मौनता

कुमार •• एकदिन रातको करिब ११ वजेतिरको कुरा हो । भक्त कोठावाट वाहिर निस्केर नियाल्दा टोलमा बत्ती नभएकोले अन्धकार थियो तर उसको घर अगाडिपट्टी शायद हिजै मात्र कोठामा आएका केहि युवतीहरू सिसाको झ्यालमा पर्दा पनि नलाइकन भित्रको मधुरो प्रकाशमा अर्धनग्न अवस्थामा विभिन्न शैलीमा मोवाइलमा फोटो, भिडीयो, टिकटक के के हो कुन्नी वनाइरहेका थिए । केहि समय निगरानी गरेर मनमा केही आशङ्का लिदै उ आफ्नो कोठामा पसेर आराम गर्यो ।

समयको गति निरन्तर रुपमा वेगवान भएर कुदिरहे कै छ, त्यसलाई न कसैले छेकेर छेकिन्छ न त रोकेर रोकिन्छ । भनिन्छ आजभोलि समयको गति मात्र होइन प्रकृतिका सबै चीजहरूको गति पनि कसैले परिभाषित गर्नै नसक्ने गरी अविराम कुदिरहेका छन । भुमण्डलीकरणको यो सयममा प्रविधिको कमालले यति विशाल यो दुनिया पनि सानो आकारमा खुम्चिन पुगेको छ । त्यसैले पनि होला सिङ्गो संसारलाई आफ्नै पञ्जामा कैद गरेका हरेक नेपालीहरूको स्वर्ग अष्ट्रेलिया, अमेरीका, युरोप, जापान र कोरियातिर सरेको छ । सक्नेहरू स्वर्गतिरै वसाई सर्न थालेका छन्, नसक्नेहरूले पुण्य कमाउन धनको जोहो गर्न कम्मर कसेका छन । धन कमाउन आजभोलि वैध अवैध भन्ने केही छैन जसरी हुन्छ समाजलाई धनै चाहिएको छ । त्यसैले होला परम्परागत कृषिवाट अनाज उब्जाएर के आम्दानी होला र भनेरै जग्गा जमिन बाँझो राखेर सक्नेले विभिन्न वहानाको व्यापार गर्दैछन । आजभोलि सक्नेले अरु त के विभिन्न बहानामा मान्छेको व्यापार गर्दैछन् । अरुलाई बेच्न नसक्नेहरूले आफैलाई बेच्न थालेका छन् ।

बिचरा भक्तलाई पनि धन कमाउन मन नलागेको त कहाँ हो र ? तर बच्चैदेखि उसले सिकेका कुराहरूले भक्तलाई अवैध र गैरकानूनी रुपले धन आर्जन गर्नु गलत हो भन्ने लाग्छ भने बैध र कानूनी रुपले धन आर्जन गर्ने बाटोहरू खुलेको पनि देख्दैन । विज्ञापनको यो युगमा मान्छेको अगाडि खुल्न नसक्ने उसको स्वभावले उसलाई अगाडि बढ्नको लागि विविध अवरोधहरू सिर्जना गरेको छ । त्यसको बाबजुद सामान्य प्रकारको रोजीरोटी चलिरहेकै छ । उसले सन्तानहरूलाई पनि विदेश जानु हुन्नले कहिलेकाहीं अथ्र्याउने गर्दछ तर ऊ आफैलाई शङ्का गर्छ “के मैले भनेका कुराहरूले सन्तानको आत्मविश्वास बढाउला ?”

भक्त कुनै दलमा आवद्ध भएको नभएता पनि विद्यार्थीकालदेखिको उसको राजनैतिक चेतका कारण देशमा घट्ने घटनाहरूमा चासो राख्ने गर्दछ । ऊ नियमित नभए पनि अनुकूलमा पत्रपत्रिकाहरू हेर्ने गर्दछ । आजभोलि पत्रपत्रिका र सामाजिक सञ्जालहरूमा प्राय : धेरै कुराहरू आउने गर्छन् । अनलाइन समाचारहरू पनि ब्रगेल्ती प्रकाशित भएकै छन् । ती सबैका सम्पादकीयदेखि लिएर प्रमुख खवरका शिर्षकहरू नेपाली नागरिकहरूलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउने गिरोहलाई पक्राउ पूर्जी जारी, फरार, पक्राउ आदिले भरिएका हुन्छन् । नैतिकवलले अगाडि बढ्ने सामान्य चेत राख्ने भक्त र उ जस्ता लाखौँ मान्छेहरूलाई यी र यस्ता समाचारहरूले मष्तिष्कघात गर्ने कुरा स्वभाविक भए पनि भक्तसँग यसको निकासको लागि कुनै विकल्प छैन । उसको वर्गीय राजनीति प्रतिको सामान्य बुझाई र झुकावले पनि होला कैंयौँ समस्याका बाबजुद पनि वर्गीय सौन्दर्य चेत र वैज्ञानिक चिन्तन सहित समाजलाई त्यो दिशामा रुपान्तरण गर्न विश्लेषण गर्ने दार्शनिकवादलाई विकृत तुल्याएर आधुनिक हुने नाममा बहुदलीय जनवाद, एक्काइसौँ शताब्दिको जनवाद, वैज्ञानिक समाजवाद, उपयोगितावाद, उत्तरआधुनिकतावाद, विनिर्माणवाद, उत्तरमाक्र्सवाद, नवमाक्र्सवाद जस्ता चिन्तन र भाष्यका पछाडि दौडिनुको नियति अन्तत : पूँजीवादको भड्खालोका जाकिनु नै हुन्छ भन्ने निष्कर्षमा पुग्छ ।

भक्तले मनमनै सोच्छ “जसरी पनि आय आर्जन गर्नु पर्ने राजनैतिक दलहरूको बेइमानीका कारण निर्वाचनको नौटङ्की रचेर सोझा, सिधा जनताहरूलाई झुक्यानमा पारेर मत माग्ने र त्यसैलाई भ्रष्टाचार गर्ने प्रमाणपत्रको रुपमा दुरुपयोग गरी १० अौँ पुस्तालाई पुग्ने कालो धन थुपारेर मोजमस्ती गर्ने र कतैतिरबाट त्यसको विरोध हुन्छ कि भनेर राप र ताप भएका गरीखान सक्ने युवाहरूलाई विदेशीका गुलाम बन्ने परिपञ्च रचेर मेरो पालामा यति सङ्ख्यालाई वैदेशिक रोजगारीमा पठाएंँ र यति रेमिटेन्स बढाएँ भन्दै घोक्रो फुलाएर भाषण गर्दै आफ्नो औकात प्रदर्शन गर्ने नेताहरूका खोक्रा आश्वाशनमा रमाएर जहिलेसम्म जनता तिनीहरूकै पछाडि दौडिरहन्छन नियति यस्तै हुन्छ ।”

उसले सोच्छ “नेताहरू किन दोहोरो चरित्रका हुन्छन ? भाषण गर्दा, प्रशिक्षण दिंदा, लेख लेख्दा नैतिकताको सिङ्गो धरोहर मेरै नेता हो भन्ने बनाउन सक्ने ऊ काम गर्दा किन कुनै इमान पालन गर्न सक्दैन ? ऊ एकजनाले देशको लागि दुखकष्ट भोगेका आधारमा राज्य र जनताको दोहन गरी उसका सबै परिवारलाई १० अौँ पुस्तालाई पुग्ने सम्पत्ति थुपारेर मोजमस्ती, ऐस आराम गर्ने तर उसको अघिपछि लागेर हिंड्ने कार्यकर्ता र जनताले सधैभरि दुख, कष्ट, सास्ती र हैरानी खेप्नु पर्ने ?”

नेताहरूलाई सराप्दै गर्दा भक्तको मनमा कैंयौँ कुराहरू खेलिरहन्छन । “नैतिकता नेताहरूले मात्र होइन जनताहरूले पनि गुमाएका छन” भन्ने उसको बुझाई छ । उसको बुझाईमा “आफूले मन पराएको दल र नेताको अन्धभक्त हुनु, राम्रो कामको समर्थन र खराव कामको विरोध गर्न नसक्नु, निर्वाचनताका सामान्य कुराको लोभमा आफूलाई गलत लागेका दलहरूलाई पनि मतदान गर्नु, कहिलेकाहीं नाता सम्बन्धका आधारमा बहकिनु कर्मशील बन्नुको सट्टा काम गरेर के पाइन्छ भन्ने जस्ता आडम्वर प्रदर्शन गर्नु, श्रम र श्रमजीवीलाई माया गर्नुको सट्टा अनावश्यक अखडाहरूमा समय बिताउनु” जस्ता कुराले पनि तुलनात्मक रुपमा केही असर पर्न जान्छ ।

केही दिनदेखि उसको घर अगाडि फल्याट भाडामा लिएर बस्ने अन्दाजी १७-१८ / २४-२५ उमेर समुहका जस्ता देखिने युवतीहरूको फल्याटतर्फ नजर पुर्‍याउँछ । दिनभरि जसो धीर रहने उनीहरू जब साँझ पर्न थाल्छ अनि बल्ल अधीर बन्न थाल्छन । टाढैबाट देखिने उनीहरूको चुलो कहिल्यै जलेको वा बलेको आभास हुँदैन । तर चुरोट जलेको भने अनायसै देखिन्छ । दिनभरिको बन्द कोठाको मौनता साँझ पर्न थालेदेखि नै विभिन्न हावभावमा व्यक्त हुन थाल्दछ । कहिले पोषाक मिलाउने, कहिले सौन्दर्य प्रशाधनले शरीरलाई विभिन्न आयाम र आकृतिमा ढाल्दै त्यसलाई मोवाइलको क्यामेरामा कैद गर्दै शायद मोलमोलाईको लागि सामाजिक सञ्जालहरूको माध्यमद्वारा निर्धारित लक्ष्यमा पुर्‍याउने । भक्त केही दिनदेखिको यो उखरमाउलोलाई मनमा दबाएरै बस्न सक्ने अवस्थामा नरहे पछि श्रीमति जुनलाई “हाम्रो छिमेकमा बस्न आएका नवयुवतीहरू शरीर व्यापारको लागि विज्ञापन गर्छन” भनेर सुनाउँछ । यस्ता विषयमा हमेसा ध्यान र चासो नदिने जुनले प्रतिउत्तरमा “बेलुका गएर विहान ३/४ बजेतिर टेक्सीमा फर्कँदा रहेछन” भनेर प्रतिक्रिया जनाइन ।

एक दिनको कुरा हो कोठामा परिवारका सबै जना भएको समयमा भक्तले त्यही अगाडि पट्टिको फल्याटतर्फ सङ्केत गर्दै भन्यो–“तिनीहरूको भान्सामा कहिल्यै केही पाक्दैन ।” प्रतिउत्तरमा छोराले भन्यो –“दिनभर कोठा बन्द गरेर बसेका हुन्छन, बेलुकी पख सिङ्गारपटार गरेर बाहिर निस्कन्छन, तिनीहरूलाई किन पकाउनु पर्‍योे खाना ।” भक्तको निष्कर्ष छ “ठ्याक्कै उनीहरूले के गर्छन भन्ने आफ्नै आँखाले नदेखे पनि उनीहरूले कहिलेकाहीं केटा मान्छेहरू ल्याएर बस्नेदेखि लिएर दिनभर मौनता साँधेर बस्ने र साँझ पर्न थालेदेखि नै सक्रिय बनेर शरीरलाई विभिन्न रुप र आयामहरूमा ढाल्दै अर्धनग्न स्वरूपमा त्यसको प्रतिलिपी मोवाइलका क्यामेराहरूमा कैद गरेर विज्ञापन गर्ने र साँझ ढल्दै र छिप्पिदै गएपछि नाइट ड्युटीका लागि निस्कने अनी विहान करिब ३ देखि ४ वजेको समयमा गन्तव्यमा फर्किने नियमितताले उनीहरूको गन्तव्य देह व्यापार नै हो” भनेर अनुमान गर्न सकिने हुन्छ ।

अनुशासनका पाठ पढ्दै र पढाउँदै आएको भक्तलाई पत्रपत्रिकामा काठमाडौँमा देह व्यापार हुने गर्छ भन्ने पत्रपत्रिका टिप्पणीहरू र कहिलकाहीं रत्नपार्कतिर पुग्दा केही युवतीहरूका हावभाव बाहेक अन्य केही जानकारी थिएन । उसको छोराको सङ्केत “…. तिनीहरूलाई किन पकाउनु पर्‍यो खाना” ले भक्तलाई केही झस्काएको छ । ऊ गम्भीर भएर सोच्छ “गलत कुराले मानिसहरूलाई कति छिटै आकर्षित गर्दछ ? समाजले अनावश्यक कुराहरूमा ज्यादै चनाखो दृष्टि पुर्‍याइरहेको हुन्छ । तर समाजलाई विकृत तुल्याउन सक्ने यस्ता प्रवृत्ति प्रति किन चासो राख्दैन ? आफैले पहलकदमी गरौँ, उसलाई के चासो भन्ने हुन कि जस्तो लाग्ने । चुपै लागेरै बसौँ जानकारी भएर पनि किन नबोलेको भन्ने आरोप लगाउने हुन कि भन्ने लाग्ने ।” यी र यस्तै प्रश्नहरूको घेरामा भक्तको मन कैद भएको छ । के मानिसहरूले सबै चीज गुमाएर पनि आर्थिक सम्पन्नता प्राप्त गर्न खोजेका हुन त ?

तर आजभोलि उसकै छिमेकमा देखिने यस्ता दृश्यले उसको मनलाई आक्रान्त गराउँदै छन । बोलाई र लेखाईमा दम्भ प्रदर्शन गर्ने नेताहरूका अभिव्यक्ति र वानी व्यवहारले जनतालाई आश्वस्त पार्न र राम्रो सन्देश दिन सकेन । २१ अौँ शताब्दिको वखान गरेर नथाक्ने नेताहरूको १५÷१६ अौँ शताब्दि तिरको चिन्तनशैली बीचको अन्तर्विरोधले समाजलाई अगाडि बढाउन सकेन ।

भक्तले निष्कर्ष निकाल्छ “कृषि प्रधान भनिएको देशमा एउटा सम्म पनि रासायनिक मलको उद्योग नहुनु, जैविक मलको प्रशस्त सम्भावना हुँदाहुँदै त्यसलाई कृषिको लागि अनिवार्य आवश्यकता महशुस गर्न नसक्नु र प्रोत्साहन नगर्नु, कृषिको लागि आवश्यक पर्ने यन्त्रहरूको प्रबद्र्धन हुन नसक्नु, आˆनो देशको कृषिको लागि आवश्यक पर्ने विउ उत्पादन गर्न नसक्नु, कृषिको लागि आवश्यक अनुदानहरू प्रदान गर्ने व्यवस्था नहुन, सीमित मात्रामा प्रदान गरिने अनुदान बिचौलियाको हातमा पुग्नु, भएका उद्योगहरू निजीकरणको नाममा बिक्री हुनु र आवश्यक उद्योगहरूको स्थापना हुन नसक्नु, अपार सम्भावना भएको भनिएको विद्युत उत्पादन र खपतको उपयुक्त र वैज्ञानिक योजना नहुनु, सम्भावित पर्यटन व्यवसायको लागि आवश्यक पर्ने पूर्वाधारका साथै त्यसलाई आवश्यक पर्ने चीज वस्तुहरू देशमा उत्पादन हुन नसक्नु र देशको युवा श्रमशक्तिलाई परिचालन गरी देशको विकास गर्नुको सट्टा विद्यालय र विश्वविद्यालयहरूलाई विदेशी पाठ्यक्रमको क्रीडास्थल बनाएर योग्य शिक्षित जनशक्ति तयार गर्नुको सट्टा बैदेशिक रोजगारीको लागि उपयुक्त वातावरण तयार गरी युवाहरूलाई विदेश पलायन गराएर रेमिटेन्स आर्जन गर्ने सपना देख्नुले नेतृत्व ‘दालमे कुछ काला है’ भने जस्तै अवस्थामा रहेकोतर्फ सङ्केत गर्दछ । यो अवस्था आउनु भनेको देशलाई अन्धकारको खाल्डोमा धकेल्नु जस्तै हो ।”

