लुकेर गरेका काम

मित्रलाल पंज्ञानी

मैले निकै आदर गरेका एकजना व्यक्तिसित धनगढी बजारको कुनै लजमा एक रात सँगै बिताउने मौका प¥यो । एउटा कोठामा भएका दुईवटा खाटमध्ये एउटामा उनी सुते । अर्कोमा म सुतेँ । भोलिपल्ट बिहान नेपालगञ्ज जानु थियो । बिहान उठेर हामी आ–आफ्ना झोला मिलाउन थाल्यौँ । मैले उनी फर्के भन्दा विपरीत दिशातिर फर्केर झोला मिलाइरहेको थिएँ । खै किन हो, म अनायासै उनीतिर चियाउन पुगेँ । उनी मेरो आँखा छलेर केही गर्न खोज्दैछन् भन्ने आभास भयो मलाई । त्यही एक झलकमा मैले कहिल्यै नचिताएको दृश्य देख्नु प¥यो– मेरा ती आदरणीय व्यक्तिले आफै सुतेको खाटको बेडकभरले आफ्नो धुलाम्मे जुत्ता पुछिरहेका, रगडी रगडी पुछेका । मैले देखेको छैन भन्ठानेर त्यसो गर्दै थिए सायद । छालाको दामी जुत्ता थियो त्यो । ‘त्यसको दामी जुत्ता मान्छेको नैतिकताभन्दा पनि महँगो ! त्यसको रूप दुनियाको स्वास्थ्यभन्दा पनि मूल्यवान !’ मेरो आदरको महल भत्कियो । मेरो मानसपटलमा भावी सम्भावनाको चित्र आयो– एकान्तमा अवसर पायो भने यो मान्छे जस्तोसुकै नीच कर्म गर्न पनि तयार छ ।भन्न त ‘होटलले धोइहाल्थ्यो त के फरक प¥यो’ भन्न पनि सकिएला । तर यो कुतर्क हुन जान्छ । धोइन्छ भन्दैमा जुत्ता पुछ्न मिल्दैन । त्यसो हो भने त ‘धोइन्छ के रे’ भनेर दिसा पुछे पनि त भयो नि ! अर्को कुरा तिनताक त्यो ठाउँमा सामान्य लजमा बेडकभर दिनदिनै धोइँदैनथे ।

सबै मानिसले सबैतिर यसै गर्ने हो भने के हुन्छ ? मान्छे सभ्य हुने भनेको सुसंस्कृत हुने भनेको चिन्तन र चरित्रको मूल धार सही दिशातिर बग्नु हो । एकान्तमा पनि निष्ठा जोगाउनु हो । मान्छेको वास्तविक रूप यही एकान्तमा खुल्छ । आफूलाई चोर घोषणा गर्ने चोरहरू संसारमा बिरलै पाइएलान् । उनीहरू अरूलाई झुक्याएर चोर्छन् र समाजका अगाडि आदरणीय भद्रजन भएर हिँड्छन् । कानूनमा जे लेखिएको भए पनि व्यवहारमा दण्डहीनता नै कानुन भएको मुलुकमा यिनै चोरहरू सबभन्दा ठूला राजनेता पनि हुन्छन् । चोर नै राजनेता र चोर नै न्यायाधीश भएको व्यवस्थामा चोरहरू नै सम्मानित हुन्छन् । चोरहरू नै पुरस्कृत हुन्छन् । भ्रष्टाचारको खोजिनीति हुँदैन । खोजी गरेझैँ गर्छन्, लागी परेझैँ गर्छन् र अन्त्यमा प्रमाणको अभाव भएको ठह¥याई निर्दोष सिद्ध गरेर छाडिदिन्छन् । कारवाही नै गरे भने पनि सबभन्दा निमुखालाई गर्छन् ।

 

