयासै मुठ्ठी कसिन्छ
थाहै नपाई दाह्रा किटिन्छ
म आजको जस्ती भएकी भए
त्यो पापीलाई निचोरेरै मार्थे हुम्ला
अरु के के गर्थे हुम्ला…
आँशुका धारा अनयासै छुट्छन्
संघर्ष संघर्षका बीच हुर्किएकी
म फुलकुमारी….
आँधी तुफानसँग जुझ्दै
अप्ठ्यारासँग पौठेजोरी खेल्दै
एकदिन, कम्लहरी दिदीबहिनीसँग
जिन्दावाद, मुर्दावादको नारा लगाउँदै थिए
शहरका गल्लीहरुमा
भुमरा र सखिया गाउँदै
स्वतन्त्रताको लडाई लडिरहेको थिए
उन्मुक्तिको मीठो गीत गाइइरहेकी थिएँ ।
म फुलकुमारी ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित