रामबहादुर बुढा •• तनहुँ क्षेत्र नं १, चितवन क्षेत्र नं २ र बारा क्षेत्र नं. २ मा वैशाख १० गते उपनिर्वाचन सम्पन्न भयो । तनहुँका निर्वाचित सांसद रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बाराका निर्वाचित सांसद रामसहाय यादव उपराष्ट्रपति भएकाले र चितवनका निर्वाचित सांसद रवि लामिछाने नागरिकता प्रकरणमा सर्वोच्च अदालतबाट सांसद पद खारेज भएकाले तीन क्षेत्रमा उपनिर्वाचन भएको हो । यदि रवि लामिछानेले नागरिकतामा कमजोरी नगरेको भए चितवनमा निर्वाचन हुने थिएन । राज्यको ठूलो धनरासी र जनशक्तिको प्रयोग भयो । यो रविको देश प्रतिको बेइमानी हो भन्दा अर्गेल्याई हुँदैन ।
बुर्जुवा निर्वाचन जनतालाई ढाट्ने, ठग्ने, बेइमानी गर्ने, भय दोहन गर्ने खेल हो । तनहुँको चुनावी सभामा बोल्दै यसपाली नेपाली काङ्ग्रेस महामन्त्री गगन थापाले भनेका थिए, “नेपाली काङ्ग्रेसका प्रत्येक मान्छेले वैशाख १० गते तामा, तुल्सी हातमा लिएर वाचा गर्नु पर्नेछ । चुनाव चिह्न रुख । रुख भन्दा दायाँबायाँ हात जाने छैन । गयो भने माथिबाट हरीले हेरेर बसेका छन् ।” यो कति निकृष्ठ हर्कत हो ? थापाले आफ्नै काङ्ग्रेसका कार्यकर्ता र समर्थक जनतालाई धम्की दिएका छन् । सोझो भाषामा उनले रुखमा भोट राख, रुख बाहेक अरुतिर हात गयो भने स्वर्गबाट हरी (भगवान) ले हेरेका छन् । गोप्य मतदान भए पनि भगवानले कुन चिह्नमा भोट हाल्याँै भन्ने थाहा पाउनेछन् । गगनले काङ्ग्रेस बाहेक अरु ठाउँमा भोट हालेमा भगवानले तिमीलाई कार्वाही गर्नेछन् भन्ने धम्की दिएका हुन् ।
चुनावमा हजारौं काङ्ग्रेस समर्थक जनता र कार्यकर्ता हरीको (भगवानको) डर नमानिकन रुख चिन्हमा मत नहाली घण्टीमा मत हाले । २०६४ को पहिलो संविधान सभाको चुनावमा माओवादीले आम जनतालाई धम्की दिंदै भनेका थिए । यदि माओवादीलाई भोट हालेनाँै भने भोट हाले नहालेको हामीले थाहा पाउने छौँ । भोट हाले नहालेको थाहा पाउने हामी सित मेसिन छ । कतिपय ठाउँमा हामी सित दुर्बिन हुन्छ । मतदान स्थलको नजिकै रुखको टुप्पोमा बसेर लुकेर दुर्बिनले हेर्ने छौँ । कसले कहाँ भोट हाल्यो थाहा हुनेछ । हामीले हा¥यौंं भने युद्धमा फर्कने छौँ । द्वन्द्वकालमा जस्तै फेरि तपाइहरुले भात पकाएर खुवाउनु पर्नेछ । गगनले भनेको हरीले हेर्ने छन् र माओवादीले भनेको दुर्बिनले हेर्ने छौं, कुरा एउटै हो । जनतामा भय सिर्जना गरी मत बटुल्ने तरिका । एउटा स्थानीय चुनावमा एक जना प्यूठानका गाविस अध्यक्षका उम्मेद्वार काङ्ग्रेसले कालो बोको काटेर भोलि चुनाव हो भन्दा आज राति भाँडोमा कालो बोकोको रगत बोकेर गाउँभरी डुले । हरेक घरमा गएर आफ्ना दाजु भाइलाई कालो बोकोको रगतमा हात राख्न लगाई भोट तिमीलाई नै दिन्छु भनेर कबुल गर्न लगाएका थिए । यदि भोट नदिएमा कुलले सराप्ने छन् भन्ने बनाएर उनले चुनाव जितेका थिए ।
नेपाली काङ्ग्रेस उसको जन्मकालदेखि नै जनताको पिछडीएको चेतनाको दुरुपयोग गरेर भोट बटुली सत्तामा पुग्ने र सत्तामा गैसकेपछि देश र जनता विरुद्ध काम गर्दै आइरहेको पार्टी हो । ब्राह्मण, क्षेत्री, सन्यासी र जनजाति समेतको वस्तीमा गएर कम्युनिस्टले जित्यो भने तिम्रो घरमा अछूतहरु हुलिदिन्छ ; गुरुङ, मगर,राई, लिम्बु कहाँ गएर कम्युनिस्टले जित्यो भने पेन्सन खाइदिन्छ र मधेसी समुदायकोमा गएर कम्युनिस्टले जित्यो भने बोर्डरमा काँडे तार लगाउँछ वा पर्खाल लाउँछ र घर – माइत आउन जान, वारिपारी गर्न दिदैन, बोर्डर वारिपारी बिवाहवारी गर्न पाइँदैन । कांग्रेसले जनतामा कम्युनिस्टप्रतिको यस्तै भय सृजना गरेर मत संकलन गर्दथ्यो । यसपालिको उपनिर्वाचनमा गगन थापाले अर्को प्रकारको भय भगवानको भय सृजना गरेर मत संकलन गर्ने कोशिश गरे । कालो बोकोको रगतमा हात चोभ्न लगाउने दुर्गम गाउँको काङ्ग्रेस र शिक्षित काङ्ग्रेस महामन्त्री गगन थापामा एउटै चरित्र देखिएन र ?
पुँजीवादी चुनावमा लोभ–प्रलोभन, मत प्रभावित गर्ने अनेक तरिकाहरु अपनाउने गरिन्छ । वैशाख ७ गतेको दिन यसपालि आमाको मुख हेर्ने औँसीको दिन थियो । काङ्ग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले आमाको मुख हेर्ने दिनको मौका छोपेर धमाधम आमाहरुलाई सम्मान गर्ने निहुँमा बुढी आमाहरुलाई सल ओढाउने काम गरिरहेका थिए । भिडियोमा त्यो देखि सकेपछि मलाई बाँकेमा काङ्ग्रेसले साडी बाँडेको घटना याद आयो । एक पटकको चुनावमा चुनाव हार्ने खतरा भए पछि काङ्ग्रेसले एक ट्रक साडी लगेर मधेसी गाउँमा रातभरी महिलाहरुलाई ढोग गर्दै साडी दिँदै भोट मागेका थिए । आमाको मुख हेर्ने दिनमा सल वितरण र बाँकेमा साडी वितरण प्रयोजन एउटै हो ।
यसपालिको उपचुनावमा नेका, माओवादी केन्द्र, एस लगायतको सरकारी गठबन्धन थियो । अर्को तिर एमालेको उम्मेदवारी र राप्रपाको आफ्नो उम्मेदवारी थियो । यी पार्टीहरुले पनि आफ्नो शक्तिले भ्याए सम्म संसदीय फोहोरी चुनावी गतिविधि गरेका थिए ।
राष्ट्रिय स्वतन्त्र पार्टीले जितेमा देशको आर्थिक उन्नति हुनेछ । भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा काम हुनेछ भनेको छ । रास्वपाले उपनिर्वाचनमा तीनवटै सिट जित्यो भने पनि २२ सिट मात्र हुनेछ । बारा क्षेत्र नम्बर २ बाट रास्वपाले जित्नेस्थित देखिएन । त्यसकारण अब प्रतिनिधिसभामा त्यो पार्टीको २१ सिट मात्र हुने देखिन्छ । २७५ सिटमा १३८ सिट भएमा कुनै पनि पार्टीको सरकार बन्न सक्दछ । यस अबस्थामा नेका, एमाले,माओवादी केन्द्र र मधेशवादीहरुसँग नमिलिकन रास्वपा सरकारमा जान सक्दैन । त्यसकारण रविले भनेको अवस्था परिवर्तन गर्न कुनै पनि हालतमा सम्भव छैन । रवि प्रतिपक्षमा बसेर आगामी ८४ सालमा हुने निर्वाचनबाट दुइतिहाई ल्याए भने पनि केही गर्न सक्ने छैनन । दलाल संसदीय व्यवस्थामा कुनै पनि पार्टीले जतिसुकै बहुमत ल्याए पनि देश आर्थिक आत्मनिर्भरतामा जान सक्दैन ।
०१५ सालमा नेका एक्लैले ल्याएको दुइतिहाई, ०६४ मा माओवादी संसदमा सबै भन्दा ठूलो पार्टी बनेको, ०७४ मा नेकपाले ल्याएको झन्डै दुइतिहाईको दृष्टान्त हामीले देखेकै हो । नेका, एमाले, माओवादीले नसकेको रास्वपाले कुनै पनि हालतमा जनताको अवस्था परिवर्तन गर्न सक्दैन, बरु यो दलाल संसदीय पुँजीवादी व्यवस्था ढालेर जनताको शासन आए मात्र जनताको जनतन्त्र र राष्ट्रिय स्वाधीनताको सुनिश्चितता हुनेछ ।
उपचुनावमा राष्ट्रिय जनमोर्चालाई जनताले हाँसोको पात्र बनाए । चितवनमा जनमोर्चाको उम्मेदवारी अमेरिकी साम्राज्यवादका विरुद्ध भन्ने त्यो पार्टीको चुनावी नारा थियो । साम्राज्यवादको असली एजेण्ट शेरबहादुर देउवासित जनमोर्चाका नेता चित्रबहादुर केसीहरु विहान बेलुकी चिया नास्ता गर्न बालुवाटार जान्छन् । जनताका बिचमा अमेरिकी साम्राज्यवाद विरुद्ध उम्मेद्वारी भन्छन् । यो भन्दा ढोँगी, दुई जिभ्रे र अवसरवादीको होला भनेर जनताले हासोमा उडाउने गरेको पनि पाइयो ।