छयालीस सालपछि मल्लिक आयोगले दोषी ठह¥याएकाहरूलाई किन कारवाही गरिएन ? किनभने प्रायः अपराध दरबारमा गएर जोडिएका हुन्थे । दरबार बलियै थियो । यति मात्रै पनि होइन । सत्तामा दरबारनिकटकै वर्गको हालीमुहाली रह्यो । अनि कुरो त्यसै हराएर गयो । त्रिसठ्ठी सालपछि रायमाझी आयोगको प्रतिवेदनले ठम्याएका दोषीहरूलाई कारवाही गर्ने कुरा कहाँ गयो ? कुनै न कुनै हिसाबले पुराना भ्रष्टाचारसित जोडिएका नेताहरूसित नै सम्झौता गरेर चल्नुपर्ने वाध्यतामा ती पनि त्यसै हराएर गए । नयाँ भनिएकाहरूसित पनि कतै न कतै भ्रष्टाचारमा हिस्सेदारी जोडिएको थियो । जबसम्म भ्रष्टाचार गरेर पनि दण्डित हुनु नपर्ने परम्परा रहिरहन्छ तबसम्म भ्रष्टाचारी झन् गन्यमान्य भएर गइरहन्छ । लाग्ने खुर्पाले डाले घाँसको हाँगोलाई च्वाट्ट चुँडालेझैँ गरी न्यायनिसाफको प्रस्ट छिनोफानो नगर्ने हो भने यो समाज कहिल्यै बदलिँदैन । श्रमजीवी जनताको जीवन पनि जस्ताको तस्तै रहन्छ । आमूल परिवर्तनको अर्थ बल्ल गहिरोसित खुल्न थालेको छ ।
व्यापारमा पनि सेवाको अलिकति भावना लुकेको हुनुपर्छ । भएन भने त्यो व्यापार नभएर चोरी हुन्छ । मैले कति मान्छेहरूमा चोर–भावना बढिरहेको देख्छु । प्रतिक्षण प्रत्येक कुरामा आफूले के पाइन्छ भन्ने निकृष्ट हिसाब गरेर हिँडेको देखेको छु । लजको कोठामा जुत्ता पुछ्नेले पनि सोच्यो होला बेडकभरले जुत्ता नपुछेर के पाइन्छ ? सोझै फाइदा हुने छैन भने मान्छेले त्यो काम गर्दैन । सबै मान्छे यस्ता छन् भन्न खोजेको होइन । राज्यसत्ता यही चोर संस्कृतिलाई पक्षपोषण गर्ने प्रकृतिको छ । यो संस्कृति छद्म रूपमा धेरथोर मात्रामा सबैतिर पसेको र बसेको छ ।

एउटा समारोहमा खाना खान भनेर लाइनमा बस्तो भएको, लाइन त अगाडि बढ्नु पर्नेमा पछाडि पछाडि सर्न थाल्यो । बिचबिचमा मान्छे घुसेको घुस्यै गर्न थाले । पहिला एउटा मान्छे अरू कामले आएझैँ गरी लाइनको अग्रभागतिर आयो । लाइनमा बसेको हो कि बाहिर बसेको हो जस्तो द्वयर्थक पोजिसनमा उभियो । एकछिन् लाइनसितै अघि बढ्यो । अनि खुस्स छि¥यो । ऊभन्दा धेरै अघिदेखि उभिएका मान्छेहरू पछाडि परे । पछाडि परेकामध्ये कसैले यो लाइनमिचाइ पत्तै पाएनन् भने कसैले देखेको नदेख्यै गरे । जसले यस्तो मिच्याइ देखेर पनि बोलेनन् ती भद्रजन थिए । सानो कुरामा किन छुचो हुने भन्ने सोचे । यसै गर्दा आफ्नो भद्रता सुरक्षित रहने देखे । एउटा मान्छे बीचबाट लाइनमा छिरेको र लाइनमा पछाडि पारिएकाहरूले प्रतिवाद नगरेको चाल पाएपछि लाइन मिच्ने दाउ हेरेर बसेका अवसरचोरहरू उत्साहित भए र लुसुलुसु त्यसैगरी पस्न लागे । यति हुँदा पनि कोही केही नबोलेपछि अब झुक्याएर लुकेर लाइन मिच्न जरुरी भएन । मान्छेहरू हाकाहाकी धमाधम छिर्न थाले ।

मिच्ने त मिचाहा भइहाल्यो, दण्डयोग्य छ । चूपचाप सहने भद्रजन पनि प्रसंसालायक मान्छे होइन । साँच्चै भन्ने हो भने दण्डनीय नै हो । समयमै प्रतिवाद गरेको भए अवसरको यो चोरी यसरी मौलाउने थिएन । यसलाई सानो कुरो ठान्नु बुझाइमा समस्या हो । कुरो एक छाक भातको मात्रै थिएन, प्रवृत्तिको थियो, आदतको थियो, इमानको थियो, संस्कृति निर्माणको थियो ।

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित