टङ्कराज ढकाल
छन्द –शालिनी समस्या
गण म त त गु गु यतिमा
काटेमासे शुध्द धर्ती हियार
नाफाखोरी दुष्टले बारबार
आलाकाँचा मण्डले लम्पसार
भ्रष्टाचारी मास्न होऔँ तयार ।१
पाले पोषे भ्रष्टघाती बजार
लुट्दै खाने छन् हरामी हजार
सत्ता चढ्ने यी पराया कुपात्र
भ्रष्टाचारी मास्न होऔँ तयार ।२
पापाचारी चोरजस्ता हुँडार
आफ्ना पोस्ने भातमारा कुवेर
जालो बुन्छन् खान नाता घुमेर
भ्रष्टाचारी मास्न होऔँ तयार ।३
जालेथाले लाख वार्ता सुनेर
कोक्यायो खै हाडनाता गमेर
भोका साँढे हेर्नथाले बसेर
भ्रष्टाचारी मास्न होऔँ तयार ।४
बोका, बाख्रा हाँस्न थाले ल हेर
हात्ती गैंडा नास्न थाले गँवार
कालापानी रुन्छ आमा भनेर
भ्रष्टाचारी मास्न होऔँ तयार ।५
नालापानी दिन्छ दाता चुनेर
कालो मैलो बग्छ पानी सबेर
हाँतो मानी बस्नु जाँतो कुरेर
भ्रष्टाचारी मास्न होऔँ तयार ।६