भक्तको मन पोल्नुको कारण यस्तो छ –“देशको विकासमा लाग्नु पर्ने राजनैतिक नेतृत्व विचौलियाहरूसँगको मिलेमतोमा राज्य संयन्त्रको दुरुपयोग गरेर आˆना नागरिकहरूलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा मानव तस्करी गर्नमै व्यस्त छन । कानून बनाउन संसदमा गएका नेताहरू विभिन्न बहानामा देशको ढुकुटी हत्याएर बजेटको ठूलो अंश बोकेर विचौलियासँगको मिलेमतोमा त्यसको दुरुपयोग गर्नमै व्यस्त छन् । देश नेताहरू पाल्दैमा कङ्गाल बनेको छ । सक्ने समयसम्म सत्तामा बसेर ब्रम्हलुट मच्याउने र सत्तावाट बाहिरिए पश्चात् पूर्व उच्चपदस्थका नाउँमा राज्यको दोहन गरिरहने प्रवृत्तिको विकासले सर्वसाधारण नागरिकहरू कहाँ छन् भनेर दुरवीनले हेर्नु पर्ने अवस्था आएको छ । नेताहरूले फलाक्ने गरेको यो २१ औ शताब्दीको उन्नत गणतान्त्रिक व्यवस्थामा नेताहरूको विरोधमा चुईङ्कक बोल्न पाईंदैन ।”

समाज र नागरिक प्रति कटाक्ष गर्दै भक्त मनमनै गुनगुनाउँछ –“यसैले पनि होला आज नेताजीहरूको हातमा देश भएकाले खसीको मासुको विलो लगाए जसरी जो जे भागमा आउँछ विक्री गरेरै भए पनि अकुत सम्पत्ति जोडिरहेका छन । नेताहरूको देखासिकी गरेका आफूसङ्ग विक्रीका लागि अरु केहि नहुनेहरूले पनि आˆनै शरीरको व्यापार गर्न धक मान्न छाडिसकेका छन् । के अव हामी उपयोगितावादको संस्कारमा रुमल्लिएर जसरी हुन्छ धन आर्र्जन गर्ने वहानामा घरधनी भाडामा वस्ने मान्छेहरू के गर्दैछन भनेर सोच्नु नपर्ने, समाजले सामाजिक न्याय र सुरक्षाका कुरामा ध्यान दिनु नपर्ने र व्यक्तिले आफनो शरीर आफ्नो अधिकारको नारा गुंजाउन आतुर भएका हौँ ? होइन भने देश र जनताको व्यापार गर्ने नेतृत्व प्रति कटाक्ष नगर्ने र देहव्यापारको यो लिला देखेरै मौनता सांध्नुको अर्थ के हुन्छ ?” भक्त निधार खुम्च्याएर सोच्न थाल्छ– “सनातनरुपमा चल्दै आएको रीति, परम्परा, संस्कार र संस्कृतिलाई ध्वस्त वनाउने र नयाँ र उन्नत किसिमको सोचको विकास गर्न नसक्ने दलहरूले जनतालाई दिएको यो उपहारलाई यसरी नै ग्रहण गर्दै मौनता सांधिरहृयौ भने त्यसको मूल्य कति महङ्गो सावित हुने हो भविष्यमा ? के यो समाजले यसरी टोल छिमेकमा शरीर विक्रीको लागि विज्ञापन गर्ने नगरवधुहरूलाई स्वीकार गरीसकेको हो ? यी र यस्ता प्रकारका गलत कार्यहरूको मौनतामा रमाउने नागरीक र समाजले त्यसको मुल्य कसरी चुक्ता गर्नेछ, होइन भने समाजको यो मौनता कहिले र कसरी भङ्ग हुन्छ ?”

जडीवुटी, कोटेश्वर २०८०÷०२÷०७

Comments
- Advertisement -

समाचार सँग सम्वन्धित