किन चुनावमा परम्परागत पार्टीहरुले हारे र भर्खर जन्मिएको पार्टीले जित्यो भन्ने प्रश्नमा समीक्षा सुरु भएको छ । सत्ता र शक्तिमा रहँदै आएका दलहरुप्रति जनताको वितृष्णा प्रकट भएको हो भन्ने आमजनताको बुझाई छ । यिनले राम्रो गर्ने छन भन्ने विश्वासले भन्दा पनि काङ्ग्रेस, एमाले, माओवादी केन्द्रप्रति वाक्क भएर जनताले मत रास्वपातिर खनाएका हुन । कतिपयले यसलाई शान्तिपूर्ण विद्रोह पनि भन्ने गरेकाछन। हामीले नै गणतन्त्र लिएका हौ । यो हाम्रै व्यवस्थामा हामी नै सर्वे सर्वा हौं भन्ने जुन दम्भ पार्टीहरुमा देखियो र अर्को कुरा चरमरुपमा पारे ।
नेकपा (मशाल) सहितका कम्युनिस्ट पार्टीले गत संसदीय निर्वाचनको बहिस्कारको निरन्तरतास्वरुप उपनिर्वाचनलाई पनि बहिस्कार गरे । चुनाब बहिस्कारको सभालाई संविधान र कानुनको विपरित कार्य बताई तनहुँको कार्यक्रमलाई दमन गर्ने काम भयो । कार्यक्रममा हस्तक्षेप गर्ने र जबर्जस्ति गिरफ्तार गर्ने काम भयो । त्यो घटनाले बुर्जुवा नयाँ आउनु राम्रो हो । जो नयाँ भनेर देखिदैछन । तिनको स्थिति के हो ? महेश आचार्य र रामशरण महत जस्ता विश्व बैंक र आई एम एफका कारिन्दाहरुले देशलाई हरिकंगाल बनाए । जसलाई नयाँ भनिदैछ ती पनि आचार्य र महतका नयाँ उत्तराधिकारी सिवाय केही होइनन् । यी नयाँ भनिएका नवउदारवादका भरियाहरुले केही गर्ने वाला छैनन् । नयाँ र युवा भनिएको सन्काहा जेलेन्सकीले युक्रेनलाई खरानी बनाइरजेको छ । फ्रान्समा युवा भनिएका राष्ट्रपति म्याक्रोन विरुद्ध लाखौं मान्छे किन सडकमा आइरहेका छन् । नयाँ आवश्यक छ तर सही विचार विनाको नयाँको कुनै अर्थ छैन ।
कतिपयले नयाँ भनिएकाहरु सित सिद्धान्त, विचार नै छैन भनेका छन् । तर नयाँ भनिएका रास्वपा जस्ता पार्टीहरुले आफ्नो सिद्धान्तबारे जे बोले पनि उनीहरुको सिद्धान्त छ । उनीहरुको सिद्धान्त हो – नव उदारवाद । नेपाली काङ्ग्रेसले आफ्नो सिद्धान्त प्रजातान्त्रिक समाजवाद भन्छ तर २०४६ पछि व्यवहारमा नव उदारवादलाई लागु गर्यो। एमाले, माओवादी केन्द्र जस्ता पार्टीहरुले आफुलाई समाजवादका पक्षधर बताए पनि नव उदारवादका पछुवा बनेका छन । यी नयाँ भनेका पनि नव उदारवादका भरियाहरु हुन् । नव उदारवादले संसारभरी के गरिरहेकोछ भन्ने कुरा सबैलाई जगजाहेर नै छ । साम्राज्यवादी देशहरुले आफ्नो राष्ट्रियता, अर्थतन्त्रलाई बलियो बनाउने र गरीब देशलाई रिण बोकाउने, तिनलाई दास बनाउने गर्दछन् । नव उदारवादले गरीव मुलुकहरुलाई झन झन पराधीन बनाउँदै लैजान्छ ।

